अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युट र युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाद्वारा गत साता सार्वजनिक ग्लोबल एअर रिपोर्टले वायु प्रदूषणका कारण नेपालसहित दक्षिण एसियाका बंगलादेश, भारत र पाकिस्तानका बालबालिकाको औसत आयु साढे २ वर्षका दरले घट्न सक्ने डरलाग्दो तथ्य उजागर गरेको छ ।
घरबाहिर रहँदा सवारी साधन र उद्योगबाट निस्कने दूषित हावा तथा घरभित्र भएका बेला खाना पकाउँदा र आगो ताप्दा पैदा हुने धूवाँका कारण सब–साहरन अफ्रिकी र पूर्वी एसियाका बालबालिकाको औसत आयु क्रमशः २४ र २३ महिनाका दरले घटिरहेको प्रतिवदनमा उल्लेख छ । दूषित वायुका कारण विकसित मुलुकका बालबच्चाको औसत आयु ५ महिनाभन्दा कमले घट्ने गरेको तथ्य छ । वायु प्रदूषणका कारण बच्चाबच्चीमा जन्मँदै कम तौलका हुने, फोक्सोको वृद्धि अवरुद्ध हुने र सानैमा दमले सताउने जस्ता समस्या पैदा हुन्छन् । शिशुको फोक्सोको वृद्धि जुन रूपमा हुनुपर्ने हो त्यो हुन सक्दैन । यसबाट सिर्जित समस्या उनीहरूले अजीवन ब्यहोर्नुपर्ने हुन्छ ।
विकास, निर्माणको गति तीव्र रहेको विकासोन्मुख मुलुकका बासिन्दा वायु प्रदूषणको मारमा सबैभन्दा बढी परेका छन् । संसारकै धेरै जनसंख्याको बसोबास रहेको एसियामा वायु प्रदूषणबाट हुने मृत्युदर बढी छ । विश्वका ९५ प्रतिशत मानिस प्रदूषित हावामा सास फेरिरहेका छन्, जसका कारण बर्सेनि ६० लाख मानिसको मृत्यु हुने गरेको छ । वायु प्रदूषणजन्य रोगका कारण सन् २०१३ मा चीनमा १६ लाख र भारतमा १४ लाख मानिसले ज्यान गुमाउनुपरेको थियो ।
नेपालमै पनि राजधानीका अधिकांश ठाउँ र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषणको मात्रा औसत मापदण्डभन्दा कैयौं गुणा बढी छ । सन् २०१७ र २०१८ को तथ्यांकअनुसार राजधानीको रत्नपार्कमा मापदण्डभन्दा ४ गुणा बढीसम्म पीएम २.५ र त्योभन्दा साना धूलोका कण रेकर्ड भएको छ । पीएम २.५ को मात्रा सन् २०१७ मा प्रतिघनमिटर हावामा १ सय ३२ र सन् २०१८ मा प्रतिघनमिटर हावामा १ सय ३६ माइक्रोग्रामसम्म रेकर्ड भएको थियो । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै ६ गुणा बढी हो । संगठनले पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २५ माइक्रोग्राम (२४ घण्टाको औसत) मापदण्ड तोकेको छ ।
विकसित मुलुकहरूले वायु प्रदूषण नियन्त्रणका अल्पकालीन र दीर्घकालीन उपाय अपनाएका छन् । बालबालिका, वयस्क र वृद्धवृद्धा सबैलाई स्वस्थ र दीर्घजीवी बनाउन विकास निर्माण, उद्योगधन्दा, यातायात र घरेलु ऊर्जा खपतका कारण सिर्जना हुने वायु प्रदूषण नियन्त्रणमा चनाखो बनेका छन् । कम विकसित मुलुकका नागरिक भने विकास निर्माणका नाममा प्रदूषित हावामा सास फेरेर आफ्नो आयु घटाउन विवश छन् ।
हामीकहाँ वायु प्रदूषणको अवस्था थाहा पाउन काठमाडौंमा ७, पोखरामा २, नेपालगन्ज, भक्तपुर, दाङ, सुनसरी, सिमरा, लुम्बिनी र धुलिखेलमा गरी १९ वायु गुणस्तर मापन केन्द्र छन् । सबै मापन केन्द्रको आँकडा सरकारले तोकेको र डब्लूएचओको मापदण्डभन्दा बढी छ । तैपनि प्रदूषण उत्सर्जन क्रियाकलाप नियन्त्रणमा खासै काम भएको छैन, बरु उत्सर्जनका नयाँ–नयाँ स्रोत थपिएका छन् ।
वायु प्रदूषणका मुख्य कारक लाखौं संख्याका सवारी साधन, इँटाभट्टा, कृषि प्रयोजनका गतिविधि, अस्पतालका इन्सिनेटर र खुला स्थानमा फोहोर जलाउँदा निस्कने धूवाँ हुन् । प्रदूषण डिस्पर्सन मोडेलिङ एवं नियन्त्रण पद्धति विकाससम्बन्धी एक अनुसन्धान प्रतिवेदनका अनुसार वायु प्रदूषणको स्तर मापदण्डभित्र ल्याउन काठमाडौंमा घरायसी क्रियाकलापबाट भइरहेको प्रदूषणलाई ८० प्रतिशत, सवारी साधनबाट उत्सर्जितलाई ७० प्रतिशत र औद्योगिक क्रियाकलापबाट उत्सर्जित प्रदूषण ६० प्रतिशत घटाउनुपर्छ ।
सवारी साधनबाट हुने प्रदूषण कम गर्न सार्वजनिक यातायातलाई प्रभावकारी र विद्युतीय प्रणालीयुक्त बनाउनुपर्छ । पुराना सवारी साधनको विस्थापन, उचित मर्मतसम्भार, भार नियन्त्रण, इन्धनमा शुद्धीकरण र सडकको धूलो नियन्त्रण गर्नुपर्छ । सवारी साधनको नियमन र हरियो स्टिकरको प्रावधान देखावटी मात्र नभई व्यवहारमै कार्यान्वयन हुनुर्पछ । सरकारले दीर्घकालीन रूपमा थोत्रा गाडी हटाएर युरो–४ मापदण्डका गाडी सञ्चालनको व्यवस्था गर्नुपर्छ । भारतले युरो–३ मापदण्डका सवारी साधन हटाइसकेकाले तिनै गाडी भित्रिएलान् कि भन्नेमा चनाखो रहनुपर्छ ।
दाउरा, मट्टितेल र गुइँठाको साटो सरकारले सहजै र सस्तोमा बिजुली उपलब्ध गराउने हो भने घरभित्रबाट उत्सर्जन हुने प्रदूषण घट्छ । उद्योग र इँटाभट्टाको उत्सर्जनलाई पनि प्रभावकारी नियमन गर्नुपर्छ । महानगरपालिका र नगरपालिकाहरूमा भष्मीकरण उपकरण अनिवार्य रूपमा राख्ने व्यवस्था मिलाइनुपर्छ ।
धूलो बढ्न नदिन जथाभावी सडक खन्ने र भौतिक संरचना बनाउन दिने परिपाटीमा अंकुश लगाउनु जरुरी छ । प्लास्टिक, काठ–दाउरालगायत धूवाँ उत्सर्जन गर्ने इन्धन प्रयोग गर्दा सावधानी अपनाउन तथा घरभित्र र बाहिरको वातावरण स्वच्छ राख्न सामूहिक जनचेतना जगाउनु आवश्यक छ । राज्यले नागरिकबाट सडक, सवारीलगायत कर जुन–जुन प्रयोजनका लागि उठाएको हो, त्यसैमा खर्च गर्नुपर्छ । त्यसले नपुगे अन्य स्रोतबाट जुटाएर भए पनि सास फेर्ने हावा सफा राख्नैपर्छ ।
प्राणवायु प्रत्येक जीवनको पहिलो अपरिहार्य आवश्यकता हो । यदि प्राणवायु नै प्रदूषित छ भने जति नै अरू उपलब्धि हासिल गरे पनि जीवन जोखिममै रहन्छ । २०७५ चैत २४ कान्तिपुर

