आज धन्वन्तरि दिवस । कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशिमा यो दिवस मनाईन्छ । चिकित्सा पेशामा समर्पितहरुकोलागि धन्वन्तरि जयन्ति विशेष महत्वपूर्ण मानिएको छ । आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी लगायत चिकित्सा विद्यार्थीहरुले पेशागत निष्ठा एवं आरोग्यताको कामना गर्ने उद्देश्यका साथ धन्वन्तरि जयन्तिलाई विशेषरुपमा धुमधामका साथ मनाउने गर्छन् ।
धन्वन्तरि आयुर्वेदका प्रर्वतक मानिन्छन् । आयुर्वेदका पिता तथा गुरुका रुपमा पनि लिइन्छ । त्यसैले आजको दिन विभिन्न आयुर्वेदसँग सम्बन्धित संघसंस्था, अस्पताल, चिकित्सालय तथा मठमन्दिर र घरघरमा समेत धन्वन्तरिको पूजा गरिन्छ । आफू, परिवार र आम व्यक्तिको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरिन्छ ।
नेपालमा भगवान धन्वन्तरिलाई प्राचीनकालदेखि नै विशेष महत्व दिने गरिएको छ । हिन्दू धर्म अनुसार विष्णुको २४ अवतार मध्ये एक अवतारकारुपमा लिएको छ । यद्यपि, २०५६ सालदेखि राष्ट्रिय आरोग्य दिवसका रुपमा मनाइन थालेको छ । हरेक वर्ष विभिन्न नाराका साथ यस दिवसलाई भव्यतापूर्वक मनाउने गरिएको छ । यस वर्षको राष्टिय आरोग्य दिवसको नारा ‘स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यको लागि आयुर्वेद’ रहेको छ । भारतमा धन्वन्तरि जयन्तिलाई आयुर्वेद दिवसको रुपमा मनाइन्छ ।
ऐतिहासिक तथ्यहरुमा दृष्टिगत गर्दा भगवान धन्वन्तरि कार्तिक कृष्णपक्षको त्रयोदशिको दिन समुन्द्र मन्थन गर्दा आफ्नो हातमा अमृतको घडा, शंख, चक्र र जडिबुटीको साथ प्रकट हुनु भएको उल्लेख छ । देवताहरुको चिकित्सकको गणना गर्दा सदैव अश्विनिकुमारद्धय नकुल, सहदेव, इन्द्रको साथसाथै भगवान धन्वन्तरिको स्मरण गरिन्छ ।आयुर्वेदको पिता धन्वन्तरिको जन्मजयन्ति तथा राष्ट्रिय आरोग्य दिवसका अवसरमा मुलुकका विभिन्न स्थानमा उत्साहका साथ मनाइन लागेको छ । सृष्टि उत्पत्तिसँगै प्राप्त भएको आयुर्वेद ज्ञानलाई वर्तमान समयसम्म पनि उत्तिकै लोकप्रिय र आमजनमानसमा सकारात्मक छाप पारेको छ । आमजनताको मन जित्न सफल भएको छ ।
आयुर्वेदले जीवन जीउने कला सिकाउँछ । रोग लाग्न नदिन र लागेमा त्यसको उपचार गर्न विभिन्न ज्ञान दिलाउँछ । दक्षिण एसियाको नेपाल र भारतमा आयुर्वेदको चर्चा व्यापक गरिन्छ । पश्चिमि मुलुकहरुमा पनि आयुर्वेदप्रतिको चासो र लोकप्रियता बढ्दै गएको छ । नेपाल सरकारले पनि आयुर्वेदलाई राष्टिय चिकित्सा पद्दति मानेको छ । मुलुकको चौधौं योजना (आर्थिक वर्ष २०७३\७४ देखि २०७५\७६)मा मुलुकमा उपलब्ध जडीबुटीको व्यवस्थापन र उपयोग गर्दै आयुर्वेद चिकित्सा प्रणालीको विकास तथा प्रचलित अन्य पूरक चिकित्सा प्रणालीको संरक्षण एवंम व्यवस्थित विकास गर्ने रणनीति थियो । त्यस्तै आयुर्वेद पद्दतिको प्रभावकारी कार्यान्वयनकोलागि उपयुक्त संरचनाको विकास र विस्तार तथा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गरिनुका साथै आयुर्वेद तथा जडीबुटीका नाममा हुने अनुचित गतिविधिहरुलाई नियमन गरिने कार्यनीति थियो । तर, यी सबै रणनीति तथा कार्यनीति कार्यान्वयन नहुनु दुःखद पक्ष हो ।
मुलुकको पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६\७७देखि २०८०\८१) मा आयुर्वेदसँगसँगै प्राकृतिक चिकित्सा तथा अन्य चिकित्सा पद्दतिको योजनाबद्ध विकास र विस्तार गर्ने रणनीति राखिएको छ । त्यसैले आयुर्वेद, पञ्चकर्म, योग र प्राकृतिक चिकित्साको विशिष्टिकृत सेवा सहितको राष्ट्रिय आयुर्वेद, योग, ध्यान, प्रणायाम, मनोपरामर्श, पञ्चकर्म सहितको सेवा केन्द्रको स्थापना गरि स्वदेशीसँगै विदेशीलाई लाई पनि सेवा दिन सकिन्छ । त्यसैले देश विकासकोलागि ‘स्वस्थ जनता’ भन्ने वृहत अभियान नै सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको छ । त्यसकालागि आयुर्वेद जनशक्तिको सदुपयोग गर्नु बाञ्छनीय मानिन्छ ।
अमृतमय आयुर्वेद शास्त्रका पिता तथा प्रबर्तक भगवान धन्वन्तरिलाई दुई हात जोडि नमन गर्दछु । सम्पूर्णमा धन्वन्तरि जयन्तिको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायुको शुभकामना व्यक्त गर्दछु । श्री धन्तवन्तरये नम : !!
( लेखक आचार्य -काभ्रे, धुलिखेलस्थित पतञ्जली आयुर्वेदिक मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा बीएएमएस तेस्रो प्रोफमा अध्ययनरत छन् )

