विश्वमा क्षयरोग लामो समयदेखि जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहँदै आएको छ । माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुको संक्रमणबाट यस रोगले प्रमुख रूपमा फोक्सोमा हानि गर्ने भए पनि जुनसुकै अंगमा असर गर्न सक्छ । क्षयरोग विश्वमा उच्च मृत्युदर भएका रोगमध्ये एकमा पर्छ । सन् २०२२ मा कोभिडपछि दोस्रो मृत्यु गराउने कारणका रूपमा क्षयरोग देखिएको छ । विश्व स्वास्थ्य संगठनको ग्लोबल टीबी रिपोर्ट २०२३ को प्रतिवेदनअनुसार २०२२ मा १०.६ मिलियन मानिसमा क्षयरोग भएको अनुमान गरिएको थियो भने ७.५ मिलियन क्षयरोगका नयाँ बिरामी निदान भएका थिए, जुन सन् १९९५ देखिको सबैभन्दा उच्च संख्या हो । क्षयरोग देखिएकामध्ये ५५ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र १२ प्रतिशत बालबालिका (०–१४ वर्ष) रहेका छन् । विश्वव्यापी रोग निदान भएका क्षयरोगका बिरामीमध्ये ४६ प्रतिशत दक्षिण–पूर्वी एसियाका रहेका छन् । त्यसमा भारत, चीन, पाकिस्तान र बंगलादेशमा क्षयरोगको उच्च भार रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी भएको अनुमान गरिएकामा ३७ हजार ४ सय ४७ नयाँ बिरामी पत्ता लागे । २ हजार ९ सय जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी रहेको अनुमान गरिएकामा ६ सय ९३ जना निदान भई ५ सय ४६ बिरामी उपचारमा छन् । त्यसकारण सबै बिरामी पत्ता लगाउन र निदान भएकालाई उपचारको दायरामा ल्याउन चुनौती थपिएको छ । उपचारमा आएका बिरामीमध्ये डीएसटीबीको उपचार सफलता दर ९२ प्रतिशत छ भने डीआरटीबीको उपचार सफलता दर गत आवको ७४ प्रतिशतबाट बढेर ८२ प्रतिशत पुगेको छ । क्षयरोगको सबैभन्दा धेरै भार मधेश प्रदेश, वाग्मती र लुम्बिनी प्रदेशमा रहेको छ । यी प्रदेशले मात्र ६८ प्रतिशत भार ओगटेका छन् । लुम्बिनी, मधेश र कोशी प्रदेशमा औषधि प्रतिरोधी क्षयरोगको भार क्रमशः उच्च रहेको छ ।
क्षयरोग अन्त्यको विश्वव्यापी रणनीति (सन् २०१६–२०३५) ले सन् २०३५ सम्म विश्वमा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । क्षयरोग अन्त्यको विश्वव्यापी रणनीतिलाई आत्मसात् गर्दै नेपालमा राष्ट्रिय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी हाल कार्यान्वयनमा छ । क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजनाअनुसार आव २०७७/०७८ मा २३८ प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग हुने दर भएकामा यसलाई ०८२/०८३ सम्ममा १८१ प्रतिलाख जनसंख्यामा झार्ने र मृत्युदरलाई ०७७/०७८ को ५८ जना प्रतिलाख जनसंख्याबाट ०८२/०८३ को अन्त्यसम्ममा २३ प्रतिलाख जनसंख्यामा झार्ने लक्ष्य छ । यस्तै, क्षयरोगको कारणले परिवारमा पर्ने अधिक आर्थिक व्ययभार शून्यमा झार्ने तथा ०९१/०९२ सम्ममा क्षयरोग महामारीको अन्त्य र २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ ।
क्षयरोगको निदान र उपचारको गुणस्तर सुधारका लागि विभिन्न अनुसन्धान तथा नवीनतम प्रविधिको प्रयोग र विस्तार भइरहेका छन् । औषधि प्रतिरोधी क्षयरोगको वर्तमान अवस्था पत्ता लगाउन ड्रग रेसिस्टेन्ट सर्भे अन्तिम चरणमा पुगेको छ भने क्षयरोगका बिरामीको आर्थिक व्ययभार पत्ता लगाउन प्यासेन्ट कस्ट सर्भे पनि सञ्चालनमा छ । औषधि प्रतिरोधी क्षयरोग पत्ता लगाउन जिन एक्सपर्ट सेन्टर १ सय १३ स्थानमा विस्तार गरिएको छ भने छोटो समयमा फस्ट लाइन/सेकेन्ड लाइनका औषधिको प्रतिरोध अवस्था पत्ता लगाउन एक्सपर्ट एक्सडीआर मेसिन १९ स्थानमा विस्तार गरिएको छ । क्षयरोगको स्क्रिनिङलाई सहज गराउन अल्ट्रा पोर्टेबल एक्सरे मेसिन सातै प्रदेशमा वितरण गर्न लागिएको छ । यसले गर्दा समुदायमा क्षयरोगका जोखिम समूह भएका स्थानमा सक्रिय खोजपडताल कार्यक्रममा सहयोग पुग्नेछ ।
नेपालमा क्षयरोगको उच्च जोखिम कुपोषण भएका, धूमपान गर्ने, मदिराजन्य पदार्थको प्रयोग गर्ने, चिनी रोग र एचआईभी एड्स भएका व्यक्तिमा बढी हुने गर्छ । यस्ता जोखिम तत्त्व भएका व्यक्तिमा क्षयरोगबाट हुने मृत्युदर पनि बढी हुन्छ । त्यसकारण क्षयरोग निवारण गर्न यी जोखिम तत्त्वको समयमै पहिचान गरी न्यूनीकरणका लागि एकीकृत कार्यक्रम कार्यान्वयन गर्दै जानु आवश्यक छ । साभार : कान्तिपुर
– श्रेष्ठ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक हुन् ।
क्षयरोग निवारणका प्रयास
क्षयरोग निवारणका प्रयास
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

