१
काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गरेलगत्तै चार निर्णय गरेका छन् । उनले बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । त्यसपछि स्वास्थ्य मन्त्रालय पुगेर पदबहाल गर्दै चार निर्णय गरेका हुन् । उनले
आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सरलीकृत गर्ने र उपलब्ध श्रोतसाधनलाई अधिकतम उपयोग गरी जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यत्त गरेका छन् । नवनियुक्त स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले संक्रामक एवं महामारीका रूपमा रोगहरू फैलन नदिन संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा दातृ निकाय एवं संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
त्यस्तै उनले स्वास्थ्य संस्था मार्फत स्वास्थ्य वीमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन्।
आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने निर्णय गरेका छन्।
मन्त्री बस्नेतले संघ प्रदेश र स्थानीय तहमा रहेका अस्पतालको अनुगमन गरि प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति समेत गठन गरेको जानकारी दिए। उनले मन्त्रालयमा धेरै काम गर्नुपर्ने भन्दै सबै कर्मचारीहरूको साथ लिएर अघि बढ्न बताए।
देशमा विभिन्न किसिमको रोग देखा पर्न थालेको भन्दै देशको विशिष्ट परिस्थितिमा जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए।
यस्ता छन् निर्णय
१. स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचार सँगै जीवन सुरक्षाको लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने।
२. स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकोले दातृ निकाय समेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य विमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने।
३. आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने।
४. स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुबाट भईरहेको उपचारात्मक सेवा र उपलब्ध श्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी माननीय मन्त्रीज्यू समक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहाय बमोजिमको अनुगमन समिति गठन गर्ने।

