काठमाडौं, चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना नपाउने अवस्था भएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीले जनरल नर्सिङ पढ्न पाउनेछन् ।
नयाँ कार्यक्रमका लागि तीनवर्षे जनरल नर्सिङ पाठ्यक्रम स्वीकृत गरिएको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले बताए । ‘पठनपाठन अघि बढाउन शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै छौं,’ उनले भने, ‘शिक्षा मन्त्रालयको समन्वयमा विश्वविद्यालयहरूले जनरल नर्सिङको पठनपाठन गराउन सक्छन् ।’ हालसम्म एसईई उत्तीर्ण विद्यार्थीले पीसीएल नर्सिङ, प्रमाणपत्र मिड्वाइफेरी तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीले स्नातक तहमा बीएस्सी, बीएनएस नर्सिङ र बीएस्सी मिड्वाइफेरी पढ्न पाउने व्यवस्था छ ।
जनरल नर्सिङ यी कोर्सभन्दा फरक तरिकाबाट सञ्चालन हुनेछ । प्रि–विश्वविद्यालय कोर्सका रूपमा जनरल नर्सिङको पठनपाठन गराउने तयारी गरेको डा. झाले जानकारी दिए । ‘अहिलेका पीसीएल, बीएस्सी, बीएनएसलगायत कार्यक्रम पनि सञ्चालनमा नै रहन्छन्,’ उनले भने, ‘अन्य देशको पनि अभ्यासमा रहेको जनरल नर्सिङ अध्यापन गराउन कोर्स स्वीकृत गरिएको हो । यो विषय पढ्न विद्यार्थी विदेश जाने गरेका छन् । यही पढ्न पाऊन् भन्ने उद्देश्य हो ।’ शिक्षा मन्त्रालयबाट विश्वविद्यालयले सम्बन्धनलगायत प्रक्रिया अघि बढाएर उक्त कोर्स पढाउन सक्ने आयोगले जनाएको छ ।
छिमेकीलगायत अधिकांश देशमा कक्षा १२ पछि मात्रै नर्सिङ पढाउने व्यवस्था रहेकाले त्यहीअनुसार गर्न विज्ञहरूले सुझाउँदै आएका थिए । आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसीको संयोजकत्वमा गठन गरेको नर्सिङसम्बन्धी कार्यदलले पनि कक्षा १२ पछि मात्रै नर्सिङ पठनपाठन व्यवस्था गर्न उपयुक्त हुने सिफारिस गरेको थियो । कक्षा १२ पूरा गरेपछि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न विज्ञ सम्मिलित कार्यदलले पनि सुझाएको थियो । उक्त कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन भएको ५ वर्षपछि कक्षा १० पछि पढाइ हुने पीसीएल (प्रमाणपत्र तह) नर्सिङ कार्यक्रम ‘फेज आउट’ गर्नुपर्ने कार्यदलको निष्कर्ष छ । चिकित्सा शिक्षा ऐन २०७५ ले प्रमाणपत्रमुनिका अनमी, सीएमएलगायत स्वास्थ्यसम्बन्धी कार्यक्रम ‘फेज आउट’ गरिसकेको छ ।
ऐनमा नर्सिङ पठनपाठन गराउन आफ्नै एक सय बेडको अस्पताल चाहिने व्यवस्थापछि पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनमा रहेका अधिकांश कलेज बन्द भएका छन् । सिट संख्याअनुसार भर्ना हुनुपर्दा धेरै विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको सीटीईभीटीले जनाएको छ । कार्यदलले जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पनि एक सय बेडको अस्पताल आवश्यक हुने मापदण्ड तोकेको छ । पीसीएल नर्सिङमा सीटीईभीटीसँग दुई हजार ८० सिट छ । तर यस वर्ष करिब १८ हजार विद्यार्थीले आवेदन दिएका छन् । कार्यदलले पीसीएल नर्सिङमा विद्यार्थीको ठूलो चाप देखिएकाले नर्सिङ शिक्षण नभएका एक सय बेड वा सोभन्दा माथिका सरकारी अस्पतालमा पनि पढाइ गर्न सुझाव दिएको छ । नर्सिङको उच्चशिक्षातर्फ पनि अवस्था उस्तै छ । आर्थिक वर्ष २०८०/०८१ मा बीएस्सी नर्सिङका लागि ८ हजार विद्यार्थीले आवेदन दिएका थिए । ४ हजार विद्यार्थीले मात्रै मेरिटका आधारमा भर्ना हुने मौका पाए । तर सिट संख्या एक हजार ७ सय २० मात्रै भएकाले सबै विद्यार्थीले भर्ना पाउन सकेनन् । जनरल नर्सिङ कार्यक्रम सुरु भए पीसीएल र स्नातक तहमा भर्ना नपाएका विद्यार्थीले समेत मौका पाउने आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जनाए । देशभर अनमीसहित १ लाख १६ हजार नर्स रहेको काउन्सिलको तथ्यांक छ ।
कक्षा १२ पछि जनरल नर्सिङ पठनपाठन गराउँदा विद्यार्थीमा सामाजिक र भावनात्मक विकास भइसकेको हुने र चिकित्सकीय त्रुटिहरूमा कमी ल्याउन सहयोग पुग्ने विज्ञहरूले दाबी गरेका छन् । कार्यदलको सुझाव प्रतिवेदनमा कक्षा १२ सम्म माध्यमिक शिक्षा भएकाले त्यो पूरा गरेपछि मात्रै नर्सिङ विधामा अध्यापन गराउनु उपयुक्त हुने औंल्याइएको छ । नर्सिङ सेवाको गुणस्तर अभिवृद्धि गर्नसमेत विज्ञ कार्यदलले सरकारलाई सुझाव दिएको छ । हाल तीनवर्षे पीसीएल नर्सिङ ५२ शिक्षण संस्थामा दुई हजार ८० सिट, प्रमाणपत्र मिड्वाइफेरी दुई शिक्षण संस्थामा ६०, बीएस्सी नर्सिङ ६३ कलेजका १ हजार ७ सय २०, बीएस्सी मिड्वाइफेरी एउटा कलेजमा २०, बीएनएस ३९ शिक्षण संस्थामा १ हजार १ सय २०, बीएम ५ कलेजमा १ सय ३० र स्नातकोत्तर नर्सिङ १३ कलेजका २ सय ५४ सिटमा अध्यापन हुँदै आएको छ ।

