विराटनगर, कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिन्टेन्डेन्ट डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ । भोजपुर हतुवागढी–४ घर भएका २७ वर्षीय युवक र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ गते ग्रिनक्रस अस्पतालमा शिशुको जन्म भएको थियो । डा. कर्णले उक्त शिशु मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको
मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।
ती दम्पती र दिदी नाता पर्ने सुधा राजवंशी मंगलबार शिशुसहित मोरङ प्रहरीमा उपस्थित भएका थिए । ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधामार्फत डा. कर्णले शिशुलाई बिक्री गरेको खुलेको हो । ‘डा. कर्णले विगतमा पनि त्यस्ता शिशु बिक्री गरेको सुनेको थिएँ । त्यस्तो बच्चा फेला परे आफूलाई दिन उहाँसँग आग्रह गरेको थिएँ,’ सुधाले भनिन्, ‘असार १४ गते डा. कर्णले फोन गरेर बच्चा लिने हो भने, मैले लिने हो भनें । अनि त्यसै दिन ५ लाख रुपैयाँ दिएर भाइबुहारीका लागि यो शिशु लिएको हुँ ।’ भाइबुहारीको विवाह भएको दशक बित्दा पनि सन्तान नभएपछि उक्त शिशु खरिद गरेको उनको भनाइ छ । उनले डा. कर्णकी असिस्टेन्ट
निर्मला यादव (नीरु) मार्फत पाँच लाख रुपैयाँ दिएको बताइन् ।
कोशी अस्पतालमा झन्डै अढाई दशक स्त्रीरोग विभागमा काम गरेर सेवा निवृत्त डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म मेडिकल सुपरिन्टेन्डेन्टसमेत थिए । उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।
भोजपुरका अविवाहित ती युवकले प्रेमिकालाई असार १३ मा ग्रिनक्रस अस्पताल नजिकै रहेको डा. कर्णको निजी दीपेश मेडिकल क्लिनिकमा लगेका थिए । आफ्नो क्लिनिकमा सुरुवाती परीक्षण गरेर कर्णले ती युवक र युवतीको नाम–ठेगाना परिवर्तन गरेर क्लिनिक नजिकको ग्रिनक्रस अस्पतालमा भर्ना गरे । असार १४ मा नर्मल अवस्थामा छोरी जन्म भयो तर उनले युवतीलाई बच्चाबिनै डिस्चार्ज दिए । अस्पतालको रेकर्डमा युवकको नाम रामबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ र ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । जबकि रामधुनीमा वडा ११ नै छैन ।
उक्त प्रकरणलाई नजिकबाट हेरेका अस्पतालका नर्सद्वयका अनुसार डा. कर्णले असार १३ गते साँझ ७ बजे क्लिनिककी सहयोगी निर्मला यादव (नीरु) मार्फत गर्भवती युवतीलाई अस्पताल पठाएर नाम परिवर्तन गराई भर्ना गराएका थिए । निर्मलाले नै उनलाई ब्यथा लाग्ने औषधि चलाएर आफूहरूलाई निगरानी मात्र गर्न र केही परे वा डेलिभरी हुने स्थिति भएमा जानकारी गराउन भन्दै डा. कर्ण हिँडेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘युवतीलाई राति ज्वरो आयो । त्यसबेला नीरुले हामीलाई सिटामोल दिनसमेत इजाजत दिइनन् र राति आफैं अस्पताल आएर युवतीलाई सिटामोल खुवाइन् । उनले आसपासका कुनै पनि पसलमा नकिनी सबै औषधि आफैं लिएर आएकी थिइन् । १४ गते बिहान सवा ७ बजेतिर युवतीको पाठेघरको मुख खुलेर डेलिभरी हुने अवस्था आएपछि नीरुलाई हामीले जानकारी गरायौं,’ ती नर्सले भनिन्, ‘त्यसपछि नीरु दिदी अस्पताल आएर आफैंले ८ बजेतिर डेलिभरी गराइन् । त्यसपछि डा. कर्ण अस्पताल आइपुगे ।’ त्यसपछि नीरुले शिशुलाई सुधाको हातमा थमाइदिएकी थिइन् । त्यसैबेला सुधाले फोन गरेर शिशु लिने मानिस बोलाएको बुझिएको छ । ‘उनीहरू तुरुन्त आए । सुधाले लु हेर बच्चा राम्रो छ । लिएर जाओ भन्दै उनीहरूको हातमा थमाइदिइन् । त्यसबेला बिहानको करिब साढे ८ बजेको थियो,’ ती नर्सले भनिन् ।
त्यसपछि डा. कर्णले डेलिभरी नोटमा बच्चा (छोरी) नर्मल जन्मिएको, तौल कम ९ सय ५० ग्राम मात्र भएको र धरान वा विराट नर्सिङ होममा थप उपचार गर्न लैजाने भन्दै नाम परिवर्तन गरिएका शिशुका बाबु रामबहादुर तामाङले बच्चा बुझेको ब्यहोराको कागज नर्सहरूलाई लेख्न लगाएको ती दुई नर्सले बयान दिएका छन् । यस क्रममा डा. कर्णले प्रेमजोडीलाई बच्चाबिना नै डिस्चार्ज दिएर घर पठाएका थिए । उनीहरूका अनुसार शिशुको तौल सवा दुई किलो थियो । ती दुई नर्सले भने डा. कर्णले आफूहरूलाई बच्चाको तौल ९ सय ५० ग्राम मात्र भएको पत्र लेख्न दबाब दिएको बताएका छन् ।
डा. कर्णले असार अन्तिम साता पनि अविवाहित ऋषिदेव थरकी युवतीले यही अस्पतालमा जन्माएको शिशु (छोरा) काठमाडौंका अग्रवाल थरका निःसन्तान दम्पतीलाई बिक्री गरेका थिए । उक्त शिशुको तौल निकै कम थियो । अग्रवाल दम्पतीले उक्त शिशुलाई विराटनगरकै एक अस्पतालमा एक सातासम्म उपचार गरेर लिएर गएका थिए । डा. कर्णले दशक अगाडि मोरङको ग्रामथान गाउँपालिकाका एक निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँ लिएर अवैध सम्बन्धबाट जन्मिएकी शिशु उपलब्ध गराएको पनि खुलेको छ । अस्पताल स्रोतका अनुसार कोशी अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा करिब अढाई दशक काम गर्दा उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेको बतायो । २०६३/६४ सालमा पनि अस्पतालबाट तीन जना नवजात शिशु अचानक हराउँदा ठूलो हंगामा मच्चिएको थियो । ती शिशु पनि डा. कर्णकै सक्रियतामा निःसन्तान दम्पतीसमक्ष पुगेको आशंका गरिएको थियो । डा. कर्णले आफ्नो क्लिनिकबाट गर्भवतीलाई अस्पतालमा ल्याएर सुत्केरी गराएर पठाउने गरेका थिए । त्यसबापत उनले अस्पताललाई बेड चार्ज मात्र तिर्दै आएका थिए ।
ग्रिनक्रस अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्ण खवासले उक्त प्रकरणमा पनि डा. कर्णले अस्पताललाई एक रातको बेड चार्ज तीन हजार रुपैयाँ तिरेको बताए । विश्वासले डा. कर्णलाई आफ्नो क्लिनिकबाट गर्भवतीलाई अस्पतालमा ल्याएर सुत्केरी गराउने सुविधा दिएको उनले बताए । ‘तर उनको धन्दा डरलाग्दो रहेछ,’ खवासले भने, ‘डा. कर्ण शिशु बेचबिखन कार्यमा संलग्न रहेछन् । उनको यो कर्तुत अस्पताल प्रशासनलाई यसअघि जानकारी थिएन ।’
प्रहरी शुक्रबार ग्रिनक्रस अस्पताल पुग्दा मधुमेह र उच्च रक्तचाप बढेको भन्दै ६८ वर्षीय डा. कर्ण पाँच दिनसम्म कोशी अस्पतालको एचडीयू (हाई डिपेन्डेन्ट युनिट) मा बसेका थिए । उनलाई मंगलबार अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले हिरासतमा लिएको छ । शिशुका अविवाहित बाबु पनि प्रहरी नियन्त्रणमा छन् ।
डा. कर्णले पाँच लाखमा शिशु बेचेको पुष्टि
डा. कर्णले पाँच लाखमा शिशु बेचेको पुष्टि
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

