काठमाडौं । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए ।
‘अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छौँ,’ उनले भने, ‘त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरुलाई सुझाव दिने काम भइरहेको छ ।’
मङ्गलबार काठमाडौँ जिल्ला कार्यलय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो । ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरियन्टको सङ्क्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउनका लागि मास्कको प्रयोग बढाउन र रोगको रोकथामका लागि सचेतना बढाउन आग्रह गरिएको बताइन् ।
छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन (बीएफ डट ७) हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताए ।
‘छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण फैलाउन सक्ने यो भेरियन्ट हाम्रो खुल्ला सिमाना र आवातआवतका कारण नेपाल भित्रिने जोखिम कायम छ।’ उनले भने ।
कोभिड १९ विरुद्धको दुवै डोज खोप प्रयोग गरिसकेकाले अतिरक्त मात्रा वा बुस्टर खोप लगाउन उनको सुझाव छ ।
तथ्याङ्कअनुसार हालसम्म दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । साथै ७९ लाख ७२ हजार सात सय ९१ जनाले मात्र अतिरिक्त मात्राको खोप लगाएका छन । मन्त्रालयले सबैमा खोपको पहुँच, एकीकृत र सुदृढ रोग निगरानी र महामारी प्रतिकार्यका लागि निरन्तर प्रयास गर्दै आएको प्रवक्ता डा ठाकुरको भनाइ छ ।

