विश्वको एक अहं जनस्वास्थ्यको चुनौती जीवाणुरोधी प्रतिरोधले चिकित्सा क्षेत्रमा दशकौंको प्रगतिलाई कमजोर बनाउँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य अन्तर्राष्ट्रिय संस्थाका अनुसार यसले हाल देखापरेका र भविष्यमा आइपर्न सक्ने कैयौं रोगलाई असाध्य बनाउन सक्छ ।
यो चुनौती नेपालजस्ता देशमा थप जटिल बन्दै छ । किनकि यहाँको स्वास्थ्य सेवा, पूर्वाधार, नियमन, निगरानी प्रणाली र सहकार्यका क्षेत्रमा प्रशस्त सीमितता छन् । यो अवस्थाका विरुद्ध तत्काल कदम नचालिए सन् २०५० सम्म वार्षिक १ करोड मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।
साधारण ब्याक्टेरिया, भाइरस र फंगसले उपलब्ध उपचारमा बढ्दो प्रतिरोध देखाइरहेका छन् । जसले लामो समयसम्म बिरामीलाई अस्पतालमा राख्नुपर्ने, मृत्युदर बढाउने र स्वास्थ्य सेवा खर्च वृद्धिजस्ता चुनौती उत्पन्न गरेका छन् । यो विश्वव्यापी समस्याबारे जनचेतना जगाउन, राज्य र सरोकारवाला निकायलाई यसको न्यूनीकरणतर्फ प्रेरित गर्न डब्लूएचओ र अन्य निकायको संयुक्त पहलमा हरेक वर्ष विशेष अभियान सञ्चालन हुँदै आएको छ । यो वर्ष मंसिर ३ देखि ९ (नोभेम्बर १८–२४) सम्म ‘शिक्षा, पैरवी र अविलम्ब कार्य’ नारा तय गरी अभियान सञ्चालन गरिँदै छ ।
विश्वव्यापी रूपमा स्वास्थ्य सेवा, कृषि र पशुपालनमा जीवाणुरोधी औषधिको अत्यधिक प्रयोग र दुरुपयोगका कारण जीवाणुरोधी प्रतिरोध बढिरहेको छ । यो समस्या धेरै समाज र देशहरूले भोगिरहेका छन् । विकासोन्मुख देश, त्यसमा पनि गरिब, ग्रामीण र पिछडिएका वर्गका मानिसमा यो समस्याको असर अझ बढी पर्न सक्छ । मौन महामारीका रूपमा भित्रभित्र फैलिँदै आएको यस किसिमको विपत्तिबाट कोही पनि सुरक्षित रहन सक्ने छैनन् । हालका वर्षमा फार्मास्युटिकल अनुसन्धान र प्रतिरोधी जीवाणुहरूको विकाससँग मेल खाएको छैन । धेरै देशले एन्टिबायोटिक प्रयोगलाई कडाइ गर्ने नीति विकास गरेका छन् ।
यद्यपि नयाँ एन्टिबायोटिक र अन्य उपचार विकल्पको अभाव गम्भीर चिन्ताको विषय बनेको छ । यसबाहेक, सामाजिक–आर्थिक कारण जीवाणुरोधी प्रतिरोधको तीव्रतालाई बढाइरहेको छ । उच्च आय भएका देशसँग नयाँ उपचार विकास गर्न र परिष्कृत निगरानी प्रणाली कार्यान्वयन गर्ने स्रोतहरू छन् । जबकि नेपालजस्ता कमजोर देशले त्यसविरुद्ध प्रभावकारी सामना गर्न असम्भवप्राय हुँदै गएको छ । त्यसको मुख्य कारण यस्ता छन् :
– अपर्याप्त स्वास्थ्य सेवा पूर्वाधार र कमजोर अर्थव्यवस्थाका कारण सङ्क्रमणको सही निदान र उपचार गर्न असमर्थ भएकाले अत्यधिक रूपमा अनावश्यक रूपमा एन्टिबायोटिकको प्रयोग ।
– एन्टिबायोटिकका असरबारेमा आम मानिसमा पर्याप्त जानकारीको अभावका कारण बिनाचिकित्सकीय सिफारिसमा एन्टिबायोटिकको उपलब्धता ।
– पर्याप्त निगरानी प्रणालीको विकास नभएकाले अन्य समस्याजस्तै प्रतिरोधी जीवाणुको फैलावटलाई बुझ्न र नियन्त्रण गर्न समयसापेक्ष परिपाटी विकास नहुनु ।
– सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक मानिने निर्मलीकरणका विविध गतिविधि पर्याप्त र भरपर्दो हुन नसक्दा सङ्क्रमणको फैलावट अनियन्त्रित हुनु ।
– कतिपय अवस्थामा प्रभावकारी औषधि सबैको पहुँचमा नहुँदा बिरामीले प्रायः कम प्रभावकारी सस्ता एन्टिबायोटिक प्रयोग गर्नु ।
नेपालका लागि एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को सामना गर्नु स्वास्थ्य सेवा प्रणाली र व्यक्तिगत परिवारलाई ठूलो बोझ बन्दै गएको छ । समुदायमा फैलिँदै आएको प्रतिरोधी ब्याक्टेरियल सङ्क्रमणको चुनौतीका कारण जोखिम समूहका व्यक्ति, गरिब र ग्रामीण समुदायका मानिस थप जोखिममा छन् । यसले अधिकांश मानिसको दैनिक रोजीरोटी गुम्न गई अर्थतन्त्रमा नकारात्मक असर पुर्याउन सक्छ । अर्कोतर्फ स्वास्थ्य सेवाको माग र लागत पनि आकासिँदै छ । यस्तो अवस्थामा पनि राज्यले यस क्षेत्रको प्राविधिक र व्यवस्थापकीय सुधारका प्रयास पर्याप्त छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जीवाणुरोधी प्रतिरोध नियन्त्रण कार्ययोजना र कार्यक्रम सुरु गरेको छ । जसको उद्देश्य डब्लूएचओको प्रारूपभित्र रहेर निगरानी प्रणाली सुधार, सचेतना विस्तार र एन्टिबायोटिकको दुरुपयोग न्यूनीकरणकालाई नीति तथा कार्यक्रम बनाइएको छ । स्वास्थ्यकर्मी र समुदायलक्षित अभिमुखीकरण सञ्चालन भएका छन् ।
यद्यपि कार्यान्वयन चुनौतीपूर्ण छ । खुला बजार अर्थतन्त्रसँगै भित्रिएको औषधिको व्यापारीकरणलाई नियमन गर्न राज्य असमर्थ भयो, फलस्वरूप गम्भीर प्रकृतिका प्रतिजैविक औषधिको अवैध कारोबार हुन थाल्यो ।
नेपालले स्वास्थ्य सेवा पूर्वाधारलाई सुदृढ बनाई रोगको निदान क्षमता बढाउनु आवश्यक छ । त्यसका लागि जनता र स्वास्थ्य सेवा प्रदायकमा जीवाणुरोधी प्रतिरोधको शिक्षा र सचेतना अभियान सञ्चालन गर्नुपर्छ । राज्यले मजबुत निगरानी प्रणाली स्थापित गर्नुपर्छ र आवश्यकताका आधारमा राज्यले हस्तक्षेपकारी नीतिसमेत लिनु आवश्यक हुन्छ । त्यसका अलावा स्वास्थ्य संस्था र अन्य निकायमा संक्रमण नियन्त्रणका लागि निर्मलीकरण, सफाइ र सुरक्षामा पर्याप्त सुधार गर्नुपर्छ । विभिन्न निकाय र राष्ट्रबीच प्रभावकारी रूपमा सामना गर्न स्रोत र प्राविधिक साझेदारीको विस्तार गर्नु आवश्यक छ ।
जीवाणुरोधी प्रतिरोधले विश्व स्वास्थ्य समुदायका लागि ठूलो चुनौती खडा गरेको छ । त्यसमा पनि नेपालजस्ता विकासोन्मुख देशहरू यसको गम्भीर परिणाम भोग्न बाध्य छन् । यसलाई समाधान गर्न राष्ट्रिय नीति र कार्ययोजनाका साथै नयाँ जीवाणुरोधी उपचारको पहुँच सुनिश्चित गर्न र राम्रो स्वास्थ्य सेवा पूर्वाधारको विकास गर्न अन्तर्राष्ट्रिय समर्थन चाहिन्छ । नेपालले शिक्षा, नियमन, निगरानी र सहकार्यका माध्यमबाट प्रतिरोधी जीवाणु फैलावटलाई रोक्न र उपलब्ध उपचारको प्रभावकारिता बचाउन सक्छ । भविष्यको गम्भीर जनस्वास्थ्य महामारीको गति रोक्न सरकारले ठोस रूपमा दीर्घकालीन प्रतिबद्धता र समन्वित दृष्टिकोण अवलम्बन गर्नु आवश्यक हुन्छ ।
लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा सहप्राध्यापकका रुपमा कार्यरत छन् ।

