काठमाडौं । नेपालमा फलफूल उच्च खपत हुन्छ । तर, आन्तरिक उत्पादन दयनीय छ । आर्थिक सर्वेक्षणअनुसार नेपालको आन्तरिक उत्पादन वार्षिक १४ सय मेट्रिक छ । तथ्यांकमा हरेक वर्ष फलफूलको उत्पादन बढ्दै गएको छ ।
नेपालमा आव २०७०\७१ मा ९ लाख ६५ मेट्रिक फलफूल उत्पादन भएको थियो । त्यस्तै, आव २०७१र७२ मा ९ लाख ९१ हजार मेट्रिक टन, आव २०७३\७४ मा १० लाख २५ हजार मेट्रिक टन र आव २०७४\७५ मा १० लाख १० हजार मेट्रिक टन फलफूल उत्पादन भएको थियो ।
त्यस्तै आव २०७५\७६ मा ११ लाख ७८ मेट्रिक टन, आव २०७६\७७ मा १२ लाख ४९ हजार मेट्रिक टन, आव २०७७\७८ मा १३ लाख ६० हजार मेट्रिक टन, आव २०७८\७९ मा १४ लाख १६ हजार मेट्रिक टन र आव २०७९\८९ को फागुन मसान्तसम्ममा १४ लाख ४७ हजार मेट्रिक टन उत्पादन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
१५ अर्बको आयात
नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १५ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको ११ महिनाको अवधिमा १४ अर्ब ९९ करोड ७२ लाख रुपैयाँको २४ करोड ७९ लाख ११ हजार किलो फलफूल आयात भएको हो ।
नेपालले विभिन्न प्रकारका फलफूल विभिन्न देशबाट आयात गरी बजारमा आपूर्ति गर्दै आएको छ । आन्तरिक उत्पादन कमजोर हुँदा आयातमा भर पर्नुपर्ने बाध्यता छ ।
नेपाल हालसम्म केरामा केही मात्रामा आत्मनिर्भर भएको छ । नेपालमा वार्षिक १६ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने ६ हजार मेट्रिक टन आयात गर्नुपर्ने हुन्छ । तर, अन्य फलफूलमा भने नेपाल पूर्णरुपमा परनिर्भर छ ।
नेपालले गत वर्ष साढे १७ अर्ब रुपैयाँबराबरको फलफूल आयात गरेको थियो भने गत वर्षको ११ महिनाको अवधिमा १६ अर्ब १५ करोड रुपैयाँको फलफूल आयात भएको थियो ।
गत वर्षको तुलनामा भने यो वर्ष फलफूल आयात कम भएको छ । तथ्यांकअनुसार यो वर्षको ११ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब १५ करोड रुपैयाँले कम आयात भएको छ ।
साढे ६ अर्बको मात्रै स्याउ आयात
नेपालले १५ अर्बको फलफूल आयात गर्दा स्याउको हिस्सा निकै ठूलो छ । सबै मौसममा खपत हुने स्याउ नेपालले ११ महिनाको अवधिमा ६ अर्ब ६७ करोड ५२ लाख ६७ हजार रुपैयाँको ७ करोड ९५ लाख ९० हजार किलो आयात गरेको छ ।
नेपालले विशेषगरी चीन र भारतबाट फलफूल आयात गर्ने गरेको तथ्यांकले देखाउँछ । समीक्षा अवधिमा चीनबाट ४ अर्ब ७३ करोड ७५ लाख र भारतबाट १ अर्ब ९३ करोड रुपैयाँको स्याउ आयात भएको हो । त्यस्तै २७ लाख २० हजार रुपैयाँको स्याउ स्विट्जरल्यान्डबाट र ५० लाख ३४ हजार रुपैयाँको अमेरिकाबाट आयात भएको छ ।
स्याउपछि नेपालले बढी आयात गर्नेमा अंगुर छ । विभागका अनुसार नेपालले ११ महिनाको अवधिमा २ अर्ब ३४ करोड ६९ लाख रुपैयाँको अंगुर आयात गरेको छ । बढीजसो अंगुर भारतबाट भित्रिन्छ ।
नेपालले भारतबाट १ अर्ब ३९ करोड ६१ लाख रुपैयाँको केरा आयात गरेको छ । समीक्षा अवधिमा १ करोड ६६ लाख रुपैयाँको अंजिर, ११ करोड ७६ लाख रुपैयाँको भुइँकटहर, ८ करोड ३ लाख रुपैयाँको एभोकाडो, ५३ करोड ६२ लाख रुपैयाँको आँप र अम्बा, ८६ करोड ५० लाख रुपैयाँको सुन्तला र ६३ करोड ४ लाख रुपैयाँको कागती आयात भएको छ ।
त्यस्तै ४ करोड २८ लाख रुपैयाँको सिट्रस, ६५ करोड ६५ लाख रुपैयाँको खरबुजा, २८ करोड ७१ लाख रुपैयाँको मेवा, ११ करोड ३६ लाख रुपैयाँको नास्पति, ७ करोड २१ लाख रुपैयाँको किवी, ८८ करोड रुपैयाँको ९ लाख रुपैयाँको अनार, २ करोड ३१ लाख रुपैयाँको लिची र अन्य फलफूल २२ करोड ५२ लाख रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।
त्यसबाहेक चेरी, स्ट्रबेरी, क्र्यानबेरी, हलुवावेदलगायत अन्य फलफूल पनि आयात भएका छन् ।

