स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण बढ्न सक्ने भन्दै आइतबार विज्ञप्तिमार्फत देशभर भीडभाड हुने कार्य नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नु अपरिहार्य थियो । खासगरी, छिमेकी भारतमा संक्रमण दर पुनः आकासिन र नेपालमा पनि केही मात्रामा बढ्न थालेपछि देखाइएको यस्तो जागरूकता समयोचित पनि छ ।
मन्त्रालयले बुधबार आयोजित ‘मिडिया ब्रिफिङ’ मा फेरि यसबारे जोड दिँदै संक्रमितको संख्या उच्च हुन गएमा ‘लकडाउन’ गर्नुपर्ने अवस्थासमेत आउन सक्ने चेतावनी दिएको छ । स्थिति नियन्त्रणबाहिर जाने देखिएमा संक्रमण–चक्र रोक्न लकडाउन अन्तिम विकल्प भए पनि अहिल्यै सरकारको ध्यान यसतर्फ केन्द्रित हुनु हुन्न । दैनिक संक्रमित संख्या देशभरमा २ सयभन्दा तलै रहेको हालसम्मको अवस्थामा रोकथामका सम्पूर्ण तयारी कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ, लकडाउनको घोषणातर्फ होइन ।सरकारलाई थाहा भैसकेको छ— मुलुकको आर्थिक जीवनदेखि सर्वसाधारणको जीविकासम्ममा लकडाउनको कति असर पर्छ ? यो सब जान्दाजान्दै पनि राष्ट्रिय जीवनमै प्रत्युत्पादक ठहरिएको लकडाउनलाई नै सजिलो उपायका रूपमा प्रयोग गर्नेबारे अहिल्यै सोच्नु हुँदैन । फेरि, पर्याप्त परीक्षण र ‘कन्ट्याक्ट ट्रेसिङ’ को अभावमा हिजोका दिनमा घोषित उद्देश्यकै हकमा पनि लकडाउन कति प्रभावकारी भयो भन्ने प्रश्न पनि आफैंमा अहम् छँदै छ । तसर्थ, आजका मितिमा सरकारको सम्पूर्ण ध्यान संक्रमण बढ्नै नदिनेतर्फ केन्द्रित हुनुपर्छ । त्यसका निम्ति जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्न लगाउनुपर्छ र यसबारे पुनः जनचेतनामा जोड दिइनुपर्छ । विभिन्न सभा–समारोह, जुलुस, र्याली, गोष्ठीजस्ता भीडभाड हुने कार्यहरूमा रोक लगाउनुपर्छ । सार्वजनिक यातायात, सहर–बजारलगायतका सार्वजनिक स्थलहरूमा मास्क प्रयोगलाई अनिवार्य बनाइनुपर्छ । पछिल्लो समय मास्क लगाउने, बेलाबेलामा हात धुने वा ‘स्यानिटाइजर’ प्रयोग गर्ने र व्यक्तिगत दूरी कायम राख्ने क्रम घटेको देखिएकाले यसमा पुनः जोड दिइनुपर्छ ।
मुख्यगरी, भारतका विभिन्न नाकाबाट नेपाल आउनेहरूका लागि आवश्यक परीक्षणदेखि ‘क्वारेन्टिन’ सम्मका प्रक्रियाहरूलाई कडाइका साथ लागू गर्नुपर्छ । यसका निम्ति नाकाहरूमा आवश्यक सुविधासहितका ‘हेल्थ डेस्क’ पनि पुनः सञ्चालन गर्नुपर्छ । भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यता पुगेका कति नेपाली धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमध्ये गौरीफन्टा नाकामा गरिएको परीक्षणमा दुई दिनमै १४ जनामा संक्रमण पुष्टि भएकाले पनि यो पक्षलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ । एक साताअघिसम्म उक्त नाकाबाट दैनिक ५ सयको हाराहारीमा मुलुक भित्रिने गरेकामा मंगलबारदेखि यो संख्या एक हजार नाघेको छ । देशभरमा यस्तो क्रम बढेसँगै भाइरस पनि नभित्रियोस् भन्नेमा सबै सजग रहनुपर्छ । संक्रमितहरूलाई अनिवार्य रूपमा होम क्वारेन्टिनमा बस्न लगाउनुपर्छ, र अस्पताल लैजानुपर्ने अवस्था छ भने त्यसैअनुसार व्यवस्था मिलाउनुपर्छ । धेरै संख्यामा नेपाली विदेशबाट भित्रिँदै जाँदा आवश्यक परेमा सरकार आफैंले पुनः क्वारेन्टिन तथा ‘आइसोलेसन सेन्टर’ बनाउनेतर्फ पनि सोच्नुपर्छ । यसका साथै, चोरबाटोबाट लुकीछिपी भैरहेको आउजाउमा कडाइ गर्न पनि उत्तिकै आवश्यक छ ।
अर्को महत्त्वपूर्ण पक्ष, संक्रमित पाइएकाहरूको सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लगाउने कार्य प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ । संक्रमितको सम्पर्कमा आएकाहरूलाई अरूबाट अलग्गै बस्न लगाएर परीक्षण गरी संक्रमित भए–नभएको समयमै पत्ता लगाइयो भने संक्रमणको चक्र झांगिन पाउँदैन । विगतमा यही पक्षमा चुक्दा महामारीले भयावह रूप लिएर लामो अवधि लकडाउन गर्नुपरेको तथ्य भुल्नु हुँदैन । र, विगतका त्रुटिहरूबाट पाठ सिक्दै उचित व्यवस्थापन कौशल अपनाउनुपर्छ । कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी विभिन्न तहमा रहेका समितिहरू पुनः सक्रिय बन्नु/बनाउनुपर्छ । कोभिड अस्पतालहरूलाई पनि तयारी अवस्थामा राख्नुपर्छ । सीमावर्तीलगायतका प्रभावित हुन सक्ने जिल्लाहरूमा संक्रमण रोकथामका लागि आवश्यक विशेष योजना नै बनाउनुपर्छ । र, तदनुसारको जनशक्ति अभाव हुन पनि दिइनु हुन्न ।संक्रमण बढ्न नदिन अवश्य पनि सरकारको अग्र–सक्रियता चाहिन्छ, तर यसमा नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक छ । यो पक्षलाई मनन गरेर सबैले जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ । होलीजस्ता नजिकिँदै गरेका पर्वहरू मनाउने क्रममा यो पक्ष ख्याल राख्नुपर्छ । कतिपय जिल्ला प्रशासनहरूले विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अटेर गर्नेलाई संक्रामक रोग ऐन–२०२० बमोजिम कारबाही गर्ने जनाएका छन् । यस्तो बेला स्वास्थ्य मापदण्डको पालना गर्नु भनेको सरकारको आदेश टेर्नु मात्र होइन, आफ्नै ज्यान र परिवारको सुरक्षा गर्नु हो भन्ने तथ्यको हेक्का हरेकले राख्नुपर्छ । सरकार र नागरिक दुवैको समुचित सामूहिक प्रयास भएमा मात्रै कोरोना पुनः फैलन पाउँदैन । यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ । चैत्र १३, २०७७सम्पादकीय,कान्तिपुर

