केही दिनयता वीरगन्ज क्षेत्रमा फैलिएको हैजा र झाडापखाला नियन्त्रणमा ल्याउन सकिएको छैन । यसबीचमा चार जनाको मृत्यु नै भइसकेको छ । वीरगन्ज महानगरपालिकाले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार वीरगन्ज क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ७३ पुगेको छ ।
उता पोखरिया अस्पतालमा सम्पर्कमा आएकामध्ये पनि हैजा संक्रमितको संख्या १५ पुगेको छ । स्रोत पत्ता लगाउन सक्दा मात्रै संक्रमण दरलाई तीव्र गतिमा न्यून गराउन सकिने भएकाले तीनै तहका सरकारले त्यसका लागि जोड दिन आवश्यक छ । साथसाथै, हरेक व्यक्तिले हैजा तथा झाडापखालाबाट जोगिनका लागि आफ्नो दिनचर्यामा शुद्ध खानेपानीको प्रयोगलाई अनिवार्य गर्नुपर्छ ।
हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको संक्रमणबाट फैलिन्छ । उक्त ब्याक्टेरियायुक्त खानेपानी तथा खानाबाट अन्य व्यक्तिमा फैलिन्छ । त्यसैले स्वस्थ खानेपानीको व्यवस्था नभएको, मलमूत्रको सुरक्षित व्यवस्थापन नभएको, घरबाहिरका तर गुणस्तर सुनिश्चित भएका खानेकुरामा निर्भर भएका समुदाय, परिवार वा व्यक्तिमा हैजा संक्रमणको सम्भावना बढी हुन्छ । मुख्यतः आन्द्रामा संक्रमण हुने, झाडापखाला हुने र शरीरमा पानीको अभाव भई संक्रमितको अवस्था गम्भीर हुन पुग्छ ।
संक्रमण भएको छोटै समयमा पनि संक्रमितको अवस्था गम्भीर हुन पुग्छ । संक्रमितमध्ये धेरैमा लक्षण नदेखिने तर उनीहरूको दिसामा केही दिनसम्म ब्याक्टेरिया हुन्छ । जसबाट अन्य व्यक्तिमा संक्रमित हुन सक्छ, अवस्था पनि गम्भीर हुन सक्छ । अन्य किसिमका संक्रमणले जस्तै हैजाले पनि रोग प्रतिरोध क्षमता कम भएका, कुषोषणले ग्रस्त, दीर्घरोगी, बालबालिका, वृद्धवृद्धालगायतलाई छिट्टै गम्भीर अवस्थामा पुर्याउन सक्छ ।
गत असार–साउनका केही साता मधेशमा खानेपानीको तीव्र अभाव थियो । त्यतिबेला बाह्य स्रोतबाट खानेपानी उपलब्ध गराइएको थियो । जसलाई स्थानीयले प्रयोग र यथाशक्य भण्डारण पनि गरेका थिए । त्यस्तै हरेक जसो सहरमा पानीको स्थानीय स्रोत छैन । तराई/मधेशमा खानेपानीका लागि चापाकल राखिने भए पनि पछिल्लो समय सुक्दै गएका छन् । अर्थात्, पानीका लागि बाह्य र अपरिचित स्रोतसँगको निर्भरता बढ्दै गएको छ । जसले दूषित/संक्रमित खानेपानीसँगको सम्पर्क बढाउन भूमिका खेलेको छ । त्यसकारण हरेक व्यक्ति स्वयं नै आफूले प्रयोग गरिरहेको पानीको गुणस्तरप्रति सचेत बन्न आवश्यक छ । विज्ञको सुझावअनुसार उमालेको पानी मात्रै प्रयोग गर्न आवश्यक छ । यसले व्यक्तिगत रूपमा हरेकलाई सुरक्षित राख्न भूमिका खेल्छ ।
यतिबेला हैजा संक्रमण देखिएको क्षेत्र र संक्रमण फैलिने सम्भावना रहेको क्षेत्रका मानिसले उच्च सतर्कता अपनाउन आवश्यक छ । तीनै तहका सरकारले पनि रणनीतिक पहल गर्नुपर्छ । जहाँ हैजा फैलिरहेको छ, त्यहाँ परीक्षण र उपचारलाई सघन बनाउनुपर्छ । व्यक्तिगत रूपमा गाह्रोसाह्रो हुन सक्ने भए पनि समग्रमा यतिबेला वीरगन्ज क्षेत्रमा संक्रमितको उपचार प्रणाली प्रभावकारी देखिएको प्रतिक्रिया व्यक्त भएका छन् । निकायगत समन्वय पनि प्रभावकारी नै देखिएको छ । सम्भावित हरेक संक्रमितलाई उपचारको दायरामा ल्याउने र चिकित्सकीय निगरानीमा राख्ने काम गर्नुपर्छ । दोस्रो, जहाँजहाँ संक्रमण फैलिने सम्भावना छ, त्यहाँका मानिसलाई सुरक्षित जीवनशैली अपनाउन प्रोत्साहन गरिनुपर्छ । खानेपानीको स्रोतको परीक्षण गर्नुपर्छ । त्यस्तै अहिले वीरगन्ज क्षेत्रका विद्यालय बन्द गरिएका छन् । तिनलाई तत्कालै खुलाइहाल्दा संक्रमण फैलिन सक्छ । त्यसैले होसियारीका साथ निर्णय लिनुपर्छ ।
हैजा संक्रमणको स्रोत पत्ता नलागुञ्जेल वा संक्रमण शून्यमा नझरुञ्जेल ढुक्क हुन सक्ने स्थिति छैन । त्यसैले सरकारको प्राथमिकतामा स्रोतको पहिचान गर्ने विषय पनि पर्न आवश्यक छ । त्यसले तत्कालको संक्रमणदरलाई नियन्त्रण गर्न र आगामी दिनमा होसियारी अपनाउन पनि सहयोग पुग्छ । साथसाथै, संक्रमण फैलिन नदिन समुदाय, परिवार र व्यक्तिले अपनाउनुपर्ने जीवनशैलीका लागि सरकारले जनचेतना फैलाउन सक्छ । त्यसका लागि प्रोत्साहन र सहयोग गर्न सक्छ । व्यक्ति स्वयंले पनि उमालेको पानी मात्रै खाने र प्रयोग गर्ने, राम्ररी पकाएर मात्रै खाना खाने, हात धुने जस्ता काम गर्दा पनि संक्रमणको जोखिमबाट बच्न सकिन्छ । संक्रमण फैलिएमा तुरुन्तै अस्पताल गएर चिकित्सकको सल्लाह र सुझाव मनन गर्नुपर्छ ।
एकै पटक संक्रमण फैलिँदा समुदायमा अन्योल उत्पन्न हुन्छ । सर्वसाधारण असहाय जस्ता देखिन्छन् । सूचना र सहायताको खोजी हुन्छ । यस्तो बेलामा जनप्रतिनिधि र सरकारी अधिकारीहरू जवाफदेही र विनयशील बन्नुपर्छ । तर हालै एक युवती संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई टेलिफोनमार्फत गरेको सवालजवाफपछि पक्राउ परेकी छन् ।
सार्वजनिक अडियोमा युवतीको भाषा संयमित सुनिँदैन । तर आफन्त संक्रमित भएर अस्पतालमा भर्ना गरिएकी युवतीले मन्त्रीप्रति प्रयोग गरेको भाषाकै आधार सत्ताको शक्ति देखाउने बहाना बन्नु हुँदैन । समय सन्दर्भले पनि नियत नराखी व्यक्त गरिएको आक्रोश भएको प्रस्ट हुन्छ । सामान्य सम्झाइबुझाइ वा चेतावनीबाट हल हुने विषयलाई सोही रूपमा लिनुपर्छ । जनप्रतिनिधिले नागरिकसँग प्रतिशोध लिने र शक्ति देखाउने हो भने प्रत्युत्पादक हुन्छ । बरु युवतीकै जस्तो आक्रोश धेरै व्यक्तिमा हुन सक्ने तर सबैले फोनमार्फत अभिव्यक्त गर्दैनन् भन्ने बुझ्नुपर्छ । मन्त्री वा नगरप्रमुखले आफ्नो काममार्फत जवाफ दिनुपर्छ, सत्ताको शक्ति प्रयोगबाट होइन । साभार : कान्तिपुर

