अहिले नेपालमा ‘फोर्टिफिकेसन’को हावा चलेको छ । आमजनले खाने खाना पिठो, तेल, चामल आदिमा थरीथरीका भिटामिन, खनिज पदार्थ मिसाएर खान दिने चलन छ । जब सरकारले साधारणजनको स्वास्थ्यको वास्ता गर्नुको साटो ठूला व्यापारीहरूको पैसा कमाउने चाहनालाई बढी समर्थन गर्छ, त्यसबेला ‘फोर्टिफिकेसन’को ‘स्वाङ’ र नाटक हुन्छ ।
प्रकृति दयालु छ । राम्रो स्वास्थ्यको लागि चाहिने सम्पूर्ण भोजन प्रकृतिबाटै पाइन्छ । तर राजनीतिक, सामाजिक, धार्मिक र गरिबीको कारणले मानिसहरूलाई कुपोषण हुँदा व्यापारिक घरानाका मानिसहरू कुपोषण ठिक पार्न हामी खानामा अनेक थरीका भिटामिन मिलाइदिन्छौं । फोर्टिफिकेसन गरिदिन्छौं, अनि कुपोषण हुँदैन भनेर सरकारलाई भन्छन् । सरकार समस्याको विश्लेषणविनै त्यस्ता व्यपारीको चंगुलमा पर्छ । यसले सार्वजनिक स्वास्थ्य समस्या सिर्जना हुन्छ ।
नेपालमा अहिले पूरक खाना (पूरक आहार) भनेर अनेक प्याकेटका खाना, भिटामिन, खनिज, ओमेगा ३ जस्ता पदार्थको बिक्री भइरहेका छन् । एक चक्की वा क्याप्सुलको ५०–१०० रुपैयाँसम्म पर्ने यस्ता पूरक आहारले केही फाइदा हुँदैन । यो बनाएर बेच्ने कम्पनीहरूचाहिँं मालमाल हुन्छन् । उपभोक्ता मञ्चमा आबद्ध बाबुराम हुमागाईंले एक कार्यक्रममा भनेका थिए, ‘कतिले विवेकशील तरिकाले पूरक आहार बेच्न नियम बनाउनुपर्छ भन्छन्, तर अनेक थरीका भिटामिन, खनिजहरू जुन प्रकारले क्याप्सुलका रूपमा उपभोक्ताले प्रयोग गर्छन्, त्यो अविवेकशील नै हुन्छ । त्यो कामै लाग्दैन । अनि किन त्यसबारे नियम बनाउनु ?’
विवेकशील जनस्वास्थ्य विज्ञहरूका अनुसार पूरक आहारलाई औषधिको रूपमा खानै पर्दैन । सन्तुलित खाना खाए पुग्छ । पूरक आहार किन्नु व्यर्थमा पैसा खर्च गर्नु हो । डाक्टरहरू पनि ‘तिम्रो भोजन नै औषधि हो’ भन्छन् । वास्तवमा राम्रो भोजन नभए जति औषधि खाए पनि काम लाग्दैन ।
कुपोषित बालबालिकालाई भोजनको माध्यमबाट नै स्वस्थ बनाउन सकिन्छ । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा स्थापना गरेको ‘पोषण पुनःस्थापना गृह’मा कुपोषित बालबालिकालाई भान्छाकै खानेकुरा ख्वाएर, मसाज गरेर, खेलाएर, घाममा राखेर ठिक पारिन्छ । तर पूरक आहार बनाउने कम्पनीहरू भन्छन्, ‘सूक्ष्म पोषण तत्त्वहरू भएको पूरक आहारले अनेक रोगबाट बचाउँछ ।’ यस्तो भ्रम सिर्जना गरेर उपभोक्तालाई नचाहिने औषधि किन्न लगाइन्छ ।
भारतमा सन् २०१७ मा ४ खर्ब डलरको ‘पूरक आहार’को व्यापार थियो । २०२२ मा यो १० खर्बको हुने एक अध्ययनले देखाएको छ । अर्थात् अनेक विज्ञापनको फन्दामा फँसेर मानिसहरू घरको खाना बेवास्ता गरी पूरक आहार किन्छन् । नेपालमा पनि त्यस्तै अवस्था देखा परिरहेको छ । मानिसहरूले ५ रुपैयाँमा पाइने खाना छाडेर पूरक आहारको रूपमा ५० रुपैयाँमा क्याप्सुल किन्छन् । आजभोलि स्वास्थ्यकर्मीहरूले पूरक आहारलाई औषधि भनी लेखिदिन्छन् । कति दुःखलाग्दो कुरा ।
म १६ महिना नेदरल्यान्ड बसेँं । त्यहाँ कसैलाई पनि ‘भिटामिन’ वा ‘पूरक आहार’ दिएको देखिन्न । अमेरिकामा चाहिँ ‘हेल्थ फुड’ को नाममा पूरक आहारमा अर्बौं डलरको व्यापार हुन्छ । पूरक आहार नखाने डचहरू अमेरिकनहरूभन्दा स्वस्थ छन् भन्ने तथ्यांकले देखाउँछ ।
भारतमा गरिएको एक अनुसन्धान अनुसार भिटामिनको चक्की, झोल र खनिज पदार्थ ४० प्रतिशत, अनेक थरीका ‘हर्वल औषधि’ भनेर २० प्रतिशत, फो बायोटिक १० प्रतिशत, ओमेगा ३ फ्याट्टी एसिड, प्रोटिन १५ प्रतिशत विभिन्न नामबाट बिक्री हुन्छ । यो पढेपछि मलाई लाग्यो, त्यहाँका करोडौं जनतालाई ‘पूरक खाना’को रूपमा ठगिएको छ । त्यहाँका जनताले घरको गहुँ, दाल, दही छाडेर पूरक आहार खान्छन्, भोजन होइन ।
नेपालमा कुनै–कुनै स्वास्थ्यकर्मीले बिरामीलाई ३ वटा औषधि लेखे त्यसमा २ वटा पूरक आहार लेख्छन् । औषधि विभागले यस्ता पूरक आहार औषधि पसलमा बेच्ने होइन भन्छ । तर खाद्य विभागचाहिँ यसलाई बेच भन्छ । मारमा पर्ने त उपभोक्ता नै हुन् । यस्ता पूरक आहारको मानिसलाई जरुरतै पर्दैन । त्यसमाथि पनि क्लिनिकल अन्कोलोजी सम्बन्धी एक अध्ययनमा सिद्ध भएको छ— भिटामिन बी ६ र भिटामिन बी १२ चक्की पूरक आहारको रूपमा खाँदा फोक्सोको क्यान्सरको सम्भावना बढ्न सक्छ । यस्ता क्याप्सुलले बेफाइदा गर्छन् भन्ने उपभोक्तहरूलाई थाहा छैन । यस्ता पूरक आहारको बाहिरपट्टि लेखिएको हुन्छ, ‘औषधि होइन’, तर डाक्टरहरूले लेखिदिन्छन् । कसैले प्रश्न गर्दैन ।
काठमाडौंका ३ वटा अस्पतालमा ३ सय बिरामीको पुर्जीको विश्लेषण गर्दा डाक्टरले लेखिदिएको औषधि हेर्दा ५१ प्रतिशतलाई भिटामिन, १५ प्रतिशतलाई खनिज, ५ प्रतिशतलाई प्रोबायटिक, ३ प्रतिशतलाई प्रोटिन, ३ प्रतिशतलाई पाचन रस दिइएको फेला पर्यो । २३ प्रतिशतलार्ई चाहिँ किन केही पनि नदिइएको होला ? यो पनि अनुसन्धानको विषय हो ।
बालबालिकालाई घरको खानाले पुग्दैन । त्यसैले भिटामिन ‘ए’, ‘डी’ मिलाइएको पिठो ख्वाउनुपर्छ । महिलाहरू गर्भवती भएका बेला घरमा पकाएको खानाले मात्र कुपोषण हुनसक्छ । बच्चा सानो हुनसक्छ । त्यसैले फोर्टिफिकेसन गरेको अन्न ख्वाउनुपर्छ । व्यापारीहरू यस्ता भ्रामक प्रचार बारम्बार गर्छन् । तर गर्भवती महिलालाई पहिले नै शरीरमा भिटामिन ‘ए’ र ‘डी’ पर्याप्त छ भने भिटामिन ‘ए’ र ‘डी’ले ‘फोर्टिफिकेसन’ मिलाएको पिठो वा चामल खान दियो भने उसको शरीरमा यस्ता भिटामिन बढी हुनसक्छ । अनि झन् नोक्सान गर्छ । शरीरमा भिटामिन ‘ए’ चाहिनेभन्दा बढी भएपछि छालाका अनेक समस्या देखिन्छन् ।
आँखामा आँसुको कमी हुन्छ । कपाल झर्ने, नङ झर्ने, वाकवाक आउने, टाउको दुख्ने समस्या हुनसक्छ । ‘हाइपर भिटामिनोसिस’ अर्थात बढी भिटामिन भएपछि हड्डीमा पनि समस्या देखिन्छ । गर्भवतीलाई भिटामिन ‘ए’ बढी भएपछि भ्रूणलाई पनि असर पर्न सक्छ । विश्व स्वास्थ्य संघले भनेको छ, ‘अन्नमा भिटामिन ‘ए’ मिलाउनु हुँदैन ।’ भिटामिन ए त फर्सी, गाँजर, शखरखण्ड, हरियो तरकारी खाएपछि शरीरलाई प्राप्त भइहाल्छ । तर नेपाल सरकार फर्सी, सिस्नो, पालुंगो, सहजन, करीपत्ता, गाँजर आदि पर्याप्त हुने ठाउँमा पनि भिटामिन ‘ए’को क्याप्सुल नै खानुपर्छ भनिरहन्छ भने कुपोषणको समस्या कम हुँदैन । २०७६ कात्तिक ६ साभार कान्तिपुर
न्युट्रास्युटिकल बेचबिखनमा प्रतिबन्ध
काठमाडौं – औषधि व्यवस्था विभाग (डीडीए) ले एकभन्दा बढी तत्त्व समावेश गरिएका भिटामिन वा टनिकको बिक्रीवितरण, पैठारी, सञ्चय र परिवहन गर्न प्रतिबन्ध लगाएको छ । डीडीएले बिरामीलाई त्यस्ता भिटामिन वा टनिक सिफारिस नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
न्युट्रास्युटिकलका रूपमा चिनिने यस्ता उत्पादन खाद्यान्न भनेर आउने गरे पनि औषधिका रूपमा बिक्रीवितरण हुने गरेको छ । चक्की, क्याप्सुल र झोल औषधिको स्वरूपमा आउने न्युट्रास्युटिकलको मूल्य महँगो हुन्छ ।
वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंका अनुसार बिरामीलाई आर्थिक भारबाहेक खासै फाइदा नहुने यस्ता न्युट्रास्युटिकल प्रस्तावित गर्ने व्यक्तिले खुलमखुला प्रत्येक स्ट्रिपमा कमिसन पाउने गरेका छन् । आयातकर्ताले नै यस्ता वस्तुका उत्पादकलाई बढाएर मूल्य राख्न भन्ने गरेको जानकारी दिँदै हुमागाईंले कतिपय न्युट्रास्युटिकल नक्कलीसमेत रहेको बताए ।
सिफारिस गर्ने चिकित्सकले यस्ता उत्पादकबाट धेरै कमिसन पाउँछन् भने आयातकर्ता र बिक्रेतालाई समेत अत्यधिक नाफा हुने गरेको छ । न्युट्रास्युटिकललाई सरकारले २६ वर्षअघि नै राजपत्रमा सूचना प्रकाशित गरी प्रतिबन्ध लगाएको थियो । त्यो प्रतिबन्ध अहिले पनि कायम छ । डीडीएले मंगलबार पुनः सूचना प्रकाशित गरी न्युट्रास्युटिकल प्रयोग नगर्नर् आग्रह गरेको छ ।
डीडीएले आफूले जारी गरेको भिटामिन र टनिकको सम्मिश्रणबाहेक अन्य सबै प्रतिबन्धित रहेको औंल्याउँदै यस्ता औषधि बिक्रीवितरण, पैठारी, सञ्चय, परिवहन र बिरामीलाई सिफारिस गर्ने सबैलाई औषधि ऐन २०३५ अनुसार कारबाही हुने जनाएको छ । फुड सप्लिमेन्टरी/डाइटरी सप्लिमेन्टरीका नाममा यस्ता न्युट्रास्युटिकल गैरकानुनी रूपले आयात गरेर औषधि पसलहरूबाट बिक्रीवितरण हुने गरेको छ ।
‘औषधि ऐन २०३५ अनुसार आदेशको बर्खिलाफ गरी काम गर्नेलाई ३ वर्ष कैद वा २५ हजार जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ,’ डीडीएका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले भने । उनका अनुसार कतिपय फार्मेसीमा दर्ता नभएका यस्ता मल्टी भिटामिन र मल्टी मिनरल पाइन्छन्, जसलाई चिकित्सकले सिफारिस गर्छन् । मापदण्डविपरीतका भिटामिन बिक्रीवितरण, पैठारी, सञ्चय, परिवहन गर्ने र बिरामीलाई सिफारिस गर्ने जोसुकैलाई कारबाही हुने जानकारी क्षत्रीले दिए । उनका अनुसार चिकित्सकले बिरामीको पुर्जामा यस्ता न्युट्रास्युटिकल प्रस्तावित गरेपछि बिरामी र उनका आफन्तले यसलाई औषधिकै रूपमा बुझ्ने गरेका छन् । ‘सुरक्षा र मूल्यको दृष्टिकोणले उपभोक्ता ठगिइरहेकाले यस्ता न्युट्रास्युटिकल बिरामीलाई प्रस्ताव गर्नेले पुनर्विचार गर्नुपर्छ,’ फर्मासिस्ट हुमागाईंले भने । उनका अनुसार बर्सेनि करिब ६ अर्ब रुपैयाँ बराबरका न्युट्रास्युटिकल वस्तु बिक्रीवितरण हुने गरेको छ ।
‘खाद्यवस्तुमा हालिएको भिटामिन या मिनरलसँग हाम्रो सरोकार भएन,’ क्षत्रीले भने फर्मास्युटिकल डोजका रूपमा ट्याब्लेट, क्पाप्सुल, झोलका रूपमा बिक्रीवितरण हुनु हाम्रो सरोकारको विषय हो ।’ सरकारले नेपाली औषधि उद्योगलाई समेत मल्टी भिटामिन र मल्टी मिनरलजस्ता औषधि उत्पादनको अनुमति दिएको छैन ।

