रोशनीलक्ष्मी तुईतुई
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२० लाई नर्स र मिडवाईफ वर्षको रुपमा घोषणा गरेको छ । यसवर्षमा नर्सिङ र मिडवाइफको क्षेत्रमा ठूलो फड्को मार्ने उद्देश्य थियो । तर, कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिले यसमा ब्रेक लगाएको छ । तर, यो बे्रेकलाई अवसरको रुपमा लिएर विभिन्न कार्यक्रम गरेर अगाडी बढने जमर्को गरेका छौं ।
आज नर्सहरुले व्यक्ति स्वस्थ मात्र नभएर विश्व स्वस्थ बनाउनु पर्ने भएको छ । त्यो स्वस्थ पनि रोगलागेपछि उपचार गर्नेमा होइन । रोगलाग्नु भन्दा अघि नै रोकथाम गर्ने र स्वास्थ्य प्रबद्र्धन गर्ने हो । त्यसको लागि नेपाल सरकारले मात्र होइन विश्वले नै सामाजिक दुरीलाई अपनाएको छ । यससँगै व्यक्तिगत र वातावरणीय सरसफाईबाट कोरोना भाइरसलाई निर्मूल गर्नुपर्ने छ । विश्वलाई स्वस्थ बनाउनकालागि नर्स र मिडवाईफको क्षेत्रमा लगानी गर्नु पर्छ । यो लगानी प्रभावकारी हुन्छ भनी २०१८को वल्र्ड इनोभेटिभ समिट फर हेल्थले पनि घोषणा गरेको छ ।
आजको सन्दर्भमा नर्सको जन्मदाता फलोरेन्स नाइटिंगेलको वातावरणीय सिद्धान्तलाई जोड दिनु पर्छ । दुई वर्ष भन्दा अघिको यो सिद्धान्त आजको दिनमा पनि सान्दर्भिक देखिएको छ । किनकी, नाइटिंगेलले तीनवटा वातावरणीय पक्षलाई जोड दिनु भएको छ । पहिलो शारिरीक हो । यस अन्र्तगत ८ वटा क्षेत्रलाई प्राथमिकता दिएको अवस्थामा रोगको रोकथाम गर्न सकिन्छ ।जसअन्तर्गत व्यक्तिगत र वातावरणीय सरसफाई पहिलो हो । दोस्रो, सफा हावा सहितको राम्रो भेन्टिलेशन हो । तेस्रोमा शरीरको आवश्यकता अनुसार, सफा पानी र झोलिलो खानेकुरा खाने हो । चौथो, वातावरणीय प्रदूषणलाई न्युनिकरण गर्ने हो । त्यस्तै पाँचौमा ढल तथा फोहोरमैला निष्काशन र व्यवस्थापन गर्ने हो । छैटौंमा मनस्थितिगत वातावरणलाई नाईटिंगेलले जोड दिनु भएको छ । यसमा संचार र सकारात्मक सल्लाह पर्छ । आज कोरोना भाइरसको सन्दर्भमा यो त झन सान्दर्भिक छ । सूचना सम्प्रेषण गर्दा सहि र आधिकारिक सूचना प्रवाह गर्नु पर्छ । सूचनाले उच्च बनोबल कायम गर्नु पर्ने छ । सातौं , सामाजिक वातावरण हो । यसमा दुईवटा पक्षलाई ध्यान दिनु पर्छ । एउटा , सामाजिक दुरी कायम गर्ने हो । जो आज विश्वभरि लागु भइरहेको छ । अर्कोचाहिं विरामीको तथ्यांक राखेर त्यो विरामीले अर्को बिरामीलाई खोज्ने हो । जुनकुरालाई अहिले कन्टयाक्ट ट्रेसिङ भनेर गरिराखेको छ । यो सिद्धान्त आजको सन्दर्भमा एकदमै महत्वपूर्ण छ ।
नाईटिंगेलले नर्सिङको बारेमा धेरै कुरा प्रष्ट पार्नु भएको छ । जनसमुदाय र बिरामीलाई सकेसम्म अति राम्रो अवस्थामा राख्नु पर्छ । जसले गर्दा प्रकृति र वातावरणले आफै डिल गर्छ । त्यस कारण कोभिडको सन्दर्भमा पनि संक्रमण भएका र संक्रमण नभएका विरामीको सकभर एकदमै राम्रो वातावरणमा राखेर केयर गर्नु पर्ने हुन्छ । नाईटिंगेलले हातमा बत्ति लिएर सैनिकको उपचार गर्नु भयो । आजको दिनमा नर्स दिदी बहिनीहरुले व्यक्तिगत सुरक्षा कवच (पीपीई) लगाएर बिरामीको सेवा गरिरहनु भएको छ । नर्सले अस्पताल भित्र मात्र होइन समुदाय ,विद्यालय, आवागमन बिन्दुु, क्वारेन्टाइन, आइसोलेसन र घरभित्र पनि सेवा दिइरहनु भएको छ । आम जनसमुदायमा सहि सूचनाको लागि घरवरपरि रहेका नर्सिङ दिदीबहिनीसँग आवश्यक सहयोग लिनको लागि हार्दिक अनुरोध गर्दछु । त्यस्तै नर्ससाथीहरुलाई पनि समुदायमा सहि सूचना सम्प्रेषण गर्न आग्रह गर्छु । आफनो मनोबल उच्च राख्न र समुदायको पनि मनोबल उच्च राख्नका लागि आग्रह गर्दछु ।
अहिले मुलुकमा तीन तह संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामाथी हाम्रो केन्द्रीय तथा विशिष्टिकृतदेखि लिएर स्वास्थ्य चौकीसम्म सबैले सेवा दिनु पर्ने छ । त्यो सेवा दिंदा स्वास्थ्यकर्मी र नर्स साथीहरुलाई नर्सिङ स्टाडण्र्ड पालना गरेर नेतृत्वदायी भूमिका सहित उचित सेवा प्रदान गर्न हार्दिक आव्हान गर्न चाहन्छु । आजको दिनमा हामीले टीमवर्कमा रहेर समन्वयात्मक ढंगले काम गर्न सकेको अवस्थामा कोभिड १९ मात्र होइन जुनसुकै विपत पनि हामीले व्यवस्थापन गर्न सक्छौं ।त्यसको लागि नर्सहरुको मनोबल उच्च राख्नु पर्ने हुन्छ । उत्प्रेरणा जगाउनु पर्छ । त्यसको लागि नेपाल सरकार कटिबद्ध रहेको जानकारी गराउन चाहन्छु ।
नर्स र मिडवाईफ साथीहरुको उत्प्रेरणाको लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विभिन्न कामहरु गरेको छ । पेशागत विकासको लागि विभिन्न मोडल तयार गरी अस्पतालहरुमा लागु गरेको छ । क्लिनिकल अडिटको योजना बनाई लागू गरिएको छ । विभिन्न नर्सिङ प्रोसिडयोरहरु जस्तै केमोथेरापि, भेन्टिलेटरमा रहेका विरामीको स्याहार र हेमोडायलासिसमा रहेका विरामीको स्याहार सम्बन्धी प्रोटोकल तयार गरेको छ । यसले कामको सहजता हुन्छ । कामको एकरुपता हुन जान्छ । अर्को मुख्य सेवा दिने भनेको विद्यालयमा हो । लाइफस्टाइल बन्ने पिरियडमा हो । बिद्यालय सेवा तथा नर्सिङ सेवा कार्यक्रमको लागि निर्देशिका तयार गरि लागू गरिएको छ । स्थानीय तहमा समेत पठाइसकिएको छ । पाँच वटा प्रदेशहरु प्रदेश नं २, गण्डकि प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशमा गरि १ सय २० वटा स्कूलमा यो कार्यक्रम लागू गरिएको छ । स्थानीय तहसँगको समन्वयमा यो कार्यक्रम लागूगर्न सफल भएको हो ।
नर्सिङ जनशक्तिले अहिले घरमा आधारित स्वास्थ्य सेवा पनि दिइरहेको छ । त्यसलाई व्यवस्थित गर्नको लागि घरमा आधारित स्वास्थ्यको मापदण्ड र कार्यविधि लागू गरेर स्थानीय तहमा पठाइसकिएको छ । नर्सिङ जनशक्तिको क्षमता अभिवृद्धिको लागि संक्रमण रोकथाम तथा नियन्त्रण , बुढयौली अवस्थाको स्याहार र अरु विभिन्न विषयमा मोडालिटिबाट तालिम प्याकेज निर्माण गरिएको छ । मिडवाईफको लागि निर्देशिका बनाउने लगायतका कार्यहरु गरिएको छ । यसले गर्दा सेवामा दक्षता आउँछ । काम गर्नमा पनि मनोबल बढछ भन्ने आसा गरिएको छ । कोरोना भाइरसको जोखिम विरुद्ध अग्रपंक्तिमा रहेर रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका साथै दैनिक र अत्यावश्यक सेवा दिइरहनु भएको छ । चिन्ता होइन ।चिन्तन गर्नु पर्छ । नकारात्मक होइन । सकारात्मक सोंच र उच्च बनोबलका साथ अगाडि बढ्नु पर्छ । (रोशनीलक्ष्मी तुईतुईं, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हुन । )
कोेभिड १९ ः विश्व स्वस्थ बनाउन नर्सको भूमिका
कोेभिड १९ ः विश्व स्वस्थ बनाउन नर्सको भूमिका
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

