नेपालमा राजसंस्था पुनःस्थापना गर्ने अभियानमा लागेका राजावादीले शुक्रबार राजधानीमा उत्पात मच्चाएका छन् । आफ्ना मागको वैचारिक, राजनीतिक र व्यावहारिक तर्क र दृष्टिकोण प्रस्तुत गर्नुको सट्टा तोडफोड, आगजनी र लुटपाट मच्चाएका उनीहरूले उन्माद र अराजकता नै आफ्नो पहिचान र चरित्र हो भन्ने प्रमाणित गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहकै योजना र आशीर्वादमा उक्साइएको यो उद्दण्ड जत्थाले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी मात्रै गरेको छैन, औषधि कारखाना र सञ्चारगृहमा सुनियोजित आक्रमण गरेको छ तथा व्यापारिक केन्द्रमा पसेर लुटपाट पनि मच्चाएको छ ।
राजालाई गद्दीमा फर्काउने मूलमन्त्र बोकेको समूह मूलतः अराजनीतिक, अमानवीय र असंवेदनशील मनोविज्ञानबाट निर्देशित देखिएको छ । यसले ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने होइन बरु नागरिकका रूपमा उनको बचेखुचेको साख र सम्मानलाई पनि धूलिसात् बनाउने बाटो लिएको छ । २०६२/६३ को जनआन्दोलनमा लाखौं लाख जनता सडकमा आएका हुन् । त्यो आन्दोलन राजनीतिक रूपमा प्रतिबद्ध र नैतिक रूपमा निष्ठावान् भएकाले सभ्य, संयमित र परिणाममुखी भएको हो । तत्कालीन राजा ज्ञानेन्द्र र उनका कमान्डरहरूले हेलिकोप्टरबाट देखेको जस्तो जनसागर कुनै कारणले अनियन्त्रित भएको भए परिणाम केसम्म हुन सक्थ्यो ? ज्ञानेन्द्र शाह र उनका कमान्डरले अहिलेसम्म नसोच्नु विडम्बना हो ।
राजावादीको प्रदर्शनको ‘कभरेज’ गर्न फिल्डमा खटिएका व्यावसायिक पत्रकारसहित दुई जना यो आततायी विध्वंसका सिकार बने । ‘सन्चो’ लगायतका औषधि बनाउने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाएर ध्वंस गरियो । अत्यन्तै प्रज्वलनशील इन्धनको डिपो र दर्जनौं जहाज रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगो फ्याँकियो । कान्तिपुर टीभीको कार्यालयमा योजनाबद्ध आक्रमण गरियो भने अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरी आगोसमेत सल्काइयो । नेपालको राष्ट्रिय झन्डा काँधमा भिरेका व्यक्तिको जत्थाले भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्यो । एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भयो । निजी तथा सार्वजनिक कार्यालय, गाडी र सम्पत्ति बेहिसाब जलाइयो, आगो निभाउन गएको दमकललाई तोडफोड गरेर कर्मचारीलाई
कुटियो । राजा फर्काउन सडक प्रदर्शनका ठेकेदार बनाइएका दुर्गा प्रसाईंले
प्रहरीलाई सामूहिक रूपमा कुल्चने उत्तेजनासहित गाडी सडकमा दौडाए । यस हदसम्मको वितण्डा मच्चाउने सोच र शक्ति कहाँबाट प्राप्त भयो ? राजावादी अभियानले नै प्रसाईंलाई आधिकारिक कमान्डर नियुक्त मात्र गरेको छैन, एक दिनअघि मात्र प्रसाईंले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँगै बसेर योजना बनाएका थिए । फिल्डमा खटेका प्रसाईं त फरार भएका छन् तर उनका पथप्रदर्शक ज्ञानेन्द्र शाहलाई यसको जवाफदेही बनाउन जरुरी छ ।
खासमा दुर्गा प्रसाईं ज्ञानेन्द्र शाह जस्तो देखिने र ज्ञानेन्द्र शाह दुर्गा प्रसार्इं जस्तो देखिने यो अनौठो दृश्य देशका लागि घातक मिश्रण हो । नवराज सुवेदी जस्ता ‘पुरातात्त्विक’ र रवीन्द्र मिश्र जस्ता ‘नयाँ भेरिएन्ट’ का राजावादीहरूले आफ्नो अतृप्त आकांक्षाका लागि समाजको तरल मनोविज्ञानमा दाउ हानिरहेका छन् । यो बेलामा कित्ता ‘क्लियर’ गर्नुपर्ने अवस्थामा पुगेका छन्– राजेन्द्र लिङ्देन र उनको नेतृत्वमा रहेको राप्रपाका नेता तथा कार्यकर्ता । के जननिर्वाचित संविधानसभाबाट पारित संविधानमाथि राप्रपाको सम्पूर्ण भरोसा सकिएको हो ? देशको पाँचौं ठूलो दलको हैसियत दिने संसद्प्रतिको आस्था नामेट भएर उनीहरूका लागि अब दुर्गा प्रसाईं र रवीन्द्र मिश्रको छद्म नेतृत्व निर्विकल्प भएको हो ? दलको रूपमा राप्रपाको पहिचान, प्रवृत्ति र औचित्य स्पष्ट हुनुपर्ने बेला आएको छ ।
पूर्वराजा ज्ञानेन्द्र नेपाली जनताको मतबाट निर्वाचित भएर होइन, दुर्गा प्रसाईंजस्ता फौजदारी अपराधमा तारिख धाइरहेका विवादास्पद व्यक्तिको काँध चढेर शासनमा फर्किन चाहन्छन् । उतिबेला ज्ञानेन्द्र मिडिया हाउसमा सेनाका कर्नेललाई ‘सुपर एडिटर’ बनाएर पठाउँथे, अहिले अराजक जत्थालाई अगुल्टो दिएर सञ्चारगृह, विमानस्थल र औषधि कारखानामा पठाउन थालेका छन् । यसले आज एक जिम्मेवार नागरिकको रूपमा पनि उनी काम, कर्तव्य र जवाफदेहिताबाट विमुख भएको प्रस्ट हुन्छ । प्रदर्शनका नाममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा आगो लगाउने को को हुन् ? तिनलाई उत्तेजित बनाउन अँध्यारो कुनामा को को सक्रिय छन् भन्ने विषयमा राज्यले सघन अनुसन्धान गरी जवाफदेही बनाउन जरुरी छ ।
राजावादीले शुक्रबार प्रदर्शन गरेको विध्वंस नेपालको राजनीतिक ध्रुवीकरणमा ‘पर्खने र हेर्ने’ मौकापरस्तहरूका लागि पनि ‘अल्टिमेटम’ हो । धमिलो पानीमा माछा मार्ने उनीहरूको समयको सुविधा स्वयं राजावादीले लुटिसकेका छन् । सञ्चारगृह र औषधि कारखानामा आगो सल्काउने र डिपार्टमेन्ट स्टोरभित्र छिरेर फलफूलदेखि मदिरासम्म लुट्ने समूहको उद्दण्डताबीच आफ्नो भविष्य खोज्ने समय सबैका लागि सकिएको छ । राजावादी र गणतन्त्रवादी सबैले आ–आफ्नो विचारधारा स्पष्ट पारेर अराजनीतिक होइन, राजनीतिक प्रतिस्पर्धा गर्न जरुरी छ ।साभार : कान्तिपुर
ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाऊ
ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाऊ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

