प्रेस स्वतन्त्रताको हाम्रो धारणा र परिभाषा पत्रकारहरूको सुरक्षा हो । तर, दुर्भाग्यवश धेरै देशहरू छन् जहाँ पत्रकारहरूलाई जेल हालेर निसाना बनाइँदै छ । नेपालमा पनि केही समयअघि पूर्वराजाको समर्थनमा भएको विरोध प्रदर्शनको क्रममा एभिन्युज टीभीका क्यामेराम्यानको हत्या गरिएको थियो । हामीलाई लाग्छ कि प्रेस स्वतन्त्रता सुरक्षाभन्दा बढी हो । यो जनताको विश्वास र स्थिर सामाजिक अवस्था पनि हो । हामीले तपाईंहरूका जनतासँगका सम्बन्धलाई कदर गर्नुपर्छ । यो साँच्चै महत्त्वपूर्ण छ, किनभने जनता धेरै छिटो टाढा जान सक्छन् । यो एकै प्रकारको समाचारको थकानबाट वा प्रेसप्रतिको अविश्वासको कारणले पनि हुन सक्छ ।
सुरक्षा, विश्वास र मिडियाको स्थिर अर्थतन्त्र महत्त्वपूर्ण छ । तर दबाबमा मिडियाले समाज वा गुणस्तरीय पत्रकारिताका लागि कुनै फाइदा नहुने तरिकाबाट पनि व्यवहार गर्न सक्छ । जब पत्रकारहरू आर्थिक दबाबमा हुन्छन्, तिनीहरू राजनीतिमा जान सक्छन् । सञ्चारका अन्य पेसामा आवद्ध हुन सक्छन् र अन्य प्रकारका गतिविधिहरूमा संलग्न हुन्छन् । हामीले नैतिक पत्रकारितालाई कायम राख्न आवश्यक छ ।
त्यसैले अर्थतन्त्र, सुरक्षा, सामाजिक सन्दर्भ र कानुनी तथा राजनीतिक परिस्थितिले पत्रकारिता गर्न अनुकूल छ कि छैन भन्ने निर्धारण गर्छ । धेरै देशहरूमा अझै पनि समस्याग्रस्त कानुनहरू छन् । मलाई थाहा छ, नेपालमा डिजिटल पत्रकारिताको भविष्यबारेमा चिन्ताहरू छन् । हामीले यी चुनौतीहरूलाई सम्बोधन गर्न र कानुनको विश्लेषण गर्न आवश्यक छ, ताकि तिनीहरूले प्रेसका लागि समस्याहरू प्रस्तुत नगरून् । प्रेसको पूर्ण स्वतन्त्रता सुरक्षाभन्दा बढी हो । हामीले यस फरक आयाममा काम गर्न आवश्यक छ ।
अर्को महत्त्वपूर्ण विषय, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता एकै होइनन् । अभिव्यक्ति स्वतन्त्रता भनेको आफ्नो विचार व्यक्त गर्न सक्ने सम्भावना हो । यो पनि महत्त्वपूर्ण छ र हामीले यसलाई कदर गर्नुपर्छ । तर प्रेसको स्वतन्त्रता भनेको संस्था हो । तपाईंहरूले कुनै पनि बाधा र रोकावटबिना काम गर्न सक्ने क्षमता र वातावरण हो ।
स्रोतहरूको सुरक्षाका लागि हामीसँग सूचना कानुनहरू हुनु आवश्यक छ । हामीसँग सार्वजनिक हितको जानकारी प्रकाशित गर्ने क्षमता हुनु जरुरी छ । त्यसैले यो प्रेस भनेको एजेन्सी हो । यो जिम्मेवारीयुक्त कार्य हो । कतिपय अवस्थामा प्रेस स्वतन्त्रता भनेको समाचार कक्षमा अभिव्यक्ति स्वतन्त्रताको विस्तारित पाटो हो भनेर बुझिन्छ । खासमा त्यो होइन । पत्रकारहरूले गर्ने काम फरक छ । समाजमा यसको थप मूल्य छ । हामीले डोनाल्ड ट्रम्पजस्ता नेताहरू निर्माण गर्न खोजिरहेका अवस्थाबाट बच्नुपर्छ ।
उनीहरूले त्यस्तो समाज दिने प्रयास गर्न सक्छन् जहाँ अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी छ, तर पत्रकारलाई आफ्नो काम जारी राख्न सक्ने अवस्था हुँदैन । यो धेरै खतरनाक छ । यो एक प्रकारको नयाँ समस्या हो ।
त्यसैले हामीले एक विश्वसनीय र दिगो प्रेस निर्माण गर्न आवश्यक छ । प्रेसको कार्यस्थल सूचकांकमा १८० देशमध्ये नेपाल ९० औं स्थानमा छ । यो सूचकांकको ठीक बीचमा पर्छ । हामीलाई सुरक्षाका दृष्टिकोणबाट केही स्पष्ट समस्याहरू छन् भन्ने लाग्छ । त्यसलाई सम्बोधन गर्नुपर्छ र के हुन्छ हेर्नुपर्छ । हालैका वर्षमा पत्रकारले आफ्नो कर्तव्य पालना गर्दा मारिएको पहिलो उदाहरण हामीसामु छ । तर हामीलाई लाग्छ कि कानुनी र आर्थिक चुनौतीहरूलाई पनि सम्बोधन गरेमा अवस्थामा सुधार आउन सक्छ । ती सबै प्राप्त गर्न पनि पत्रकारहरूले आफ्नो काम जारी राख्न आवश्यक छ । हामी तपाईंहरूको र आम जनताको सेवा गर्न यहाँ छौं भन्नुपर्छ ।
नेपालमा पत्रकारको अवस्था चिन्ताको विषय हो । पत्रकारहरूको भविष्य निर्माण गर्न हामीले नागरिकहरू अन्य पेसाका व्यक्तिहरूसँग मिलेर राम्रो अवस्था बनाउनुपर्छ । किनकि आज हामीले समाजका हरेक क्षेत्रमा विकसित भएका नयाँ आयामहरूका कारण समस्या भोगिरहेका छौं । हामीले जनताको विश्वास प्राप्त गर्दै सबल अर्थतन्त्र निर्माण गर्नु छ । सँगै डिजिटल कम्पनीहरूको नियमन पनि जरुरी छ ।
यस वर्ष नेपालको स्थान १६ औं स्थानमा खस्कियो । पहिले यो ७४ औं स्थानमा थियो अब यो ९० औं स्थानमा छ । नेपाल खस्कनुका कारण के–के हुन् त ?
कार्यस्थल सूचकांक मिडिया विज्ञहरूसँग गरिएको सर्वेक्षणमा आधारित छ । यो भन्नु साँच्चै महत्त्वपूर्ण छ कि, यो विषय विज्ञहरूसँगको गुणात्मक सर्वेक्षण हो । हामीले जसलाई प्रश्नहरू सोध्छौं उनीहरूले हो/होइनमा जवाफ दिन्छन् । तर केही प्रश्नहरूमा उनीहरूले राखेको आफ्नो धारणाबारे प्रमाण पनि दिनुपर्छ । जुन हामी पछि प्रमाणित गरेर पनि हेर्छौं ।
त्यसैले यस वर्षको सर्वेक्षणमा, नेपालबाट प्राप्त नतिजा गत वर्षको तुलनामा कम थियो । हामीले विशेष गरेर ५ मापदण्डहरू अर्थतन्त्र, सामाजिक, कानुनी, राजनीतिक र सुरक्षालाई प्राथमिकतामा राखेर सर्वेक्षण गर्छौं । यस वर्ष सुरक्षामा नेपाल २२० अंक प्राप्त गर्यो । त्यो पहिले १०९ मात्रै थियो । त्यसैले यो गिरावट हो । यस्तै, अर्थतन्त्रमा ८० अंक प्राप्त गर्यो, पहिला ५२ थियो । त्यसमा पनि तीव्र गिरावट देख्यौं । अर्थतन्त्र र सुरक्षाका कारण गिरावट आयो ।
यो कुनै अंकगणितभन्दा जटिल छ । तर मलाई लाग्छ यो प्रेस स्वतन्त्रताको तापक्रम मापन गर्ने राम्रो थर्मोमिटर हो ।
राजनीतिक नेताहरूले आफ्नो भाषणमा जिम्मेवार हुनुपर्छ । उनीहरूलाई आफ्नो भाषामा जिम्मेवार हुन हामीले आह्वान गर्नुपर्छ । अहिलेको अवस्थामा उनीहरूलाई सामाजिक सञ्जाल मन पर्न सक्छ । तर, उनीहरूलाई नै स्वतन्त्र प्रेस पनि चाहिन्छ । जब उनीहरूले कुनै एक अखबार वा पत्रकारलाई लक्षित गरेर कुनै अभिव्यक्ति दिन्छन् भने सम्पूर्ण समाचार उद्योग त्यसका विरुद्ध एक भएर उभिन जरुरी हुन्छ । समाचार व्यवसाय अन्य कुनै पनि व्यवसायजस्तै हुन्छ । यो प्रतिस्पर्धी छ, विभाजनहरू छन् । यो सामान्य हो । तर जब मिडिया आउटलेट र त्यहाँ कार्यरत पत्रकारहरूमाथि बिनाप्रमाण औंला ठड्याइन्छ भने सबै एक भएर उभिन हामी प्रोत्साहित गर्छौं । यसका साथै हामीले कानुनी रूपमा पनि प्रतिकार गर्नु महत्त्वपूर्ण हुन्छ ।
पत्रिकाहरू आफूले प्रकाशित गरेका विषयका लागि जिम्मेवार हुन्छन् । राजनीतिज्ञहरूले बिनाठोस प्रमाण पत्रिकालाई झूटा समाचार प्रकाशित गरेको आरोप लगाउनु हुन्न । उनीहरूले आफूले गरेका नराम्रा कामको जिम्मेवारी पनि सामना गर्नुपर्छ । यदि राजनीतिज्ञ वा जनता मिडियाको कामबाट सन्तुष्ट छैनन् भने, उनीहरूले अदालतमा गएर आफ्नो दाबी पेस गर्न सक्छन् ।
साथै, हामीलाई लाग्छ कि समाचार उद्योग जनताका लागि खुला हुनुपर्छ, अझ पारदर्शी हुनुपर्छ । मिडियाले आफू कोहो भनेर अझ खुला रूपमा खुलासा गर्न सक्छन् र आफ्ना पूर्वाग्रह प्रकट गर्न सक्छ । र, मलाई लाग्छ कि एकै समयमा पारदर्शिता पनि हुनुपर्छ ।
इजरायलले प्यालेस्टिनी पत्रकारहरूमाथि गरेको अत्याचार पनि हाम्रा लागि चिन्ताको विषय हो । हामीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अन्तर्राष्ट्रिय अदालत र अन्तर्राष्ट्रिय पुनरावेदन अदालतमा मुद्दा दायर गर्दै छौं । किनभने हामीलाई लाग्छ कि, प्यालेस्टाइनमा करिब ४४ पत्रकारहरू आफ्नो पेसा गरेकै कारण मारिएका छन् । तर, केही पत्रकार मारिएको दाबी गरे पनि त्यस्तो देखिँदैन । तिनीहरूमध्ये केही आम नागरिक हुन् । अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेपछि त्यसलाई प्रमाणित गर्ने जिम्मा हाम्रै हुन्छ । त्यसैले हामीले मारिने व्यक्ति कस्तो के अवस्थामा मारिएको थियो भनेर पहिला यकिन गर्नैपर्छ ।
२०२४ मा पाकिस्तानमा मारिने पत्रकारहरूको संख्या धेरै छ । जुन समस्याग्रस्त छ । तिनीहरूमध्ये सबैभन्दा ठूलो संख्या तालिवान, माफिया वा स्थानीय आतंकवादी नेताहरूद्वारा मारिएको थियो । हामी भारतमा पनि अधिनायकवादी बहाव देख्छौं । जुन विश्वको ठूलो लोकतन्त्र मानिन्छ । तर पत्रकारितालाई नियन्त्रण गर्न राज्यले त्यहाँ आतंकवादविरुद्धको कानुनको सहायता लिइरहेको छ । विशेष गरेर कश्मीरमा ठूलो समस्या देखिन्छ । कश्मीरमा वास्तवमा के भइरहेको छ भन्ने सूचना पाउन पनि मुस्किल छ ।
हामी त्यस्तो प्रणालीसँग डराउँछौं जब पत्रकारहरू, विशेष गरी महिला पत्रकारहरूविरुद्ध सामाजिक सञ्जालबाट ठूलो स्तरमा घृणायुक्त अभिव्यक्ति फैलाइन्छ । त्यस्ता अभिव्यक्तिले कुनै पनि प्रकारको भौतिक आक्रमणलाई बढावा दिन सक्छ । यदि कुनै नेताले दिनरात आफ्नो भाषणमा कुनै पत्रकारलाई गाली गर्छ भने त्यो पत्रकारमाथि कुनै पनि समय आक्रमण हुन सक्छ । त्यो ठूलो समस्या हो ।
केही देशले स्वतन्त्र मिडियाको आवाजलाई बन्द गर्न उनीहरूले अन्तर्राष्ट्रिय रूपमा प्राप्त गरिरहेको आर्थिक सहायतामाथि पनि अंकुश लगाउने कोसिस गरिरहेका छन् । किनभने
स्वतन्त्र मिडियाले प्रमुख राजनीतिज्ञहरूको आदेश पालना गरिरहेका हुँदैनन् ।
सामाजिक सञ्जालहरू नियमनबाट बच्न खोजिरहेका छन् । उदाहरणका लागि युरोपेली संघले फेसबुकलगायत सामाजिक सञ्जाललाई सूक्ष्म रूपमा नियमन गर्ने प्रयास गरेको थियो । तर, ती प्रयासलाई सामाजिक सञ्जालका सञ्चालकहरू बेवास्ता गर्न खोजिरहेका छन् । तिनीहरूको नियमप्रतिको प्रतिबद्धता उनीहरूको व्यावसायिक स्वार्थजत्तिकै बलियो छ । सामान्य रूपमा भन्नुपर्दा मार्क जुकरवर्ग र मेटा समूहले गरेको काम धेरै खतरनाक छन् । जुकरवर्गले सकारात्मक भूमिका खेलेका छैनन् । उनी तथ्य जाँचलाई समर्थन गर्ने प्रतिबद्धताबाट पछि हटिरहेका छन् । उनले भिडियोमार्फत पत्रकारिताविरोधी धारणा बनाउनका लागि ठूलो भूमिका खेलेका छन् ।
सामाजिक सञ्जाल कम्पनीले पत्रकारिताको बराबरी गर्दै सेन्सरसिप गर्न खोज्नु चुनौतीपूर्ण विषय हो । यसलाई कुनै पनि रूपमा सही मान्न सकिन्न । त्यसैले हामी उनीहरूलाई सम्पादक मान्न चाहँदैनौं । सम्पादकहरू जिम्मेवार मिडिया आउटलेटहरूमा हुन्छन्, जसले पत्रकारिता गरिरहेका छन् ।
सामाजिक सञ्जालका सञ्चालक संयोगवश डिजिटल स्पेसका शासक बनेका छन् । तर यो डिजिटल स्पेस हामी नागरिकहरूको हो ।
सामाजिक सञ्जाल भनेको ग्यास वा पानीजस्तै केवल एक उपभोग्य वस्तु हुन् । तिनीहरूले केवल सेवा प्रदान गरिरहेका हुन् । तिनलाई डिजिटल सेवाको ग्यारेन्टी दिन बाध्य पारिनुपर्छ । केही अवस्थामा तिनीहरूले जे गरिरहेका छन् त्यो आज लोकतन्त्रको फाइदाका लागि पनि हुन सक्छ । तर दीर्घकालमा त्यो लोकतन्त्रका लागि फाइदाजनक हुँदैन । र, हामीले त्यसलाई उल्ट्याउन आवश्यक छ, किनकि तिनीहरू त्यो स्थितिमा गएका छन् ।
उनीहरू त्यो शक्तिमा आएका छन्, किनकि हामीले उनीहरूलाई यो गर्न दिएका छौं । मलाई विश्वास छ कि फेसबुकको विकल्प हुनुपर्छ वा हुन सक्छ । यदि हामी विद्यमान कुराहरूलाई नियमन गर्न चाहन्छौं भने विकल्पहरू निर्माण गर्ने प्रयासमा हाम्रो समय खर्च गर्नुपर्छ, जुन गर्न हामी चाहँदैनौं ।
हामी मिडिया नियमनमा विश्वास गर्दैनौं । तर सामाजिक सञ्जाल नियमनमा विश्वास गर्छौं । हामीलाई लाग्छ कि तिनीहरू नियमनयोग्य छन् । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताबीचको भिन्नता पनि त्यही हो । प्रेसले आफ्नो काम निर्बाध रूपमा गरिरहन पाउनुपर्छ ।
अभिव्यक्ति स्वतन्त्रता भनेको आफ्नो विचार व्यक्त गर्ने क्षमता हो । त्यसैले यी दुई एकअर्कासँग गाँसिएका छन् । तर हामीले मानिसलाई बुझाउन आवश्यक छ कि पत्रकारहरूले केवल आफ्नो विचार व्यक्त गरिरहेका छैनन्, उनीहरू समाजको लागि तथ्यहरू उजागर गरिरहेका छन् ।
त्यसैले आज हामी यस्तो अवस्थामा आइपुगेका छौं जहाँ हामीले अभिव्यक्ति स्वतन्त्रताका बारेमा धेरै कुरा गर्छौं तर प्रेस स्वतन्त्रताका बारेमा बोल्दैनौं । तर म चाहन्छु कि हामी स्वतन्त्र प्रेसका बारे धेरैभन्दा धेरै बोलौं । यी दुई सामन्जस्यमा रहनुपर्छ । हामीलाई स्वतन्त्र प्रेसको बढी र अभिव्यक्ति स्वतन्त्रताको कम आवश्यकता होइन ।
-रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) महानिर्देशक थिबाउत ब्रुतिन र दक्षिण एसिया निर्देशक सेलियर मर्सियरले गतसाता नेपाल मिसनमा आएका बेला कान्तिपुर पब्लिकेशन्स्को कार्यालयमा पत्रकारहरूसँगको अन्तरक्रियामा सहभागी भएका थिए । उनीहरूले व्यक्त गरेको धारणाको सम्पादित अंश ।

