संस्कृति र प्रकृतिको धनी यस मनोरम कर्णाली प्रदेशको यस महत्वपूर्ण कार्यक्रममा बोल्न निमन्त्रणा गर्नु भएकोमा म आयोजकहरुप्रति मुरी मुरी धन्यबाद व्यक्त गर्न चाहन्छु।
सानै देखि हामीले बोल्ने नेपाली भाषाको उद्गम स्थल जुम्ला हो, अनि नेपालको सबभन्दा ठुलो र राम्रो ताल रारा भन्ने वयान सुनेर काठमाण्डौंमा हुर्केकी मैले कर्णाली बारे धेरै पढें, थोरै जाने, अनि झन थोरै बुझेको थिएं।
बुद्धिसागरको कर्णाली ब्लूजले भौतिक रुपमा नभएपनि मानसिक रुपमा कर्णालीको धेरै नजीकै पुगेको आभास भएको थियो। डोल्पाको जीवन कथा समेटिएको
सिनेमा क्याराभान हेरेर जीवन संघर्षको मतलब बुझ्न थालेकी मलाई दक्षिण बग्दछ कर्णाली नाटकले मन मस्तिष्कमा कर्णालीको विकटताको छाप छोड्दा केही त गरौं भन्ने भावना जगाएकै हो। सशस्त्र द्वन्दका बेला नेपाल सरकारले रुकुममा स्वास्थ्य सिविर लिएर जांदा प्रसूति तथा स्त्रीरोग सम्बन्धि टोलीको नेत्रित्व गर्दै दुई हप्ताको बसाईमा मैले महिलाको पाठेघर खसेको, क्यान्सर, जटिल अवस्थाको गर्भपतन,बांझोपना आदिको उपचार र थुप्रै शल्य कृया गरेकी थिएं। नियमित रुपमा विशेषज्ञ नरहेको र स्वास्थ्य सिविर पर्खनु पर्नै वाध्यताले कतिपय महिलाहरुको अवस्था जटिल र दयनिय रहेको प्रत्यक्ष देखें।
म सचिव भएको बेला जाजरकोटमा झाडापखाला फैलिएको, अनि रोग बढने रफ्तार र खच्चरबाट नियमित औषधि ढुवानी हुने प्रचलन बीच तालमेल नमिलेको प्रष्ट भएको थियो। प्राकृतिक प्रकोप र आकस्मिक विपत्तिका लागि विशेष व्यवस्था मिलाउने प्रयासहरु गरिएका थिए। बाढी, पहिरो, भुकम्प लगायतका जोखिम उच्च रहेको यो प्रदेशमा कमजोर पूर्वाधार ले स्वास्थ्य चुनौति थपेका छन्।
मैले मन्त्रालयको काम सकेको धेरै वर्ष बितिसके, नेपालबाट सशस्त्र द्वन्द समाप्त भएर लोकतान्त्रिक गणतन्त्र आएको पनि १५ वर्ष भन्दा बढी भैसक्यो, यस्तो मौकामा तपाईंहरु संगै बसेर कर्णालीका कुरा सुन्न र बुझ्न मैले पाएको यो अवसर मेरा लागि सदा अविस्मरणीय रहने छ। सबैलाई पुन: धेरै धन्यबाद। मलाई आयोजकहरुले प्रसूति र पितृसत्तामा केन्द्रित भएर आफना कुराहरु राखिदिनु भन्नु भएकोछ, तर पितृसत्ताको असर प्रसूतिका बेला मात्र देखिने होइन, यो महिलाको सम्पूर्ण जीवन कालमा- कोख देखि बुढ्यौली सम्म नै हुन्छ। यसको नकारात्मक असरलाई गरिबी, अशिक्षा र जातिय विभेदले मलजल गर्छन्। स्वास्थ्य प्रणालीको स्थितिले जीवन र मृत्युबारे निर्णायक परिस्थिति निर्माण गर्न सक्छन्, त्यसैले म यी विषयहरुमा पनि केही कुरा राख्न चाहन्छु।
नेपालका १७ प्रतिशत जनसंख्याको बासस्थलो, यो कर्णाली प्रदेश, प्रकृतिको अनुपम उपहार, तर सेवा प्रवाह गर्न निकै चुनौतिपूर्ण विकट भूगोल, छरिएर रहेको बस्ति, कम जनघनत्व, अनि सेवा प्रदायक झन कम रहेको प्रदेश। थुप्रै सम्भावनाहरु बोकेको कर्णालीको स्वास्थ्य क्षेत्र किन पछि परिरहेछ, कसरी यसको अवस्था उकास्ने भने गरिएको यो मन्थनले अपेक्षित नतिजा प्राप्त गर्न सकोस्- मेरो हार्दिक शुभकामना छ।
सिंजा सभ्यताको उद्गम स्थल, परापूर्व कालको समृद्ध कर्णाली बिस्तारै बिस्तारै पछाडि पर्दै गएछ। पछि पर्दा पर्दै पनि कर्णालीले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ भन्ने मेरो ठम्याई छ। विगतका ३ दशकको तथ्याङ्क केलाउने हो भने यति कुरा त स्पष्ट नै हुन्छ। बाल मृत्यु दर, मातृ मृत्यु दर, रक्त अल्पताको परिमाण आदिलाई स्वास्थ्य स्थितिको केही सूचकका रुपमा लिन सकिन्छ। पहिले हाम्रो प्रादेशिक संरचना नभएकाले प्रदेशगत रुपमा पुरानो तथ्याङ्क उपलब्ध छैन, यसर्थ पुरानो तथ्याङ्कसंग दांजेर प्रगति यकीन गर्न गार्हो हुन्छ, तैपनि मैले मध्य पश्चिम र सुदुर पश्चिमको औसत तथ्याङक लिएर बिगत करीब ३० वर्षको प्रगति हेर्ने जमर्को गरेकी छु।
विक्रम सम्बत २०५३ ताका ( ३ दशक अगाडी) यो भेगमा जन्मेका हजार बालबालिका मध्ये करीब ६५ जनाको एक महिना भित्रै मृत्यु हुन्थ्यो, ११९ जनाको एक वर्ष भित्रै, अनि पांच वर्ष पुग्दा नपुग्दै १७८ जनाको मृत्यु भैसक्थ्यो। यसको एक दशक पछि, २०६३ ताका, नवजात शिशु मृत्यु दर सुधार हुंदै ६५ बाट ४५ मा झर्यो , एक वर्ष भित्र हुने मृत्यु ११९ बाट ८५ जति भयो, अनि अनि पांच वर्ष पुग्दा नपुग्दै हुने मृत्यु १७८ बाट घटेर १११ जति भयो। यसको करिब १५ वर्ष पछि बालस्वास्थ्य अवस्थामा थप सुधार हुंदै गएको देखिन्छ, तैपनि यो प्रदेशको बाल मृत्यु दर राष्ट्रिय औसत भन्दा बढी नै छ। २ वर्ष
अगाडीको प्रतिवेदन अनुसार यो प्रदेशको नवजात शिशु मृत्यु दर हजारमा २६ छ (राष्ट्रिय औसत २२), एक वर्ष भित्र हुने मृत्यु हजारमा ३६ (राष्ट्रिय औसत २८), पांच वर्ष भित्र हुने मृत्यु हजारमा ४६ (राष्ट्रिय औसत ३३) रहेको छ। अनि निरक्षर आमाका पांच वर्ष मुनिका हजार बालबालिका मध्ये ५० जनाको मृत्यु हुंदा माध्यमिक तहसम्म पढेका आमाहरुको पांच वर्ष मुनिका हजार बालबालिका मध्ये ६ जनाको मात्रै मृत्यु हुंदो रहेछ। कति फरक, महिला शिक्षाले कति राम्रो प्रभाव पार्ने रहेछ !
तर कर्णालीमै बालविवाह गर्ने र माध्यमिक शिक्षा नलिने जनसंख्या पनि ठुलै छ। राष्टिय जनगणना अनुसार एक वर्षमा प्रजनन उमेरका (१५-४९ वर्ष ) महिलाको १२९७६ मृत्यु मध्ये ६५३ मातृमृत्यु थिए। नेपालमा औसतमा प्रति एक लाख जीवित जन्ममा १५१ आमाहरु ले ज्यान गुमाउंछन्, तर कर्णालीमा प्रति एक लाख जीवित जन्ममा १७२ जना आमाको मृत्यु हुन्छ। शहश्राव्दी बिकास लक्ष हासिल गर्न सन २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृमृत्यु ७० सम्म झार्ने नेपालको लक्ष छ।
यो ठूलो लक्ष हासिल गर्न प्रयास पनि धेरै ठुलो चाहिन्छ।
चुनौतिहरु हुंदा हुंदै पनि कर्णाली प्रदेश प्रगति उन्मुख छ, ३ दशक पहिलेको तुलनामा धेरै राम्रो हुंदै छ। यहांको युवा साक्षरता दर ८२ प्रतिशत (राष्ट्रिय ८५ प्रतिशत),अपेक्षित आयु ६७ वर्ष (राष्ट्रिय ६९.७), मानव विकास सूचकांक ०.४२७ (राष्ट्रिय ०.५७४) छ, अनि ९२% घर परिवारमा बिजुली जडान भएको छ, ९६% मा शौचालय छ। ३८% जनतासंग इन्टरनेटको पहुंच छ, ७३% को हातमा मोबाइल फोन छ, तर यो तथ्याङ्कलाई खण्डिकरण गरेर हेर्ने हो भने महिलाको पहुंच कम नै छ।
कर्णालीमा स्वास्थ्य संस्थाहरुको संख्या ४३३ रहेको छ, २७४ बर्थिङ्ग सेन्टर रहेका छन्। साथै प्रदेश अस्पताल, मेडिकल कलेज, आयुर्वेद अस्पताल समेत रहेको यो प्रदेशमा संख्याको हिसाबले स्वास्थ्य संस्थाको उपलब्धता राम्रै छ। तर सेवाको सुनिश्चितता, गुणस्तर र पहुंचमा सुधार गर्नु पर्नेकुराहरु धेरै छन्। नेपालको औसत हेर्ने हो भने ४९ प्रतिशत जनसंख्या ३० मिनेट भित्र स्वास्थ्य संस्थामा पुग्न सक्ने अवस्था छ, तर यहांका २३. ६ प्रतिशत जनसंख्या मात्रै आधा घन्टा भित्र स्वास्थ्य संस्थामा पुग्न सक्छन्। कतिपय ठाउंमा बजार र अस्पताल जोड्ने पुल नबन्नाले २ मिनेटमा पुग्न सकिने अस्पताल पुग्नै आधा घन्टा लाग्छ।
निकट बिगतका वर्षहरुमा सुस्तरी विकासको पथमा लम्किदै गर्दा र आफ्नै बिगतसंग तुलना गरेर हेर्दा यहांको प्रगति राम्रो नै छ, तर राष्ट्रिय औसतसंग तुलना गर्दा यो प्रदेश धेरै पछि परेको देखिन्छ। तुलना गरेपछि आफ्नो प्रदेशलाई प्रतिस्पर्धामा अगाडी लैजाने सकारात्मक प्रयासहरु हुनेनै छन्, भैरहेका पनि छन। यहांका नेताहरुले व्यक्त गर्नु भएका भावना – कर्णाली ब्युझिएको मात्रै होइन, जुर्मुराएर उठेको छ, दौडेर अरुलाई जित्न तम्तयार भैरहेको छ- भन्ने कुरा यो प्रदेशको स्वास्थ्य योजना पढ्दा थाहा हुन्छ। मैले सर्सर्ति हेर्दा र गहिरिएर मनन गर्दा यहां प्रगति भैरहेको देख्छु, तैपनि गर्नु पर्ने काम धेरै छन्, तिनलाई प्राथमिकिकरण गरेर लैजानु उचित हुन्छ; यसो गर्दा श्रोतको प्रभावकारी उपयोग हुन्छ।
म स्वयं एक महिला र आमा भएको नाताले , धेरै वर्ष महिलाहरुलाई स्वास्थ्य सेवा पुर्याउंदै गर्दा तिनका पीडासंग परिचित भएकाले महिलाका विषय मेरा लागि प्रिय छन्। नेपालमा नारीवादी आंदोलनले महिलाको अधिकार, सम्मान र स्वतंत्रताको वकालत गरिरहेको छ; यसो भन्दै गर्दा मैले पुरुषप्रति आक्षेप या विभेद गरिरहेको छैन। बहुसंख्यक पुरुषले अधिकार, सम्मान र स्वतंत्रताको उपभोग गरिनै रहेका छन्। महिला उत्थानका केही पक्षमा धेरै पुरुषहरुको अथक प्रयास र सकृय सहयोग रहेको छ। हाम्रो गुनासो नियन्त्रणमुखी र विभेदकारी पितृसत्ता प्रति छ जसका कारण महिलाको प्रजनन स्वास्थ्यका समस्याहरु निराकरण गर्न सकिएको छैन। महिलाले नै हो आमाको समेत भुमिका निर्वाह गर्दै घर परिवार, बालबच्चा सबैको हेरचाह गर्ने, तिनीहरुलाई शिक्षित र सुसंस्कृत बनाउने। मेरो बुझाईमा महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुन्छ, अनि समाज र देश कमजोर हुन्छ। कर्णाली पछि परेमा समग्र नेपाल पछि नै परिरहन्छ। नेपाली महिलाले हाम्रो सम्बिधान प्रदत्त स्वास्थ्य अधिकार र प्रजनन स्वास्थ्य अधिकार उपभोग गर्ने क्रममा समग्र नेपालका र विशेष गरी
कर्णालीका महिला पछाडि पारिए भने नेपालले आंटेको दीगो विकास लक्ष हासिल हुनै सक्दैन।
म यहींको गाउंठाउंको एउटा उदाहरण पेश गर्न चाहन्छु- भर्खर १४ वर्ष टेकेकी सुन्तली कामीको २४ वर्षका सन्तोष संग विवाह भयो। सुन्तली साक्षर सम्म थिइन् । आर्थिक अवस्था कमजोर र धेरै छोराछोरी भएका उनका माता पिताले सानै उमेरमा उनको विवाह गरिदिनु उचित ठाने। समाज साक्षि बस्यो, केहीले भोज खाए, रमाइलो गरे। १६ वर्ष हुंदा उनी गर्भवति भइन। स्वास्थ्य संस्थामा जंचाउन लैजान परिवारले आवस्यक ठानेन। ३ दिन सम्म ब्यथाले च्याप्दा पनि बच्चा नजन्मिएपछि बल्ल तल्ल नजीकैको स्वास्थ्य संस्थामा लगियो। त्यहां नहुने भएपछि हेलिकोप्टर बन्दोबस्त गरेर स्थानिय स्वास्थ्य संस्थाले उनलाई नेपालगंज पठाइदियो। नेपालगंजमा शल्यकृया गरेर पेट भित्रै मरिसकेको बच्चा निकालियो। अत्यधिक रक्तश्राव भएर सुन्तलीको पनि ज्यान गयो।
सुन्तली प्रतिनिधि पात्र मात्रै हुन् , नेपालमा हरेक दिन उनी जस्ता दुई जना महिलाले ज्यान गुमाउंछन। नेपालमा भएका मातृ मृत्यु मध्ये ३३ प्रतिशत गर्भावस्थामा, ६ प्रतिशत सुत्केरी हुंदा र ६१ प्रतिशत सुत्केरी भैसकेपछि हुन्छ। 7 यहां ४० प्रतिशत महिला र बालबालिकामा रक्त अल्पता छ। गर्भवति अवस्थामा न्युनतम चार पल्ट गर्भजांच गर्नु पर्छ, स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्छ, यो कुरामा केही प्रगति भएको छ। तर सुत्केरीको हरेचाहमा धेरै कमी कमजोरी छन्, त्यसैले सुत्केरी भएको ४५ दिन भित्र धेरै आमाहरुको मृत्यु हुन्छ। गर्भावस्थादेखिनै रगत कम भएको महिलाको सुत्केरी हुंदा कम रगत बगे पनि उनको अवस्था नाजुक हुन सक्छ, अनि खानेकुराहरु बार्ने पुराना कुरीतिहरुले उनको कमजोरी बढ्छ, कतिपय अवस्थामा बिभिन्न संक्रमणले पनि ज्यान
लिन्छ।
के नेपालको सम्बिधानले, अनि हाम्रो नयां लोकतान्त्रिक गणतन्न्त्रले सुन्तलीको र उनीजस्ता यावत महिलाहरुको आधिकारको लागि सुनिश्चित गरेको भविष्य यस्तै हो त? निश्चय नै पनि होइन। अनि किन यस्तो भयो? हामी कहां कहां चुक्यौ अनि किन निरन्तर चुक्दै छौं ? एकछिन सोचौं।म सोच्छु, आमा हुन लाग्दा किन सुन्तली मरिन्, म चाहीं आमा हुंदा किन मरिन? के कर्णालीमा जन्मेकै भएर सुन्तलीले मृत्यु वरण गर्नु परेको हो? कर्णालीको भूगोल निश्चय पनि विकट छ, तर त्यति मात्र कारण होइन। हामी धेरै ठाउंमा चुकेका छौं। हामी चुक्यौं, सुन्तलीलाई पढाउन, आत्म निर्भर बनाउन। हामी चुक्यौं बालिग भएपछि मात्रै
उनको विवाह गरिदिन, उनलाई पोषणयुक्त खानेकुरा दिन, हामी चुक्यौं उनको गर्भ जांच गराएर समयमै जटिलता पत्ता लगाउन, अनि हामी चुक्यौं उनलाई समयमै स्वास्थ्य संस्था पुर्याउन।
हामी चुक्यौं, हो, तर किन हामी चुक्यौं? यो प्रश्नको उत्तर नखोजे सम्म हामी पटक पटक चुक्छौं, अनि सुन्तली जस्ता अन्य धेरै बालिका र महिलालाई बचाउन सक्दैनौं। किन चुक्यौं भन्ने प्रश्नको उत्त्तरले समाधानका उपाय पनि देखाउंछ भन्ने लाग्छ मलाई। पितृसत्ताको नकारात्मक असर र स्वास्थ्य प्रणालीका कमी कमजोरीमा कारण हामी सुन्तलीलाई न्याय गर्न चुक्यौं।
नेपालमा विद्यमान पितृसत्ताले महिलाको जीवनलाई मूल्यवान ठान्दैन। भ्रुण अवस्था देखि नै छोरी माथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइंदैन। नेपालका १२ जिल्लामा १०० जना छोरी जन्मदा ११० भन्दा बढी छोरा जन्मिन्छन्, जबकी नेपालमा कानूनी रुपमा भ्रुणको लिङ्ग हेरेर गर्भपतन गराउन पाइंदैन।बहुसंख्यक परिवारमा महिलाले छोरा नपाएसम्म सन्तान जन्माइ रहनु पर्ने वाध्यता छ, आफ्नो जीवन बारम्बार जोखिममा पारेर। सामान्यतया छोरालाई राम्रो खाना, शिक्षा, खेलकुद गर्न छुट,औषधिमुलो दिन सक्ने बाआमाले छोरीलाई घरको काम, भाइबहिनी हेर्ने, गाइवस्तु हेर्ने काम लगाउंछन्, पराईधन ठानेर उसमाथि लगानी गर्न चाहंदैनन्, छाउगोठमा उसको मृत्य हुंदा दैवको लीला ठान्छन्, अनि यस्तो कुरीति अद्यपि निरन्तर छ।
समाजको सबै जसो कुरामा अग्र स्थानमा रहन चाहने पुरुष, पत्निको मृत्यु भयो भने अपवाद बाहेक लाचार जस्तो हुन्छ, आफनो र छोराछोरीको स्याहार गरिदिन अर्की पत्नि खोज्छ। तर कुनै कारणवस पतिको मृत्य भयो भने महिलाले बाबु र आमा दुबैको भूमिका निर्वाह गर्छिन्।आर्थिक रुपमा सबल नभएपनि महिलाले दुखजिलो गरेर नाबालिग सन्तान हुर्काउंछन्। तर त्यही महिलाले निरन्तर हेपाई र हेलां सहन्छिन् । कतिपय अवस्थामा बोक्सीको आरोप र प्रताडना समेत सहन बाध्य पारिन्छिन्।
आफ्नी आमाले भोग्ने गरेको घरेलु हिंसा प्रत्यक्ष देखेकी बालिकाले पछि गएर हिंसालाई समान्य रुपमा लिन्छे, प्रतिकार गर्न सक्दिन। प्रतिकार गरी भने पनि उसको सुरक्षा, साथ, सहयोग दिने परिवार, समाज या राज्य उसले पाउंदिन। परनिर्भर महिलाका लागि मौन रही हरेक अन्याय सहनुको विकल्प हुँदैन, बुहार्तन र विभेद उसका जीवन – यथार्थ हुन पुग्छन्। भेदभावपूर्ण हुर्काई भोगेकी बालिका पछि गएर आफैं पितृसत्तालाई बढावा दिने सासु बन्छे।उसको छोरालाई सकभर सबै राम्रो दिन्छे, छोरी बुहारी प्रताडित नै रहन्छन्। निरपेक्ष गरीबि, अशिक्षा, जातिय एवं सामाजिक प्रचलन आदिले पनि
विभेदपूर्ण समाजको निरन्तरतालाई मलजल गर्छन्। अनि अर्को पुस्ताकी छोरी, बुहारीले पनि यो पुस्ताकी सुन्तलीकै नियति भोग्नु पर्छ, चाहे त्यो कर्णालीमा होस् या नेपालका अन्य प्रदेशमा।
बच्च जन्माउंदा सुन्तलीको मृत्यु भयो; अन्य कति महिला छन् जसले निसन्तान हुनुको पीडा खेपेका छन्। आफ्नो प्रजनन् अंगमा कुनै खराबी नभएपनि बांझो
हुनाको आक्षेप सहेका छन्, सौता बेहोरेका छन्। अन्य कति नवजात शिशु मृत्यु हुंदा आफैं मरेझैं भएका छन्। प्रसूतिका जटिलताका कारण दिसा पिसाब चुहिने, आङ्ग खस्ने समस्याले पीडित छन्।बुढ्यौलीका अनेकन समस्या आंसु पिउंदै पचाएर, लुकाएर बसेका छन। महिला हिंसाको त कुरै नगरौं, पतिलाई नसोधी घरबाट निस्केको कारणले, भात डढेको निहुं जस्ता समान्य कारणका लागि पनि महिलाहरुले हिंसा बेहोरेका छन्।आफ्नो स्वास्थ्यका बारेमा आफैंले निर्णय गर्न पाउने र स्वास्थ्य संस्था सम्म जान पाउने महिलाको संख्या पनि कम नै छ। हामी सबैले गम्भीर भएर सोच्नु पर्छ, नेपालमा महिला शिक्षा, महिला
सशक्तिकरणका प्रयास नभएका होइनन्, महिलाले राजनीतिक अधिकार पनि उपभोग गर्दै छन्, तर पनि महिला को अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन। महिला नेताहरुले, समाज परिवर्तनको संबाहक बन्न चाहनुहुने हरुले, पनि आफनै घर परिवारबाट परिवर्तनको सुरुवात गर्न सक्नु भएको छैन। अनि हाम्रो समाजका सहृदयी पुरुषहरुले पनि वर्तमान नेपाली युवाहरुको समानताको चाहना बुझ्न सक्नु भएको छैन।
पहिले घरहरु सम्पूर्णरुपमा पितृ सत्तात्मक थिए, अर्थात् घरमुली पुरुष हुन्थे, आर्थिक व्यवस्थापनको जिम्मा उनीहरुको हुन्थ्यो, महिलाको भूमिका घर भित्र मात्रै
सीमित थियो, तर अहिले महिला, पुरुष दुबै घर भित्र र बाहिर पनि काम गर्छन्, आर्थिक उपार्जनमा दुबैको सहभागिता छ।अझ नेपालका १३ लाख ३० हजार अर्थात ३२.४ प्रतिशत परिवारमा महिलाहरु नै घरमूलि छन्। यति हुंदा हुंदै पनि किन वर्तमान नेपालको पितृसत्ता जडसूत्रवादी छ- परुषको प्रधानता कायम राखी महिलाहरु प्रति निकृष्ट निर्दयी व्यवहार देखाउने खालको।
पितृसत्ताको निरन्तरतामा के व्यक्तिको र उसको परिवारको मात्रै भूमिका हुने हो? हाम्रो समाज र राज्यको भूमिका छैन र ? छ नि, तर यिनले प्रभावकारी भूमिका खेल्न सकेको भए यस्ता कुरीति हट्दै जाने थिए। घरका पुरुषले, टोल छिमेक, समाजले छोरी पढाउन प्रोत्साहन गरेमा, छोरा र छोरी दुबैले समान अवसर सहित हुर्किन पाएमा, छाउपढी जस्ता कुरीति निरुत्साहित गरेमा, सरकारले स्कुळ कलेजमा सबैको पहुंच र सिकाईको गुणस्तर सुनिश्चित गरेमा, बालववाह रोक्ने कानून प्रभावकारी रुपमा कार्यान्वयन गरेमा, हिंसा पीडितको संरक्षण र पीडकलाई सजाय गर्ने विषयमा विभेद नगरेमा, महिलाका विचार व्यक्त गर्ने मञ्च र सुन्ने धैर्य भएमा हाम्रो समाजमा व्याप्त कुरीतिहरु बिस्तारै घटदै जाने छन्, तर यसो हुन सकिरहेको छैन।
वैदेशिक रोजगारीका कारण भैरहेको सामाजिक तथा पारिवारिक विखण्डन, सामाजिक सञ्जालको कुप्रभाव, नैतिक शिक्षाको अभाव आदिले पनि आगोमा घ्यू थप्ने काम गरेका छन्। यसरी विभिन्न खाले विभेद खेपेका सुन्तलीहरुले अनाहकमा ज्यान गुमाउंदैछन्। यसो नहोस भन्नका लगि नेपालको घरमूली ( मातृसत्ता या पितृसत्ता) समानताको पक्षपाति अर्थात आफना सबै सन्तानलाई समान अवसर दिएर तिनलाई आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने बनाउन लागि पर्ने सच्चा अभिभावक चाहिएको छ, नियन्त्रक होइन। यी त भए महिलाका जीवनमा पितृसत्ताका केही नकारात्मक प्रभावको चर्चा। यसका अतिरिक्त प्रसूतिको नतिजामा स्वास्थ्य सेवाका संरचनागत तत्वहरुले पनि ठुलो प्रभाव पारेका हुन्छन्। यसर्थ अव म नेपालको र खासगरी कर्णालीको स्वास्थ्य स्थिति र स्वास्थ्य प्रणालीका बारे संक्षेपमा सबैको ध्यानाकर्षण गर्न चाहन्छु। पोषणको स्थिति विश्लेषण गर्दा बागमति प्रदेशमा पांच वर्ष मुनिका १८ प्रतिशत बालबालिकाहरु पुड्का छन् भने यहां तिन गुणा बढी, ३६ प्रतिशत छन्। दाउरामा खानाबनाउने, धुम्रपान गर्ने , वातावरणीय प्रदूषण आदि कारणले दम लगायत फक्सोका रोगहरु धेरै रहेका छन्। परिवार नियोजनका साधनको प्रयोग हतपत नगर्ने, सरसफाईको कमी, दुषित पानी आदिले पनि स्वास्थ्य चुनौति थपेका छन्।
महिलामा पुरुषको तुलनामा स्वास्थ्य समस्या बढी नै हुन्छन्। यी मध्ये अनिच्छित गर्भ, यौन रोग, आङ्ग खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर,
महिनावारी सम्बन्धि जटिलता, रजोनिवृतिका असर आदि मुख्य रहेका छन्। यी बाहेक अन्य जस्तै सरुवा रोग, झाडापखाला, दम खोकी, क्षय रोग, उच्च रक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य समस्याले महिला र पुरुष दुवैलाई असर गर्ने गर्दछ। बाढी पहिरो, भूकम्प आदि प्राकृतिक प्रकोप र कोभिड जस्ता महामारीले विभिन्न खाले स्वास्थ्य जटिलता थप्छन्।
थुप्रै स्वास्थ्य समस्याहरु जनचेतना र जीवन शैलि परिवर्तनका माध्यमबाट रोकथाम गर्न सकिने किसिमका हुन्छन्।यसका लागि समुदायको सहभागिता आवश्यक
हुन्छ। अनि करीब ८० – ९० प्रतिशत रोगहरु तल्लो तहका स्वास्थ्य संस्थाबाट उपचार गरेमा नीको हुने खालका हुन्छन। नेपाल सरकारले सम्पूर्ण नेपाली जनतालाई आधारभुत स्वास्थ्य सेवा निशुल्क दिने कानूनी प्रावधान छ। युनिभर्सल हेल्थ कभरेज को अवधारणा अनुरुप निशुल्क सेवाका अतिरिक्त सामाजिक स्वास्थ्य सुरक्षा ( बीमा) कार्यक्रम मार्फत पनि थप उपचारको व्यबस्था गरिएको छ।सामान्यतया १०-२० प्रतिशत रोगलाई मात्र उच्च तहको विशेषज्ञ सेवा चाहिन्छ। सेवाको उपलब्धता, पहुंच र गुणस्तर सुनिश्चित गर्नका लागि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रणालीलाई वित्तीय व्यवस्थापन, जनशक्ति, सूचना प्रविधि, सुशासन, सेवा प्रवाह र समुदायको सहभागिता रुपी बलियो खम्बाहरु मार्फत सुदृिकरण गर्ने सल्लाह दिन्छ। नेपालको स्वास्थ्य नीति 13 र रणनीतिहरुले पनि यी कुराहरुलाई प्राथमिकतामा राखेका छन्।
तर हाल नेपालको स्वास्थ्य क्षेत्रमा भएको कुल लगानी मध्ये ५० प्रतिशत भन्दा बढी व्यक्ति स्वयंको खल्तिबाट भैरहेछ। यसले गर्दा विपन्न वर्ग ठुलो मर्कामा छन्। कर्णाली प्रदेशमा मात्रै पनि परिवारको कुल आम्दानीको १३ प्रतिशत भन्दा बढी खर्च अपर्झट आइपर्ने स्वास्थ्य समस्या का लागि प्रयोग हुने रहेछ। 15 भएका जायजेथा बिक्री गरी उपचार गराउंदा गरीब झन् झन् गरीब हुंदै छन्। आमा सुरक्षा कार्यक्रमबाट प्राप्त निशुल्क सेवाले निकै भरथेग गरेको छ, तर
पर्याप्त छैन। सरकारले स्वास्थ्य क्षेत्रमा गरेको ठुलो लगानी अनावश्यक निर्माण, प्रयोग नहुने उपकरण खरीद आदिमा खेर गैरहेको छ। भ्रष्टाचार निर्मूल गर्दै आवश्यक औषधि उपकरण र स्वास्थ्यकर्मीको उपलब्धता गराउन सकेमा २४ सै घन्टा सजिलो संग राम्रो सेवा पाउने कुरा सुनिश्चित गर्न सकिन्छ।
जनशक्तिको कुरा गर्दा यहां ठुलो बिरोधाभाषपूर्ण स्थिति छ।एकातिर चिकित्सक, नर्स लगायतका स्वास्थ्य कर्मी नपाएर नेपालको स्वास्थ्य सेवा प्रभावित छ भने अर्को तर्फ उत्पादित जनशक्ति जागिर नपाएर विभिन्न खाले शोषणको शिकार भएको छ, दक्ष जनशक्ति विदेश पलायन भैरहेको छ। बर्थिङ्ग सेन्टरहरु पूर्ण रुपमा संचालित छैनन्, सबैतिर दक्ष सेवा प्रदायक पनि छैनन्। कमजोर पूर्वाधारका कारण कर्णाली प्रदेशमा करीब ४२ प्रतिशत स्थायी दरबन्दी रिक्त छन्, खासगरी विशेषज्ञ चिकित्सकहरुको। अन्य धेरै सेवा करारका कर्मचारीले धानेका छन्। यहांको दरबन्दीमा जागिर खाने तर अन्यत्रै काम गर्ने समस्या पनि छ। सूचना प्रविधिको कुरा गर्दा यहां तथ्यांक संकलन र विश्लेषण राम्रै भएको देखिन्छ, तर तथ्यांकको प्रचार प्रसार र प्रयोगमा थप मेहनत गर्नु पर्ने अवस्था रहेछ। उदाहरणका लागि- बालस्वास्थ्यमा तौल नापजांच गर्ने बालबालिकाको संख्या हरेक वर्ष निकै कम देखिन्छ, तर ती तौलजांचमा नआएका बालबालिका समक्ष पुग्ने खालका प्रभावकारी कार्यक्रम नपुगे जस्तो छ। यति भन्दै गर्दा टेलिमेडिसिनका माध्यमबाट दुर्गम क्षेत्र सम्म पुग्ने पहलकदमीलाई राम्रो मान्नु पर्छ, तर यो सेवाको प्रभावकारिताको मुल्यांकन हुनु जरुरी छ। गुणस्तरयुक्त सेवा प्रवाहका लागि सक्षम नेत्रित्व , व्यवस्थापनको राम्रो सीप र आवश्यक पूर्वाधार सबै चाहिन्छन्। समुदायको सहभागिता र खबरदारीको ठुलो महत्व छ।
कर्णाली प्रदेशमा यी सबैकुरा क्रमश: सुधार हुंदै गएको देख्दा खुशी लागेको छ। यो सुधारको प्रकृया अझ द्रुत गतिमा अघि बढाउन सकेमा सुनमा सुगन्ध थपिने छ। कागजी रुपमा र भाषणमा मात्रै सीमित नभएको, योजना अनुसार नतिजा देखाउन सक्ने, भ्रष्टाचार र भ्रष्टाचारीलाई तिरष्कार र कार्बाही गर्न सक्ने दृढ राजनीतिक इच्छा शक्ति भएको नेता समतामुलक एवं स्वस्थ समाजको अनिवार्य शर्त हो। बिभिन्न तहका सरकार, निर्वाचित जनप्रतिनिधि सबैले जबाफदेही भएर आ-आफ्नो जिम्मेवारी सम्हालेमा स्वस्थ कर्णालीको सपना साकार हुनेछ, आमाहरुले अकालमा मृत्यु वरण गर्नु पर्ने छैन। लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका निर्वाचित जनप्रतिनिधिहरु यस तरफ सचेत हुनुहुनेछ भन्ने मेरो विश्वास छ। मातृ मृत्यका प्रमुख कारणहरु मध्ये ३ ढिलाई मुख्य कारक हुन् । पहिलो ढिलाई स्वास्थ्य जांच र सेवा लिने निर्णय गर्न ढिलाई, दोश्रो ढिलाई निर्णय गरेता पनि स्वास्थ्य संस्थामा पुग्न ढिलाई, तेश्रो ढिलाई- स्वास्थ्य संस्थामा पुगेपनि उपचार पाउन ढिलाई। यी सबैलाई सम्बोधन गर्न आफ्नो अनुभवका आधारमा केही सुझाव दिन चाहन्छु।
१) परिवारले गर्भवति महिलाले स्वास्थ्य सेवा पाउनै पर्छ भन्ने सोच राखेर आर्थिक व्यवस्थापन लगायतका पूर्व तयारी गरिराखेमा सेवा लिने निर्णय गर्न ढिलाई हुंदैन, महिला समयमै स्वास्थ्य संस्था पुग्छिन्, अनि आमा र बच्चा दुबैको ज्यान बचाउन सजिलो हुन्छ। साथै सुत्केरीको हेरचाहमा विशेष ध्यान पुर्याएर मातृ- नवजात शिशुको स्वास्थ्य समान्य राखी मृत्य हुनबाट जोगाउनु पर्छ। सकेसम्म नर्स द्वारा होम भिजिट गराएर सुत्केरीको ज्वरो, संक्रमण र रक्तचाप जांचका साथै नवजात शिशु जांच गरिनु पर्छ।
२) प्रदेशमा रहेका हजारौं महिला स्वास्थ्य स्वयंसेविका, सैयौं गैरसरकारी संघसंस्था र वडा वडामा रहेका जनप्रतिनिधिका सञ्जाल मार्फत व्यापक रुपमा स्वास्थ्य चेतना जगाउने, छोरा र छोरीलाई समान व्यबहार गर्ने, बालविवाह निरुत्साहित गर्ने, महिला शिक्षा र स्वरोजगार, रक्त अल्पता मुक्त बालबालिका र महिला, स्वस्थ जीवनशैली र खानपान आदिबारे जागरण अभियान चलाएर कर्णालीलाई रोग मुक्त बनाउंदै यसको पुरानो गरिमालाई पुनर्स्थापित गर्न सकिन्छ।
३) स्वस्थ रहनु आफनो जम्मेवारी भन्ने बुझी सबैले सरसफाई, पोषण र महिलाको प्रजनन स्वास्थ प्रति विशेष चनाखो रही स्वच्छ जीवन शैली अपनाउन जरुरी हुन्छ। जीवन शैलीमा आधारित रोग पुरुष महिला दुवैलाई लाग्न सक्ने हुनाले शारीरिक श्रम गर्ने, दुर्व्यषन मुक्त रहने, तनाव मुक्त रहने, सकारात्मक सोच राख्ने, संतुलित खाना खाने र समय समयमा चिकित्सकसंग परामर्श र आवश्यक परीक्षण गराई रोग लाग्नै नदिने, र लागि हालेमा पनि छिटो निदान र उपचार लिने गर्नु पर्दछ।
४) सेवा प्रवाहको प्रकृया बारे सम्पूर्ण जनतालाई सुसूचित गर्ने। नेपाल सरकारले सम्पूर्ण जनताकालागि व्यवस्था गरेको आधारभूत सेवा घर नजिकैको स्वास्थ्य संस्थाबाट लिने हो, त्यो निशुल्क पाउनु पर्छ। त्यो भन्दा माथिको सेवा चाहिने रहेछ भने तल्लो तहको स्वास्थ्य संस्थाले सिफारिश गरी पठाएमा मात्र माथिल्लो संस्थामा जाने हो। यसो गर्दा माथिल्लो स्वास्थ्य संस्थामा अनावश्यक चाप कम भई बीमा लगायतका कार्यक्रम मार्फत जनताले सहज रुपमा सेवा लिन सक्ने छन्। थोरै संख्यामा रहेर असंख्य बिरामीको सेवा गर्नु पर्ने चिकित्सक र स्वास्थ्यकर्मीले पनि कडाखालका रोग लागेका बिरामीको लागि
पर्याप्त समय दिएर सेवाको गुणस्तर सुधार्न सक्ने छन्।
५) बर्थिङ सेन्टरले मात्रै जटिलताको व्यवस्था गर्न सक्दैनन्, यसर्थ स्थानिय र प्रदेश सरकारको सहकार्यमा जटिल सुत्केरी समस्याको उपचार गर्ने व्यवस्था गर्दै समुदायलाई पायक पर्ने हिसाबले नीजि र सरकारी अस्पतालको प्रेषण संजाल बनाउनु उपयुक्त हुन्छ। संजाल अस्पतालसम्म पुग्न आवश्यक एम्बुलेन्स, संचार सुबिधा, आर्थिक श्रोतको सुनिश्चितता गरिनु पर्दछ।प्रेषणका लागि वर्तमान हेलिकोप्टर उद्धार कार्यक्रममा देखिएका व्यावहारिक समस्या हटाउंदै लगिनु पर्छ।
६) स्वास्थ्य संस्थामा दक्ष सेवा प्रदायक, औषधि, उपकरणहरुको कमी छ। ती कमीहरुको पूर्ति गरिनु पर्दछ। मेडिकल कलेज, प्रदेश अस्पताल, जिल्ला अस्पताल , स्थानिय स्वास्थ्य संस्थाहरु विभिन्न तहका सरकार अन्तर्गत संचालन हुने हुंदा यी सबै तहका सरकार बीच राम्रो सहकार्य हुनु जरुरी छ। त्यसो भएमा प्रदेश भरी छरिएर रहेका जनशक्ति लगायत अन्य श्रोतको उचित प्रयोग गराएर तिनबाट प्रदेशका सबै जनताले उचित
प्रतिफल प्राप्त गर्न सक्नेछन्।
७) माथि उल्लेख गरिएका वित्तीय व्यवस्थापन, जनशक्ति, सूचना प्रविधि, सुशासन, समुदायको सहभागिता र सेवा प्रवाह रुपी बलिया खम्बाहरुको निरन्तर अनुगमन र सुदृढिकरण गरिनुपर्छ। सुदृढ प्रणालीले मातृ स्वास्थ्य मात्र नभई सबै जनताको स्वास्थ्य उपचार सहज, सफल र किफायति बनाउंछ।
अन्त्यमा,
एक पुरुष लेखकको उत्तम विचार कविताका केही हरफ सापटी लिएर आफनो भनाइलाई बीट मार्न चाहन्छु
चौको छोडी उठ अब तिमी आँट नौलो लिएर
बोक्ने छैनौ कहर मनमा अश्रुधारा पिएर ।
नारी नै हुन् असुरवधनी दिव्य काली समान
नारी श्रष्टा अचल धरणी सृष्टिकी हुन् मुहान।
सृष्टिका मुहान नारी जातिको स्वास्थ्यको महत्व सर्वाधिक उच्च छ भन्दा फरक नपर्ला, किनभने नारी जातिले नै मातृत्वको स्नेह द्वारा देशका भावी सन्ततिको लालन पालन गर्छन, शिक्षा दीक्षा दिएर देश विकास गर्न सक्षम एवं सुसंस्कृत नागरिक तयार पार्छन्। यति मात्र नभएर आमा र नवजात शिशुको स्वास्थ्य स्थितिले कर्णाली प्रदेशको स्वास्थ्यको यथार्थ चित्र देखाउंछ, अनि कर्णालीको चित्र जोडेपछि मात्र समग्र देशको स्वास्थ्य र विकासको तस्वीरले पूर्णता प्राप्त गर्छ। देशको तस्वीरलाई पूर्णताको उज्यालो दिन कर्णालीको स्वास्थ्यका लागि र पितृसत्त्ताले थोपरेका नकारात्मक असर हटाउनकालागि जिम्मेवारी पूर्वक सबैले आ-आफ्नो दायित्व निर्वाह गरौं। यसो भएमा कर्णाली प्रदेशले स्वास्थ्य सेवामा सफलताको उच्चतम उदाहरण दिँदै पूर्वजले कायम गरेको ऐतिहासिक गरिमा लाई थप उचाइमा लैजान सफल हुनेछ भन्ने मेरो विश्वास छ।
हार्दिक शुभकामना। सबैलाई धेरै धेरै धन्यबाद।

