काठमाडौं उपत्यकामा केही वर्षयता डरलाग्दो गरी बढेको वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । अस्पताल पुग्ने नाक, कान र घाँटीका बिरामी मात्रै २० प्रतिशतले बढेका छन् । छालाका बिरामीको चाप उत्तिकै बढेको छ । मापदण्डभन्दा धेरै गुणा बढी प्रदूषित वायुले नगरवासीको फोक्सोमा दीर्घकालीन असर पुर्याइरहेको छ । करिब आधा जनसंख्या पैदल हिँड्ने सहरमा भएको यो समस्याप्रति सरकार जसरी बेखबरजस्तै देखिन्छ, त्योचाहिँ उदेकलाग्दो छ । सम्पूर्ण सहरवासी प्रभावित भइरहेको धूलो, धूवाँको यो विकराल समस्या न्यूनीकरणका लागि राज्यका निकायहरूले यथाशीघ्र प्रभावकारी कदम चाल्न ढिलो भइसकेको छ ।
प्रतिकूल वायुमण्डलीय अवस्थितिका कारण राजधानी खाल्डोको वायु प्रदूषण वहन गर्ने क्षमता यसै पनि कम छ । थोरै मात्र वायु प्रदूषण भए पनि उडेर आकाशतिर र उपत्यकाबाहिर सजिलै जान सक्दैन । त्यसमाथि, पछिल्लो समय जारी विकास गतिविधिका कारण अवाञ्छित प्रदूषणजन्य स्रोतको उपस्थिति बढिरहेको छ । थोत्रा तथा डिजेलबाट चल्ने गाडीले फ्याल्ने धूवाँको समस्या पुरानै हो, २०७२ सालको शक्तिशाली भूकम्पपछिको पुनर्निर्माण, बाटो विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउन सडक खन्ने कामले सहरलाई थप ‘धुलोमान्डु’
बनाएको छ । उपत्यकाभित्रका इँटाभट्टा र छेउछाउका सिमेन्ट फ्याक्ट्रीबाट निस्किएको धूलो, धूवाँ त छँदै थियो । यी सबै किसिमका प्रदूषणको मारमा यहाँका बासिन्दा परेका छन् ।
उपत्यकामा पार्टिकुलेट म्याटर (पीएम) १० र २.५ को मात्रा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको छ । जबकि, विश्व स्वास्थ्य संगठनले तोकेअनुसार २.५ पीएमको मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । नेपाल सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । यस हिसाबले हेर्दा उपत्यकाको प्रदूषणको मात्रा सरकारी मापदण्डकै तुलनामा पनि झन्डै १० गुणाले बढी छ । यसलाई स्वास्थ्यका हिसाबले धेरै खराब स्थितिका रूपमा लिइन्छ ।
यो स्तरको धूलो, धूवाँले बाल, वृद्ध, गर्भवती, पुरानो दमको समस्या भएका, क्षयरोगी, रोगविरुद्ध लड्ने क्षमता कम भएका र धूमपान गर्नेलाई बढी सताउँछ । यी समस्या भएकालाई यस्तो प्रदूषणका कारण बारम्बार रुघाखोकी लागिरहने, पिनास र टन्सिलाइटिस हुने, घाँटी र कानको संक्रमणले सताउने अनि दम तथा निमोनियाँ हुने सम्भावना अधिक हुन्छ । अरू अवस्थामा सामान्य रुघाखोकीलाई पनि धूलो, धूवाँले जटिल बनाइदिन्छ र समयमै निको हुँदैन । घाँटी खसखसाउने र नाक थुनिने पनि उत्तिकै हुन्छ । छाला र आँखाको समस्याले सताउँछ । मास्कले नछेक्ने धूलोका कणहरू सीधै फोक्सोमा पुग्ने भएकाले श्वासप्रश्वाससम्बन्धी समस्याहरू देखिन सक्छ । तसर्थ सहरको धूलो हटाउन ढिलाइ गरेर सरकारले जनस्वास्थ्यमाथि थप खेलबाड गरिरहनु हुँदैन । यस प्रदूषणका कारण लाग्न सक्ने रोगबाट बच्न सहरवासीले सडकमा निक्लँदा ‘मेडिकेटेड मास्क’ को प्रयोग गर्न आवश्यक छ । एउटा मास्क एक दिन मात्र प्रयोग गर्न मिल्छ । प्रयोग गरिसकेको कपडाको मास्क राम्ररी निर्मलीकरण गरेर मात्र अर्को दिन लगाउन सकिन्छ । तर, यस्ता मास्कले पनि आंशिक मात्र सुरक्षा दिने भएकाले सरकारले अविलम्ब समाधानका उपायहरू अपनाउनुपर्छ ।
भूकम्पपछिका पुृनर्निर्माणका कामलाई जतिसक्दो चाँडो टुंग्याउनुपर्छ । निर्माण सामग्रीलाई सडकमा यसै असरल्ल अवस्थामा राख्न रोक लगाइनुपर्छ । सडक विस्तारका काम छिटो–छिटो सक्नुपर्छ । खन्दै, भत्काउँदै र अलपत्र छोड्दै नगरेर थालेको काम तुरुन्त टुंग्याउनुपर्छ । मेलम्ची खानेपानी आयोजनाका लागि पाइप बिछ्याउन जसरी सहरभरि बाटो खन्ने काम भइरहेको छ, त्यसमा पनि पुनर्विचार गर्नुपर्छ । निश्चित स्थानमा सडक खनेर पाइप बिछ्याई पुनर्निर्माण सकेपछि मात्र अन्यत्र खन्नुपर्छ । यसो गरेमा एकपटक सबैतिरका जनता प्रताडित हुनुपर्दैन । सरकारको सबैभन्दा ठूलो कमजोरी भनेको अन्तरसरकारी निकायबीचको समन्वय अभाव हो । एउटै सडक विभिन्न समयमा फरक–फरक सरकारी निकायले आ–आफ्नो प्रयोजनमा खन्ने गर्दा धूलोको समस्या सदाबहार जस्तै बन्ने गरेको छ ।
सरकारी निकायबीच सही समन्वय हुने हो भने कुनै सडक एक पटक खनेकै बेला आवश्यक सबै काम हुन सक्थ्यो र जनताले घरीघरी दु:ख पाइरहँदैनथे । र, दीर्घकालीन समाधानका रूपमा राजधानीका इँटाभट्टालाई अन्यत्र सार्नेतर्फ पनि सरकारले कदम चाल्नुपर्छ । अहिले सरकारसामु एउटै विकल्प छ, जनताको स्वास्थ्यलाई ख्याल गर्दै सहरको स्वास्थ्य सुधार्ने । त्यसका लागि अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गरी धूलो, धूवाँ हटाएर बर्सेनि जनसंख्या बढिरहेको राजधानी सहरलाई बस्न लायक बनाउने ।

