डेंगु संक्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार जुलाई यता १३ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ जना सुनसरी र एकजना चिनवनका छन् ।
जनवरीयता अगस्ट २२ सम्म १७ हजार ४०९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै सुनसरीमा नौ हजार १५९ जना संक्रमित भएका छन् । मोरङमा एक हजार ९४५, धादिङमा एक हजार ८९० र झापामा ९४६ जना, झापमा ९४६, काठमाडौंमा ४०२ जना संक्रमित भएका छन् ।
काठमाडौं उपत्यकामा पनि डेंगु फैलिँदो क्रममा छ । उपत्यकामा तीन जिल्ला गरी ६८९ जना संक्रमित भएका छन् । ७५ जिल्लामा फैलिएको डेंगु अगस्टका २२ दिनमा देशभर नौ हजार ५६६ संक्रमित थपिएका छन् ।
डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलेको गुनासो सुनिन थालेको छ ।
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा निजी अस्पताल, क्लिनिक तथा सरकारी अस्पतालले पनि मनपरी शुल्क लिँदै आएका छन् ।प्रतिव्यक्ति ५०० देखि २५०० सम्म उठाइरहेको गुनासो प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण समिति बनाएको छ । परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढंगले शुल्क तोक्न र अनुगमन गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दिएको निर्देशन अनुसार गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको हो । उक्त समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, व्यवस्थापन माहाशाखा र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का पदाधिकारी तोकिएको छ ।
स्वास्थ्यमन्त्रीले अनुगमन गरेर एक हप्ताभित्रैमा रिर्पोट पेश गर्न निर्देशन दिएको एक सदस्यले बताए ।

