हाम्रा राजनीतिक नेताले भाषण गर्दा वा सञ्चारमाध्यमले समाचार लेख्दा ‘भ्रष्टाचार भनेको देशको क्यान्सर हो’ भनिदिन्छन्, मानौं क्यान्सर पनि भ्रष्टाचारजस्तै स्वेच्छाले गरिने बेथिति हो । खासमा, भ्रष्टाचार भनेको अनैतिक आचारण हो, सामाजिक र आर्थिक विकृति हो, यस्तो कर्ममा लागेका व्यक्तिलाई निरुत्साहित र दण्डित गर्नुपर्छ । उता क्यान्सर भने विशिष्ट शारीरिक प्रतिकूलता हो, यसका बिरामीलाई हौसलाको आवश्यकता हुन्छ । तर कुनै आर्थिक वा सामाजिक विकृतिलाई सिधै क्यान्सर भनिदिँदा वास्तविक रूपमा क्यान्सरसँग संघर्ष गरिरहेका व्यक्तिको आत्मसम्मानमा कस्तो असर पर्छ भन्नेमा हाम्रो समाज अझै पनि संवेदनशील छैन । अझ समाजका अगुवाले नै भ्रष्टाचार र क्यान्सरलाई सँगै जोड्दा अरू सर्वसाधारणले पनि त्यसैको सिको गर्ने गरेको पनि पाइन्छ । त्यसैले क्यान्सरको बिम्ब प्रयोग र यसका बिरामीप्रति गरिने व्यवहारबारे सार्थक बहस र जागरणको आवश्यकता छ ।
क्यान्सर भन्नासाथ मान्छे निष्कर्षमा पुगिहाल्छन्– सामान्यतया सञ्चो हुँदैन, भए पनि धेरै खर्च लाग्छ, लामो समयसम्म उपचार गर्नुपर्छर् । यस्तै निष्कर्ष सुनाएर बिरामीप्रति सहानुभूति बर्साइन्छ । कतिपय अवस्थामा त बिरामी स्वयंलाई पनि रोगबारे लुकाइन्छ । घरपरिवार र समाजबाट मात्रै होइन, उपचार गर्ने स्वास्थ्यकर्मीले पनि सञ्चो हुने सम्भावना न्यून छ भनेर निराश बनाउँछन् । परिवार, स्वास्थ्यकर्मी र समाजको समग्र प्रणाली मिलेर बिरामीलाई मानसिक रूपमै कमजोर बनाउँछन् । रोगको पीडाभन्दा बढी वरिपरिका मान्छेले सिर्जना गरेको त्रासले बिरामी बढी व्यथित हुन्छन् । आत्मबल कमजोर भएका बिरामीको संघर्ष स्वतः कष्टकर हुन्छ । क्यान्सर पनि एउटा रोग हो, विज्ञान र प्रविधिले उपचारको विधि विकास गर्दै आएको छ, धेरै मान्छेलाई सञ्चो भएको छ, बरु त्यसका लागि सही उपचार र उच्च मनोबलको आवश्यकता छ भनेर हौसला दिने अभ्यासको आवश्यकता छ । यसका लागि बिरामीको उपचार मात्र होइन, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा गरिने व्यवहारले पनि ठूलो अर्थ राख्छ । क्यान्सर बिरामीलाई सहानुभूति होइन, अन्य बिरामीलाई जस्तै हौसलाको आवश्यकता छ, जसले उनीहरूको संघर्षमा साहस भरोस् ।
नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढीमा क्यान्सर पहिचान हुने गरेको छ । साथै, कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । त्यसैले क्यान्सर सुरुवातमै पत्ता लगाउन र उपचार सहज बनाउन सरकारले प्रभावकारी रणनीति तय गर्नुपर्छ । नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र महिलाको छातीको क्यान्सरको तथ्यांक सबैभन्दा बढी छ । सुरुवातमै पहिचान होस् भन्ने हेतुले ‘स्क्रिनिङ प्रोग्राम’ सञ्चालन गर्न सकिन्छ, जसले क्यान्सरलाई सुरुवातमै पहिचान गर्न सकोस् । यसलाई निःशुल्क बनाउन सकियो र स्थानीयस्तरमै पुग्न सकियो भने सहभागिता बढ्छ । यसले अन्ततः नागरिकको मात्र होइन, सरकारको खर्च पनि बचत हुन्छ । दोस्रो, उपचार सहज हुन्छ । यसबाट बिरामी सञ्चो हुने सम्भावना पनि बढी हुन्छ । त्यस्तै, महिलालाई पाठेघरको मुखको क्यान्सर नहोस् भनेर १४ वर्ष नाघेका र १५ वर्ष नकटेका किशोरीलाई दिइने एचपीभी खोपलाई बृहत् बनाउनुपर्छ । अनिवार्य बनाउने र अभियानका रूपमा अघि बढाउन सकियो भने त्यसमा सहभागिता पनि बढ्नेछ । नतिजा पनि प्राप्त हुनेछ । क्यान्सरका कारण मानिने सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्ने कार्यक्रमलाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्छ । स्वस्थ र व्यवस्थित जीवनशैली अपनाउन प्रोत्साहित गर्नुपर्छ ।
समग्रमा क्यान्सरको उपचार महँगो छ । मध्यमवर्गका परिवार त गरिबीतर्फ धकेलिन्छन् । त्यसैले यसको उपचारमा राज्यको भूमिका अपेक्षित छ । हुन त क्यान्सर उपचारका लागि संघीय सरकारले एक लाख रुपैयाँ बराबरको सहयोग गर्छ । प्रदेश र स्थानीय सरकारले पनि सहयोग कार्यक्रम घोषणा गर्छन् । धेरैजसो व्यक्तिले घरछेउका आम स्वास्थ्य संस्थाबाट उपचार सुरु गर्छन् । त्यहींबाट प्राप्त हुने सामान्य औषधि खान सुरु गर्छन् । सञ्चो नभएपछि त्यसभन्दा माथिल्लो सुविधायुक्त अस्पताल पुग्छन् । सबैले यसै गर्छन् भन्ने होइन, तर धेरैको प्रक्रिया/बाध्यता यही हो । धेरै चरणको उपचार र धेरै खर्चपछि सम्बन्धित व्यक्ति क्यान्सर पहिचान गर्ने अस्पतालमा पुग्छन् र आफू क्यान्सर बिरामी भएको थाहा पाउँछन् । त्यसपछि मात्रै उनीहरूको खास उपचार सुरु हुन्छ । अस्पतालले दिने क्यान्सर पुष्टि हुने विवरणका आधारमा मात्रै उनीहरूले स्थानीय तहबाट सिफारिस पाउँछन् र एक लाख बराबरको सहयोग उपचारमा पाउँछन् । क्यान्सर बिरामीको उपचारका लागि हुने खर्चको तुलनामा सरकारबाट प्राप्त हुने सहयोग न्यून भएका कारण थप सहयोग अनिवार्य छ । सरकार वा अन्य संस्थाले व्यक्तिगत रूपमा सहयोग रकम बढाउने नीति व्यावहारिक नहुन सक्छ । यसर्थ, यसलाई स्वास्थ्य बिमासँगै जोडेर लैजान सकिन्छ । त्यसका लागि प्रिमियम र सुविधालाई अहिलेको तुलनामा बढाउन सकिन्छ । सरकारले यसको पहल गरेको छ, तर निर्णयमा पुग्न ढिला नहोस् भन्ने अपेक्षा छ ।
क्यान्सर बिरामीलाई सहानुभूति होइन, साहस देऊ
क्यान्सर बिरामीलाई सहानुभूति होइन, साहस देऊ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

