काठमाडौं– २०७२ साल पुस १८ मा प्रहरीले ८ लाख ६२ हजार रुपैयाँको लागूऔषधसहित ३ जनालाई पक्राउ गर्यो, जसमा एक महिला र २ भारतीय पुरूष थिए ।
ललितपुर लेलेकी विमला थापा हुसेन, भारत पूर्वी चम्पारणका विक्कीकुमार सिंह र सञ्जितकुमार सिंह डाइजेपाम, फेनारगन र ब्रुपेनर्फिनसहित कालीमाटीबाट पक्राउ परेका थिए । विमलाले पक्राउ परेपछि दिएको बयानका आधारमा प्रहरीले ती दुवै भारतीयलाई शरीरमा लागूऔषध लुकाइराखेको अवस्थामा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा नेपाल–भारत सीमाबाट ती औषधिजन्य लागूपदार्थ ल्याइएको कुरा खुल्यो ।
मंसिर २३ मा लागूऔषध नियन्त्रण ब्युरो वीरगन्ज शाखाको सूचनाका आधारमा अनुमानित बजार मूल्य १७ लाख पर्ने फर्मास्युटिकल ड्रगसहित ५ जना पक्राउ परे । काठमाडौं ६ बस्ने सुनीता परियार, झापा घर भई चाबहिल बस्ने अनुप बराइली, महांकाल बस्ने आदर्श तामाङ, ललितपुर गाबहाल बस्ने विष्णु रणपहेली र सिन्धुली घर भई माकलबारी बस्दै आएका विजय तामाङलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा बराइलीले लागूऔषध भारतबाट विराटनगर, वीरगन्ज तथा भैरहवा नाकाबाट ओसारपसार गरी काठमाडौंमा बिक्री गरेको भेटियो । स्वास्थ्य क्षेत्रमा प्रयोग हुने यी औषधि मिसाएर प्रयोगकर्ताले लागूऔषध बनाउने गर्छन् । यी प्रतिनिधि घटना मात्र हुन् । लागूऔषध नेपाल भित्रिनुमा भारतीय खुला सिमाना र भारतीय नागरिक तानिएका छन् । यसबाहेक अधिकांश मेडिकल ड्रग नेपालसम्म आइपुग्नुमा भारतमा यसको बिक्रीमा कडाइ नहुनु प्रमुख कारण मानिन्छ ।
नेपालमा भित्रिने लगभग सबै फर्मास्युटिकल ड्रग्स भारतबाटै भित्रिने गरेको ब्युरोका डीएसपी अपिल बोहोराले बताए । उनका अनुसार खुला सिमाना पहिलो समस्या हो भने प्रहरीको पहुँच सिमानासम्म नहुनु दोस्रो प्रमुख समस्या हो । तेस्रो प्रमुख समस्याका रूपमा ब्युरोको पहुँच सीमासम्म नहुनु रहेको मान्छन् ब्युरो प्रमुख जयबहादुर चन्द । कञ्चनपुर, नेपालगन्ज, रूपन्देही, विराटनगर, झापा र पर्सा गरी भारतसँग जोडिएका ६ जिल्लामा मात्र ब्युरोको शाखा छ ।
अन्य गाँजा, अफिमजस्ता लागूपदार्थ नियन्त्रणका लागि समय र मिहिनेत दुवै चाहिन्छ । अन्य लागूपदार्थ बनाउने कच्चा पदार्थका रूपमा यसको प्रयोग र खेती हुन्छ । धेरै ठाउँ ओगट्ने भएकाले पनि उत्पादक र ओसारपसार गर्ने दुवैलाई सुरक्षा खतरा रहिरहन्छ । तर, मेडिकल ड्रग कमै ठाउँमा अट्ने, खुला सीमानाबाट सहजै ल्याउन सकिने, सुरक्षाकर्मीलाई पनि शंका लाग्ने सम्भावना कम भएकाले यसको प्रयोगकर्ता र विक्रेता दुवै बढ्दै छन् । भारी परिमाणमा फेला पर्ने फर्मास्युटिकल ड्रग्स नै अहिले लागूऔषध नियन्त्रण ब्युरोको टाउको दुखाइ बनेको छ । भारतका मेडिकल स्टोरमा खुलेआम बिक्री हुँदा सजिलै नेपालसम्म पनि पुग्ने गरेको छ । तथ्यांकले पछिल्लो ५ वर्षयता मेडिकल ड्रग्समा सबभन्दा बढी डाइजेपाम र बुप्रेनर्फिन बरामद भएको देखाउँछ । सन् २०१२ मा डाइजेपाम ७२ हजार ४ सय ४४ एम्पुल, २०१३ मा ४३ हजार २ सय २७ एम्पुल, २०१४ मा ४४ हजार ४ सय ९५, २०१५ मा २५ हजार ५६ र २०१६ मा ३४ हजार ९ सय ७७ एम्पुल बरामद भएका छन् । एक एम्पुलमा ५ मिलिलिटर हुन्छ । बुप्रेनर्फिन भने २०१२ देखि २०१६ सम्ममा कारोबार हुने दोस्रो मेडिकल ड्रगका रूपमा छ । २०१२ मा ५८ हजार ४, त्यसपछिका वर्षमा क्रमश: ३० हजार ८ सय ८७, ३७ हजार १ सय १३, १८ हजार ९ सय ५० र २०१६ मा २५ हजार १ सय ९१ ग्राम बरामद भइसकेका छन् । यसबाहेक नर्फिन, कोडिन, कोरेक्स, नाइट्रोभेट, सेटामाइनजस्ता लागूऔषध बरामदका घटना पनि धेरै छन् ।
पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा लागूऔषध कारोबारमा पक्राउ पर्ने विदेशीमा भारतीयको संख्या बढी छ । सन् २०११ मा ब्युरोले पक्राउ गरेका ३१ मध्ये २४ भारतीय नागरिक थिए । त्यसैगरी २०१२ मा २७ मध्ये २१, २०१३ मा १८ मध्ये ८, २०१४ मा २४ मध्ये ९ र २०१६ मा १६ मध्ये ६ भारतीय थिए । सन् २०१६ को अन्त्यसम्म पक्राउ परेका २५ मध्ये १० भारतका छन् भने चीन, बोलिभिया र मलेसियाका २/२ जना छन् । अस्ट्रेलिया, गिनी, इजलायल, इरान, रुस, साउथ अफ्रिका, थाइल्यान्ड, टर्की र भेनेजुएलाका नागरिक पनि पक्राउ परेका छन् ।
एआईजी विज्ञानराज शर्माले प्रहरी मुख्यालय नक्सालमा आयोजित एक कार्यक्रममा भारतीय पक्षका सुरक्षा उच्च अधिकारीसँग पटकपटक भएको वार्तामा मेडिकल ड्रग्समाथि निगरानी राखिने कुराले महत्त्व पाउने, दुवैपक्ष सहमत हुने भए पनि व्यवहारमा लागू नहुनुले नेपालमा यसको व्यापक प्रयोग भइरहेको बताए । ‘वार्तामा कुरा हुन्छ तर भारतीय बजारमा निगरानी राखिँदैन,’ शर्माले थपे, ‘लाखौंको किन्दा पनि पारिको बजारमा सजिलै पाइन्छ । अनुगमनै हुँदैन । जबकि बजारमा कडाइ गर्नुपर्ने हो ।’ तर, अनुगमनको कमी भारतमा मात्र नभएको होइन । औषधिसम्बन्धी सबै व्यवस्थापन गर्ने जिम्मा पाएको औषधि व्यवस्था विभागको अनुगमन पनि फितलो भएको सरोकारवालाको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईं भन्छन्, ‘त्यस्तो अवस्थामा पक्राउ परेका अपराधीमाथि मात्र होइन विभाग पनि कारबाहीको भागिदार बन्नुपर्छ ।’
प्रहरीले लागूपदार्थ नियन्त्रण ऐनअनुसार कामकारबाही गर्छ भने विभागसँग पनि औषधि व्यवस्था ऐनअनुसार औषधिको दुरुपयोग गर्नेमाथि जन्मकैदसम्मको सजाय माग गरी मुद्दा हाल्न सक्ने अधिकार छ । तर, विभागले आफ्नो दायित्व भुलेर आँखा चिम्लेको हुमागाईं बताउँछन् ।
औषधि बनाउन रसायन खरिद गर्न विभागसँग अनुमति लिने, तर त्यसको दुरुपयोग गर्ने आर्या फर्माल्याबका सञ्चालकहरूलाई २०७३ साउनमा प्रहरीले पक्राउ गरेको थियो । यसबाहेक एसआर ड्रग्स, टरस फर्मामाथि पनि प्रहरीले लागूऔषध डाइभर्सनको अर्थात् किन्नुको उद्देश्यभन्दा अन्यतिर प्रयोग गरेको भन्दै मुद्दा दायर गरेको छ ।
‘नेपालको सीमाना जोडिएका जिल्लामा तत्काल ब्युरोको शाखा स्थापना हुनुपर्छ,’ ब्युरो प्रमुख चन्दले थपे, ‘र दुवै देशका समकक्षीबीच समन्वय पनि राम्रो हुनु आवश्यक छ ।’ सीमा क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति, साना ठूला सबै नाकामा प्रहरी खटाइनुपर्ने, ब्युरोको शाखा विस्तार गरे लागूऔषध नियन्त्रणमा सघाउ पुग्ने उनको सुझाव छ । लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास मात्र पर्याप्त नहुने हुँदा आमनागरिकले पनि सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

