नेपाललगायत विकासोन्मुख मुलुकहरूमा अटिजम भएका बालबालिकाको संख्या बढ्दो छ। विश्वमा अटिजम भएका बालबालिका सबैभन्दा धेरै अमेरिका र अस्ट्रेलियामा छन्। अमेरिकामा हरेक ४४ जना शिशुमध्ये एक जनामा अटिजम देखिएको छ।
नेपालमा पनि अटिजम भएका बालबालिकाको संख्या बढ्दै गएको छ। काठमाडौंमा अटिजम केन्द्रहरूमा बालबालिका बोकेर आउने अभिभावकको संख्या उलेख्य छ। अटिजम भएका बालिबालिकाले सीमित केन्द्रहरू भरिएका छन्। अटिजम बालबालिकालाई स्पिच थेरापी अकुपेसनल थेरापी चाहिए पालो पर्खनु पर्छ। अटिजमबाट प्रभावित बालबालिकाको विस्तृत अध्ययन अनुसन्धान हुन सकेको छैन।
बालबालिकाहरूमा अटिजम पुष्टि हुने क्रम बढेको छ। अज्ञानतावश कतिपयले अटिजमलाई रोगका रूपमा लिने गरेको पाइन्छ। तर, यसलाई रोग भन्न मिल्दैन। किनकि यसका लक्षणहरू रोगजस्तो सबैमा एकै प्रकारका हुँदैनन्। वास्तवमा अटिजम त सिन्ड्रोम हो। यसमा हुन सक्ने लक्षण र समस्याहरू धेरै हुन्छन्। र यो हरेक बालबालिकामा फरक हुन सक्छ। अटिजम भएका बालबालिकाका आनिबानी, सञ्चार व्यवहार, कार्यक्षमतामा समस्या हुन्छ। विशेषगरी अटिजममा तीन मुख्य समस्याहरू देख्न सकिन्छ। सञ्चार, सामाजिक र ज्ञानेन्द्रियका समस्याहरूबाट पहिचान गर्न सकिन्छ। सञ्चारका कारणले उनीहरू बोल्न ढिला हुने हुन्छ। दोहोरो वा अर्थपूर्ण बोल्न नसक्ने हुन्छ। लामो वाक्य बोल्न नसक्ने हुन्छन्। आफ्नो कुरा भन्न नसक्ने र अरूले भनेका कुरा बुझ्न नसक्ने जस्तो हुन्छ। सामाजिक कारणले घुलमिल हुन गाह्रो हुने हुन्छ। एक्लै खेल्ने, आँखामा नहेर्ने, आफै मात्र खेलिरहने, समूहमा खेल्न नसक्ने हुन्छन्।
त्यस्तै ज्ञानेन्द्रियका कारणले गर्दा ध्यान दिएर दिगो भएर बस्न नसक्ने हुन्छन्। उफ्रिरहने, घुमिरहने, खाद्यपदार्थमा सेवनमा समस्या हुने, दोहोर्याएर काम गरिरहने, खेलौना लाइनमा मिलाउनेजस्ता व्यवहार देखाउँछन्।
अटिजम के कारणले हुन्छ ? यो प्रश्नको जवाफ चिकित्सा विज्ञानमा खोजी भइरहेको छ। एउटा परिवारमा दुवै जना बालबालिकामा अटिजम भएको पनि पाइएको छ। यस दृष्टिले हेर्दा वंशाणुगत कारण एउटा पाटोको रूपमा हेर्न सकिन्छ। तर, वंशाणुगत कारणले नै अटिजम हुन्छ भन्ने पुष्टि भइसकेको छैन। यद्यपि, रिस्क फ्याक्टरमा पर्छ। पहिलो सन्तानमा अटिजम छ भने दोस्रोमा नहुन पनि सक्छ वा पहिलोमा समस्या नभएर दोस्रोमा भएको पनि देखिएको छ। वंशाणुगत बाहेक गर्भावस्थामा आमाले भोगेको मानसिक तनाव, गर्भावस्थाका जटिलता, अभिभावकको उमेर, दुई सन्तान बीच धेरै लामो वा छोटो उमेर फरक, अहिलेको वातावरणको परिवर्तनजस्ता रिस्क फ्याक्टर हुन्। रिस्क फ्याक्टर न्यूनीकरण गर्नु नै एक मात्र उपाय हो तर यसलाई न रोकथाम गर्न सकिन्छ न त गर्भावस्थामा पहिचान। बोलीचाली, व्यवहारमा समस्या हुने हुँदा यो बालबालिका बोल्ने र घुलमिल हुने उमेरको भएपछि त्यसो गर्न नसक्दा मात्र लक्षण थाहा हुन सक्छ।
जन्मेको शिशुमा अटिजम छ-छैन भनी परीक्षणबाट थाहा पाउन सकिँदैन। जब शिशु हुर्कंदै जान्छ त्यसपछि विस्तारै अटिजमका संकेतहरू देखिन सक्छन्। अटिजमको लक्षणहरू १८ महिनापछि वा केही अगाडि नै देखिन सक्छ। तर, अभिभावकले झन्डै चार वर्ष पुग्दा पनि थाहा पाएको पाइन्छ। शारीरिक विकास साधारण रहे पनि सामाजिक पाटोमा क्रियाकलापहरू सुस्त देखिन्छ। नाम बोलाउँदा सुने पनि बेवास्ता गर्ने, अभिभावकलाई देखाएर कुनै चिज माग्न नसक्ने, शिशुले घरका सदस्य पहिचान गर्न सक्दैन। यस खालका गतिविधि गर्न नसक्नु शिशुमा अटिजम हुन सक्ने संकेत हो।
यो बानी व्यहोरा र आनीबानीबाट पत्ता लगाउन सकिन्छ। शिशुले आँखा जुँधाउन नसक्ने हुन्छ। बोली आउनुपर्ने समयमा बोली नआउने हुन्छ। आफ्नै हातखुट्टा हेरेर बस्ने हुन्छ। टाउको चलाइरहने, गोलोगोलो मात्र घुम्ने, कुनै पनि चिज मिलाएर राख्ने लक्षणहरू देखिएमा शंका गर्न सकिन्छ। गाडी खेल्दा पांग्रा मात्र घुमाइराख्ने हुन्छ। एक्लै खेल्न रुचाउँछ। साथीहरू बनाउँदैन। अरुको मतलव नराख्ने हुन सक्छ। अटिजम भएका बालबालिकाले आफूले खाइरहेको चिज मात्र खान्छ। नयाँ कुनै खाद्य पदार्थ देखेमा खान मन गर्दैन। ठूलो उमेर पुग्दा पनि खाना अरूले ख्वाई दिनुपर्ने हुन्छ भने चिप्स, बिस्कुटजस्ता हातमा गिलो नलाग्ने चिजहरू मात्र स्वयं खाने पनि हुन सक्छ। अटिजमको जटिलता भएका बालबालिकाले आफैंलाई टोक्ने, पिट्ने वा टाउको भित्तामा ठोकाउन सक्छन्। डाउन सिन्ड्रोम र अटिजममा फरक डाउन सिन्ड्रोम र अटिजमबीच फरक छ। डाउन सिन्ड्रोम वंशाणुगत रोग हो। तर, अटिजम वंशाणुगत नहुन पनि सक्छ। डाउन सिन्ड्रोम गर्भावस्थामा पत्ता लगाउन सकिन्छ तर अटिजम सकिँदैन। शिशुमा अटिजम छ ÷छैन पत्ता लगाउन सकिने प्रविधि छैन। गर्भावस्थामा तनाव, धूमपान, मद्यपान वा औषधि सेवनका कारण पनि शिशुमा अटिजम हुन सक्छ। गर्भावस्थामा उच्च रक्तचाप, थाइराइडको औषधि वा अन्य कुनै कारणले औषधि सेवन गरिरहेको छ भने रिस्क फ्याक्टरमा पर्छ। अटिजमको अहिलेसम्म कुनै ठोस परीक्षण छैन। रगत वा अल्ट्रासाउन्डलगायतको परीक्षणबाट पनि यकिन गर्न सकिँदैन। अटिजम भएका बालबालिकाको सबै परीक्षण सामान्य हुन्छ।
अटिजमको संकेत पछि अभिभावकले बालमनोचिकित्सकसँग परामर्श गर्नुपर्छ। कतिपय विशेषताहरू अटिजमसँग मिल्न सक्छ। तर, आत्तिहाल्नु पर्दैन। क्लिनिकल साइकोलोजिस्टले बालबालिकामा भएको अटिजमको प्रभाव पत्ता लगाउँछन्। हरेक बच्चामा समस्या फरक हुन सक्छ। समस्याको आधारमा थेरापी गर्नुपर्छ सिक्नुपर्छ र आफैं गर्नुपर्छ। अटिजम भएका बालबालिकालाई मुख्य रूपमा गराउनु पर्ने स्पिच थेरापी र अकुपेसनल थेरापी नै हो। तर यसका लागि दक्ष जनशक्ति कम छ। त्यसैले यसको तालिम अभिभावक र शिक्षकहरूले लिनुपर्ने आवश्यकता छ।
थेरापी किन ?
बालबालिकाको विकासलाई शारीरिक रूपमा मात्र हेरिन्छ। शारीरिक विकास नभएको अवस्थामा अभिभावकहरू सम्बन्धित विज्ञसमक्ष पुग्ने गर्छन्। तर, शारीरिक समस्या नदेखिने अटिजमका सम्बन्धमा भने अभिभावकहरू सचेत देखिँदैनन। अटिजम भएका बालबालिकालाई विद्यालयमा भर्ना लिनसमेत हिचकिचाएको पाइन्छ।
साधारण खालको दिनचर्या समेत गर्न नसक्ने र शारीरिक रूपमा ठीक भए पनि आफैं खान नसक्नेसमेत हुन्छ। त्यस्तो अवस्थामा अकुपेसनल थेरापीको आवश्यक हुन सक्छ। स्पिच थेरापी बोल्न सिकाउनको लागि होइन। बालबालिकाहरूको सञ्चारमा भएको समस्याहरूको लागि हो। आफ्नो कुरा व्यक्त गर्नको लागि र अरूका कुरा बुझ्नको लागि पनि हो। यस्तो अवस्थामा बोल्नुभन्दा सञ्चार गर्नु पनि महत्त्वपूर्ण मानिन्छ।
अटिजम भएका बालबालिकाहरूलाई पूर्ण रूपमा निको पार्ने उपचार वा थेरापी पुष्टि भएको छैन। यद्यपि, यस खालका बालबालिकाहरूलाई आत्मनिर्भर बनाउन, क्षमता अनुरूपको सीप, शिक्षा, तालिम दिन विभिन्न थेरापी तथा स्टिमुलेसनहरू अपनाउन सकिन्छ। यस्ता थेरापीहरू गर्न कुनै केन्द्र वा स्कुलमा मात्रै गर्नु पर्ने भन्ने छैन। यो सिकेर अभिभावकले घर, समाजमा र विद्यालयका शिक्षक तथा केयर टेकरहरूले सहजै गर्न सक्छन्। अभिभावक र शिक्षकहरूको भूमिका प्रमुख हुन्छ। बालबालिका हुर्किने समाज र वातावरणको सहजीकरण गरिदिनु पर्छ। बालबालिकाहरूलाई आत्मनिर्भर बनाउन जरुरी हुन्छ। उमेर र समय अनुरूप बालबालिकाको बानी व्यवहार पनि सुधारिएको देख्न सकिन्छ।
अटिजम भएका बालबालिकाले पाउनुपर्ने शिक्षाको हकको सन्दर्भमा सरकार मौन देखिन्छ। अहिलेसम्म कुनै कार्ययोजना छैन। महिला तथा बालबालिका, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच समन्वय र सहकार्यको खाँचो छ। जनचेतना फैलाउनु पर्ने आवश्यकता छ। स्वास्थ्य मन्त्रालयले समुदाय तहमा अटिजम पहिचान गर्ने कार्यक्रम सुरु गर्नुपर्छ। शिक्षा मन्त्रालयले अटिजम पहिचान भएका बालबालिकालाई विद्यालयमा पहुँचको व्यवस्था गर्नु पर्छ। विशेष खालको तालिम शिक्षकहरूलाई दिनु पर्छ। अटिजम भएका बालबालिकाको विशेषगरी आमाहरू तनावमा हुन्छन्। महिला तथा बालबालिका मन्त्रालयले यसतर्फ कार्यक्रम सञ्चालन गर्नुपर्छ। तर अपांगताको दायरामा अटिजमलाई राखे पनि सरकारी क्षेत्र अन्य काम भएको पाइएको छैन।
श्रेष्ठ, बाल विशेषज्ञ फिजियोथेरापिस्ट हुन्।

