काठमाडौं । अढाई दशकदेखि उचित पारिश्रमिकको माग गर्दै आन्दोलन गरिरहेका नर्सहरुको आन्दोलनप्रति सरकार र सरोकारवालाहरुले उपेक्षा गरिरहेका छन् । एकातिर कार्यबोझ र अर्कोतिर न्युन पारिश्रमिकका कारण नर्सहरु पटक पटक आन्दोलन गर्न बाध्य भइरहेका छन् ।
मणिपाल अस्पतालबाट स्वतस्फूर्त शुरु भएको आन्दोलन अहिले देशव्यापि बनेको छ । गण्डकि मेडिकल कलेज, बिराट मेडिकल कलेज हुँदै नोभेल मेडिकल कलेजका नर्सहरु पनि आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पताल (पोखरा)ले असोज २८ गते प्रेस विज्ञप्ति जारी गर्दै नर्सिङ कर्मचारीहरुलाई मासिक तलब २४ हजार ५ सय ५० रुपैयाँदेखि २९ हजार ५ सय ५० रुपैयाँसम्म निर्धारण गर्ने सहमति भएको जनाएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापनले मागका ९९ प्रतिशत भाग सम्बोधन भइसकेको पनि दाबी गरेको छ। यद्यपि, केही नर्सिङ कर्मचारीहरुको आन्दोलनका कारण अस्पतालको आईसीयू सेवा प्रभावित भएको र बिरामीहरुलाई असुविधा भएको अस्पतालले जनाएको छ । विज्ञप्तिअनुसार, बीएससी र बिएन स्टाफ नर्सका लागि न्यूनतम एक वर्षको अनुभवसहित २९ हजार ५ सय ५० रुपैयाँ, पिएल स्टाफ नर्सका लागि न्यूनतम एक वर्षको अनुभवसहित २८ हजार ८ सय ५० रुपैयाँ, सिएमए र एनएमका लागि न्यूनतम एक वर्षको अनुभवसहित २८ हजार ६ सय ५० रुपैयाँ र फ्रेस नर्सिङ स्टाफका लागि २४ हजार ५ सय ५० रुपैयाँ निर्धारण गरिएको जनाएको थियो ।

असोज ३१ गते स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा पनि कुनै निष्कर्ष निस्केन । ‘ काम लगाए पछि उचित तलब र सेवा सुबिधा त दिनु पर्यो नि,’ नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्मा भन्छिन, हामीले तोकिए अनुसारको पारिश्रमिक दिन सक्दैनौं । लिमिटेशन छ । ऋण छ भन्ने कुराहरु अस्पताल सञ्चालकहरुबाट आइरहेको छ । सरकारबाट कुनै अनुदान छैन, हामी नीजि अस्पतालले सरकारी सरह तलब र सेवा सुविधा दिन सक्दैनौं भनिरहनु भएको छ ।’ नीजि अस्पताल सञ्चालन गर्छु भनेर अगाडी बढिसके पछि कतिजना जनशक्ति राख्ने र उचित पारिश्रमिक एवं सेवा सुबिधा उपलब्ध गराउनु पर्ने योजना हुनु पर्ने शर्माको भनाई छ ।
डेढदशक देखि अल्झिरहेको आन्दोलन
नर्सिङ संघकी अध्यक्ष शर्माका अनुसार, तलब, भत्ताको विषयलाई २०६६ सालदेखि नर्सहरुको आन्दोलन जारी रहेको छ । ‘ श्रम अनुसारको पारिश्रमिक नपाएको अवस्था छ । विगत लामो समयदेखि नै आन्दोलन गरेका हौं,’ शर्मा भन्छिन,‘ २०६६ सालमा संघको कार्य समिति सदस्य थिएँ । त्यतिबेला पनि आन्दोलन पश्चात ओ एण्ड एम सर्भे गर्ने सहमति भएको थियो । पारिश्रमिकका साथै जोखिम भत्ता, रात्रिकालिन भत्ताको विषयसँग सम्बन्धित रहेर आन्दोलन भएको थियो ।’ त्यो बेला युनिफर्म अलाउन्स एक शय रुपैंया मात्र भएको उनले बताइन् ।
२०७५ सालमा युथ नर्स संजाल नेपालले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि अन्याय भइरहेको आरोप लगाउँदै आन्दोलनमा उत्रेको थियो । २०७५ असार १२ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी संजालले केन्द्रमा नर्सहरुमाथि शारिरीक तथा मानसिक यातना दिने काम भइरहेको दावी गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै पीडित नर्स त्रजिना जतीले मानव अंग प्रत्यारोपण केन्द्र प्रशासनले नर्सहरुमाथि सबैखाले शोषण गरेको आरोप लगाएकी थिइन् ।
उनले ६ वर्षयता लगातार काम गर्दै आएको आफूमाथि समेत जुनियर नर्सले थप्पड हान्दा केन्द्र प्रशासनले सुनुवाई नगरेको गुनासो थियो । अस्पताल प्रशासनको पीडाबाट त्यहाँ कार्यरत नर्सहरु आत्माहत्या गर्ने तहमा पुगेको समेत पीडित नर्सहरुको दावी थियो । १८ महिनासम्म स्वयम् सेवकको रुपमा काम गरेका नर्सहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट जागिर दिलाइयोस् भन्ने माग राख्दा प्रशासनले दमन गर्न थालेको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्यौलाले बताएकी थिइन् ।
मानव अंग प्रत्यारोपण केन्द्र स्थापनाको ६ वर्षमा नर्सहरू शोषणमा परेको गुनासो उनीहरूले गरेका छन् । ‘इन्चार्जले भनेको कुरा नै सही मानिहाल्ने चलन थियो, यही चलनको कारण नर्समाथि शोषण गर्ने प्रवृत्तिले प्रश्रय पायो,’ केन्द्रकी नर्स त्रिजना जतिले भनिन् । उनी सो वार्डमा ५ वर्षदेखि कार्यरत छिन् ।
केन्द्रले ६ वर्षको अवधिमा दश जना नर्सलाई वर्खास्त गरिसकेको नर्सहरुको दावी थियो । बिनाकारण वर्खास्त भएकी श्रेष्ठ थरकी एक नर्सले मेटासिड सेवन गरेकी थिइन् । तर उनलाई समयमै अस्पताल पु¥याइएकाले क्षति हुन पाएन । उनी हाल सिंगापुरको एक अस्पतालममा कार्यरत छिन् । त्यस्तै केन्द्रबाट दुई वर्षअघि एकैपटक चार जना नर्स निष्कासनमा परे । त्यस्तै, गत साउनमा केन्द्रले नर्स सजना देउलासहित चार जनालाई पालैसँग निष्कासन ग¥यो ।
सजना देउलालाई अस्पतालको क्रियाकलापको विषयमा प्रशासनमा निवेदन लेखेका र नर्सिङ संघमा बोलेको कारणले निष्कासन गरिएको थियो । त्यसमाथि, सजना देउलाको पक्षमा बोलेकै कारण पाँच वर्षदेखि कार्यरत त्रिजना जतिलाई र विकास महर्जनलाई पुरानो राजीनामाको विषयलाई लिएर निष्कासन गरेका थिए । ‘आफ्नै आँखाले धेरै अन्यायहरू देखेपछि चुप लागेर बसिनँ र बहिनीलाई बोल भनेकी हुँ,’ उनले भनेकी थिइन् । महर्जनले एक वर्षअघि दिएको राजीनामाको बहानामा वर्खास्त गरेका थिए । ‘गत वर्ष राजीनामा दिँदा केन्द्रलाई आवश्यक छ भन्दै राजिनामा अस्वीकृत गरे, अहिले आएर राजीनामा स्वीकृत भयो भनेछन्,’ नर्सहरुले भनेका थिए ।
नर्सहरु : ज्यालादारी, स्वयंसेवि र र सेसन बेसिसमा
अस्पतालमा तीन जना मात्र नेपाल सरकारका नर्स छन् । अन्य सबै ज्यालादारी, भोलेन्टेयर र सेसन बेसिसमा काम गर्दै आएका छन् । केन्द्रले भोलेन्टेयर नर्स राख्न नपाउने स्वास्थ्य मन्त्रालयको निर्णय विपरीत पटक–पटक भोलेन्टेयर नर्स राख्दै आएको उनीहरूको आरोप छ ।
एक विद्यालय, एक नर्स
सरकारी एवं नीजि अस्पताल मात्र नभई सरकारले विद्यालयमा पनि नर्सहरु राख्ने व्यवस्था गरेको छ । जसलाई एक विद्यालय, एक नर्सको नारा दिइएको छ ।
डब्लुएचओको मापदण्ड : छैन पालना
संघकी अध्यक्ष शर्माका अनुसार, नर्स र बिरामी रेसियो परिपालना नहुँदा नर्सहरुलाई कार्यबोझ बढेको छ । ‘ बिसौं वर्षदेखिको दरवन्दीमा काम गर्नु परिरहेको छ, शर्मा भन्छिन, ‘डब्लुएचओको मापदण्ड अनुसार पनि एउटा नर्सले साधारण मेडिकल, सर्जिकल र जेनरल वाडमा ६ देखि ८ जना बिरामी हेर्नु पर्छ । तर अहिलेको अवस्थामा २५ देखि ३० जना बिरामी हेरिरहेको अवस्था छ । सघन उपचार कक्ष (आइसीयु)मा एउटा नर्सले एउटा बिरामी (वन इज टू वन) हेर्ने हो । सुत्केरी गराउने महिलाकोलागि कम्तीमा दुई जना नर्सहरु हुनु पर्छ । डब्लुएचओको स्टाण्डर्ड अनुसार नर्स र बिरामीको रेसियो पनि मेन्टेन नगरेको अवस्था छ ।’
विदेशिंदै नर्स
नर्सिङ परिषद्मा दर्ता भएका नर्सहरुको संख्या १ लाख २३ हजार रहेको छ । संघकी अध्यक्ष शर्माका अनुसार, नर्सहरु विदेशिंदै गएका छन् । सेवा सुविधाकै कारण धेरै नर्सहरुको रोजाई अमेरिका, अस्टे«लिया, बेलायत र दुबई र कतार भइरहेको छ । विदेश जाने क्रम पनि बढ्दो छ । यहिं किसिमले विदेश पलायन भएमा नर्सहरुको अभाव हुने सक्ने आंकलन गरिएको छ । परिषद्बाट गुड स्ट्याण्डिङ सर्टिफिकेट लिएर पलायन हुने क्रम बढ्दो छ ।
नर्भिकले बढायो नर्सहरूको तलब
निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्युनतम तलब रु ३७,००० (सैतीस हजार) कायम गरिएको छ । कायम गरेको हो।
नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो।
अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरुको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ।
नर्भिकले गत महिना भएको जेन–जी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ।
अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।



