नेपाल सरकारले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ जारी गरेसंगै विश्व मानसिक स्वास्थ्य दिवस अक्टोबर १० का दिन देशव्यापी रुपमा मानसिक स्वास्थ्य दिवस र वर्षभर मानसिक स्वास्थ्य सचेतना अभियान संचालन गर्दै आइरहेको छ। यसै सिलसिलालाई थप सघन र सशक्त बनाउनका लागि यस वर्ष विश्व मानव अधिकार दिवस १० डिसेम्बरदेखि तीन महिनासम्म मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ संचालन हुँदैछ । यस अभियानमा आ-आफ्नो क्षेत्रबाट सहभागिता जनाउन र साझेदारी गर्न हरेक व्यक्ति, संस्था र निकायसंग निरन्तर सहकार्य गरिने छ।डिजिटल प्रविधिको विस्तारित पहुँचलाई मानसिक स्वास्थ्य सचेतनामा सदुपयोग गरिनेछ ।
अभियानको नाम: “स्वस्थ मन स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान २०८२”
नारा: “मनको कुरा गरौँ”
लक्ष्य
युवा तथा आमसर्वसाधारणमा तथ्यपरक, सहयोगी तथा भेदभाव रहित जानकारीमुलक सूचनामार्फत मानसिक स्वास्थ्य
समस्याको स्वस्थ तरिकाले सामना गर्ने सीप र युवाहरुमा सामुहिकरुपमा स्वस्थ्य रहने प्रक्रियालाई प्रबर्धन गर्ने ।
उद्देश्यहरू
– मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रुपमा जनचेतना बढाउने।
– समस्याको स्वस्थ तरिकाले सामना गर्ने (healthy Coping) सीप र तनाव व्यवस्थापनलाई प्रोत्साहित गर्ने।
– मानसिक स्वास्थ्य र सहयोग खोज्ने व्यवहारसँग सम्बन्धित भ्रमहरु तथा भेदभावहरु हटाउने।
– समुदायका अगुवा, धार्मिक व्यक्तित्व, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा प्रभावशाली व्यक्तित्वहरूलाई
संलग्न गराई मानसिक स्वास्थ्य संवादलाई सामान्यीकरण गर्ने।
अभियानको अवधि
अभियान ३ महिनासम्म सञ्चालन हुनेछ। हरेक महिनामा निश्चित विषय र त्यसैअनुसारका गतिविधिहरू केन्द्रित हुनेछन्।
सुरुआतः मङ्सिर २४, २०८२ (१० डिसेम्बर २०२५)
समापनः फाल्गुन ३०, २०८२ (१४ मार्च २०२६)
लक्षित समूह
किशोर–किशोरी
युवा
आम जनमानस
– अभिभावक
– हेरचाहकर्ता
– शिक्षक
– स्वास्थ्यकर्मी
– सञ्चारकर्मी
– सामुदायिक अगुवा
– नीतिनिर्माता
– प्रभावशाली व्यक्तित्व (Social influencer)
– आमसर्वसाधारण
अभियानका रणनीतिहरू
– ब्रान्डिङ
– सामाजिक सञ्जाल अभियान
– सञ्चार माध्यममा कार्यक्रम
– सेलिब्रिटी तथा प्रभावशाली व्यक्तित्वको संलग्नता
– विद्यालय/क्याम्पस (संजाल, शिक्षक, विद्यालय नर्स)
– प्रतियोगिताहरु (साहित्यिक तथा नवप्रवर्तनमूलक डिजिटल सामग्री)
– स्वयंसेवी संजाल/नेटवर्क (रोटरी, स्काउट,लायन्स, रेडक्रस) परिचालन
– समुदाय–स्तरका कार्यक्रम
– पेशागत संघ–संस्थाहरू (नेपाल मेडिकल एसोसिएन, मनोचिकित्सक संघ, अन्य स्वास्थ्य तथा पेशागत संस्था)
मुख्य साझेदार
अभियान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र द्वारा
नेतृत्व गरिनेछ
प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयहरू, स्वास्थ्य कार्यालयहरू
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयस सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
WHO/ UNICEF
एनजीओ र अन्य संगठनहरू (TPO नेपाल, UMN, CMC, CWIN, कोशिस, NAPA, लगायत अन्य)
स्वास्थ्य कार्यालयहरू
स्थानीय सरकार र विद्यालयहरू
संचारकर्मीहरु
(धार्मिक अगुवाहरू, प्रभावशाली व्यक्तिहरू, च्याम्पियनहरू, कम्युनिटी एफएम स्टेशनहरू, डिजिटल
क्रिएटरहरू, स्वास्थ्य तथा शिक्षा पत्रकार नेटवर्क, विभिन्न फेसबुक पेजहरु )
थीम तथा गतिविधिहरू
सप्ताह १ र २:
भावना र तनावको अभिव्यक्तिलाई स्वीकार्ने र
सामान्य बनाउने
प्रदर्शन पछि भावनात्मक प्रतिक्रियालाई मान्यता
दिने र तनाव, डर, भ्रम, र भावनात्मक थकानबारे
छलफललाई सामान्य बनाउने सन्देशहरू
सप्ताह ३ र ४:
तनाव सामना गर्ने तरिका, स्व-हेरचाह, परिवार र
समुदायको सहयोग, दैनिक तनाव व्यवस्थापन
प्रदर्शन पछिको तनाव र सामान्य जीवनमा उत्पन्न
हुने तनावको लागि स्वस्थ सामना गर्ने रणनीतिहरू
प्रोत्साहन गर्ने सन्देशहरू
सप्ताह ५ र ६: रोग-विशेष परिचय
सामान्य मानसिक रोगहरूको आधारभूत जानकारी प्रदान
गर्ने सन्देशहरू
सप्ताह ७ र ८: सहयोग खोज्ने र मानसिक सामाजिक
परामर्श
प्रारम्भिक सहयोग खोज्न प्रोत्साहन दिने र मानसिक
सामाजिक परामर्श सेवाहरू परिचय गराउने सन्देशहरू
सप्ताह ९ र १०: आत्महत्या रोकथाम
आत्महत्या जोखिम, रोकथाम रणनीति, र उपलब्ध
सहयोगबारे सचेतना बढाउने सन्देशहरू
सप्ताह ११ र १२: सम्वन्ध जोड्ने र समापन
अभियानका सन्देशहरू समेट्ने, समुदायलाई जारी
सेवासँग जोड्ने, र समापन गर्ने।
मानसिक स्वास्थ्य परिचय
मानसिक स्वास्थ्य भनेको स्वस्थ जीवनको एक महत्वपूर्ण आयाम हो । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई रोग तथा असहजता नभएको अवस्था मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा सन्तुलित अवस्था भनेर परिभाषित गरेको छ । त्यसैले स्वस्थ्य जीवनका लागि मानसिक रुपमा पनि सबल, सक्षम र सन्तुलित रहनु पर्दछ । व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्ने, जीवनका सामान्य तनावलाई व्यवस्थापन गर्न सक्ने, उत्पादनशील ढंगले कामगरी आफ्नो समुदायमा योगदान दिन सक्षम रहने अवस्था नै मानसिक स्वस्थताको अवस्था हो । यसले व्यक्तिको भावना, विचार र व्यवहारमा सन्तुलन र समन्वयको अवस्थालाई बुझाउदछ । यही भावना, विचार र व्यवहारमा आउने परिवर्तन जुन निश्चित अवधिसम्म रहिरहन्छन् र जसका कारण व्यक्तिको जिम्मेवारी वा सम्बन्धमा नकारात्मक असर पुग्दछ भने त्यो मानसिक स्वास्थ्य समस्या भएको अवस्था हो ।
मानसिक स्वास्थ्यमा हाम्रो अवस्था र प्रतिवद्धता
स्वास्थ्य संबिधान प्रदत्त मौलिक हक हो । जनस्वास्थ्य सेवा ऐन २०७५ ले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा र जनस्वास्थ्य सेवा नियमावली २०७६ को अनुसूची १ र २ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवामा समावेश गरिएको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले मानसिक स्वास्थ्य सेवालाई
जनस्वास्थ्य सेवामा एकीकृत गरी सबै तहमा विस्तार गर्ने रणनीति लिएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्य योजना २०७७ ले मानसिक स्वास्थ्यमा सबैको समान पहुँच पुर्याउने लक्ष्य लिएको छ ।
दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा आत्महत्या दर हालको २४/१००,००० जना प्रतिवर्षबाट ४.७/१००,००० जना प्रति वर्षमा सिमित राख्ने र मध्यपान लगायतका लागु औषधको नियन्त्रण, रोकथाम, प्रयोगकर्ताको उपचार तथा पुनर्स्थापना व्यवस्था गर्ने लक्ष्य लिएको छ।यसैलाई मध्यनजर राखेर “राष्ट्रिय
मानसिक स्वास्थ्य सेवा कार्यक्रम २०७९” संचालनमा रहेको छ। स्थानीय तहलाई सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम संचालन सहजीकरणका लागि मार्गदर्शन पनि तयार गरिएको छ। समुदायमा रहेर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य सेवा सम्बन्धी क्षमता बिकासका अतिरिक्त आधारभूत
मानसिक स्वास्थ्य सेवा प्रवाहका लागि “आधारभूत स्वास्थ्य सेवा सम्बन्धी गुणस्तरीय उपचार पद्धति” लागु गरिएको छ । आधारभूत मानसिक स्वास्थ्य सेवाका लागि मनोपरामर्श सेवाका अतिरिक्त ११ प्रकारका औषधिहरु समुदायमा नि:शुल्क उपलब्धको प्रवन्ध गरिएको छ।यद्यपी मानसिक स्वास्थ्य सेवा प्रवाहमा
सम्बन्धित नीति निर्माता, व्यवस्थापक, सेवा प्रादायक र आम नागरिकमा अझै पनि पर्याप्त तथ्यपरक जानकारी हुन सकेको छैन।
मानसिक स्वास्थ्य सम्बन्धि विद्यमान मान्यता
मानसिक स्वास्थ्यलाई व्यक्तिको जैविक, मनोवैज्ञानिक तथा सामाजिक पक्षले प्रभाव पार्दछन् र व्यक्तिलाई स्वस्थ रहन वा समस्या उब्जाउन भूमिका खेल्दछन। नेपालजस्ता विकासोन्मुख मुलुकमा मानसिक स्वास्थ्य समस्याको व्यापकता र सेवाको उपलब्धताको बीचमा अधिक अन्तर रहेको हुन्छ। मानसिक स्वास्थ्य समस्याका बारेमा व्यापक अन्धविश्वास, लान्छना, विभेद, बहिस्करण, भेदभाव र हानीकारक अभ्यास रहेको हुन्छ।जसका कारण उपलब्ध सेवाको उपभोगमा पनि अवरोध पुगेको हुन्छ। जनस्वास्थ्यको साझा सरोकारको विषय भएकोले यसमा नागरिक सचेतना अभिवृद्धि गर्नु पर्दछ र स्वास्थ्य सेवाका हरेक तहमा एकीकृत गरी नागरिकको पहुँचमा पुर्याउनु पर्दछ । मानसिक स्वास्थ्यको प्रवर्द्धन, रोगको रोकथाम, समयमा नै पहिचान, उचित व्यवस्थापन र आवश्यक पुनर्स्थापनाका लागि सरकारी, गैर सरकारी, नीजि तथा व्यक्तिगत तहमा समेत समन्वय, सहकार्य र साझेदारी आवश्यक पर्दछ ।
तीनै तहका सरकारको भूमिका
देशको संबिधान, कानून, नीति, रणनीति, कार्यक्रम, निर्देशिका, कार्यविधि, अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार सेवा प्रवाहमा तत्पर रहदै आवश्यक श्रोत पहिचान, निर्धारण तथा परिचालन गर्ने । मानसिक स्वास्थ्य विषयमा सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रबीच आपसी समन्वय, सहकार्य र साझेदारी कायम गर्ने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ पालिका तथा सातै प्रदेशमा मानसिक स्वास्थ्यमा सचेतना तथा आधारभूत मानसिक स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्यकर्मीको क्षमता बिकास तालीमका कार्यक्रमका लागि सशर्त बजेट व्यवस्था गरेको छ ।आधारभूत मानसिक स्वास्थ्यका लागि तोकिएका औषधी नि:शुल्क उपलब्ध गराउन सातै प्रदेशमा बजेट व्यवस्था गरेको छ। संचार प्रविधिमा भएको बिकास र नागरिकस्तरको पहुँचलाई मानसिक स्वास्थ्य सेवामा सदुपयोग गर्न आधारभूत मानसिक स्वास्थ्य सेवामा विशेषज्ञको परामर्शका लागि “टेली मानसिक स्वास्थ्य कार्यक्रम” र आत्महत्या रोकथाममा तत्काल सहयोग र परामर्शका लागि २४ सै नि:शुल्क हेल्पलाईन ११६६ को सेवा उपलब्ध गराइएको छ।प्रदेश सरकार र कतिपय स्थानीय तहले पनि मानसिक स्वास्थ्य सचेतना र सेवा प्रवाहमा बजेट व्यवस्था गरेका छन् ।
आमसंचारको भूमिका
देशको संबिधान, कानून, नीति, रणनीति, कार्यक्रम, निर्देशिका, कार्यविधि, अन्तराष्ट्रिय प्रतिवद्धताका विषयमा राज्यलाई सचेत गराउदै नागरिकका हक, कर्तव्य र स्वस्थ जीवनशैलीका बारेमा निरन्तर सचेतना फैलाउने ।मानसिक स्वास्थ्यका विषयमा सचेतना बढाउन, मानिसक स्वास्थ्य सम्बन्धी उपचार सेवा लिन प्रोत्सहान गर्न र रिपोर्टिङ गर्दा सावधानी अपनाएर आत्हत्याजस्ता घटनाहरुको रोकथाम गर्न सहयोग गर्ने ।
आम नागरिकको भूमिका
आफ्नो, आफ्नो परिवारका सदस्यको, आफन्तजनको मानसिक स्वास्थ्यका बारेमा सचेत रहदै “मानसिक स्वास्थ्य सचेतना अभियान २०८२” मा सहभागी बन्ने ।आफू पनि तनाव रहित, मदिरा तथा लागु औषधमुक्त र स्वथकर जीवनशैली अपनाउने र अरुलाई पनि प्रेरित गर्ने । समुदायमा योग, ध्यान तथा प्राणायामका
अभ्यासलाई अनुसरण गर्ने, गराउने ।मानसिक स्वास्थ्यका बारेमा खुलेर मनका कुरा गर्ने र आवश्यकता अनुसार मानसिक स्वास्थ्य सेवा लिन तत्पर रहने र अरुलाई पनि सहयोग गर्ने । मानसिक स्वास्थ्यमा सर्वव्यापी पहुँच आधारभूत मानव अधिकार रहेको विषयलाई आत्मसाथ गर्दै आम नागरिकको मानसिक सुस्वास्थ्यका लागि आ- आफ्नो क्षेत्रबाट निरन्तर सहयोग, सहकार्य र साझेदारीको हार्दिकताका साथ अपेक्षा तथा अनुरोध छ।
धन्यबाद !

