काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप खरिदको लागि २६ अर्ब ७५ करोड रुपैंया सुनिश्चित गर्दै यथाशीघ्र उपलब्ध गराउने भएको छ । उच्चस्तरीय कूटनीतिक संयन्त्रको माध्यमबाट अनुदान एवं खरिद गरेरै भए पनि ‘ब्रेक थ्रु’ गरिने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको अग्रसरता पछि चीनले आइतबारदेखि कोरोना विरुद्धको खोप पठाउन शुरु गर्ने जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै २ लाख डोज चीनबाट आइपुग्ने जानकारी दिए ।
राष्ट्रपति भण्डारीसँगको बुधबार भएको टेलिफोन संवादमा चिनिया राष्ट्रपति सी जीनपिङले १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।बाँकी ८ लाख खोप जेठको तेस्रो सातासम्म आईपुग्ने मन्त्री ज्ञवालीले जानकारी दिए । राष्ट्रपति भण्डारीले छिमेकी भारतीय राष्ट्रपति रामनाथ कोविदलाई पनि खोप उपलब्धताको लागि सहयोग गर्न पत्राचार गरेकी छिन् ।
सबै बयस्कलाई खोप ः प्रधानमन्त्री ओली
सरकारले ६ महिनाभित्र ७२ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने योजना लिएको छ ।
प्रधानमन्त्री केपी ओलीले शुक्रवार राष्ट्रवासीका नाममा सम्बोधन गर्दै कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य रहेको बताए ।
विभिन्न मुलुकबाट अनुदानबाट प्राप्त ३२ लाख २८ हजार डोज र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अघि बढाइएको हो । ‘पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले भने,‘थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाडने विश्वास दिलाउन चाहन्छु ।’
कहाँबाट गरिंदै छ ,खरिद ?
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार, हप्ता ÷दश दिनमा कोरोना विरुद्धको खोप आयात गरेर ‘ब्रेक थ्रु’ गरिने छ ।
‘नेपालमा खोपको उपलब्धता र चुनौति’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री ज्ञवालीले उत्पादक चिनियाँ खोप उत्पादक सिनोफार्म र अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनसँग ५०÷ ५० लाख डोजका दरले खोप खरिद गर्ने अन्तिम तयारी रहेको जानकारी दिए । खरिदको लागि प्रस्ताव पठाईएको छ ।
सरकारले चीनको भेरोसेल, रुसको स्पुतनिक भी, अमेरिकाको जेन्सन एण्ड जेन्सन र बेलायतको एस्ट्राजेनेका खोप खरिदकोलागि पहल भइरहेको जनाएको छ । अमेरिकामा ६ करोड डोज सिनोभ्याक्सको खोप रहेको जनाइएको छ । यसकालागि अमेरिकी उप विदेशमन्त्रीसँग संवाद भएको मन्त्री ज्ञवालीको भनाई छ । ‘हामीले चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख भाइल खोप खरीद गर्ने योजना अघि बढाएका छौँ ।’उनले भने । सन् २०२१ भित्र लक्षित समुदायलाई खोप लगाइसक्ने योजना रहेको छ ।
कोभ्याक्सले जेठ महिनाको दोस्रो सातासम्म १९ लाख २० हजार डोज (कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने) खोप उपलब्ध गराउने जनाएको थियो । तर गत साता कोभिसिल्ड खोपको अभाव रहेको जनाउँदै विकल्पमा अन्य खोप पठाउन सकिने कोभ्याक्सले पत्र पठाएको थियो ।
कोभ्याक्स सुविधा अन्तर्गत पनि आउने खोपलाई पर्खेर नबस्ने मन्त्री ज्ञवालीको भनाई छ । कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज नेपाल भित्रिएको छ ।
हाल ५ लाख ५५ हजारले मात्र दोस्रो डोज खोप लगाएका छन् । साढे १४ लाख भन्दा बढी जनसंख्याले कोभिसिल्डको पहिलो डोज लगाइसकेका छन् । यो जनसंख्यालाई दोस्रो डोजमा पनि कोभिसिल्ड नै व्यवस्था गर्नुपर्ने हुन्छ । यसकालागि भारतसँग पहल गरिएको छ । भारतीय राजदूत नीलाम्बर आचार्यले पनि कूटनीतिक पहल गरिरहेका छन् । यसैगरि एस्ट्राजेनेकासँग पनि पहल गरिरहेको मन्त्री ज्ञवालीले बताए ।
अहिले ९५ प्रतिशत खोप १५ देशमा होल्ड भएको र ५ प्रतिशत खोप अन्य १६० देशमा छरिएकाले खोप अभाव हुन पुगेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

