अध्ययनहरूअनुसार, बर्सेनि लाखौं व्यक्तिको ज्यान जोखिममा पार्ने औलो झन् बढी खतरनाक हुँदै गइरहेको छ । ‘द लैन्सेट’ जर्नलमा प्रकाशित दुइटा अध्ययनअनुसार, दक्षिण–पूर्वी एसियामा करिब ८० प्रतिशत औलोको परजीवी औषधि प्रतिरोधकका रूपमा विकसित भएको पाइएको छ । यो तीव्र गतिले फैलिरहेको छ । अध्ययनअनुसार यी परजीवी कम्बोडियाबाट लाओर र थाइल्यान्डबाट भियतनामा फैलिएका छन् । यसको संक्रमणमा आउने आधा बिरामीलाई दिइने औलोको औषधि ‘आर्टिमिसिनिन’ र ‘पिपरेक्विन’ ले काम नगरेको पाइएको छ ।
मानिसमा औलो फैलाउने जिम्मेवार सबैभन्दा घातक परजीवी ‘प्लाज्मोडियम फाल्सिफेरम’ को औषधि प्रतिरोधी बन्नु धेरै ठूलो खतरा मानिएको छ । यो परजीवी औलोको कारणले मृत्यु हुने १० जनामध्ये ९ को कारण बनिरहेको छ । अध्ययनअनुसार औषधि प्रतिरोधी बनिसकेको ‘प्लाजमोडियम फाल्सिफेरम’ अन्य स्थानीय औलो परजीवीलाई प्रतिस्थापित गरिरहेको छ । जसले गर्दा उपचारको प्रक्रिया जटिल बन्दै छ ।
लैन्सेटमै प्रकाशित अर्को अध्ययनमा यो स्पष्ट गरिएको छ कि औषधि प्रतिरोधी भएपछि पनि औलोको उपचार भने सम्भव छ । उसो त औषधि प्रतिरोधी क्षमताले गर्दा औलो पीडित बिरामीलाई ‘आर्टिमिसिनिन’ र ‘पिपेरेक्विन’ का अतिरिक्त अन्य औषधिसमेत दिनुपर्ने छ । हालको अवस्थाले औलोको औषधिमा परिवर्तन वा उपचारको तरिकामा परिवर्तन ल्याउने आवश्यकताबारे अध्ययनमा औंल्याइएको छ ।

