देश जहाँ उपचारका लागि सरकारी अस्पतालको पर्याप्त पूर्वाधार छैन । भएका सरकारी अस्पतालमा पनि डाक्टर, नर्स र औषधि छैन । बाध्य भएर निजी अस्पताल जाँदा जायजेथा गुमाउनुपर्छ तर गुणस्तरीय उपचारको प्रत्याभूति हुँदैन ।
एकातिर शिक्षा र सामाजिक चेतनाको अभाव, अर्कोतिर निजी अस्पतालका आँगनमा पाइला राख्दै लुगलुग काम्नुपर्ने अवस्था । त्यस्तो देशमा धामीझाँक्री, झारफुक र कथित अलौकिक शक्ति’ को भ्रमको व्यापार हुनु धेरै अनौठो होइन । तर, डरलाग्दो के भने यस्तो भ्रममा परेर नागरिकले ज्यान गुमाइरहेका छन्, कति थप स्वास्थ्य जटिलताले पीडित छन् ।
कारण शिक्षा र चेतना हो, कारण कमजोर आर्थिक अवस्था र महँगो स्वास्थ्य सेवा पनि हो । अन्धविश्वास कतिसम्म गहिरो छ भने अस्पतालको आकस्मिक कक्षबाट बिरामी खोसेर धामीको शरणमा पुर्याइएका उदाहरण पनि छन् । आजको युगमा पनि यस्तो अन्धविश्वास कायम रहनु जनस्वास्थ्य र सामाजिक चेतना दुवै क्षेत्रका लागि एउटा चर्को चुनौती हो ।
धामीझाँक्रीकै भर पर्दा बझाङको साइपाल–२ धलौनकी १५ वर्षीया रोशनी विकले वैशाख तेस्रो साता ज्यान गुमाइन् । स्थानीय स्वास्थ्य चौकीले पहल लिएर उद्धार नगरेको भए सोही गाउँकी अर्की किशोरीको पनि झन्डै त्यही नियति हुने थियो । साता दिनदेखि रिँगटा लाग्ने, खानेबित्तिकै पेट दुख्ने समस्या भएकी ती किशोरीलाई भूत लागेको भन्दै आफन्तले झारफुक गरिरहेका थिए । स्थानीय स्वास्थ्यकर्मीले उद्धार गरेपछि उनको उपचार सम्भव भयो । बिरामी भएपछि भूत लागेको या देउता रिसाएको भनेर धामीझाँक्रीमा विश्वास गर्ने कुरीतिका कारण गाउँमा बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् ।
बझाङको जयपृथ्वी नगरपालिकाभित्रै गत वैशाख २६ मा मात्रै चार वर्षीया बालिकाले अन्धविश्वासकै कारण ज्यान गुमाइन् । झाडापखाला र मस्तिष्कमा संक्रमण भएका कारण बेहोस भएर अस्पताल पुर्याइएकी उनलाई परिवारजनले इमर्जेन्सी वार्डबाटै जबर्जस्ती उठाएर धामीझाँक्रीकहाँ लगेका थिए । जिल्लामा दुर्गम भेगतर्फ अन्धविश्वास अझ सघन छ । रूढिवादले गहिरो जरो गाडेकाले स्वास्थ्यकर्मीलगायत चेतनशील तप्कालाई पनि यसविरुद्ध उभिन सकस परेको देखिन्छ । बझाङ मात्र नभएर देशभरकै समस्या यही हो । र, यो समस्या कुनै समुदायमा विशेषमा सीमित छैन । मात्रात्मक रूपमा धेरथोर होला, तर सबैजसो समुदायमा कुनै न कुनै रूपमा यसका अवशेष छन् । यस्तै कुप्रथाका कारण बोक्सा/बोक्सीजस्ता अमानवीय आरोप लगाएर यातना दिइएका र अपमान गरिएका घटना पनि बारम्बार बाहिरिएका छन् ।
डरलाग्दो त, पछिल्लो समय विभिन्न भ्रम बेचेर ‘भाइरल’ भई अन्धविश्वास फैलाइरहनेहरू जता पनि देखिन थालेका छन् । कसैले ‘पेटमा चुसेर पत्थरी निकाल्ने’ त कसैले ‘हेरेरै सबै रोग निको पार्ने’ भनेर समाजलाई दिग्भ्रमित तुल्याइरहेका छन् । सबैतिर यस्तो उपचार गराउन आकर्षित हुनेहरूमा प्रायः निम्न आय भएकाहरू र शिक्षाको अवसरबाट वञ्चितहरू बढी छन् । ‘आफूमा अलौकिक शक्ति छ’ र ‘सबै ठीक पारिदिन्छ’ भनेपछि सही–गलत छुट्याउन नलागी भ्रम–जालोमा पर्ने अवस्था दुःखद छ । दूरदराज मात्र होइन, राजधानी सहरमै तर्क तथा विज्ञानप्रति विश्वास स्थापित गर्न नसक्दा मानिसको आस्थामाथि टेकेर ठगी गर्नेहरूले धन्दा चलाउन सकेका हुन् ।
यस्ता कुरीतिबाट कुपोषित बालबालिका, गर्भवती तथा सुत्केरी बढी जोखिममा छन् । त्यसैले यो प्रत्यक्ष रूपमा देखिएजस्तो सामाजिक चेतनास्तर र स्वास्थ्यको मात्र समस्या होइन, स्वस्थ जनशक्ति र अर्थतन्त्रसित पनि यसको सोझो सम्बन्ध छ । त्यसैले पनि सानोतिनो र एकसरो पहलबाट मात्रै समाजलाई यो समस्याबाट छुटकारा दिलाउन सम्भव छैन, सरकारले ठोस पहल नै लिन आवश्यक छ । सरकारले बुझ्नुपर्छ- मुलुकमा राजनीतिक जागरणले जति फड्को मारे पनि सामाजिक चेतनाको यो दुरवस्था रहुन्जेल हामी कहीं पुग्दैनौं ।
तसर्थ, दिनानुदिन नागरिकहरू अन्धविश्वासको सिकार भइरहँदा राज्य संयन्त्रहरू मूकदर्शक भएर बस्नु हुँदैन । अन्धविश्वासको व्यापार गर्ने व्यक्ति वा समूहलाई अनुसन्धानको दायरामा ल्याई कानुनी प्रक्रियामा लैजानुपर्छ । यस्तै धामीझाँक्री, विभिन्न धार्मिक गुरु तथा अगुवाहरूलाई पनि यसबारे व्यवस्थित रूपमा प्रशिक्षित गर्नु आवश्यक छ । त्यतिमात्र होइन, शिक्षा र स्वास्थ्यका पूर्वाधार विकास र सेवा विस्तारमा राज्य संवेदनशील हुनुपर्छ । यसका निम्ति संघीय र प्रदेश सरकारको सहयोगमा पालिकाहरूले अन्धविश्वासविरुद्ध अभियान नै चलाउनुपर्छ । र, राजनीतिक दल, विद्यालय तथा सामाजिक संघसंस्थालगायत समाजको सचेत वर्ग यसविरुद्ध दृढतापूर्वक उभिनुपर्छ ।

