विश्व बैंकको तथ्यांक अनुसार, सन् २००८ मा नेपालीको प्रतिव्यक्ति आय १,९४२ अमेरिकी डलर (पिपिपी) थियो।
पिपिपी भनेको अंग्रेजीमा ‘परचेजिङ पावर प्यारिटी’ हो । पाँच सय डलरले नेपालमा जे जति सेवा र सुविधा किन्न सकिन्छ, अमेरिकामा त्यति किन्न सकिँदैन। त्यसैले प्रतिव्यक्ति आय पिपिपीमा गणना गर्दा निश्चित पैसाले फरक फरक देशमा के कति सामान र सेवा किन्न सकिन्छ भन्ने स्पष्ट हुन्छ । विभिन्न देशका नागरिकको प्रतिव्यक्ति आयको तुलना पिपिपीमा गरिनु नै तथ्यसंगत हुने भएकाले मैले यहाँ नेपालीको प्रतिव्यक्ति आय पनि पिपिपीमा लिएको हुँ।
गणतन्त्र आउँदा सन् २००८ मा १,९४२ अमेरिकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अर्को १५ वर्षमा, अर्थात् सन् २०२३ मा कति पुग्यो?
सन् २०२३ मा नेपालीको प्रतिव्यक्ति आय ५,३९४ अमेरिकी डलर पुगेको छ। अर्थात्, नेपालीको आय २.८ गुणा बढेको छ। नेपालको इतिहासमा कहिल्यै पनि नेपालीको प्रतिव्यक्ति आय १५ वर्षमा झन्डै तीन गुणाले बढेको छैन। यो भूतपूर्व हो । यो आयस्तरसँगै औसत नेपालीको जीवनस्तर उकासिएको नै हो ।
सेयरकास्टले गरेको सर्वेमा मानिसहरूले त्यही कुरा भनेका हुन् । सानो संख्याले (१५ प्रतिशत) मात्र ‘हाम्रो जीवन पाँच वर्षअघिको भन्दा खस्कियो’ भन्नुको कारण त्यही हो ।
यसको अर्थ, के सबै नेपालीको जीवनस्तर गजब भएको छ ? सम्मानजनक भएको छ?
पक्कै होइन ।
हिजोभन्दा आज राम्रो भने पक्कै भएको छ । नेपालीको औसत आय तीन गुणा बढ्ने तर आम मानिसको जीवनस्तर थप खस्किन सम्भव हुँदैन । एउटा अवस्थामा मात्र त्यस्तो हुन सक्छ – समाजमा आयको असमानता व्यापक बढिरहेको छ र आयको ठूलो हिस्सा थोरै धनी मानिसमा गएको छ भने।
तर के नेपालमा आम्दानीको असमानता बढ्दै गएको छ?
धेरै मानिसलाई लाग्छ- हो, त्यस्तै भएको छ।
यो पनि एउटा चलनचल्तीको ठूलो भ्रम हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले २०७९/८० मा गरेको नेपाल जीवनस्तर सर्वेक्षणले नेपाली समाजमा वार्षिक आयको असमानता घट्दै गएको देखाएको छ। यो सर्वेक्षणले समाजका सबभन्दा धनी २० प्रतिशत नेपालीको तुलनामा सबभन्दा गरिब २० प्रतिशत नेपाली आयको वृद्धिदर धेरै भएको देखाएको छ।
कार्यालयका अनुसार, २०६६/६७ को तुलनामा, त्यसको करिब १३ वर्षपछि, २०७९/८० मा आयका हिसाबले समाजका सबभन्दा तल्लो तप्काका २० प्रतिशत नेपालीको आय ३.९ गुणाले वृद्धि भएको छ । त्यही समयमा समाजको २० प्रतिशत माथिल्लो तप्काको आय २.८ गुणाले मात्र बढ्यो।
माथिल्लोभन्दा तल्लो तप्काको आयको वृद्धिदर धेरै भएपछि समाजमा आम्दानीको असमानता बढ्दैन, बरू घट्छ। २०६६ सालमा गरिएको सर्वेक्षणले पनि त्यसभन्दा अघिका १० वर्षमा आयको असमानता घट्दै गएको देखाएको थियो। त्यसको अर्थ, कम्तीमा पछिल्ला दुई दशकदेखि नेपाली समाजमा धनी र गरिबबीच आम्दानीको असमानता लगातार घटिरहेको छ ।
यो स्वाभाविक पनि छ, किनभने वैदेशिक रोजगारीको आय सबैभन्दा बढी न्यून – मध्यम वर्ग र विपन्न वर्गका परिवारमा गएको छ । अनि धेरै मानिस बाहिर काम गर्न गएका कारण नेपालमै पनि दैनिक ज्याला दर बढेको छ। त्यसले पनि दैनिक रोजगारी गर्ने विपन्न परिवारको आयमा केही सुधार भएको छ।
त्यसो भए, मानिसहरू किन निराश छन् त? कि दक्षिण एसियाका अरू देशहरूको तुलनामा हाम्रो प्रतिव्यक्ति आय खस्किंदै गएकाले हामी तुलनात्मक रूपमा पछि परेका छौं।
माथिको टेबलले के देखाउँछ भने, पछिल्ला १५ वर्षमा नेपालीको आय औसत झन्डै तीन गुणाले बढेको छ। यी १५ वर्षमा सार्क मुलुकमध्ये बंगलादेशले मात्र हामीभन्दा धेरै, ३.६ गुणाले आफ्ना नागरिकहरूको प्रतिव्यक्ति आय बढाएको छ। अरूको आय वृद्धि दर हाम्रोभन्दा धेरै छैन ।
एउटा कुरा भने पक्कै हो, नेपालीको प्रतिव्यक्ति आय आज पनि सार्क मुलुकमा सबभन्दा कम छ।
―
मैले धेरै पटक लेखेको छु राजाको सक्रिय शासन रहेको ३० वर्ष र बहुदल कालपछि पनि नेपालको प्रतिव्यक्ति आय सधैं नै दक्षिण एसियामा सबभन्दा कम छ । राणा शासनकालको तथ्यांक छैन, तर त्यस बेला नेपालको आयस्तर अरूको तुलनामा राम्रो थियो भन्ने आधार पक्कै छैन।
आयस्तरको प्रसंग बिट मार्नुअघि फेरि एकपटक भन्छु आर्थिक तथ्यांक र मानिसहरूले सर्वेक्षणमा भनेका कुराले मुलुक बर्बाद छ र नेपाली माझ चौतर्फी
निराशा छ भन्ने भाष्य पुष्टि गर्दैन । मानिसहरूको प्रतिव्यक्ति आय १५ वर्षमा औस तीन गुणा बढ्ने र आफ्नो आर्थिक जीवनलाई लिएर मानिसहरू दुई गुणा निराश हुने कुरा आफैंमा मेल पनि खाँदैन!
अब दोस्रो विषय हेरौं।
सर्वेक्षणमा मानिसहरूले आफ्नो जीवनस्तर बढेको भने पनि अहिलेको राजनीति र देशको स्थितिलाई लिएर आम मानिसमा बेचैनी छ । त्यो बेचैनी सामाजिक सञ्जालमा, चिया पसलमा, सडक, चोकमा पोखिइरहेकै छ। त्यो किन छ? र के के कुराले त्यसलाई बल पुऱ्याइरहेको छ?
यो निराशा र बेचैनीका धेरै आयामहरू छन् । तीमध्ये म तीन वटाको कुरा गर्छु।
पहिलो
सामाजिक सञ्जालमा पोखिने सदाबहार निराशा । र, त्यसले जताततै निराशा बाहेक केही छैन भन्ने समाजमा पारिरहेको भ्रम !
एडम ग्रान्ट अहिलेका उम्दा मनोवैज्ञानिक हुन् । ग्रान्टले ‘ओरिजिनल्स हाउ नन- कन्फर्मिस्ट मुभ द वर्ल्ड’, ‘थिंक अगेन पावर अफ नोइङ वाट यू डन्ट नो’ जस्ता चर्चित किताब लेखेका छन्।
अमेरिकी मनोवैज्ञानिक ग्रान्टले सामाजिक सञ्जालमा बहुसंख्यक पोस्ट कस्ता मानिसले गर्छन्, उनीहरूका विचार कस्ता हुन्छन् र तिनले समाजमा कसरी भ्रम उत्पन्न गर्छन् भन्नेबारे अध्ययन गरेर एक वर्षअघि एउटा महत्त्वपूर्ण अध्ययन सार्वजनिक गरेका छन्।
उनी भन्छन्, ‘सामाजिक सञ्जालले चर्का आवाज र चर्को व्यवहारहरूलाई बढावा दिन्छ। यसले मानिसहरूलाई समाजको वास्तविकताबारे भ्रम सिर्जना गर्छ । सामाजिक सञ्जाल जति अतिवादी र विकृत छ, समाज पनि त्यस्तै होला भन्ने भ्रम उत्पन इन्छ।’
उत्पन्न हुन्छ।’
तर समाज कहिल्यै पनि सामाजिक सञ्जालमा देखिएजस्तो ‘अतिवादी’ नहुने ग्रान्ट बताउँछन्।
कसरी त्यस्तो हुन्छ त?
उनका अनुसार सानो तर हल्लाखल्ला गरिरहने समूहले सामाजिक सञ्जालमा प्रभुत्व जमाउँछ। उनको अध्ययनले के देखाएको छ भने, ८० प्रतिशत ‘फेक न्यूज’ जम्मा ०.१ प्रतिशत (ख्याल राखौं, जम्मा शून्य दशमलव एक प्रतिशत) मानिसले सेयर गर्छन्। त्यस्तै, ३ प्रतिशत विषाक्त अकाउन्टले सामाजिक सञ्जालका ३३ प्रतिशत सामग्री उत्पादन गर्छन्। ट्विटर (एक्स) मा छापिने ९७ प्रतिशत राजनीतिक पोस्ट पनि १० प्रतिशत ट्विटर प्रयोगकर्ताले मात्र लेख्ने गरेको ग्रान्टले बताएका छन्।
यसरी एकातिर अत्यन्त सानो समूहले सामाजिक सञ्जालमा विषाक्त,अतिवादी वा निराशावादी सामग्रीहरू उत्पादन गर्छ, पोस्ट गर्छ । अर्कोतिर, सामाजिक सञ्जालको अल्गोरिदमले त्यस्तै अतिवादी विचार र सामग्रीलाई धेरैभन्दा धेरै पाठकसम्म पुयाउँछ । अनि धेरै मानिसहरूलाई यस्तो भान हुन्छ समाज त यति धेरै नकारात्मक, निराश र विषाक्त भइसकेछ!
―
ग्रान्ट भन्छन्, ‘खासमा समाज कहिल्यै पनि त्यति नकारात्मक, बेचैन वा निराश हुँदैन, जति सामाजिक सञ्जालले देखाउँछ।’
खासमा मानिसहरू समाजमा वा अरू मानिसबीच रहँदा त्यस्तो चरम अतिवादी पनि हुँदैनन्, जति देखिन्छन्। सामाजिक सञ्जालमा अतिवादी मानिसहरू पनि समाजमा मानिसहरूसँग प्रत्यक्ष भेट्दा वा कुरा गर्दा धेरै नरम वा मध्यमार्गी हुन सक्छन्।
ग्रान्टको यो अध्ययन पढेपछि मैले चिनेका परिवारजन, साथीभाइ वा २९ वर्षे मेरो पत्रकार जीवनमा सँगै काम गरेका सहकर्मी वा चिनेका हजारौं मानिसहरूबारे घोलिएर सोचें। तीमध्ये क-कसले सामाजिक सञालमा अतिवादी र विषाक्त विचार लेख्छन् भनेर सोचें । केही अपवाद बाहेक कसैले पनि त्यसो गर्दैनन्।
प्रिय पाठक, तपाईं पनि सोच्नुहोस् त, तपाईंको परिवार वा तपाईंले चिनेका कति जनाले सामाजिक सञ्जालमा अतिवादी वा विषाक्त पोस्ट लेख्छन्!
पक्कै पनि थोरैले लेख्छन्।
त्यसैले सामाजिक सञ्जालमा जे देखिन्छ, समाज पनि त्यही हो भनेर नसम्झिनुहोस्! समाज जहिले पनि सामाजिक सञ्जालले देखाएभन्दा फरक हुन्छ, त्योभन्दा मध्यमार्गी हुन्छ, असल र आशावान हुन्छ । मनोवैज्ञानिक ग्रान्टको अध्ययनको निचोड पनि त्यही हो।
कैयौं मानिसले कहिलेकाहीँ आफैले बाँचेको संसारभन्दा पनि सामाजिक सञ्जालले देखाएको संसार पत्याइदिन्छन् । सामाजिक सञ्जालमा लगातार आएका सामग्री आफूले बाँचेको वास्तविकता भन्दा फरक भए पनि त्यो नै सत्य हो कि भन्ने उनीहरूलाई लाग्छ।

