अचेल काठमाडौं सहरका मुख्य सडकछेउछाउ ज्याकरान्डा फुलिरहेको छ, यसले उजाड सहरमा अलिकति भए पनि हिसी थपेको छ । तर, सहरका अधिकांश ठाउँमा यस फूलको सुन्दरता त परको कुरा, हरियाली देख्न पनि मुस्किल छ । केही वर्षअघिसम्म काठमाडौंमा प्रशस्त खुला ठाउँ थियो, हरिया फाँटहरू पनि । सहर विस्तार हुँदै गर्दा यी सबै नासिए । अहिले छिटफुट मात्रै बाँकी छन् । बजारकेन्द्रित पूर्वाधारहरूले हरियालीलाई विस्थापित गरे । यसले सहरी सौन्दर्य मात्र होइन, मानव स्वास्थ्यमा पनि असर पुर्याइरहेको छ । वायु प्रदूषण
तथा जलवायु प्रदूषणको असर न्यूनीकरणका लागि पनि हरियालीको खाँचो पर्छ । हरियाली संसारभरि नै अपरिहार्य सहरी पूर्वाधारकै
रूपमा विकास भइरहेको छ । नेपालमा भने यसको महत्त्व स्थापित हुन सकेकै छैन ।
जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यासअन्तर्गत कार्बन डाइअक्साइडको मात्रा काठमाडौं उपत्यकामा सवारीसाधन बढेसँगै वृद्धि भइरहेको छ । यसको मात्रा घटाउन विद्युतीय ऊर्जाको प्रवर्द्धनका साथसाथै कार्बन डाइअक्साइडको सञ्चिति तथा भण्डारण क्षमताका लागि सहरी वन अपरिहार्य छ । केही वर्षअघि पहिलो चक्रपथ (कलंकी–कोटेश्वर सडकखण्ड) विस्तारका क्रममा हजारौं रूख काटिए, दोस्रो चक्रपथ (कलंकीदेखि चाबहिलसम्म) विस्तार गर्न पनि उसै गरी रूख विनाश गरिएको छ । सहरका अन्य सहायक सडक विस्तार गर्नुपरे पनि सुरुमा रूख नै काटिन्छ । तर, नयाँ रोपे पनि तिनलाई हुर्काउन वर्षौं लाग्छ । हरियाली आजको भोलि बनाउन सकिने पूर्वाधार होइन । सहर फैलँदै गर्दा, प्रकृति हराउनुको मुख्य कारण प्रकृतिमैत्री विकास सहरीकरण नीतिको प्राथमिकतामा नपुर्न हो । र, प्रकृतिबिनाको सहरी दैनिकी झनै तानवग्रस्त भइरहेको छ ।
मानव स्वास्थ्य र जीवनसँग पनि प्रत्यक्ष जोडिएको सहरी वनले हाम्रोमा खासै प्राथमिकता पाउन सकेको छैन । केही वर्षअघि काठमाडौंको माइतीघरबाट नयाँ वानेश्वरसम्मको सडकलाई सार्क सम्मेलनका लागि आएका पाहुनालाई देखाउन रातारात बगैंचामा परिणत गरियो, रूखहरू रोपिए । आज यो बाटो प्रवेश गर्दा जोकोहीलाई राहत महसुस हुन्छ । सरकारको इच्छाशक्ति भयो भने काम रफ्तारमा हुँदो रहेछ भन्ने उदाहरण पनि हो यो । यसबाटै सिकेर पनि सहरमा बाँकी रहेका खुला स्थानलाई वन वा बगैंचामा उही द्रुत गतिमा परिणत गर्न सकिन्छ । केही वर्षअघि काठमाडौं विकास प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा लगभग १७ हजार ७ सय ५० रोपनी खुला क्षेत्र पहिचान गरेको थियो । त्यसपछि केही पालिकाले प्राधिकरणसँग समन्वय गरी पार्कहरू पनि बनाइरहेका छन्, तर यो पर्याप्त छैन । उपत्यकाका सबै पालिकाले यसको उपयोगको योजना बनाउनु जरुरी छ । त्यस्तै, काठमाडौं उपत्यकाका नदी करिडोरहरू — जुन मुख्यतः यातायात प्रणालीका लागि बढी प्रयोग गरिँदै आइएका छन् — लाई पनि उपयोग गर्न हरियाली क्षेत्रमा रूपान्तरण गर्न सकिन्छ । सरकारी तथा गैरसरकारी संस्थाका परिसरहरूमा पनि यथासम्भव रूख हुर्काउन सकिन्छ ।
खुला क्षेत्रमा पार्कहरू बनाउँदा समुदायको सहभागिता भने कमजोर रहने गरेको छ, जसका कारण ती सार्वजनिकभन्दा पनि व्यापारिक प्रयोजनका लागि बनिरहेका प्रतीत हुन्छन् । खुला क्षेत्रलाई आमसर्वसाधारणको पहुँचमै राख्नु पनि चुनौती बनिरहेको छ । स्थानीय तहको निर्वार्चनको पूर्वसन्ध्यामा, दलहरूको घोषणापत्रमा सहरी वनको विस्तार प्राथमिकतामा परेकै छैन । तिनमा वातावरण संरक्षण त भनिएको छ तर कसरी संरक्षण गर्ने भन्ने तरिका भेटिन्नन् । सहरी वातावरणको जगेर्ना सहरी वनहरूले नै गर्ने हुन् । घोषणापत्रमा उल्लेख नभए पनि पालिकामा पुग्ने प्रतिनिधिहरूले हरियाली प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले रूख रोप्ने योजना ल्याउनुपर्छ ।
उसो त, रूख रोप्नुपर्छ भन्ने चेतना हाम्रा पालिकाहरूलाई नभएको होइन । ‘ग्रिन सिटी’ बनाउने भन्दै काठमाडौं महानगरले वातावरण दिवसका दिन वृक्षरोपण गरिरहन्छ । यो कार्यक्रमलाई सकारात्मक नै माने पनि सहरको हरियाली र सौन्दर्य प्रवर्द्धन गर्न वर्षमा एक दिन बिरुवा रोपेर मात्र पुग्दैन । सहरमा हरियालीको मात्रा थप्दै जानुपर्छ । उपत्यकामा कति रूख चाहिन्छन् भन्ने अध्ययन पनि महानगरको ‘मेयर रिसर्च फेलोसिप प्रोग्राम’ अन्तर्गत नै भएको छ । त्यसको निष्कर्ष रोचक छ, ‘चक्रपथमा गुड्ने अनुमानित १ लाख सवारीसाधनले वर्षभरि गर्ने ४२ हजार ५ सय ४७ टन कार्बन डाइअक्साइड उत्सर्जन गर्छन्, त्यसको २८ हजार ५ सय ७३ टन यहाँका रूखले सोस्ने गरेका छन्, बाँकी वायुमण्डलमा फैलिन्छ, जसलाई रोक्न थप ७ हजार रूख हुर्काउनुपर्छ ।’ यस्तो विषयमा अध्ययन गर्नु–गराउनुले सकारात्मक सन्देश पक्कै दिएको छ । तर, यस्तो निष्कर्ष व्यवहारमा लागू गर्न सकियो भने मात्रै यो अध्ययन बढी सार्थक हुन्छ ।
रूख रोपेर मात्र हुन्न, त्यसलाई स्याहार्न पनि विशेष प्रतिबद्धता चाहिन्छ र छुट्टै संरचना पनि । महानगर र उपत्यकाका आगामी नेतृत्वले यो पक्षमा ध्यान दिनु आवश्यक छ । काठमाडौंलाई खुला क्षेत्र, सहरी जंगल, हरियालीपूर्ण सडकहरूको अत्यधिक आवश्यक छ । वायु प्रदूषण तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि सहरी वन प्रवर्द्धन एउटा उपयोगी नीति हो । सहरी सौन्दर्यका साथै स्वास्थ्यका लागि आवश्यक हरियाली पूर्वाधार निर्माणमा राजनीतिक र सामाजिक इच्छाशक्तिको अपरिहार्यता टड्कारो छ । साभार : कान्तिपुर २०७९बैशाख २१
हरियाली हराएको सहर
हरियाली हराएको सहर
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

