हास्यचेत, सकारात्मक दृष्टिकोण र विषाक्त व्यक्तिहरूबाट टाढा रहनु वंशाणु (जिन), आइस–वाथ अथवा पोषणयुक्त स्पार्टन आहारभन्दा महत्वपूर्ण पाइएको छ। अमेरिकामा जन्मेकी तथा हाल स्पेनमा रहेकी मारिया ब्रानयासले आफ्नो जीवनकालमा भूकम्प, लडाइँ, महामारी र आगलागी भोगेकी छन्। ११६ वर्षको उमेरमा पनि उनी अझै सक्रिय छिन्। तेज दिमाग, मजबुत मुटु र मानसिक हिसाबले सतर्क उनले सामाजिक सञ्जाल एक्स (यसअघिको ट्विटर) मा कसरी अतिरिक्त दशक बाँच्न सकिन्छ भन्ने विषयमा सुझाव दिँदै आएकी छिन्।
‘व्यवस्था (अर्डर), शान्ति, परिवार र साथीभाइसँग असल सम्बन्ध, प्रकृतिसँगको सामीप्य, भावनात्मक स्थिरता, चिन्ताबिहीनता, पश्चाताप–बिहीनता, अत्यधिक सकारात्मकता र विषाक्त मानिसबाट टाढा रहनुपर्छ’– उनी लेख्छिन्। प्राकृतिक दही, वंशाणु र भाग्यले पनि सहयोग गर्ने उनको ठहर छ।
हालको ९० वर्षको उमेर यसअघिको ५० वर्ष जस्तो नभइसके पनि १०० वर्ष र त्यो भन्दा बढी उमेरका जनसंख्या बढ्दो क्रममा छ। यसले उमेरसँगै क्षयीकरण र कमजोरी हुने आमधारणालाई चुनौती दिएको छ।
१२२ वर्षको उमेरमा सन् १९९७ मा मृत्युवरण गरेकी फ्रान्सकी जेन कालमेन्ट मृत्यु हुनु ५ वर्षअघि मात्र नर्सिङ होममा सरेकी थिइन्। पोर्ट वाइन, चकलेट र सिगरेट उनको दैनिक आहार थियो। हाँस्यचेत उनको रगतमा थियो। ‘मेरो अनुहार चाउरी परेको छैन र म यसरी नै बाँचिरहेकी छु’–उनले अन्तर्वार्ताकारसँग भनेकी थिइन्। जेन कालमेन्टझैँ ११६ वर्षकी मारिया ब्रानयास पनि परिवार र साथीभाइसँगको राम्रो सम्बन्धलाई महत्व दिन्छिन्।
सन् १९९५ मा संयुक्त राष्ट्र संघले गरेको आकलनअनुसार विश्वमा ९५ हजार मानिस १०० वर्षमाथिका छन्। सन् २१०० सम्म यो संख्या २ करोड पुग्ने अनुमान छ। सरदर आयुभन्दा बढी बाँच्ने रहरका कारण धनाढ्यहरूले आफ्नो मध्य उमेरदेखि नै आइस बाथ, स्पार्टन डाइट्स, भिटामिन्स र म्याराथुन अभ्यास गर्ने गरेका पाइन्छ।
जेलिफिस, हाइड्रा र समुन्द्रको भित्री तहमा पाइने जुकाहरूले जस्तै क्षतिग्रस्त कोषहरूलाई जिर्णाेद्धार गरेर दीर्घायुको यात्रामा अगाडि बढ्ने उनीहरूको चाहना देखिन्छ। तर मृत्युलाई जित्न कति वर्षसम्म बाँच्न लायक हुन्छ भन्ने प्रश्न पेचिलो रहँदै आएको छ।उमेरको क्षयीकरणलाई वंशानुगत हिसाबले रोक्ने वैज्ञानिक प्रयास महत्वपूर्ण त छँदैछ तर समय घर्कनुअघि नै हामीले सही जीवन बाँच्न सिक्नु झन् महत्वपूर्ण छ। केही अघिसम्म मानिस सेवानिवृत्त हुनु उमेरअघि नै मृत्युवरण गर्थे तर अहिले उनीहरू परम्परागत हिसाबले तोकिएको सेवानिवृत्त उमेरभन्दा दशकौं बढी बाँच्ने गरेका छन्।
त्यसो भए तपाईंलाई के कुराले आनन्द दिन्छ त ? यसको मूल्य हामीले कसरी चुकाउने गरेका छौँ त? आफ्ना प्रियजन तथा साथीभाइ गुमाउँदा हाम्रा महत्वाकांक्षा घट्दै जान्छन् र उमेरसँग आयआर्जनका अवसर पनि गुम्दै जान्छन्।
चाखलाग्दो त के भने, १०० वर्षभन्दा बढी बाँच्नेमा महिला अधिक छन्। अझै, यी वृद्धवृद्धाको ठूलो उपस्थितिले कल्याणकारी राज्य व्यवस्थालाई के असर पार्ला भन्ने अर्काे महत्वपूर्ण प्रश्न छ।
त्यसो हुँदाहुँदै पनि यो निराशाजनक भने पक्कै छैन। आफ्नो किताब ‘आउट अफ टाइम’ मा लेखिका लिन सेगलले कवि मे सार्टनलाई उद्धृत गरेकी छिन्–‘बुढ्यौली उमेर शानदार हुन सक्छ…, मेरो जीवन कस्तो हुने भन्ने विषयमा म ढुक्क छु, जित्नका लागि मसँग थोरै मात्र सन्देह हुनेछन्।’
परम्परागत रूपमा युवा उमेर र प्रजनन क्षमताका लागि महिलालाई महत्व दिइँदै आएको छ। तर १०० वर्ष नाघेका यी महिलालाई रूप र अण्डाशयका कारण दिइएको सम्मानलाई फरक हिसाबले उत्तिकै सम्मान दिइएला त? के जीवनभरको अनुभव र विवेकले धनी भएकी महिलालाई उस्तै महत्व दिइनेछ भन्ने प्रश्न पेचिलो बनेको छ।
गरिबी, शिक्षा अभाव, सार्वजनिक स्वास्थ्यमा न्यून लगानी तथा क्लब र हेरचाह गर्ने सामाजिक संरचनाहरूको अभावका कारण मानिस उमेर नपुग्दै मृत्युवरण गर्ने गर्छन्। तर सन् १९३८ देखि सुरु भएको पुरुष मानव विकास विषयसँग सम्बन्धित हालसम्मकै सबै भन्दा लामो अनुसन्धानले आफ्नो उमेरमा केही दशक थप्न चाहनेहरूलाई आशाको सञ्चार गराएको छ।
लामो र सुखी जीवनका लागि प्रसिद्धि भन्दा आपसी निकट सम्बन्ध, सफलता, सामाजिक क्लास, आइक्यु, वंशाणु तथा आयआर्जन जस्ता विषय महत्वपूर्ण हुने अनुसन्धानको ठहर छ। अध्ययनअनुसार स्वस्थ दीर्घायुका लागि मद्यपान तथा धूमपानबाट टाढा रहनुपर्दछ, आशावाद र सहानुभूतिको अभ्यास गर्नुपर्छ, जीवनका रोचक पक्षको खोजी गर्नुपर्छ र सधैँ सिकिरहनुपर्छ। अध्ययनको नतिजा र ११६ वर्षकी ब्रानयासले दिने सुझाव समान प्रकारका छन्।
समय सुन हो भनिन्छ तर यो भनाइसँगै उमेरले नेटो काटेका, रोजगारीबाट मुक्त, बच्चाको लालनपालनको जिम्मेवारीबाट मुक्त, हेरचाहमा आधारित जीवन बाँचिरहेकालाई फुर्सदै फुर्सद हुने विरोधाभाष जोडिएको छ। मृत्युको मुखमा पुगेका यी पुरुष तथा महिलालाई जीवनमा वास्तवमा के विषय मूल्यवान हुन्छ भन्ने विषयको राम्रो ज्ञान हुन्छ।
–द गार्डियनबाट/याेभ्ने रबर्टस

