गर्भावस्थामै शिशुको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने उपचार विधिलाई फिटल मेडिसिन सेवा भनिन्छ । फिटल मेडिसिन सेवाबाट गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्था जानकारी प्राप्त हुन्छ । गर्भमा रहेको शिशुको वृद्धि विकास, स्वास्थ्य सम्बन्धी समस्या फिटल मेडिसिनबाट थाहा पाउन सकिन्छ। कन्सल्टेण्ट फिटल एवं प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा खुश्बू श्रीवास्तवका अनुसार, फिटल मेडिसिन भनेको प्रसुति तथा स्त्री रोगको नै विशिष्टीकरण विद्या हो। फिटल भनेको गर्भमा भएको बच्चा हो। गर्भभित्र भएको बच्चाको बारेमा केन्द्रित भएर गरिएको अध्ययन नै फिटल मेडिसिन हो। फिटल मेडिसिन शारीरिकदेखि मानसिक रुपमा गर्भमा भएको बच्चाको वृद्धि विकासमा केन्द्रित हुन्छ।
फिटल मेडिसिनमा सुरुदेखि पछिसम्म बच्चाको भिडियो एक्सरेहरु गर्छौं । यो भिडियो एक्सरे सामान्यभन्दा विशेष खालको हुन्छ। यी भिडियो एक्सरेहरु निश्चित समयमा गर्नु पर्दछ। बच्चाको बनावटी खराबी छ÷छैन, विकासमा असर परिरहेको छ÷छैन, वृद्धि विकास राम्रोसँग भइरहेको छ÷छैन भन्ने हेरिन्छ । डाउन सिन्ड्रोम, वंशाणुगत समस्याहरु भिडियो एक्सरे गरेर मात्र थाहा हुँदैन । त्यसको लागि रगतको परीक्षण गर्नुपर्छ । ती परीक्षणहरु कसरी, कहिले गर्ने र भविष्यमा के गर्न सकिन्छ भन्ने कुराहरु यसमा पर्छन् । बच्चा गर्भमै भएको बेला रगतको ट्रान्सफ्युजन गर्न सकिन्छ । जुम्ल्याहा गर्भ रहेको बेला कसरी व्यवस्थापन गर्ने? कहिलेकाँही बच्चाको वरिपरि पानी धेरै अथवा कम हुन सक्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने? लगायत धेरै विषयहरु यस अन्तर्गत पर्छन्। गर्भभित्र रहेको बच्चाको वृद्धि विकासको अवस्थालाई आमाले फिटल मेडिसिनबाट थाहा पाउन सक्छन् । यसमा सुरुको तीन महिना निकै महत्वपूर्ण मानिन्छ।
सामान्यतया धेरैले अल्ट्रा साउण्डलाई भिडियो एक्सरे भन्न थालेको हो । तर भिडियो एक्सरे र अल्ट्रा साउण्ड फरक हो । धेरैले अहिले अल्ट्रा साउण्डलाई भिडियो एक्सरे भनेर बुझ्न थालेका हुन्। अल्ट्रा साउण्डमा एक्सरे हुँदैन। अल्ट्रा साण्डमा एउटा साउण्ड वेभ हुन्छ। एक्सरले चाँही बच्चामा खराबी गर्छ।
गर्भवती अवस्थामा एक्सरे गर्नु हुँदैन। तर अल्ट्रा साउण्डमा कुनै पनि रे हरु हुँदैन । त्यसैले अल्ट्रा साउण्डले बच्चाहरुलाई कुनै खराबी गर्दैन । कहिले काँही गरिने डप्लर अल्ट्रा साउण्डमा हिट उत्पादन हुन्छ । त्यसको लागि पनि अन्तर्राष्ट्रिय गाइडलाइनहरु छन्। हामीले त्यही गाइडलाइन अनुसार गर्नु पर्छ । डप्लर भनेको आमाबाट बच्चामा जाने रगतहरुको प्रेसर, रगतको आपूर्ति के छ भनेर हेरिन्छ । जुन अल्ट्रा साउण्डको एउटा पाटो नै हो । समग्रमा अल्ट्रा साउण्ड गरेर आमा र बच्चालाई कुनै खराबी हुँदैन । मुख्य कुरा कति पटक गर्न मिल्छ भन्ने हो । एउटा सामान्य गर्भवती अवस्थामा आमालाई केही समस्या छैन । गर्भमा एउटा मात्र बच्चा छ । बच्चाको विकास पनि सामान्यतया तरिकाले भइरहेको छ। बच्चाको वृद्धि विकासमा कुनै समस्या छैन भने त्यस्तो अवस्थामा कम्तीमा चार वटा अल्ट्रा साउण्ड गर्नुपर्छ। चारमध्ये पहिले अर्ली प्रेग्नेन्सी स्क्यान भनिन्छ। यो आमाले गर्भमा बच्चा छ भन्ने कुरा थाहा पाएपछि गरिन्छ। ६ देखि ७ हप्ताको बीचमा गरिने यो अल्ट्रा साउण्डमा बच्चा गर्भमै छ÷छैन पाठेघरभन्दा बाहिर कतै बसेको छ÷छैन बच्चाको धड्कन आइसकेको छ÷छैन र रगतमा कुनै समस्या छ÷छैन भनेर हेरिन्छ।
अर्को महत्वपूर्ण भनेको एन्टी एन्बी स्क्यान नियमित रुपमा नेपालमा भइरहेको छैन । तर यो अति आवश्यक छ । यो भिडियो एक्सरे ११ हप्तादेखि १३ हप्ता ६ दिनसम्म गर्नुपर्छ। यो भिडियो एक्सरे यही समयभित्र नै गर्नुपर्छ। यो भन्दा एक दिन अघि वा पछि गर्न सकिदैन । बच्चाको घाँटी पछाडी एउटा पानीको तह हुन्छ । त्यो तहलाई हामीले हेर्छौ । डाउन सिन्ड्रोमको केसहरुमा त्यो पानी अलि बढेर जान्छ । हामीले त्यो पानी स्क्यान गरेर थाहा पाउन सक्छौ । कुनै बच्चामा डाउन सिन्ड्रोम हुन सक्छ÷सक्दैन भनेर सम्भाव्य भविष्यवाणी गर्न सक्छौं । गर्भ अवधिमा डाउन सिन्ड्रोम शत प्रतिशत पत्ता लगाउनको लागि एम्नियोसिन्टेसिस र क्यारियोटाङ परीक्षण गरिन्छ । तर यो महँगो प्रविधि हो । र, यसमा गर्भपतन हुने एक देखि दुई प्रतिशतसम्मको संभावना पनि हुन्छ ।
त्यसैले हामीले स्क्यान र रगत परीक्षण गरेर डाउन सिन्ड्रोम हुने संभावना यति छ भनेर भन्छौं । जसमा तपाईको हजारमा एक, दुई हजारमा एक अथवा एक लाखमा एक संभावना छ भनेर हेर्छौं । जसमा डाउन सिन्ड्रोम हुने संभावना बढी छ भने अन्य परीक्षण गर्ने तर छैन भने गर्नु पर्दैन । त्यही भएर सबैलाई महँगो परीक्षण गर्नु परेन । त्यो सँगै गर्भपतन हुने जुन संभावना छ, त्यो पनि भएन ।
यही बेला बच्चाको बनावटी खराबी बारे पनि थाहा पाउन सक्छौ। जुन सामान्यतया हेरिदैन । यो सबै स्क्यानले बच्चामा हुन सक्ने र भएका समस्याहरु अगाडी नै पहिचान गर्न सकिन्छ। अहिले धेरै अभिभावकहरुले बच्चामा डाउन सिन्ड्रोम भएपनि राख्छु भन्नु हुन्छ। यो थाहा पाउनु उहाँहरुको हक पनि हो। तर यसका लागि उहाँहरु मानसिक, आर्थिक हरेक किसिमबाट तयार पनि रहनुपर्छ। उहाँहरुले डाउन सिन्ड्रोम भएका बच्चालाई राख्दिन पनि भन्न पाउनु हुन्छ। तर यसको लागि समयमै निदान हुनु आवश्यक छ। २८÷३० हप्तामा गएर यो कुरा कसैले बल्ल थाहा पाउँदैछ भने त्यो बेलासम्म त धेरै ढिला भइसकेको हुन्छ। यी सब कुराहरु समयमै थाहा पाउनुपर्छ। त्यसैले ११ देखि १३ हप्ता ६ दिनको बीचमा गरिने भिडियो एक्सरे निकै महत्वपूर्ण हुन्छ।
अर्को महत्वपूर्ण भिडियो एक्सरे हो, एनोमली स्क्यान । यो स्क्यान धेरै मानिसहरुले गर्छन्। १८ देखि २२ हप्ताभित्र यो भिडियो एक्सरे गरिन्छ। यसको मुख्य उद्देश्य भनेको बच्चामा कुनै बनावटी खराबी छ÷छैन भनेर हेर्नु र त्यसको पहिचान गर्नु हो। टाउकोदेखि खुट्टासम्म सबै एक÷एक अंगहरुमा भएको खराबी हेर्छौं । यसपछि सबै कुरा राम्रो छ भने ग्रोथ स्क्यान गर्छौ । कहिले गर्ने? भन्ने कुरा गर्भवती महिलामा भरपर्छ। कसैले ३४, ३६ हप्तामा गर्छन्। बच्चाको राम्रोसँग विकास भइरहेको छ÷छैन, पानी राम्रो छ÷छैन, सालको अवस्थाको के छ? ती कुराहरु यस अन्तर्गत पर्छन्।
ग्रोथ स्क्यानमा कुनै समस्या देखिएन भने एउटा मात्र गर्छौ। तर कसैको जुम्ल्याहा बच्चा, बच्चाको धड्कनमा समस्या, आमालाई मधुमेह तथा रक्तचापको समस्या अथवा अरु कुनै समस्या छ भने ग्रोथ स्क्यानिङ बारम्बार गर्नुपर्छ। त्यसको कुनै सीमा छैन। उनीहरुको आवश्यकता अनुसार यो पटक पटक गरिरहनुपर्छ। यसले आमा र बच्चालाई कुनै असर गर्दैन।
बालबालिकामा डाउन सिन्ड्रोम ?
डाउन सिन्ड्रोम भनेको क्रोमोजोमसँग सम्बन्धित समस्या हो। जसरी घरहरु इट्टाले बन्छ, त्यसरी नै बच्चा क्रोमोजोमले बनेको हुन्छ। आमा र बुवाबाट आएको २३÷२३ क्रोमोजोम मिक्सिङ हुन्छ। जुन प्राकृतिक प्रक्रिया हो। यो मिक्सिङ भएपछि ती क्रोमोजोमहरु पनि दुई वटा जोडी बनेर बस्नुपर्ने हुन्छ। यो मिक्सिङ भएर दुई वटा बन्नुपर्नेमा कुनै बेला तीन वटा, कहिले एउटा त कहिले चार वटा भइदिन्छ। यो अवस्थाले समस्या निम्त्याउने हो।
डाउन सिन्ड्रोम भनेको २१ नम्बरको जोडीको जुन क्रोमोजोम छ, त्यो दुई वटाको ठाउँमा तीन वटा भइदिन्छ । कतिपय महिलाहरुमा गर्भ खेर जाने गर्छ। त्यसको पनि सबैभन्दा आम कारण भनेको क्रोमोजोमको समस्याले हो । जोडी बनेर बस्नुपर्ने क्रोमोजोमको अवस्था असामान्य भयो भने गर्भ खेर जाने, बच्चाको वृद्धि विकास नहुने हुन्छ । डाउन सिन्ड्रोममा भने केही समयसम्म शिशुको विकास हुन्छ। उनीहरुको जन्म पनि हुन्छ। तर वृद्धि विकासमा भने समस्या हुन्छ । उनीहरुको विशेष आवश्यकता हुन्छ । शारीरिकदेखि मानसिक कुराहरुमा फरक हुन्छ । मुटुमा पनि समस्या हुन सक्छ।
अहिले एउटा एड्भान्स टेस्ट छ, एनआइपीटी टेस्ट । आमाको रगतमा बच्चाको निश्चित डीएनए हुन्छ। त्यो डीएनएलाई मूल्यांकन गरेर बच्चामा डाउन सिन्ड्रोम छ÷छैन भनेर हेर्छौ । यो परीक्षणले बच्चामा ९९ दशमलव ५ प्रतिशत डाउन सिन्ड्रोम भए नभएको पत्ता लगाउन सकिन्छ । यो परीक्षण केही महँगो भने छ । नेपालमा यसको शुल्क २८ देखि ३५ हजारसम्म पर्न जान्छ । आमाको रगतबाट डीएनए परीक्षण ग¥यो भने गर्भ खेर जाने संभावना पनि भएन । र, बच्चालाई पनि केही असर गर्दैन ।
भिडियो एक्सरे बाहेक रगतको परीक्षणहरु पनि हुन्छन्। परीक्षण मात्र नभई त्यसलाई विश्लेषण गर्ने गर्छौ । समस्या देखियो भने के गर्ने ? कुन परीक्षण गर्ने भन्ने लगायतको विषयमा परामर्श गरिन्छ । कहिले काँही पेटभित्र बच्चाहरु रगतको अभाव हुन सक्छ । जम्ल्याहा शिशु हुन सक्छ । ती समस्यालाई कसरी व्यवस्थापन गर्नेे भन्ने कुराहरु आउँछ । बच्चाको गर्भ र फोक्सोमा पानी जमेको हुन्छ । त्यसलाई पनि हामीले हेर्छौं ।
बाहिरी मुलुकमा बच्चा गर्भमै भएको बेला सर्जरी पनि गर्ने गरिन्छ । अर्थात् गर्भमा भएको बच्चामा केही समस्या छ भने सर्जरी गरेर फेरी बच्चालाई गर्भभित्रै राखेर गर्भलाई निरन्तरता दिइन्छ। यो नेपालमा विकास भइसकेको छैन । यी सबै कुराहरु फिटल मेडिसिन अन्तर्गत नै पर्दछ।
आधारभूत परीक्षणहरु खासै महँगो छैन । आधारभूत अल्ट्रा साउण्ड शुल्क १५०० देखि ४÷५ हजारसम्म पर्न सक्छ । रगत परीक्षणमा पनि कुन किसिमको रगत परीक्षण गर्ने हो, त्यसको आधारमा मूल्य निर्धारण हुन्छ। यो बाहेक एनआइपिटी र विशेष परीक्षण सबैलाई गराइदैन । कुनै समस्या देखिएको अवस्थामा मात्र यी परीक्षणहरु गरिन्छ ।
नेपालमा कस्तो छ , सेवा ?
नेपालमा यो सेवा नयाँ भएकाले सीमित अस्पतालहरुमा मात्र उपलब्ध छ । अनोमली स्क्यान धेरै ठाउँमा हुन्छ। तर एन्टी स्क्यान सबै ठाउँमा हुँदैन । यो सेवा पनि विस्तारै बढ्दै गएको छ । रगत परीक्षणहरु पनि नेपालमा उपलब्ध नै छ। जुम्ल्याहा गर्भ भएको बेला लेजर गर्नुपर्ने हुन सक्छ। त्यो सुविधा नेपालमा छैन। जुम्ल्याहा बच्चा हुँदा उनीहरुको रगतको रक्त वाहिनी एक अर्कासँग जोडिएको हुन सक्छ। त्यसलाई गर्भभित्र भएकै बेला लेजर मार्फत काट्न सकिन्छ। तर त्यो सुविधा नेपालमा आइसकेको छैन ।
फिटोस्कोपिक सर्जरीको सेवा पनि नेपालमा छैन । यसमा पाठेघरभित्र दुरबीन पठाएर सर्जरी गरिन्छ । यो सँगै गर्भभित्रै गरिने सर्जरीहरु पनि नेपालमा सुविधा छैन ।

