वित्रीदेवी (नाम परिर्वतन) लाई व्यथाले च्यापेपछि सासू र श्रीमान्ले स्थानीय स्वास्थ्य संस्थामा पुर्याए। बच्चा ठूलो अनि धेरै पानी गएकाले राम्रो र बच्चाको एनआईसीयू भएको अस्पतालमा लैजानुपर्ने सल्लाह स्थानीय स्वास्थ्य संस्थाले भनेपछि श्रीमान् आत्तिए। आत्तिएर समस्या समाधान नहुने निश्चित थियो। त्यसैले श्रीमान् मनोजले हतार गरेर एकातिर बुवालाई पैसाको जोहो गरेर अस्पताल आउन भने अर्कातिर एम्बुलेन्समा सावित्रीलाई विराटनगरको निजी अस्पतालमा पुर्याइयो। अस्पताल पुग्नेवित्तिकै सेवा पाउन सकेनन्। शल्यक्रियाका लागि चाहिने अति आवश्यक रिपोर्टहरू थिएनन्। तुरुन्त परीक्षण र औषधिहरूका लागिसमेत पैसा थिएन।
पैसाको बन्दोबस्त गरेर मनोजका पिता रामेश्वर आउन एक घण्टाभन्दा बढी लाग्यो। त्यसैले अस्पताल पुगेर पनि करिब दुई घण्टापछि मात्र उनको शल्यक्रिया भयो। बच्चा ढिला निकालेका कारण बच्चालाई नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा राख्नु पर्यो। उपचारमा संलग्न रहेका चिकित्सक, नर्स, महँगा औषधि र उपचारले आमा र बच्चालाई जोगाउन सफल भयो। तर मनोेजका परिवारले ठूलो धनराशि खर्चिनु पर्यो। सुत्केरी अवस्थामा जटिलता आउन सक्छ, घर नजिकको संस्थामा नर्मल डेलिभरी नहुन पनि सक्छ। यी कुराहरूको हेक्का राखेको भए सायद सावित्री बेलैमा शल्यक्रिया हुने अस्पतालमा पुग्थिन् होला। समयमा शल्यक्रिया गरेर बच्चा जन्माएको भए एनआईसीयू र बच्चाको उपचारमा खर्च गर्नु परेको ठूलो रकम पनि जोगिन्थ्यो होला।
सुत्केरी गराउन ढिला भएको यो पहिलो घटना चाहिँ होइन। गर्भावस्थामा नियमित परीक्षण गर्ने गरेका दम्पतीहरूले पनि सुत्केरीका लागि आवश्यक तयारीहरू गरेको पाइँदैन। सुत्केरी गराउन चाहिने पैसा, अस्पतालको छनोट, चाहिन सक्ने रगत समूह र दाताको पहिचान र आफूसँग बस्ने सक्ने कुरुवाजस्ता विषयमा दम्पतीहरूले सल्लाह गरेको पाइँदैन। नेपालमा सन् २००९ जुलाईदेखि नै आमा सुरक्षा कार्यक्रम लागू गरिएको छ। गर्भ र गर्भवतीसँग जोडिएका धेरैभन्दा धेरै समस्या निराकरण गरी, आमा र बच्चा दुवैलाई गर्भका कारण मृत्यु हुन कम गर्ने लक्ष्यका साथ कार्यान्वयनमा ल्याएको विशेष कार्यक्रम हो, ‘आमा सुरक्षा कार्यक्रम’। आमा सुरक्षा कार्यक्रमले स्वास्थ्य संस्थामा प्रसव गराउनेहरूलाई निःशुल्क प्रसव (नर्मल डेलिभरी, जटिल डेलिभरी तथा शल्यक्रिया गरेर) सेवा र अस्पतालबाट घर फर्किने बेलामा यातायात खर्च भनेर केही नगद दिने भएकाले हाम्रो समाजमा यो कार्यक्रम निकै प्रभावकारी साबित भएको छ।
मातृत्व अर्थात् प्रसवलाई व्यवस्थित बनाउन नयाँ स्वास्थ्य केन्द्रहरू निर्माण नगरिए पनि भएका स्वस्थ्य संस्थाहरूमा भौतिक तथा प्राविधिक विकास गरी सेवा विस्तार गरिएको छ। सुरक्षित सुत्केरी गराउन नेपाल सरकारले १ हजार ७ सय ५१ बर्थिङ सेन्टर र १ सय ५९ बेसिक इमर्जेन्सी अब्सट्रेटिक एन्ड नियोनाटल केयर (बिईओनसी) र ६९ जिल्ला अस्पताललगायत कुल १०४ अस्पतालमा कम्प्रिहेन्सिभ इमर्जेन्सी अब्सट्रेटिक एन्ड नियोनाटल केयर (सिईओनसी) अर्थात् शल्यक्रिया सेवासहितको सेवा दिने क्षमता विस्तार गरेको छ। निजी अस्पतालहरूको संख्या, सेवा तथा पहुँचमा उल्लेखनीय प्रगति भएको छ। यिनै कारणहरूले गर्दा सन् २००९ मा २२.५ प्रतिशतमा सीमित रहेको स्वास्थ्य संस्थामा हुने प्रसव हाल ५७ प्रतिशत पुगेको हो भन्दा गलत नहोला।
स्वास्थ्य संस्थाहरूको वृद्धि भए तापनि अझ भन्नुपर्दा प्रसव सेवालाई निकै व्यवस्थित बनाउन खोजिएको छ। तर पनि गर्भवती तथा परिवार धेरै सजग नभएको पाउँछौं। सुत्केरी गराउन पैसा पर्दैन अनि नजिकको संस्थामा पनि डेलिभरी हुन्छ भनेर गर्भ, गर्भवती र प्रसवलाई गम्भीरताका साथ नलिने गरेको पाइन्छ। गर्भावस्था तथा प्रसवको समस्यालाई हामी एक्कासि भयो भन्न मिल्दैन। सामान्यतयः गर्भ रहेको ९ महिना पुगेपछि प्रसव हुने हुन्छ। यो ९ महिनामा गम्भीर र सजग भएमा सबै आवश्यक तयारी गर्न सक्छौं। सुत्केरी गराउन आमा सुरक्षा कार्यक्रम भएको अस्पतालमा पैसा लाग्दैन भनेर पैसा बचत गर्न छोडेको पनि देखिन्छ।
आमा सुरक्षा कार्यक्रम भएका अस्पतालमा प्रसव र त्यससम्बन्धी औषधि निःशुल्क हुन्छ। तर अस्पताल पुग्न एम्बुलेन्स वा अन्य साधनको खर्च, आमा तथा कुरुवाको खानालगायत अन्य बन्दोबस्त गर्न खर्च लाग्न सक्छ। आमा सुरक्षा कार्यक्रम भएको अस्पतालको संख्या निकै कम रहेका छ। यस्ता अस्पतालमा निकै बढी बिमारीको चाप हुने गरेको पाइन्छ। आफूलाई प्रसव पीडा भइरहँदा नजिकको संस्थामा सेवा पाइन्छ नै भन्ने ग्यारेन्टी गर्न सक्ने अवस्था हँुदैन।
अर्को कुरा सुत्केरी गराउने अवस्था सधैं सामान्य हुन्छ भन्न सकिँदैन। यस अवस्थामा जटिलताहरू आउन सक्ने सम्भावना पनि धेरै हुन्छ। आफूलाई त्यस्ता जटिलताहरू आएमा वा बच्चामा कुनै किसिमका जटिलता आएमा ती अस्पतालहरूमा उपचार सम्भव नहुन पनि सक्छ। थप उपचारका लागि अन्य निजी अस्पतालमा जानुपर्ने हुन सक्छ। त्यसैले सुत्केरी अवस्थामा पैसा जोगाएर राख्नु अति आवश्यक हुन्छ।
प्रसव पीडा भएको बेला पैसा मात्र समस्या हुन्छ भन्ने छैन। प्रसवको समयमा तथा प्रसवको लगत्तै रक्तस्राव हुने र रक्तस्रावकै कारण मृत्यु हुनेहरूको संख्या पनि धेरै छ। हुन त रेडक्रसले धेरैवटा अस्पतालको नजिकमा ब्लड बैंक स्थापना गरेका छन्। आफूलाई आवश्यक परेको अवस्थामा आफूलाई चाहिएको समूहको रगत ब्लडबैंकमा नहुन सक्छ। अत्यधिक रक्तस्राव भएको अवस्थामा तुरुन्त रगत दिन सकिएन भने सुत्केरीको ज्यान जोगाउन सकिँदैन। त्यसैले गर्भवती महिलाको रगत समूह गर्भ परीक्षणको समयमै पहिचान गर्ने गरिन्छ। आफ्नो मात्र रगत समूह जानेर पुग्दैन। आफूलाई चाहिएको अवस्थामा रगत दिन सक्ने नजिकको व्यक्तिहरू पनि चिनिरहनु बुद्धिमानी साबित हुन्छ। अत्यधिक रक्तस्राव भएको अवस्थामा, ब्लड बैंकमा आफूलाई चाहिएको समूहको रगत मौज्दात नरहेको अवस्थामा ती व्यक्तिहरूबाट रगत लिएर काम चलाउनु पर्ने हुन्छ।
गर्भावस्थामा नै प्रसवका लागि आवशयक पर्न सक्ने अस्पतालहरूका सुविधा अनि सेवा शुल्कहरूका बारेमा जानकारी लिइरहनु पर्छ। बच्चाका उपचारका बारेमा पनि छलफल गर्नुपर्छ। प्रसव गराउन आवश्यक पर्ने एम्बुलेन्स वा सवारीसाधन तथा सो अवस्थामा आफूसँग बस्ने साथीका बारेमा सोच्ने र तयारी गर्नुपर्ने हुन्छ। चिकित्सकीय रिपोर्ट सबै सुरक्षित र तयारी अवस्थामा राख्नुपर्छ। यसले समय मात्र जोगाउँदैनन्, मानसिक तनाव र पैसा पनि जोगाउँछ। प्रसवको अनुमानित समयबारे परिवारसँग छलफल गर्नुपर्छ। चिकित्सकले दिएको अनुमानित समयभन्दा दुई हप्ताअघिदेखि पूर्ण तयार हुनुपर्छ।
साह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।

