डेढ–दुई दशकअघिसम्म नेपालमा क्रिकेट आम रूपमा यति धेरै लोकप्रिय भैसकेको थिएन । साँच्चै भन्दा फुटबलपछिको लोकप्रिय खेल के हो भनेर खुट्याउन पनि मुस्किल पर्थ्यो । आज अवस्था अर्कै छ, क्रिकेट घरघरमा चर्चा हुने खेल बनिसकेको छ ।
लोकप्रियताको उकालोमा यो खेलले फुटबललाई पछ्याउँदै छ; सफलताको यात्रामा त यो अझ धेरै अघि बढिसकेको छ । यस उपलब्धिका निम्ति सबभन्दा बढी जस कसैलाई जान्छ भने ती व्यक्ति पक्कै पनि अरू कोही नभएर उनै पारस खड्का हुन् । अर्थात् नेपाली क्रिकेट अहिले जे छ यसमा उनकै योगदान उपल्लो स्थानमा छ । राष्ट्रिय टोलीका यी पूर्वकप्तानले यसै साता अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेर आम तरंग नै सृजना गरिदिएका छन्, आफ्ना प्रशंसकहरूलाई विस्मित तुल्याएका छन् । संन्यास लिने घोषणा उनको निजी मामिला हो, र त्यसले छाडेको तरंग उनीप्रति जनस्तरबाट व्यक्त गरिएको ठूलो कदर हो, समग्र क्रिकेटप्रतिकै सम्मान हो ।
पारस नेपाल क्रिकेटका सर्वाधिक सफल खेलाडी र कप्तान दुवै हुन् । उनकै नेतृत्वमा विश्व क्रिकेट लिगको संरचनामा डिभिजन ५ मा रहेको नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बन्न सफल भएको हो । नेपालको विश्वकप खेल्ने सपना पनि उनकै कप्तानीमा पूरा भएको थियो । नेपालले ७ वर्षअगाडि विश्व ट्वान्टी–२० मार्फत विश्व क्रिकेटलाई राम्रो सन्देश दिएको थियो । १९ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेपछि उनले गरेको यो निर्णयलाई असहज नै भने मान्नु पर्दैन । राष्ट्रिय टोलीलाई एक दशक नेतृत्व गरेर पारस ३३ वर्षका भइसके । खालि उनले जसरी खेलेका थिए, त्यसअनुरूप नेपाली क्रिकेटले भने उनीबाट अझै केही अपेक्षा गरेको थियो । खासमा उनी अझै राम्ररी खेल्न सक्थे । तर जे होस्, पारसले संन्यास घोषणा गरे, र त्यसका निम्ति सामाजिक सञ्जाललाई माध्यम बनाए । समर्थकहरू उनलाई मैदानबाटै बिदाइ गर्न चाहन्थे । अलि अन्तर्मुखी स्वभावका उनमा भने अन्तिम म्याच खेल्दै बिदाइ लिने चाहना थिएन ।
पारसको यो घोषणासितै नेपाली क्रिकेटमा संन्यास संस्कृतिले पनि थोरै ध्यान खिचेको छ । तीन वर्षअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल खेलेसँगै शक्ति गौचनले विदेशी भूमिबाट अन्तर्राष्ट्रिय खेल टुंग्याएका थिए । घरेलु भूमिमा नेपालबाट अन्तिम पटक खेल्दै दर्शकहरूका अगाडि संन्यास लिने उनको चाहना थियो, जुन कहिल्यै पूरा भएन । पारसको निर्णय आउनु केही दिनअघि अर्का अनुभवी खेलाडी महबुब आलमले पनि आफूले छिट्टै संन्यास लिन चाहेको बताएका थिए । त्यसका निम्ति उनले प्रदेश क्रिकेट संघ र नेपाल क्रिकेट संघ (क्यान) बाट सहयोगको अपेक्षा राखेका छन् । पारसलाई अपवाद राख्ने हो भने खेलाडीहरूमा अन्तिम खेल मातृभूमिमै खेलेर संन्यास लिने चाहना हुनु एउटा अलिखित नियमजस्तै हो । उनीहरूको यस्तो रुचिलाई नेपाली क्रिकेटको सर्वोच्च निकायले ध्यान पुर्याउँदा हुन्छ । प्रमुख खेलाडीहरूलाई एउटा कार्यक्रम आयोजना गरी बिदाइ गर्दा सबैभन्दा बढी सन्तुष्टि उक्त खेलाडीसँगै क्यानलाई पनि अवश्य मिल्छ । क्यानले आन्तरिक रूपमा संवाद गरेर बिदाइका लागि प्रस्ताव गर्ने हो भने सञ्जम रेग्मी, मञ्जित श्रेष्ठलगायत खेलाडी पनि यो सूचीमा समेटिन सक्छन् । एक समयका यी प्रमुख खेलाडीहरूले राष्ट्रिय टोलीबाट नखेलेको धेरै भइसकेको छ ।
संन्यासपछि पारसले क्यान व्यवस्थापनमा आउने इच्छा देखाएका छन् । शक्ति प्रशिक्षणमा व्यस्त छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई क्यानले पछि पनि संरक्षण गर्नु जरुरी छ । खेलाडीका लागि यो दोस्रो इनिङ्सजस्तै हुन्छ । मैदानमा छँदा देखे–भोगेका कुरालाई खेलाडीले व्यवस्थापकका रूपमा अझ राम्ररी सम्हाल्न सक्छन् । त्यसैले पूर्वखेलाडीका लागि प्रशिक्षकका रूपमा होस् या अम्पायरिङमा, या व्यवस्थापनमै किन नहोस्, निश्चित कोटा व्यवस्थापन गर्नु नेपाली क्रिकेटको हितमा हुन सक्छ । एउटा राम्रो खेलाडी त्यत्तिकै राम्रो प्रशिक्षक या राम्रो व्यवस्थापक बन्न सक्ला–नसक्ला तर उसको अनुभव जहिले पनि उपयोगी हुन सक्छ, खाली त्यसलाई व्यवस्थापनले सदुपयोग गर्न जान्नुपर्छ ।
पारस, शक्ति, महबुबले नेपाली क्रिकेटमा दुई दशक हाराहारी जीवन बिताए, यो भनेको जुनसुकै व्यक्तिका लागि निकै ठूलो समय हो, सक्रिय खेलाडीका लागि त अझै धेरै हो । खेल–तालिका पछ्याएर मैदानमा भिडिरहेको खेलाडीले पारिवारिक समय, पढाइ, सामाजिक सम्बन्धजस्ता धेरै कुरालाई तिलाञ्जली दिनुपरेको हुन्छ । त्यसक्रममा उनीहरूले पूरै राष्ट्रको प्रतिनिधित्व गरिरहेका हुन्छन् । त्यसैले सरकार, विशेषगरी क्यानले उनीहरूको संन्यासमा सम्मान गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । विगतमा चुनिएका खेलाडीलाई बिदाइमा सम्मान गरिने अभ्यासमा पनि थियो; उनीहरूलाई अपार्टमेन्ट–फ्ल्याट, कार आदि उपहार प्रदान गरिन्थ्यो । पारस, महबुब, शक्ति पनि यसका निम्ति हकदार छन् । सरकारले यो पक्ष ख्याल पुर्याउनुपर्छ, आम नेपाली जनता तथा खेल प्रशंसकहरूले त उनीहरूलाई हरदम मनमा राखेकै छन् । प्रकाशित : श्रावण २२, २०७८ साभार : कान्तिपुर

