अघिल्लो शताब्दीको उत्तराद्र्धदेखि आजसम्म विश्वमा मानव मृत्युको निरन्तर रूपमा पहिलो कारण मुटुरोग हो । प्रत्येक वर्ष १ करोड ७५ लाखभन्दा बढी व्यक्तिको मृत्यु मुटु र रक्तनली सम्बन्धी रोगबाट हुन्छ । आज सम्पूर्ण मानव मृत्युको झन्डै १ तिहाइ अर्थात् ३१ प्रतिशत मृत्युको कारण मुटु र रक्तनली सम्बन्धी रोग हो । जबकि सय वर्षभन्दा अघि अर्थात् सन् १९०० अघि सम्पूर्ण मानव मृत्युको कारणमध्ये मुटु रोगबाट मृत्यु हुने कारण १० प्रतिशतभन्दा कम थियो । यसको प्रमुख कारण कोरोनरी मुटुरोग हो, जसको कारक तत्त्व धूमपान, उच्च रक्तचाप, शरीरमा कोलेस्टोरलको मात्रा उच्च हुनु, मधुमेह, अस्वस्थ जीवन शैली, मोटोपनलाई मानिन्छ ।
मुटु र रक्तनली रोगबाट हुने मृत्युमध्ये ३३ प्रतिशत मृत्युको कारण रक्तनली सम्बन्धी बिमार स्ट्रोक हो । उच्च रक्तचापको कारण ६ प्रतिशत र बाथ मुटुरोगको कारण २ प्रतिशत मृत्यु हुने गर्छ । यद्यपि विश्वको विभिन्न क्षेत्र र राष्ट्रमा मानव विकास सूचकांकको आधारमा अध्ययन गर्दा बिभिन्न मुटुरोगको मृत्युदर प्रतिशत केही फरक देखिन्छ ।
एक तथ्यांक अनुसार गत २५ वर्षमा अमेरिका, पश्चिमी युरोप, ब्राजिल, दक्षिण कोरिया, कम्बोडिया, लाओसमा मुटुरोगको अवस्थामा सुधार आएको देखिन्छ । तर मेक्सिको, साउदी अरेबिया, मंगोलिया, बंगलादेश र फिलिपिन्समा मुटुरोगीको संख्या केही वृद्धि भएको छ । सन् २०१५ मा सिंगापुर, जापान, क्यानाडा, ग्रीस, इजरायलमा १ लाखमा ५ हजारभन्दा कममा मुटुरोग देखिएको छ । तर पश्चिम अफ्रिका, इरान, जाम्बिया, ओमान आदिमा १ लाखमा ९ हजारभन्दा बढीमा मुटुरोग देखिएको छ । मानव विकास सूचांकमा सुधार भएसँगै विश्वका धेरै क्षेत्र र राष्ट्रहरूमा मुटु रोगबाट हुने मृत्युदर घटेको छ । तर दक्षिण एसिया र सबसहारा अफ्रिकामा मानव विकास सूचांकमा केही सुधार भए पनि मुटु रोगबाट हुने मृत्युदरमा सुधार आएको छैन ।
विश्व स्वास्थ्य संगठनको २०१७ को प्रतिवेदन अनुसार विश्वभरि मुटु रोगबाट हुने मृत्युको ३ चौथाइभन्दा बढी मृत्यु निम्न र मध्यम आय हुने राष्ट्रहरूमा हुने गर्छ । विकसित मुलुकहरूमा वैज्ञानिक स्वास्थ्य नीति, अध्ययन र अनुसन्धानमा लगानी साथै विज्ञान र प्रविधिको उपयोगका कारण मुटुरोगको अवस्था र यसबाट हुने मृत्युदरमा धेरै सुधार भइसकेको छ । तर विकासोन्मुख मुलुकहरूमा स्वास्थ्य नीतिको अभाव, अध्ययन र अनुसन्धानमा कम लगानी साथै विज्ञान र प्रविधिमा कम पहुँचका कारण मुटु र रक्तनली सम्बन्धी रोगबाट हुने मृत्युदर बढ्दो छ ।
नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार भएको कारण बच्चाहरूमा हुने बाथ ज्वरो र बाथ मुटुरोग विकसित राष्ट्रहरूमा उन्मूलन भइसकेको छ । तर विकासोन्मुख राष्ट्रहरूमा बाथ ज्वरो र बाथ मुटुरोगको जोखिम र यसबाट हुने मृत्युदरमा सुधार हुनसकेको छैन । विश्वभरि सम्पूर्ण मुटुरोगबाट हुने मृत्युमध्ये २ प्रतिशत मृत्यु बाथ मुटु रोगबाट हुने गर्छ । विकसित मुलुकहरूमा यो मृत्युदर १ प्रतिशतमात्र छ । दक्षिण एसियामा यो मृत्युदर ६ प्रतिशत छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको वार्षिक प्रतिवेदन २०१७ मा बाथ मुटु रोगबाट हुने मृत्युदर सम्पूर्ण मुटु रोगबाट हुने मृत्युको १० प्रतिशतभन्दा बढी छ ।
विगत २५ वर्षमा विकसित मुलुक र क्षेत्रहरूमा उल्लेख्य आर्थिक उन्नति, जीवनस्तरमा सुधार, मुटु र रक्तनली रोग सम्बन्धी चेतनाको विकास, विज्ञान र प्रविधिको विकास साथै उपचार विधिमा आएको सुधारका कारण मुटुरोगको अवस्थामा सुधार भई मृत्युदर घटेको छ । तर अल्पविकसित र विकासोन्मुख मुलुकमा जीवनस्तरमा उल्लेख्य सुधार नहुनु, मुटुरोग सम्बन्धी पर्याप्त चेतनाको विकास नहुनु, सरदर आयुमा वृद्धि हुनु साथै विज्ञान र प्रविधिको विकासमा कम पहुँचका कारण मुटुरोगको संख्या र यसबाट हुने मृत्युदरमा वृद्धि भएको छ । समग्रमा विकसित होस् वा अल्पविकसित वा विकासोन्मुख मुलुक होस्, आज मानव मृत्युको पहिलो कारण मुटु र रक्तनली सम्बन्धी रोग बनेको छ । यसले पार्ने आर्थिक, सामाजिक दायित्यमाथि उचित समाधानको उपाय खोज्नुपर्ने बेला भइसकेको छ ।

