“तपाईँलाई लागेको रोग पत्ता लगाएर त्यसको उपचार गर्न हामीसँग आवश्यक उपकरण छैन । त्यसैले तपाईँ भेलोर वा ब्याङ्ककतिर जानु राम्रो होला ।” रोगले च्याप्दै लगेपछि नेपालका डाक्टरहरूले यसो भनेको धेरैले सुनेका होलान् । हुन पनि, त्यति जटिल नमानिने रोगहरूको उपचार गर्दा धेरै दिमाग नखियाइकनै आर्थिक लाभ हुने भएपछि जटिल खालको रोग लिएर आउनेहरूको निदान र उपचार गर्न आवश्यक बौद्धिक कसरतको झ्ण्झ्टमा पर्नुभन्दा रोगीलाई विदेश पठाइदिनु नै हाम्रा कतिपय चिकित्सकहरूको विचारमा ‘बुद्धिमानी’ हो ।
मोफसलका डाक्टरहरू मात्र होइन, आफ्नो नाउँका पछाडि, “फलानो रोग” को “विशेषज्ञ” भन्ने उपाधि जोडेर राजधानीमा कार्यरत चिकित्सकहरू समेत यस्तो ‘बुद्धिमानी’ मा पोख्त देखिन्छन् । स्पष्टै छ, ‘विशेषज्ञ’ डाक्टरबाट समेत यस्तो सल्लाह पाएपछि विरामीको अगाडि उपचारार्थ विदेश जानु वा स्वदेशमा बसेर अकाल मृत्युको प्रतीक्षा गर्नुबाहेक अन्य विकल्प बाँकी रहँदैन ।
त्यसो त स्वास्थ्योपचारको क्षेत्रमा नेपालको स्थिति कमजोर नै छ । जनसङ्ख्याको अनुपातमा क्रियाशील स्वास्थ्य संस्थाहरू एकदम थोरै छन् र ती पनि मूलतः शहरी क्षेत्रमा नै केन्द्रित छन् । विशिष्ट चिकित्सा सेवा दिनसक्ने उच्चस्तरीय अस्पतालहरू पनि प्रायः उपत्यकामै रहेका छन् । मुनाफाको दृष्टिले निजी क्षेत्रबाट सञ्चालित नर्सिङ होमहरूले केकस्तो सेवा दिएका छन् र तिनको गुणस्तर कस्तो छ भन्नेबारे आवश्यक निगरानी राख्न सरकारले भ्याइराखेको छैन ।
चिकित्सासँग सम्बन्धित जनशक्तिको अवस्था झ्न् खराब छ । राजधानीदेखि मोफसलका बजारहरूसम्मको क्लिनिकका साइनबोर्डहरूमा स्वघोषित विशेषज्ञहरूको भीड देखिन्छ, जसमध्ये को सक्कली र को नक्कली भन्ने कुराको भने निक्र्योल भएकै छैन । यसबाहेक स्वास्थ्य संस्थाहरूको प्रशासन र व्यवस्थापनमा रहेका विकृतिहरूले स्वास्थ्य क्षेत्रमा केही गरेर देखाउन चाहने उत्साहीहरूलाई समेत अघि बढ्न दिँदैनन् । नत्र त, चिकित्सा सेवाको अभाव र चिकित्सकहरूको अक्षमताले गर्दा हरेक वर्ष हजारौँ नेपालीको जुन अकाल मृत्यु भइराखेको छ, त्यसको दोषी को हो भन्ने पत्ता लगाउने र दोषीलाई कार्वाही गर्ने क्रम शुरु भइसक्थ्यो होला ।
मुलुकको चिकित्सा क्षेत्रको दुर्गति थाहा पाएरै होला, देश चलाउने टाठाबाठाहरू जति आफ्नो सामान्य उपचार गराउन पनि विदेशै जाने गर्दछन् । त्यसरी विदेश जाँदा उनीहरूको उपचारका लागि तथा तिनका आउरे–बाउरेको टोलीलाई समेत लाग्ने सारा खर्च सरकारी कोषबाट असुल्न पाइने भएपछि प्रायः रोग लाग्नु पनि तिनका लागि दशैँ आए सरह भइदिन्छ ।
बाहिर जान त्यति सजिलो भएपछि मुलुकभित्रकै स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न उनीहरूलाई किन जाँगर चल्थ्यो ? तर मुलुकको कोषमा लामो हात गर्न सक्ने हैसियत नभएका बाँकी नेपालीले त्यत्रो खर्च कताबाट ल्याउने ? अझ् अत्यधिकांश नेपालीले त आफ्नो घरखेत बेचेर पनि त्यो खर्चको जोहो गर्न सक्तैनन्, के तिनले चाहिँ अनिवार्यतः अकालमृत्यु वरण गर्नुपर्ने ?
अनि, उपचारका लागि विदेशै गए पनि भाषाका कारणले, भिन्न संस्कृति र सामाजिक प्रचलनका कारणले र साथीभाइ तथा परिवारजनको स्नेह–सहानुभूति एवं मनोवैज्ञानिक आड–भरोसा पाउन नसकिने परिस्थितिका कारणले जुन असजिलो, एक्लोपन र शून्यता महसूस हुन्छ, त्यसको भयावहता त छँदैछ । रोगी विदेशमै मर्न पुग्यो भने झ्न् ठूलो फसाद पर्ने कुरा पनि स्वतःसिद्ध छ ।
यस परिप्रेक्ष्यमा, नेपालले आफ्नो चिकित्सा सेवाको स्तर, व्यापकता र प्रभावकारितालाई जतिसक्दो चाँडो बढाउनु आवश्यक भइसकेको छ । स्वदेश र विदेशमा छरिएर रहेका नेपाली जनशक्तिलाई उचित वातावरण, प्रोत्साहन र अवसर दिएर अगाडि ल्याउने हो र राम्ररी काम गर्न दिने हो भने पनि कस्वास्थ्योपचारको क्षेत्रमा आत्मनिर्भर हुन गाह्रो छैन । यद्यपि, यो काम सजिलो नहोला तर दह्रो सङ्कल्प लिएर अघि बढ्ने हो भने मुलुकले यो लक्ष्य निश्चय नै प्राप्त गर्न सक्छ ।
यसमा स्वदेशभित्र मात्र होइन, विदेशबाट समेत शुरु गरिएका निजी क्षेत्रका संस्थाहरू (जस्तै, तीन वर्षअघि अमेरिकामा, त्यहाँ कार्यरत नेपाली डाक्टरहरूद्वारा खोलिएको ‘अमेरिका–नेपाल मेडिकल फाउन्डेशन) को भूमिका महŒवपूर्ण हुन सक्छ । साधन–स्रोतको खोजी तथा दक्षताको समन्वय एवं अभिवृद्धि गर्न उनीहरूको भूमिकाको वास्तवमै तुलना हुन सक्तैन । आवश्यकता छ केवल सरकारी दृष्टिकोणमा फेरबदलको, सीमित स्वार्थको सङ्कुचित घेरा तोड्ने र कमी–कमजोरीलाई स्वीकार्ने साहसको अनि नेपालीहरूले पनि केही गरेर देखाउन सक्छन् भन्ने आत्मविश्वासको ।
जनस्वास्थ्यका चुनौतीहरूमा विशेष चासो राख्ने डा. कार्की इन्टर्नल मेडिसिन र फोक्सो सम्बन्धी रोगका विशेषज्ञ हुनुहुन्छ ।

