काठमाडौँ, नर्सहरु आन्दोलित छन् । उनीहरुको हातमा प्लेकार्ड देखिन्छ । जहाँ लेखिएको छ,‘महँगा अस्पताल, सस्ता नर्स’, ‘हामी मेसिन होइनौं’, ‘श्रम शोषण बन्द गर । बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म ‘श्रमको उचित मूल्य’ चाहिएको भन्दै उनीहरू प्लेकाड लिएर नारा लगाउँदै अस्पतालबाहिर धर्नामा समेत बसे । अहिले तिहार बिदामा उनीहरूले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरिरहेका छन् ।
सरकारले २०८१ मंसिर २७ गते स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा सुविधा सरकारीसरह लागू गर्नुपर्ने निर्णय गरेको थियो । तर अस्पतालहरूले सरकारी निर्देशन बेवास्ता गरेको भन्दै नर्सहरू आन्दोलनमा उत्रिएका हुन् । यस विषयमा जीएमसी अस्पतालका नर्सहरू के भन्छन् त ? नाम उल्लेख नगर्न भनी उनीहरूले साटेका विचार :
लामो समयदेखि नर्सिङ पेसामा आबद्ध रहेकी एक नर्स जो आन्दोलनमा सहभागी समेत छिन्, उनका अनुसार अस्पतालले सरकारले तोकेजति तलब सबै नर्सहरूलाई दिनुपर्ने बताउँछिन् ।
भन्छिन्, ‘हामीले अरू केही मागेकै छैनौं, अन्य केही माग पनि छैन तर हस्पिटलहरूले सरकारले तोकेको ‘स्यालरी’ दिन किन सक्दैनन् ? हाम्रो दुःख कस्ले बुझ्ने ? दिनरात नभनी काम गर्छौं, अनि स्यालरी भने हात लाग्यो सुन्ना भनेजस्तै छ ।’
उनी अस्पतालले आफूहरूले गरेको दुःख र मिहिनेतको कदर गर्नुपर्ने पनि बताउँछिन् । धेरै लगानी गरेर पढेर आफ्नै देशमा केही गर्छु भनी बस्ने वातावरण यहाँ नभएको पनि उनको गुनासो थियो । त्यसरी नै ९ वर्षदेखि जीएमसी अस्पतालमा कार्यरत अर्की एक नर्सका अनुसार पेसाले नर्स भए पनि तलब भने सुनाउनसमेत लाज लाग्ने भएको बताइन् ।
उनले भनिन्, ‘हामीले नर्सिङ गर्दा ८–९ लाख लागेको हो । अहिले पढ्नेलाई झन् महँगो छ । खर्च गरेर पढ्ने, डे, नाइट जुन सिफ्टमा पनि काम गर्ने अनि तलब भने हेल्परको र हाम्रो एउटै हुने ! यो त अति भएन र ?’ आफूहरूले श्रमअनुसारको तलब पाउनुपर्ने माग राखेको उनले बताइन् ।
‘हामीले हाम्रो पेसाको सम्मान भएको हेर्न कहिले पाउने ?,’ उनले भनिन्, ‘दिनरात काम गरेर १२ हजार बेसिक स्यालरी छ । घर-परिवारलाई दिने पैसा त के आफ्ना लागि केही किन्न पर्यो भने घरमा पैसा माग्नुपर्छ । नर्स पढेर जागिर खाएर यस्तो हालत छ भन्नुहुन्छ अभिभावक । त्यतिबेला मन साह्रै दुख्छ ।’
उनी श्रमको सम्मान नभएका कारण नै स्वास्थ्यकर्मी विदेश पलायन हुन बाध्य भएको पनि बताउँछिन् । ‘यही पेसालाई विदेशमा कति मान्यता, सम्मान छ । सेवा–सुविधा पनि कस्तो राम्रो हुन्छ । तर हाम्रो देशमा सरकारले तोकेको तलब देऊ, हाम्रो दुःखलाई बुझ भनेर आन्दोलन गनुपर्छ । राम्रो तलब दिन नसक्ने अनि सबै विदेश गए भनेर भाषण गरेर हुन्छ ? नेपालमा बस्न सक्ने अवस्था पनि त सिर्जना गर्न सक्नु पर्यो नि !’
सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएमा आउँदा दिनमा आन्दोलन अझ चर्काउने नर्सहरू बताउँछन् ।
त्यसरी नै लामो समयदेखि नर्सिङ पेसामा कार्यरत अर्की एक नर्सका अनुसार आफ्नो तलबले पोखरामा बसेर कोठाभाडा तिर्नसमेत कठिन छ।
भन्छिन्, ‘महिनामा आएको तलबले कोठाभाडा तिर्न पनि पुग्दैन । छोराछोरीको फि र घरखर्च हामीले कसरी गरेका छौं होला ? बुझ्नुपर्ने हैन र हामीले काम गरिरहेका हस्पिटलहरूले ?’ सबैलाई नर्सको काम प्यारो हुने तर तलब भने राम्रो दिन नसक्ने भइरहेको उनले सुनाइन् ।
‘यस्तो पनि कहीं हुन्छ ?,’ उनले अगाडि भनिन्, ‘हामीले बुझेका छौं- हाम्रा कारण अहिले बिरामीलाई दुःख भएको छ तर जबसम्म हाम्रा माग प्रशासनले सुन्दैन र पूरा गर्दैन, हामी आन्दोलनका कार्यक्रम छोड्दैनौं ।’

