सन् १९९७ देखि २०१२ को बिच जन्मिएका जेन–जी पुस्ता अहिले १२ देखि २८ वर्षको उमेरमा छ, जो अहिलेका युवा मात्रै नभई नजिकको भविष्यका वाहक पनि हुन् । जेन–जी पुस्ता अहिले आफ्नो जीवनको महत्वपूर्ण चरणमा छ, उनीहरूको स्वास्थ्य र जीवनशैलीले उनीहरूको व्यक्तिगत जीवन मात्रै नभई राष्ट्रको भविष्य पनि निर्धारण गर्छ । तर, आधुनिक अर्थतन्त्र, सामाजिक संरचना र प्रविधिमा भएको प्रगतिले युवा जोस र सिर्जनात्मकतामा धेरै निर्भर गरेको अहिलेको अवस्थामा प्रश्न उठ्छ– के जेन–जी पुस्ता यो जिम्मेवारीको भार वहन गर्न तयार छ ?
राष्ट्रको विकासका लागि स्वस्थ र सक्षम युवा एउटा अनिवार्य सर्त हो । जेन–जी पुस्ताको शारीरिक तथा मानसिक स्वास्थ्यले भावी उत्पादनशीलता, आर्थिक स्थिरता र सामाजिक समृद्धिमा प्रत्यक्ष असर पार्छ । सामान्यतया कमजोर स्वास्थ्य भएको जनशक्तिले कम उत्पादन गर्ने, स्वास्थ्य उपचारमा ठुलो खर्च गर्ने र विकासमा अवरोध खडा गर्ने जोखिम हुन्छ, जसको सामाजिक प्रभाव असमानता, गरिबी र जलवायु परिवर्तनजस्ता सामाजिक चुनौतीहरूको समाधानसम्म जोडिएको हुन्छ । साथै, भविष्यको नेतृत्व र आविष्कारसमेत तिनको निर्णय–क्षमता, गहन सोच, शारीरिक सहनशीलता र मानसिक स्पष्टतामा निर्भर गर्छ ।
जेन–जीको जीवनशैली : जानकार, तर लापरबाह
अहिलेको पुस्ता स्वास्थ्य र जीवनशैलीप्रति ‘अप टु डेट’ छ । फिटनेस ट्रेन्ड र माइन्डफुलनेस एपहरूदेखि प्लान्ट–बेस्ड डाइट उनीहरूको जीवनशैलीको हिस्सा बनेको छ । साथै कुन व्यायाम वा खानपानले शरीरमा कस्तो असर पार्छ वा फाइदा हुन्छ भन्ने विषयमा समेत उनीहरू अघिल्लो पुस्ताको तुलनामा निकै जानकार देखिन्छन् । तर, स्वस्थ जीवनशैलीसँग परिचित जेन–जी पुस्ता व्यावहारिक भने देखिँदैन । खानपान, निद्रा र व्यायामका दृष्टिले उनीहरूको दैनिकी निकै अव्यवस्थित देखिन्छ ।
फुर्सदको अत्यधिक समय शारीरिक व्यायामभन्दा बढी सामाजिक सञ्जालमा बिताउने भएकाले समेत अहिलेको युवा पुस्ता स्वास्थ्यका दृष्टिकोणले कमजोर बन्दै गएको छ, जसको असर मानसिक समस्याको बढ्दो ग्राफले स्पस्ट देखाउँछ । पछिल्ला अध्ययनहरूले मानसिक समस्याबाट बढी प्रभावित हुनेहरूमा युवाहरूले ठुलो हिस्सा ओगटिरहेको देखाएका छन् । अर्थात्, जेन–जी पुस्ताको अधिकांश हिस्सा तनाव, चिन्ता र डिप्रेसनको सिकार बनिरहेको छ । अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपिए)को पछिल्लो एक अध्ययनले प्रत्येक १० जनामध्ये नौ अर्थात् ९१ प्रतिशत युवाले तनावका कारण शारीरिक वा भावनात्मक लक्षणहरू अनुभव गर्ने गरेको देखाएको छ ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण मानसिक समस्याहरू बढ्दै जानु चिन्ताजनक विषय हो । साइबरबुलिङ, अनलाइनमार्फत हुने हिंसा, पर्दाको जीवनशैलीलाई आफूसँग तुलना गर्नु वा वास्तविक मान्नु र व्यक्तिगतभन्दा अनलाइन व्यक्तित्व कायम राख्न आफू वा परिवारलाई दबाब दिनुजस्ता आफैँले निम्त्याएका समस्या अहिलेको पुस्ताका लागि अभिशाप बन्दै गएका छन् । यस्तै, युवाहरू आर्थिक अस्थिरता र रोजगारसम्बन्धी तनावले समेत मानसिक समस्याको सिकार बनिरहेको विभिन्न अध्ययनले देखाइरहेका छन् । महँगो जीवनयापन, अस्थिर अर्थव्यवस्था, सीमित रोजगारी र स्थिर तलबजस्ता कुराले यी तनावलाई झन् बढाएका छन् ।
जेन–जी पुस्ताको अस्वस्थकर जीवनशैलीमा डिजिटल परनिर्भरताले मुख्य भूमिका खेलेको छ । खानपानको संस्कृतिदेखि पहिरन, बोलिने भाषा वा व्यवहार र पेसाको रोजाइसम्म सामाजिक सञ्जालको संसारमा निर्भर हुन थालेको छ । यसरी सिर्जित अपेक्षाहरू पूरा नहुँदा एन्जाइटी, डिप्रेसन, एडिएचडीसँगै शारीरिक रोगको समेत भार थोपरिरहेको छ ।
लामो ‘स्क्रिन टाइम’ले आँखाको समस्या, एउटै आसनमा लामो समयसम्म बस्दा ढाडमा देखिने समस्याका साथै शारीरिक निष्क्रियता बढ्दै जाँदा निस्कने विभिन्न दीर्घरोगसमेत बढिरहेका छन् । साथै, अति प्रशोधित खानाको अत्यधिक उपभोगका कारण कमजोर पोषणले निम्त्याउने मोटोपनसम्बन्धी जटिलता पनि युवाको टाउको दुखाइको कारण बनेको छ ।
रोगका भार पछिल्लो पुस्तामा बढ्दै जानुको अर्को कारण डिजिटल उपकरणहरूको उच्च प्रयोगका कारण निम्तिने अनिद्रा र त्यससँगै जोडिएर आउने शारीरिक एवं मानसिक रोग पनि हो । पर्याप्त निद्राको अभावले रोगप्रतिरोध प्रणाली र संज्ञानात्मक क्षमतामा असर पु¥याउँदाका जोखिमसमेत अहिलेको पुस्ताले खेपिरहेको छ । एन्जाइटी, डिप्रेसन, आत्महत्या, एडिएचडीका साथै मोटोपन, मधुमेह, माइग्रेन, हृदयाघात, स्ट्रोक, दम वा श्वास–प्रश्वाससम्बन्धी समस्या र विभिन्न संक्रमणबाट अहिलेको पुस्ता बढी प्रभावित छ । जसमा बदलिँदो बाहिरी वातावरण, जलवायु परिवर्तन, प्रदूषण र प्यारेन्टिङ मोडेल (लालन–पालनको तरिका)ले समेत प्रत्यक्ष भूमिका खेलिरहेको छ ।
अहिलेको किशोर एवं युवा मृत्युदरका मुख्य कारणहरूले वातावरणसँग बलियो सम्बन्ध राख्ने विश्व स्वास्थ्य संगठनले समेत औंल्याएको छ, जसमा अनावश्यक चोटपटक र संक्रामक रोगहरू समावेश छन् । अहिले युवा अनुचित जीवनशैलीका कारण वातावरणीय जोखिम र प्रदूषणको बढ्दो जोखिममा छन् । वायु प्रदूषण, रसायन र गह्रुँगा धातुजन्य प्रदूषण, जलवायु परिवर्तन, विकिरण, अस्वस्थ सहरी स्वास्थ्य र सरसफाइजस्ता विविध समस्याले अबका पुस्ताको स्वास्थ्यलाई जटिल बनाउँदै लगेको डब्लुएचओले जनाएको छ ।
यी समस्याले सामाजिक सञ्जालको दबाब र ‘काम र व्यक्तिगत जीवन’बिच सन्तुलनको तनावपूर्ण जीवन बाँचिरहेको अहिलेको पुस्ताको व्यक्तिगत जीवनलाई मात्र प्रभावित गर्दैन, समाजव्यापी नकारात्मक प्रभावसमेत पारिरहेको छ । यद्यपि, वैश्विक स्तरका हरेक परिघटनासँग अद्यावधिक रहने यो पुस्ता परिवर्तनसँग अनुकूल हुने क्षमता र विविधता स्वीकार गर्ने मानसिकताले चिनिन्छ । मानसिक स्वास्थ्यलाई समाजले अपेक्षा गरेभन्दा बढी प्राथमिकता दिन सक्ने क्षमता र समस्यासँग जुध्न पर्याप्त विकल्प भएको पुस्तासमेत हो यो पुस्ता । एआईको युगमा हुर्किरहेको यो पुस्ताका प्राथमिकतासमेत बदलिरहेको छ । उनीहरूले जानकारीलाई व्यवहारमा बदल्न सक्ने हो भने मानव जीवनशैलीमै परिवर्तन ल्याउन सक्छन् । शारीरिक रूपमा निष्क्रिय जीवनशैलीले निम्त्याएका स्वास्थ्य समस्यासँग जुध्न समयमै दैनिकी बदल्न निकै आवश्यक देखिएको छ ।
फास्टफुड र प्रशोधित खानामा बाँचिरहेको यो पुस्तासँग खानपानलाई व्यवस्थित बनाउनुपर्ने चुनौती छ । स्क्रिनमा देखिने आकर्षक खानाभन्दा स्थानीयस्तरमा पाइने अर्गानिक र घरमा बनेको खानाले बढी फाइदा गर्छ भन्ने बुझाउन अभिभावक र विद्यालयसमेत लाग्नुपर्ने देखिन्छ । जेन–जी पुस्ताको खानपान र जीवनशैली वास्तविकतामा भन्दा बढी स्क्रिनमा निर्भर हुनु र दैनिकी अस्तव्यस्त हुनुमा यो पुस्ता हुर्काउने अभिभावक पनि उत्तिकै जिम्मेवार छ । खानासँगै माइक्रोप्लास्टिक र श्वाससँगै प्रदूषण पान गरिरहेको यो पुस्तालाई स्वस्थ जीवनयापन गराउन अभिभावक र सरकारसमेत गम्भीर हुनुपर्छ ।
स्वस्थ जीवनयापनका लागि प्रयास
विद्यालयदेखि नै करिअर बनाउने होडमा रहेको जेन–जी पुस्ताको स्वस्थ भविष्यका लागि सामूहिक प्रयास आवश्यक छ । विद्यालय र कलेजहरूले पोषण, मानसिक स्वास्थ्य र शारीरिक फिटनेसमा केन्द्रित स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । ‘डिजिटल डिटक्स’जस्ता अभ्यासलाई प्रोत्साहन गर्नु र स्क्रिन समय घटाउने गतिविधिहरूलाई बढावा दिनु अत्यावश्यक बनिसकेको छ । यसका लागि नीतिगत हस्तक्षेपहरू अर्थात् सरकारले सुलभ स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य स्रोत र युवामुखी कार्यक्रमहरूमा लगानी गर्न सक्नुपर्छ ।
जेन–जी पुस्ता भोलिलाई नेतृत्व गर्ने पुस्ता हो । यसैले उनीहरूको स्वतन्त्र र बेपरवाह जीवनशैलीले सिर्जना गरेका चुनौतीहरूको सामना गर्न ध्यान दिनु अत्यन्त आवश्यक छ । युवाको स्वास्थ्यमा लगानी गर्नु केवल व्यक्तिगत जिम्मेवारी होइन, यो सामूहिक र राष्ट्रिय प्राथमिकता नै बन्न सक्नुपर्छ । यो पुस्तालाई सशक्त बनाउन स्वस्थ खानपान र जीवनशैलीमा लगानीका लागि हामीले सामूहिक रूपमा काम गर्नुपर्छ ता कि सबैका लागि स्वस्थ, सबल र समृद्ध भविष्य निर्माण गर्न सकियोस् ।
(बस्नेत काठमाडौं मेडिकल कलेजमा आबद्ध छिन्)

