हिन्दु धर्मावलम्बीहरूले मनाउने दसैंले देशभरको सांस्कृतिक माहोल उत्कर्षमा पुगेको छ । मन्दिरहरूमा घुइँचो छ । सांस्कृतिक गीत/धुन बजेका छन् । पिङ बनाइएका छन् । मेला लागेका छन् । सहर तथा बजारमा किनमेल बढेको छ । अध्ययन, व्यवसाय तथा रोजगारीका लागि देश–विदेश पुगेकाले पनि दसैंको मौकामा बिदा पाएर होस् वा लिएर होस्, घर फर्केका छन् ।
जसले गर्दा हरेक गाउँघरमा चहलपहल बढेको छ । यसरी हेर्दा दसैं एउटा चाड मात्रै नभएर लामो समयपछि परिवारका सदस्यहरू भेट हुने र समुदायमा एकअर्काबीच अन्तरक्रिया हुने अवसर हो । व्यापार–व्यवसाय गुल्जार हुने समय पनि हो । त्यसैले दसैंको महत्त्व सांस्कृतिक रूपमा मात्रै नभएर अर्थतन्त्रसम्मै फैलिएको छ ।
दसैं मुख्यतः हिन्दु धर्मावलम्बीले मनाउने चाड भए पनि यसमा अन्य धर्मावलम्बीहरू पनि जोडिने गर्छन् । रमाउने गर्छन् । नेपाली समाजको विशेषता नै हो कि फरक धर्मावलम्बी र समुदायको चाडलाई पनि सहजै स्वीकार गरिन्छ । सहवरण गरिन्छ ।
जुनसुकै चाडमा पनि रमाउन सक्ने र त्यसमा संलग्न हुने विशेषता नेपाली समाजको बलियो पुँजी हो । यसलाई जोगाउन आवश्यक छ । खासगरी सम्बन्धित चाडमा जोडिएको धार्मिक वा सांस्कृतिक मिथकभन्दा पनि समयानुकूल परिभाषित गर्दै, यसलाई रमाउने उत्सवका रूपमा लिँदै अघि बढ्न सकियो भने चाडपर्वका स्वीकारोक्ति र अपनत्व सबै समुदायमा विस्तार हुन्छ ।
नेपाल बहुधार्मिक र बहुसांस्कृतिक समाज पनि हो । कतिपय यस्ता समाज धार्मिक, सांस्कृतिक वा सामुदायिक द्वन्द्व वा तनावमा फसेका पनि छन् । तर नेपाली समाज त्यस्तो मनोवृत्तिबाट मुक्त छ । बरु सद्भाव, सम्मान, सहयोग र सहनशीलताको जग बलियो बनाइरहेको छ । धार्मिक र सांस्कृतिक अन्तरघुलन बढेको छ । समाज निरन्तर एकअर्काप्रति उदार हुन सम्भव भएको छ ।
परिणामतः नेपाली समाजमा सांस्कृतिक र भावनात्मक एकता पनि बलियो बनेको छ । सबै चाडपर्व सबै समुदायको साझा संस्कृति बन्दै गएका छन् । इन्द्रेणी समाजले गर्नुपर्ने नै यही हो । कुनै पनि समुदाय आफ्नो विशिष्टताको भ्रममा बाँच्न र व्यवहार गर्न उद्यत भयो भने समाजको एकता कमजोर बन्दै जान्छ । त्यसैले त्यस्ता प्रयत्नलाई पहिचान र निस्तेज गर्ने दायित्व पनि सबै समुदायको छ । एक अर्काबीच द्वन्द्व बढाएर होइन, अन्तरघुलन गरेर मात्रै समाजले गति पाउँछ ।
हरेकजसो चाडपर्वमा नेपाली समाजमा अधिक चहलपहल हुने गर्छ । लाखौं मानिस यात्रामा निस्किने गर्छन् । तर नेपालका सडक पूर्वाधार गुणस्तरीय छैनन् । पूर्णतया भर गर्न सकिने छैनन् । कुन सडक खण्डमा कतिबेला पहिरो खस्छ वा सडक नै भासिन्छ भन्ने अनिश्चित छ । केही दिनअघि मात्रै मुग्लिङ–नारायणघाट सडक खण्डलगायत देशका कैयौं ठाउँका सडक अवरुद्ध हुन पुगे । हुन त यतिबेला कामचलाउ ढंगले व्यवस्थापन गरिएका छन् । तर, त्यस्ता सम्भावना कायमै छन् ।
असोज मध्यसम्म पनि वर्षा भइरहेकाले पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने सम्भावना बढी छ । त्यसैले यात्रामा निस्किनुअघि सडकको अवस्थाबारे जानकारी लिन आवश्यक छ । त्यसले यात्राका क्रममा अनावश्यक हैरानी भोग्नबाट राहत दिन सक्छ । सरकारले पनि सडकमा हुन सक्ने सम्भावित अवरोधलाई तत्कालै व्यवस्थापन गर्नका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्नुपर्छ । काबुबाहिरको परिस्थिति भएको अवस्थामा बाहेक सामान्य अवरोध पन्छाउन पनि घण्टौं लाग्न दिनु हुँदैन ।
चाडपर्व अधिक दुर्घटना हुने समय पनि हुन् । सडकको गुणस्तर त्यसको एउटा कारण भइहाल्यो । त्यसका लागि पहल हुनुपर्छ नै । अर्कोतर्फ, सवारी साधनले पनि क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति छ । दसैंका बेलामा रुट परमिट खुला गरिने भएकाले एउटा भूगोलको सडकखण्डमा चलिरहेका गाडीहरू फरकफरक भूगोल र सडकखण्डमा पुग्ने गर्छन् । सम्बन्धित भूगोल र सडक खण्डको विशेषताबारे पूर्ण जानकारी नपाएका नयाँ चालक पनि हुने गर्छन् ।
एकातिर अधिक यात्रु, अर्कोतिर नयाँ सडक खण्डले गर्दा पनि सुरक्षा जोखिम बढाउँछ । त्यसैले पनि यात्रु र चालक स्वयंले सम्भावित जोखिमलाई ख्याल गरेर यात्रु चढ्ने वा चढाउने विषयमा संयम अपनाउनुपर्छ । यो सबैको केन्द्रमा यात्रु स्वयं हुनुपर्छ । किनकि, यात्रुले नै आफ्नो सुरक्षाबारे आफैं गम्भीर बन्नुपर्छ । दुर्घटनामा परियो भने आफू वा आफ्नो परिवारले दुःख बेहोर्नुपर्ने भएकाले पनि विवेकपूर्ण निर्णय लिनुपर्छ ।
तीन हप्ताअघिको जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिको लगत्तै नेपालीले दसैं मनाइरहेका छन् । यो अत्यन्तै कठिन समय हो । कठिन समयलाई पनि स्वीकार गर्ने र खुसी हुने बहाना खोज्ने नेपालीको विशेषता नै हो । जस्तो कि, अघिल्लो वर्ष पनि दसैंको सम्मुखमै ठूलो वर्षा, बाढी र पहिरोले कैयौं गाउँबस्ती नै तहसनहस बनाएको थियो । कठिन समयलाई भुल्न र नियमित खुसीमा फर्किने पूर्वाभ्यासका लागि पनि चाडपर्व सहयोगी हुने गरेको छ । यस पटक पनि दसैंले नेपालीलाई नियमित मनस्थितिमा फर्काउन सकोस् । सबैलाई दसैंको शुभकामना ।साभार : कान्तिपुर,प्रकाशित : आश्विन १४, २०८२

