मुलुकमा यो वर्ष पनि डेंगीको जोखिम बढेको छ । अघिल्ला वर्षमा सबैभन्दा बढी प्रताडित सहर धरानमा त महामारी नै फैलिसकेको छ । डेढ महिनायता मात्रै चार जनाको निधन भैसकेको छ । २ हजारभन्दा बढी संक्रमित छन्, ५ सय जना त पछिल्लो साता मात्रै थपिएका हुन् ।
स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ । एक सातादेखि सातै दिन सञ्चालन हुने गरी छुट्टै निःशुल्क डेंगी क्लिनिक चलाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारबाट ३० बेडको डेंगी अस्पताल नै सञ्चालनमा ल्याएको छ । स्वास्थ्यकर्मीसमेत धमाधम संक्रमित हुन थालेपछि स्वास्थ्य सेवा नै प्रभावित हुने भयसमेत छ ।
डेंगी फैलिन्छ भन्ने जान्दाजान्दै पनि सरकारले रोकथामका उपाय र नागरिकले पर्याप्त सावधानी नअपनाउँदा अहिलेको अवस्था निम्तिएको हो । अब पनि नियन्त्रणको प्रभावकारी पहल नथालिए संक्रमितको संख्या अझै बढ्नेछ । त्यसो हुन नदिन स्थिति भयावह नहुँदै महामारी नियन्त्रणका अधिकतम उपाय अवलम्बन गर्नु अपरिहार्य छ । यसका निम्ति सरकारले आवश्यक जनचेतना फैलाउने, डेंगीको स्रोत लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान चलाउने र संक्रमितको उपचार प्रबन्ध मिलाउने कार्यलाई उत्तिकै प्राथमिकता दिनुपर्नेछ ।
संक्रमणबाट बच्ने एउटै उपाय, यो रोग सार्ने लामखुट्टेको टोकाइबाट जोगिनु हो । डेंगु भाइरस एडिस एजिप्टाई र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ । यो संक्रमण मानिसबाट मानिसमा सर्दैन । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिमा सार्न सक्छ । यो लामखुट्टे बिहान–साँझ बढी सक्रिय हुने भएकाले त्यसै अनुसार सतर्कता अपनाउनुपर्छ । टोकाइबाट बच्न शरीर ढाक्ने कपडा लगाउनुपर्छ । लामखुट्टेले नटोक्ने मल्हम वा स्प्रे प्रयोग गर्नुपर्छ । दिउँसो सुत्दा झुल लगाउनुपर्छ । यी सबै स्वास्थ्य उपाय सम्बन्धी सचेतना अभिवृद्धिका लागि पालिका र समाजमा क्रियाशील सामाजिक संघसंस्था, टोल सुधार समितिले अभियानै चलाउनु श्रेयस्कर हुन्छ ।
संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने; खान मन नलाग्ने; वाकवाकी, बान्ता हुने; एकदमै कमजोरी अनुभव हुनेजस्ता लक्षण देखिन्छन् । टाउको, पेट र जीउ दुख्ने; आँखाका गेडी दुख्ने; हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने रिँगटा लाग्ने; श्वासप्रश्वासमा समस्या आउने; नाक वा गिजाबाट रगत बग्ने; बेहोस हुनेजस्ता समस्या पनि देखिन सक्छन् । यस्ता लक्षण देखिएमा कसैले पनि हेलचेक्य्राइँ गर्नु हुँदैन, अविलम्ब स्वास्थ्य संस्था पुगेर परीक्षण गराउनुपर्छ । यो रोगको उपचार सम्भव छ ।
सरकारले संक्रमितको उपचारका निम्ति देशभरका अस्पतालहरूमा स्रोतसाधनको कमी हुन दिनु हुन्न । संक्रमितले चिकित्सकको सिफारिसबिना पारासिटामोलबाहेक अरू औषधि खानु हुँदैन । सामान्य अवस्थाको व्यक्तिलाई साधारण औषधि–उपचारले ठीक हुन्छ । अरू रोगको समेत उपचार गराइरहेकालाई भने अस्पताल नै भर्ना गर्नुपर्ने हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार छिटो रोग पत्ता लगाई उचित चिकित्सकीय हेरचाह पुर्याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ । संक्रमितले औषधिका अतिरिक्त, झोलिलो तथा पोषिलो खाने कुरा अधिक मात्रामा खानुपर्छ । शरीरमा पानीको कमी हुन दिनु हुन्न ।
महामारी नियन्त्रणमै लिन भने यो लामखुट्टे हुर्कन पाउने वातावरण नै तयार हुन दिनु हुन्न । टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अन्डाका बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा यो लामखुट्टेले फूल पार्छ । त्यसैले भाँडाकुँडा, गमला, छत, बरन्डा, बार्दली लगायत घरका सबै अन्तरकुन्तरमा पानी जम्न दिनु हुँदैन । खासमा सरकार, समुदाय र घर–परिवार मिलेर ‘खोज र नष्ट गर’ अभियान नै चलाउनुपर्छ । लामखुट्टे र त्यसका लार्भा नष्ट गर्न सरकारी संयन्त्रहरूले यस्ता ठाउँमा औषधि छर्कनुपर्छ । एउटा मात्रै लार्भा र लामखुट्टेको वंशवृद्धिबाट पनि छोटो समयमै टोलै प्रभावित हुन सक्ने भएकाले सूक्ष्म र व्यवस्थित ढंगले अभियान चलाउनुपर्छ ।
धरान मात्र होइन, रोकथाममा उचित ध्यान नदिइए गत वर्षझैं काठमाडौंसहित देशैभर डेंगी फैलिन सक्छ । उदेकलाग्दोचाहिँ सरकार र नागरिक दुवै पक्ष यसमा पर्याप्त सजग देखिँदैनन् । अन्यत्रको के कुरा, हाम्रा अस्पताल–संरचनाहरू नै डेंगीका लागि घरजस्तै छन्, जताततै पानी जमेका छन् । यस्ता पक्षमा सम्बन्धित सबैले सतर्कता अपनाउनुपर्छ ।
नेपाल सरकारको एउटा सनातन स्वाभाव के छ भने, काठमाडौंलाई नदुखुन्जेल यसले बाँकी नेपाललाई दुखेको महसुसै गर्दैन । जुनसुकै सन्दर्भमा पनि यो शैली सर्वथा त्याज्य छ । अतः अहिले धरानमा फैलिरहेको महामारीप्रति सरकारको उचित ध्यान जानुपर्छ । यथोचित प्रबन्ध मिलाएर नियन्त्रणमा लिनुपर्छ । र देशका अरू भागमा पनि फैलिन दिनु हुँदैन ।

