मंगलबार एकैदिन भारतमा कोभिड–१९ बाट चार हजार ५२९ व्यक्तिको मृत्यु भयो, जुन महामारी सुरु भएयता कुनै पनि मुलुकमा भएको एक दिनको सबभन्दै उच्च मृत्यु हो । वास्तविक मृत्युको आँकडा यसभन्दा निकै बढी भएको हुन सक्छ । अहिलेसम्म भारतमा दुई करोड ५० लाख संक्रमणका केस दर्ज भएका छन् । भारतको जारी संकटको स्तरलाई हेर्दा त्यहाँको सरकारले जतिसक्दो आफ्ना नागरिकलाई खोप दिएर संक्रमणको भावी लहरबाट बचाउनु अत्यावश्यक भएको देखिन्छ । तर, उसको यो अनिवार्य आवश्यकताले भारतमा उत्पादित खोपमा निर्भर अन्य मुलुकका लागि भने गम्भीर परिणाम निम्त्याउने भएको छ । यो स्पिलओभर प्रभावले विश्वको खोप उत्पादनको एउटा प्रणालीगत समस्याको उजागर गर्छ । कोरोना भाइरसविरुद्धको खोपका लागि मात्रै होइन, सबैखाले खोपका लागि विश्व भारतमा अतिशय निर्भर छ ।
ग्लोबल कमिसन फर पोस्ट–प्यान्डेमिक पोलिसीबाट लिइएका तथ्यांकहरू केलाउँदा अप्रिलसम्म विश्वभर उत्पादन भएका अस्ट्राजेनेका खोपमध्ये ६५ प्रतिशतभन्दा बढी भारतस्थित विश्वकै ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको रहेछ । कोभ्याक्सले यो वर्ष वितरण गर्ने भनेको दुई अर्ब डोज खोपमध्ये एक अर्ब डोजको आपूर्ति पनि सेरमले नै गर्ने अपेक्षा थियो । मध्य–अप्रिलसम्म आइपुग्दा विश्वभर उत्पादित कोभिड–१९ खोपमध्ये १७ प्रतिशत खोप उत्पादन गर्दै भारत विश्वको चौथो ठूलो खोप उत्पादकमा थियो । चीन ३७ प्रतिशत खोप उत्पादनसहित शीर्ष सूचीमा, अमेरिका २२ प्रतिशत दोस्रो र युरोपेली संघ १७ प्रतिशतभन्दा केही बढी खोपसहित तेस्रो उत्पादक थिए । तर, जब न्यून आय मुलुकमा खोपको आपूर्ति गर्नुपर्ने भयो, तब भारतको भूमिका एकाएक बढ्यो । तुलना गर्दा अप्रिलसम्म कोभ्याक्सलाई प्राप्त खोपमध्ये ५५ प्रतिशत भारतले दिएको थियो ।
आफैँ संकटको भुमरीमा फसेपछि मध्य–अप्रिलबाट भारतले कोरोनाको खोप निर्यात गर्न बन्द गरेको छ । जसका कारण कोभ्याक्स र ९२ वटा न्यून आय–मुलुक मझधारमा फसेका छन् । खोप दिने भाका दिएको भारतले दिन नसक्ने भएपछि उनीहरूले खोपका लागि पर्खिने वा अन्तैबाट जोहो गर्नुपर्नेछ । अर्काे महिनासम्ममा कोभ्याक्स र विपन्न मुलुकका लागि १९ करोड डोज खोप अपुग हुने आकलन छ । भारतले प्रतिबद्धताबमोजिमको खोप दिन सक्दा अफगानिस्तान, बंगलादेश, कंगो, इथोपिया, घाना, केन्या, मोजाम्बिक, म्यानमार, नाइजेरिया, पाकिस्तान र युगान्डाले जुन महिनासम्ममा कोभ्याक्समार्फत ठूलो संख्यामा खोप पाइसक्ने थिए । तर, थाहा छैन, यी मुलुकमा खोप अब कहिले र कहाँबाट आउनेछ । हुन त अफ्रिकी संघले अमेरिकाको जोन्सन एन्ड जोन्सन र रुसको स्पुतनिक–भीसँग पनि खोपका लागि प्रायस गरिरहेको छ, तर उसले ती दुवै खोप सेप्टेम्बरअगाडि प्राप्त गर्ने सम्भावना छैन । अप्रिलमा भारतको खोप उत्पादन क्षमता आठ करोड डोज (सेरम र भारत बायोटेकसमेत) प्रतिमहिना थियो । यो क्षमता अहिले भारतकै खोप कार्यक्रमका लागि समेत अपुग छ ।
भारतका एक अर्ब ३६ करोड जनसंख्यामध्ये अहिलेसम्म केवल तीन प्रतिशतले मात्रै दुवै डोज खोप लगाउन पाएका छन् । अमेरिकाले संक्रमण तीव्र भएका मुलुकहरूमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये पनि केही खोप भारतले पनि पाउनेछ । यसैबीच, भारतका केही राज्यले खोप खरिदका लागि अन्तर्राष्ट्रिय टेन्डरको बाढी लगाएका छन् । यसरी, केही हप्तामै भारत कोभिड–१९ खोपको प्रमुख निर्यातकबाट खुद आयातकर्ता बन्न पुगेको छ । यद्यपि कुनै पनि समय यस्तो हुन सक्ने आकलन भने पहिले नै थियो । २०१० यता भारतका खोप म्यानुफ्याक्चरर सेरम, बायोलोजिकल ई. र पानासिया बायोटेकले अत्यन्तै सुपथ मूल्यमा डिप्थेरिया, टिटानस, हेपाटाइटिस बिका ७० प्रतिशतभन्दा बढी खोप विश्वलाई निर्यात गरिरहेको छ, जुन गाभी वा युनिसेफमार्फत गरिब मुलुकमा वितरण हुँदै आएको छ । खोप उत्पादन किन भारतमै मात्र यसरी केन्द्रीकृत भयो ? यसका दुइटा कारण छन् : यहाँको प्राविधिक क्षमता र म्यानुफ्याक्चरिङमा न्यून ओभरहेड लागत । अब विश्वको खोप आपूर्ति शृंखलामा पुनर्विचार गर्नुपर्ने समय आएको छ ।
पहिलो हामीले विश्वको खोप उत्पादन क्षमताको मिहिन, नियमित र पारदर्शी मापन गर्ने तरिकाको विकास गर्नुपर्छ । र, उत्पादनस्थलहरूलाई बढाउनु र विविधीकरण गर्नुपर्छ । अहिलेको परिदृश्यले, खोपका लागि भारतमा निर्भर रहँदा विश्व यतिखेर जोखिमपूर्ण अवस्थामा पुगेको देखाउँछ । घरेलु मागबाट खोपको निर्यात तथा विश्वव्यापी वितरणमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न अब थोरै जनसंख्या भएका मुलुकमा खोप उत्पादन स्थलहरू स्थापित गर्नुपर्छ । कच्चापदार्थ र खोपको दु्रत निर्यात सुनिश्चित हुने गरी यस्ता मुलुक पर्याप्त सञ्जालले जोडिएको पनि हुनुपर्छ । साथै ती मुलुकमा विश्वसनीय पूर्वाधार र प्रतिस्पर्धी क्षमता पनि हुनु आवश्यक हुन्छ । यी मापदण्डका आधारमा सिंगापुर, लक्जेम्बर्ग, बेल्जियम, पानामा, सेनेगल र रुवान्डा उपयुक्त हुन सक्छन् ।
(यादव व्यवस्थापन वैज्ञानिक हुन् । उनले स्वास्थ्य सामग्री आपूर्ति शृंखलामाथि विशेषज्ञता हासिल गरेका व्यक्ति हुन्) नयाँ पत्रिकामा प्रकाशित

