काठमाडौं । भारतमा एमडी/एमएस/ एमडीएस/ डीएम/ एमसीएचगर्न गएका नेपाली चिकित्सकहरुलाई एक लाख ६० हजार रुपैंया उपलब्ध गराउन माग गरिएको छ ।
भारतमा एमडी गर्न गएका डाक्टरहरूले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स दिल्ली र रिसिकेमा एमडी गर्न गएका डाक्टरहरूले पारिश्रमिक नपाए पछि गुनासो गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका छन् । भारत भ्रमणका क्रममा यो विषयलाई पनि उठाउन डाक्टरहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
‘भारतमा एमडी गर्न गएका डाक्टरले तलब पाएका छैनन् । नेपालमा पनि भारतबाट एमडी गर्न आएका हुन्छन् । तर, उनीहरूले नेपालीसरह तलब पाउँछन्,’ अभियानको नेतृत्व गरिरहेका डा। सागर पौडेलले भने ।
एमडी गर्ने डाक्टरलाई अस्पतालले तलब दिनुपर्ने हुन्छ । ‘एमडी गर्ने डाक्टरले भारू १ लाख पाउनुपर्ने हो,’ डा। पौडेलले भने, ‘भ्रमणका क्रममा प्रधानमन्त्रीले यसलाई एजेन्डा बनाउनुपर्छ ।’
जवाफमा प्रधानमन्त्रीले भारतसँग यो विषयमा कुरा गर्ने आश्वासन दिएका छन् । तलब नपाएको विषयमा डाक्टरहरूले परराष्ट्र मन्त्रालयको पनि ध्यानाकर्षण गराएका छन् । हाल भारतमा २ सयभन्दा बढी एमडी गर्न गाएका डाक्टरहरू छन् ।

