काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ सांसदमध्ये चारजनाले शपथ लिएनन् । यसैगरी मुद्दा खेपिरहेका दुई सांसदले भने निर्वाध रुपमा शपथ लिएका छन् ।
संसद् भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ नलिने सांसदमा नेकपा एकीकृत समाजवादीका प्रेम आले, माओवादी केन्द्रका महेन्द्र राय यादव र रामकुमार राई, नेपाली कांग्रेसकी माया राई रहेको संसद् सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
हत्या अभियोग लागेपछि फरार रहेका र प्रहरीको खोजीसूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद् टेकबहादुर गुरुङ शपथग्रहण समारोहमा उपस्थित रहे ।
शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिए । हिन्दीदेखि संस्कृतसम्मका भाषामा सांसदहरुले शपथ लिएका हुन् ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणालीबाट निर्वाचित ११० गरी कुल २७५ सांसद छन् ।

