देशको संविधानले प्रस्तावनामै मुलुकलाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र भनेर गौरवका साथ परिभाषित गरेको छ । धार्मिक–सामाजिक सद्भाव र सहिष्णुता हामी नेपालीको पहिचान पनि हो । तर केही समययता नेपालीको आम स्वभावविपरीत सामाजिक सद्भाव भड्काउने खालका गतिविधि देखिन थालेका छन् ।
लाग्दै छ, यी गतिविधि स्वतःस्फूर्त भइरहेका छैनन् । नेपथ्यमा कोही छ जो सामाजिक सद्भाव भड्काउन चाहन्छ, योजना केही छ जसको आधारमा राजनीतिक अभीष्ट पूरा गराउने चाल छ । तर प्रस्ट के हो भने सत्ताको गन्तव्यमा पुग्ने यात्रा आर्थिक, राजनीतिक एजेन्डाको सिँढीबाट गुज्रनुपर्छ । कुनै पनि समुदायलाई धर्मान्ध बनाएर जनताको टाउकोमा चढेर कोही सत्तामा पुग्न चाहन्छ भने सर्वसाधारणले यस्तो उद्देश्यलाई निरुत्साहित गर्नुपर्छ । राजनीतिलाई शिक्षा, स्वास्थ्य, रोजगारीकै मूल मुद्दामा केन्द्रित गराउनुपर्छ ।
धार्मिक सद्भावका लागि राज्यले कर्फ्यु लगाउनु हाम्रै समाजका लागि दुर्भाग्य हो । तर, सुरुमा पूर्व धरान, लगत्तै मधेशको सर्लाही र अहिले पश्चिम नेपालगन्ज । सद्भाव कायम गर्न डेढ महिनायता मात्र तीन सहरमा कर्फ्यु लगाउनुपरेको छ । पछिल्लो पटक मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु लागेको छ । फरक धार्मिक समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा कुनै व्यक्ति विशेषले स्टाटस लेखेपछि दुई समुदायका नाममा र्याली निकाल्ने प्रतिस्पर्धा चल्न थालेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । यसअघि गत भदौ २२ र असोज ४ मा पनि यस्तै विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा सर्लाही सदरमुकाम मलंगवामा निषेधाज्ञा जारी गरिएको थियो । धरानमा पनि धार्मिक साम्प्रदायिक हिंसा भड्किने स्थिति देखिएपछि भदौ ९ मा कर्फ्यु जारी गरिएको थियो ।
स्थिति मत्थर पार्ने तत्कालीन उपाय मात्र हो कर्फ्यु, तनावपूर्ण अवस्थामा यो अपरिहार्य हुन जान्छ । तर, समस्याको जड भने मान्छेको मनस्थिति हो, त्यो संवेदनशील मानसिकतालाई भड्काउने निहित उद्देश्य झन् डरलाग्दो पाटो हो । त्यस्तो कुत्सित उद्देश्यलाई निरस्त बनाउने निर्विकल्प उपाय समुदायबीचको सौहार्दता नै हो । त्यसका लागि सम्बन्धित समुदायका अगुवाले अग्रसरता देखाउनुपर्छ । त्यसमा स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजको सहजीकरण आवश्यक छ ।
पछिल्लो समय कुनै ठाउँमा दुई समुदायबीच असहजता सिर्जना हुनासाथ अन्यत्र टाढै भएका व्यक्तिले पनि कारण बुझ्दै नबुझी सामाजिक सञ्जालमा भड्काउ सामग्री राख्ने र उत्तेजना फैलाउने क्रम बढेको देखिन्छ । नेपालगन्जकै सन्दर्भमा पनि कुनै समुदाय विशेषलाई दोषारोपण गर्ने गरी देश विदेशका पुराना तस्बिर तथा भिडियो प्रसार भइरहेका छन् । डेढ महिनाअघि पनि धरानलाई जोडेर त्यस्तै भ्रमपूर्ण सामग्री प्रसार गरिएका थिए । यो काम अन्जानवश भएको होइन भन्नेमा प्रशासन स्पष्ट हुनुपर्छ, समाजलाई जानाजान उत्तेजित बनाउने व्यक्तिहरूलाई पहिचान गरी तत्कालै कानुनी कठघरामा ल्याउन ढिलाइ गर्न हुन्न । यस्ता व्यक्ति प्रोत्साहित भएमा समाजले अनाहकमा अपूरणीय क्षति भोग्नुपर्छ । यसका लागि विदेशका अनेक उदाहरण पर्याप्त छन् ।
सूचना प्रविधिको सदुपयोग वरदान हो भने दुरुपयोग अभिसाप । त्यसैले बदलिँदो समय र प्रविधिअनुसार कानुनलाई पनि अद्यावधि गर्दै र सरकारले आफ्ना संयन्त्रलाई तत्पर बनाउन जरुरी छ । यो जमानामा सद्भाव बिथोल्न खोज्ने व्यक्ति वा समूह जहाँसुकै रहेको भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन असम्भव छैन । त्यस्तै धर्म–धर्म, समुदाय–समुदायबीच तनावको अवस्थामा सद्भाव र्याली निकाल्ने चलन छ । तर सबै पक्षको हार्दिकतापूर्ण सहभागिताले मात्र यस्ता र्याली प्रभावकारी हुन सक्छन् । सद्भावका नाममा कुनै बस्ती विशेषमा बाहुल्य भएको समुदायले शक्ति प्रदर्शन गर्न खोजेमा यस्ता पहल प्रत्युत्पादक हुन सक्छन् । स्थानीय सरकार, राजनीतिक दल र प्रशासन यस्ता विषयमा सतर्क रहनुपर्छ ।
सबैभन्दा सचेत हुनुपर्ने भने नागरिक आफैं हो । संविधानले धार्मिक स्वतन्त्रतालाई मौलिक हक भन्दै ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ’ भनेको छ । सबै जातजाति, समुदायले आआफ्नो धर्म–संस्कृति मान्न, त्यहीअनुसारका अभ्यास गर्न पाउँछन् । आफू, समाज र समग्र मानवजातिको सम्मान नै सबैभन्दा ठूलो धर्म हो, यो विषय सबै समुदायका धार्मिक ग्रन्थमा लेखिएको हुन्छ । अर्को समुदायलाई लाञ्छित गर्न कुनै पनि धर्मले सिकाएको छैन । त्यस्तो सिकाउने र उत्तेजित मान्छे जुनसुकै समुदायको भए पनि धार्मिक होइन । धर्म सिकाउने होइन, बिकाउने कुनै पनि व्यक्तिको बहाउमा लाग्नु आफ्नै धर्मको पनि अपमान हो । यसमा सबै धर्म र समुदायप्रति आस्थावान नागरिक सचेत हुनुपर्छ ।

