काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको शैयामा कोरोना भाइरस (कोभिड –१९)का संक्रमितहरु उपचाररत छन् । कोहि भाइरसलाई पराजित गर्नेमा विश्वस्त छन् । कोहि भने सिकिस्त देखिन्छन् ।
बिरामीको उपचारमा तल्लिन बरिष्ठ छाति रोग विशेषज्ञ डा. निरज बम संक्रमितको छातिको एक्सरे हेर्दै छन् । ‘कोरोना संक्रमणको यो दोस्रो लहरमा धेरै जना संक्रमित भए । एकै पटक सयौं संक्रमितलाई उपचार गर्नु परिरहेको छ ।’ डा. बम भन्छन, ‘ धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले फोक्सोको नलीहरु कमजोर भएका संक्रमित पनि छन् । फोक्सो कमजोर छ । त्यसमाथि कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा गाह्रो बनाएको छ ।’
सूर्तिजन्य पदार्थका अम्मलिमा रोग प्रतिरोधात्मक क्षमता पनि न्युन हुने र फोक्सो पनि कमजोर हुने भएकोले कोरोना भाइरसको संक्रमण भए अवस्था जटिल हुने र बढी अक्सिजन आवश्यक पर्ने चिकित्सकहरुको भनाई छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन,‘ फोक्सो कमजोर भएका व्यक्तिलाइ कोरोना संक्रमण हुँदा स्वासप्रश्वासमा समस्या पर्छ । कोरोना संक्रमणले सूर्तिजन्य पदार्थ सेवनकर्तालाई छिटै जटिल अवस्थामा पुर्याउँ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल धूम्रपान गर्ने व्यक्तिको फोक्सो कमजोर हुने र कोरोना संक्रमण भए स्वास्थ्यमा जटिलता थपिने बताउँछन् । डा. पौडेल भन्छन,‘ धूम्रपानका कारण पहिले नै कमजोर भएको फोक्सोमा कोरोना भाइरस संक्रमण हुँदा जटिलता हुन्छ । धूम्रपानका अम्मली मध्ये कतिजनालाई कोभिड–१९ को संक्रमण भयो ? यकिन तथ्यांक छैन । पीसीआर परीक्षण गर्ने क्रममा सोधिएको पनि हुँदैन । अस्पतालबाट प्राप्त हुने विवरणबाट तथ्यांक निकाल्न सकिन्छ, होला ।’
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट आइतबार (जेठ २३)सम्म ७ हजार ८ सय ९८ जनाको ज्यान गएको छ । मृत्यु भएका मध्ये कतिजना धूमपानका अम्मली थिए ? भन्ने बारे तथ्यांक नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, उपचारमा संलग्न चिकित्सकहरु भने सूर्तिजन्य पदार्थको सेवनले रोग प्रतिरोधात्मक क्षमता घटाउने र फोक्सो बिगार्ने भएकोले धूमपान नगर्न सुझाव दिन्छन् ।

धूम्रपान गर्नेहरु कोभिड –१९ को जोखिममा ?
सूर्तिजन्य पदार्थ भन्नाले धूम्रपान वा सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ हो ।
धूम्रपान भन्नाले चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम भएको सूर्तिजन्य पदार्थ ( नियन्त्रण र नियमन ) गर्ने ऐन,२०६८ मा उल्लेख छ । त्यस्तै सूर्ति सेवन भन्नाले खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने काम लाई बुझिन्छ । सूर्तिजन्य पदार्थको सेवनले श्वासप्रश्वासजन्य समस्या निम्त्याउँछ । त्यस्तै शरीरको प्रतिरक्षा प्रणाली (ईम्युन सिस्टम)लाई पनि नकारात्मक असर गर्ने चिकित्सकहरु बताउँछन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. राजभण्डारी सूर्तिजन्य पदार्थमा फोक्सो बिगार्ने उच्च जोखिम तत्व (हाई रिस्क फ्याक्टर) हुने बताउँछन् । ‘ लामो समयसम्म धुूम्रपान गर्नेको फोक्सोमा क्षति (ड्यामेज) भएको हुन्छ । कोरोना भाइरस संक्रमणले च्याप्ने संभावना बढी हुन्छ ।’ डा. राजभण्डारी भन्छन, ‘ संक्रमितको फोक्सो कमजोर हुने भएकोले कोरोना भाइरस विरुद्ध जुध्न गाह्रो हुन्छ । मृत्यु हुने संभावना बढी हुन्छ ।’विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि धूम्रपान गर्नेहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा पर्ने जनाएको छ ।
के कारणले हुन्छ, फोक्सो कमजोर ?
छातिभित्र करङले घेरिएर रहेको फोक्सो कमजोर हुनुमा सूर्तिजन्य पदार्थ नै कारकका रुपमा रहेको चिकित्सकहरु बताउँछन् । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार, सूर्तीको धुँवामा ४ हजार किसिमका रसायनहरु हुन्छन् । यी मध्ये ६० वटा रसायनहरु हानिकारक हुन्छन् । सूर्तिमा हुने (टार, निकोटिन र कार्वनमोनोअक्साईड) बढी हानिकारक मानिन्छन् । डा. रेग्मीका अनुसार, ‘टार’ ठोस पदार्थ हो । यो फोक्सो र श्वासनलीभित्र जमेर बस्छ । श्वासप्रश्वासमा अवरोध उत्पन्न गर्छ । सूर्तिमा पाइने ‘निकोटिन’ लागू पदार्थ हो । जुन फोक्सोबाट रगतमा मिसिन्छ । रक्तनली भित्रभित्रै शरीरभर सञ्चालित हुन्छ । त्यस्तै सूर्तिमा पाइने ‘कार्बनमोनोअक्साईड’ फोक्सोबाट रगतमा जान्छ । रक्तकणसँग मिसिन्छ । डा. रेग्मी भन्छन,‘ रगतमा भएको अक्सिजनलाई कार्बनमोनोअक्साईडले विस्थापित गर्छ । जसका कारण रगतमा अक्सिजनको मात्रा कम हुन पुग्छ । ’
श्वासप्रस्वास क्रियामा फोक्सोको महत्वपूर्ण भूमिका रहेको हुन्छ । फोक्सोले मुख्यतः दुईवटा काम गर्छ । हावामा सञ्चित अक्सिजनलाई शरीरको आवश्यकता अनुसार ग्रहण गरी शुद्ध पार्छ । शुद्ध अक्सिजन रगतमा समाहित भएर शरीरको विभिन्न भागमा पुग्छ ।त्यस्तै दोस्रो काम शरीरको विभिन्न कोष तथा ग्रन्थिबाट उत्पन्न हुने दूषित तत्वलाई शरीरबाट बाहिर निकाल्छ ।
फोक्सोमा हावा पुर्याउने र बाहिर फयाँक्ने नलीहरु अत्यन्तै संवेदनशील हुन्छन् । फोक्सो कमजोर बनाउने मुख्य कारक तत्वको रुपमा धूम्रपान रहेको चिकित्सकहरु बताउँछन् । धूम्रपानका कारण जब यी सुन्निन पुग्छन, वा ऐठन हुन्छ । तब श्वासप्रश्वासमा कठिनाई सुरु भइहाल्छ । शरीरभित्र अक्सिजन लिने र कार्वनडाईअक्साईड फ्याँक्ने कार्यमा अवरुद्ध हुन पुग्छ ।
फोक्सो कमजोर हुँदा विभिन्न श्वासप्रश्वासजन्य संक्रमणले सताउँछन् । रोगहरुले पिरोल्छन् । बरिष्ठ छाति एवं क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाका अनुसार, फोक्सोलाई फुकाउने स्वासप्रश्वासका नली (पाइप जस्तै)मा क्षति पुग्यो वा टेडोमेढो भयो भने ब्रोङ्काईटिस हुन्छ । डा. पिया भन्छन,‘ लामो समय धूमपान गर्ने व्यक्तिको श्वास प्रश्वासका नलीहरुमा क्षति पुगेको हुन्छ । ब्रोङ्काईटिस भयो भने खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने समस्या देखा पर्छ ।’ ब्रोङ्काईटिसका बिरामीलाई कोरोना भाइरस (कोभिड –१९) को संक्रमण भएको अवस्थामा स्वास्थ्य बिग्रदै जान्छ । अक्सिजन दिएर भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने हुन्छ ।
त्रिवि शिक्षण अस्पतालका सह प्राध्याक एवं बरिष्ठ छाति रोग विशेषज्ञ डा. बमका अनुसार धुमपान गर्ने व्यक्तिको फोक्सो कमजोर हुन्छ । सूर्तिमा रहेको निकोटिनले फोक्सोलाई असर पार्छ ।
अम्मलीको नजिक नबसौं
धूम्रपानका अम्मलीको सामुहिक बसाई र आपसमा चुरोट, बिंडि, तमाखु बाँड्ने (शेयर) गर्ने प्रवृत्ति कोरोना भाइरस संक्रमणको लागि जोखिमयुक्त (रिस्क फ्याक्टर) हुने चिकित्सकहरुको भनाई छ ।
गाउँघर एवं शहरबजातिर धूमपान गर्ने व्यक्तिहरुमध्ये कतिपयले आपसमा चुरोट, बिँडि,हुक्का बाँड्छन । ‘ आपसमा बाँड्ने (शेयर) गर्दा पनि कोरोना संक्रमण सर्ने जोखिम हुन्छ । चुरोट वा बिँडिको सर्को तानेको व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको रहेछ भने मुखबाट बाहिर हावामा धुवाँ फ्याक्दा भाइरसहरु बाहिरिन्छन् ।नजिकैको बसेको अर्को व्यक्तिलाई पनि कोरोना संक्रमण सर्ने जोखिम हुन्छ ।’ डा. राजभण्डारीले भने ।

लत छुटाउने प्रतिबद्धता
‘धूम्रपान त्याग्ने कुन ठूलो काम हो र ? मैले धेरै पल्ट धूम्रपान त्यागिसकेको छुँ ।’
प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वेनले हास्य व्यंग्यात्मकरुपमा भने झैं समाजमा धेरैले धूम्रपान त्यागे पनि पुनः शुरु गरेको पाइन्छ । लत छुटाउन गाह्रो हुन्छ ।
चिकित्सकहरुका अनुसार, धूम्रपानले फोक्सो , मुटु लगायत शरीरका अन्य अंगमा पनि नकारात्मक असर गर्छ । धूम्रपान त्याग्ने व्यक्तिको आयु लामो हुन्छ । धूम्रपान त्यागेपछि शरीरमा सकारात्मक प्रभावहरु देखिन थाल्छ । धूम्रपान त्याग्न शुरुमा मानसिकरुपमा तयार हुनु पर्छ । डा. रेग्मी भन्छन,‘धूमपान त्यागे पछि शरीर स्वस्थ हुन्छ भन्ने कुरामा विश्वास हुनु पर्छ । चुरोेट त्याग्ने दृढता एवं आत्मबल जुटाउनु पर्छ ।’
धूम्रपानको लत लागिसकेको व्यक्तिलाई एकै पटक छोड्दा छटपटी लाग्न सक्छ । शरीरमा अप्ठेरो भएको महसुस हुन सक्छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीका अनुसार, छटपटी वा तलतल मेटाउने उपायबारे पनि थाहा पाउनु पर्छ । उहाँ भन्नुहुन्छ,‘ चुरोट किन्ने पसल तिर जाँदै नजाने, चुरोट खाने साथीसँग संगत छोड्ने, जमघट (भोजभतेर) मा नजाने गर्नु पर्छ । तलतल लागेको बेला पानी पिउने वा रसदार फलफूल खान सकिन्छ ।’
दैनिक योगासन, प्राणायाम र ध्यान गर्न सकिन्छ । डा. रेग्मीको सुझाव छ, ‘चुरोटको लत छुटाउन ध्यान पद्दतिको समेत विकास भएको छ । प्राणायाम अत्यन्त प्रभावकारी छ ।’
विश्व धूम्रपान रहित दिवस (३१ मे,२०२१)को सन्दर्भमा प्रकाशित आलेख ।

