रौतहट/चितवन– कांग्रेस नेता मोहम्मद आफ्ताद आलमलाई आफैंले हुर्काएको भान्जासँगै चुनाव लड्नुपर्छ भन्ने कहिल्यै लागेको थिएन । तर परिस्थिति त्यस्तै आइलाग्यो । उनका भान्जा मुस्ताक आलम मामा नै उठेको रौतहट २ बाट एमाले उम्मेदवार बनेर मैदानमा उत्रिएका छन् ।
‘मैले नै हुर्काएको, मैले नै सिकाएको केटो हो ऊ,’ भान्जाबारे उनले कान्तिपुरसँग भने, ‘राजनीति गर्न सिकाएको थिइनँ । बालबच्चा राम्ररी पाल्न सकोस् भनेर ठेकदारी सिकाएको थिएँ, राजनीतिमा लागेर मैविरुद्ध लड्न आयो ।’ भान्जा मुस्ताकलाई भने मामासँग चुनाव लड्न रमाइलो लागिरहेको छ । ‘मामाले राजनीति नसिकाए पनि राजनीतिमा उहाँलाई सञ्चालन गर्ने मै थिएँ । उहाँको बल नै म थिएँ,’ उनले भने, ‘राजनीतिमा जात, धर्म, नातागोता केही हुँदैन । नाता घरमा हुन्छ । राजनीतिमा यस्तै हुन्छ । महाभारतमा पनि कंश र कृष्ण मामा–भान्जा देखिएकै हो ।’
रौतहट–२ को कृष्ण–कंश भिडन्त पनि महाभारत युद्धजत्तिकै घमासान हुँदै छ । साथमा तेस्रा योद्धा छन्– संघीय फोरमका किरणकुमार साह । युद्ध जित्न सिधा बाटो हिँडेर गाह्रो देखिएको छ । अघिल्लो संविधानसभा चुनावमा रौतहटबाटै पराजित मोहम्मद आफ्तादको अनुभूति छ, ‘मैले चुनावलाई चुनाव बुझेको थिइनँ । त्यही भएर हारें । यसपालि चुनावकै रूपमा बुझेको छु । जित्ने सूत्र मलाई थाहा छ ।’
मामाले ठेकदारी सिकाएको भनिएका मुस्ताक राजनीतिका झन् पोख्त खेलाडी भइसकेका छन् । मामाकै दल कांग्रेसबाट राजनीतिमा छिरेका उनी २०७० को संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकबाट उठे, जिते । विजय गच्छदारले पार्टीलाई कांग्रेसमा विलय गराएपछि उनी एमालेतिर गए । र, मामाकै ठाउँमा प्रत्यक्षबाट लड्न मौका पाए । ‘मधेसी जनतालाई अधिकार दिलाउन मधेसकै दलमा लामो समय काम गरें । तर, सकिएन,’ उनले भने, ‘अब दुई तिहाइ ल्याएर मधेसीको हितमा काम गर्न सजिलो होस् भनेर एमालेमा प्रवेश गरेको हुँ ।’
रौतहटको क्षेत्र २ भन्दा रोचक भिडन्त क्षेत्र १ मा हुँदै छ । राजपा अध्यक्ष मण्डलका अनिल झालाई टक्कर दिन बबनसिंह स्वतन्त्र उम्मेदवार भएका छन् । २०६४ को संविधानसभा चुनावमा स्वतन्त्रैबाट जितेका ववन संघीय फोरममा छिरेका थिए । उनी टिकटको आसमा थिए । राजपा–फोरम तालमेलसँगै राजपा अध्यक्ष मण्डलकै झा यस क्षेत्रमा आए । बबन विद्रोही बनेर उठेका छन् । यही क्षेत्रमा माओवादीका पूर्वराज्यमन्त्री सत्यनारायण भगत र कांग्रेसका जिल्ला सभापति कृष्ण यादव प्रतिस्पर्धा गरिरहेका छन् । झालाई पनि चुनाव जित्न ‘मतदाताको मनोविज्ञान’ बुझ्नुपर्ने लागिरहेको छ । चुनाव जित्ने रणनीति के बनाउनुभएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘मधेसको चुनाव हो, ठूलो रणनीति काम लाग्दैन । मनोविज्ञान बुझेर चल्नुपर्छ ।’ उनले थपे, ‘पहाडमा सैद्धान्तिक कुरा गरेर भोट पाइएला, मधेसमा व्यावहारिक हुनैपर्छ ।’ रौतहटका कतिपय उम्मेदवारले प्रचारको ‘शैली बदल्ने’ बताएका छन् । ‘मधेसको चुनाव हो, घोषणापत्रका भरमा जितिँदैन, अरू नै सूत्र प्रयोग गर्नुपर्छ,’ एक उम्मेदवारले यस अभिव्यक्तिमा नाम नलेखिदिन आग्रह गर्दै भने, ‘यहाँको चुनाव अंकगणितजस्तो जोड, घटाउ, गुणा, भागाले मात्र हुँदैन । खण्डीकरण, समीकरणदेखि ऐकिक नियमसम्म चल्ने बीजगणितमै जानुपर्ने हुन्छ ।’
रौतहट ३ मा भने विकासको भिडन्त हुने भएको छ । २०६४ देखि लगातार जित्दै आएका माओवादीका प्रभु साह, कांग्रेसका निवर्तमान सांसद सुनील यादव र उद्योगी/व्यापारी ओमप्रकाश साह राजपाबाट यस क्षेत्रमा उठेका छन् । दुवै सांसदले सडकलगायत विकासे काम जिल्लालाई दिलाएका थिए । ओमप्रकाशले पनि विकासका आश्वासन बाँड्न थालेका छन् ।
प्रदेश ४ का एमाले उम्मेदवार डा. वंशीधर मिश्र मंगलबार घर–घरमा उपचार गर्दै हिँडिरहेका थिए । मिश्रका लागि कांग्रेसका वेदप्रसाद तिमिल्सिना र राजपाका कन्तमणि जयसवाल चुनौती बनेका छन् । कतिपय उम्मेदवार भने धाँधली र दायाँ–बायाँ नगर्ने/हुन नसक्ने ठोकुवा गर्छन् । ‘धाँधलीको गन्ध आउला जस्तो छ,’ एमालेका मिश्रले भने, ‘तर त्यसो हुन दिनु हुँदैन । बुथकब्जा, धाँधली, बमबारुद, बन्दुकका भरमा चुनाव जित्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’ क्षेत्र ३ का कांग्रेस उम्मेदवार यादवले भने, ‘अब जनताले त्यस्ता गतिविधि स्विकार्दैनन् ।’ कांग्रेसबाटै क्षेत्र ४ मा प्रतिस्पर्धारत तिमिल्सिनाले भने, ‘बुथ कब्जा, बमबारुदको त्रास र पैसाको चलखेल यसपालि हुने छैन ।’ क्षेत्र १ का माओवादी उम्मेदवार भगत, १ कै कांग्रेसका यादव र क्षेत्र ४ का राजपाका जयसवालले विगतका गतिविधि नदोहोरिने बताए । 2074,07-22
‘घोषणापत्रले जितिन्न’
‘घोषणापत्रले जितिन्न’
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

