नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा छ हजारभन्दा बढीले गरेका आत्महत्यामध्ये सबैभन्दा बढी पुरुषको तथ्यांक रहेको छ । आत्महत्या गरेकामध्ये ५६ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला रहेका छन् ।
१५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको छ ।उहाँका अनुसार महिला र पुरुषमा हेर्ने हो भने १५ देखि ३५ वर्ष उमेर समूहका र ७५ वर्षमाथिका मानिसले बढी आत्महत्या गरेको पाइएको छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशतले आत्महत्याको सोच बनाउने गर्दछन् । प्रत्येक आत्महत्याको पछाडि २० देखि २५ असफल प्रयास हुने अध्ययनले देखाएको छ ।
नेपालमा हरेक दिन सरदर १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गर्छन् ।
विश्वमा सात लाख मानिसको मृत्यु
विश्वस्वास्थ्य सङगठनका अनुसार प्रत्येक वर्ष अन्दाजी सात लाख मानिसको मृत्यु आत्म हत्याबाट हुने गरेको छ । विश्वमा ४० सेकेण्डमा एक जनाको मृत्युहुन्छ ।
विभिन्न अध्ययन अनुसार विश्वभर भएका आत्महत्यामध्ये निम्न र मध्यम आय भएका देशका ७७ प्रतिशतले आत्महत्या गर्ने गर्दछन् । त्यसैगरी, ३९ प्रतिशत दक्षिण पूर्वी एसियाबाट हुने अध्ययनले देखाएको छ ।
मृत्युको प्रमुख कारणमध्ये आत्महत्या १५ औँ हो । १५ देखि १९ उमेर समूहमा मृत्युको चौथौ प्रमुख कारण आत्महत्या हो । मृत्यु हुने महिलामा तेस्रो प्रमुख कारण आत्महत्या भएको अध्ययनले देखाएको छ । विश्वका २५ देशमा आत्महत्यालाई अपराधका रुपमा हेरिन्छ । त्यसैगरी, २० देशमा आत्महत्याको प्रयास गर्नेलाई काराबाससम्मको सजाय हुने गर्दछ ।
आत्महत्या भनेको के हो ?
चिकित्सकका अनुसार आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्दछन् । कुनैबेलामा मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ ।
आत्महत्याका कारण
डिप्रेसन नै आत्महत्याको प्रमुख कारण मानिन्छ । त्यसका साथै जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक सांस्कृतिक तथा वातावरणीय कारणले गर्दा आत्महत्याको बाटो रोज्ने गर्दछन् ।
त्यसैगरी, उदासीनता, लागूपदार्थको प्रयोग, दुव्र्यसनीलगायत अन्य मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, दीर्घकालीन रोगबाट ग्रासित व्यक्ति युद्ध, हिंसा, आघातजन्य घटना, सामाजिक बहिष्कार, नजिकको व्यक्ति गुमाएको, सम्बन्ध विच्छेद भएका मानिसले बढी आत्महत्या गरेको पाइएको छ ।
आत्महत्या तथा आत्महत्यका व्यावहारिक संकेतहरु निराश, असहाय, बेकार महसुस गर्ने, एक्कासि धेरै खुसी हुँदा वा एक्कासि धेरै दुःखी हुने आफैँलाई हानि पु¥याउने तथा जोखिमपूर्ण कुरा गर्नेजस्ता लक्षण देखाउनछन् ।
उपचार
उचित औषधि उपचारको व्यवस्था तथा मानसिक रोगीहरूको उचित स्याहार सुसार र रेखदेख गर्ने हो भने ९० प्रतिशत आत्महत्या कम गर्न सकिनछ ।
प्रत्येक आत्महत्या गर्ने व्यक्तिले आत्महत्या गर्नुभन्दा पहिला प्रत्यक्ष परोक्षरूपमा आत्महत्याका केही पूर्वसंकेत गर्छन् । यस्ता संकेत देखाएमा संकेतहरू बुझेर समयमै उसलाई उचित परामर्श तथा सहयोग गरेको खण्डमा उनीहरुलाई बचाउन सकिनछन् ।
मानसिक स्वास्थ्यलाई अझै पनि लुकाउने प्रवृत्तिले आत्महत्या बढ्न पुगेको भन्दै यसलाई घटाउनका लागि शारीरिक स्वास्थ्य समस्याका बारेमा कुरा गरे जसरी मानसिक समस्याका बारेमा पनि खुलेर एक अर्कासँग कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्ने । परिवार, समाज र राज्यले नै यस्ता समस्या भएका व्यक्तिलाई साथ र सहयोग गर्नुपर्ने विज्ञ बताउँछन् ।
के गर्दैछ सरकार
सरकारले हाल देशभरका ४४ वटा जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ । दुई वर्षभित्र उक्त कार्यक्रमलाई ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य लिएको छ ।
सरकारले बागमती प्रदेशमा सबै विद्यालयमा आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले काउन्सिलर नर्सका लागि तालिमको काम भइरहेको समेत डा. बरालले जानकारी दिनुभयो ।
त्यसैगरी, अहिले देशभर मानसिक रोगको ११ प्रकारका औषधि निःशुल्क वितरण गरिरहेको र समय–समयमा कैदीबन्दी, असहाय र अपाङ्गको उपचारमा पनि काम गरिरहेको इडीसीडीले जनाएको छ ।
आत्महत्या रोकथामका लागि सरकारले हाल हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । आत्महत्याको सोचाइ आएका जो कोहीले पनि ११६६ मा सम्पर्क गरेर सेवा लिन सक्छन् । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज विश्व आत्महत्या रोकथाम दिवस मनाइदैछ ।
डा. बराल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का नसर्ने रोग तथा मानसिक रोगका शाखा प्रमुख हुन् ।

