न्यायका मान्य सिद्धान्तहरू छन्, ती सिद्धान्तहरूले के उद्धघोष गर्दछन् ?
पहिलो– न्यायिक स्वतन्त्रता, अक्षुणता, न्यायिक निष्पक्षता, न्यायिक मर्यादा, न्यायिक शुद्धता र स्वच्छता नै न्यायपालिकाको आत्मा हो । यसमा कसैसँग पनि कुनै किसिमको सम्झौता हुन सक्दैन । यसमा कुनै हस्तक्षेप पनि स्वीकार्य छैन । न्यायका कालजयी र शाश्वत यिनै मान्यताका आधारमा अदालतका न्यायिक कामकारबाही र न्याय सम्पादन हुनुपर्छ भन्ने मेरो स्पष्ट दृष्टिकोण रहेको छ ।
दोस्रो– न्यायिक सुधार अपरिहार्य छ । त्यसो त हरेक क्षेत्रमा सुधार अपरिहार्य देखिन्छ । सुधारको कुरामा मैले जोड दिनुपर्ने कारण एउटै मात्र छ, सुधारले विश्वसनीयता जन्माउँछ, बढाउँछ । र, विश्वसनीयताले व्याप्त निराशा र वितृष्णालाई पराजित गर्छ भन्ने मेरो ठम्याइ छ । यो सुधार कसरी गर्न सकिन्छ ? प्रश्न यहीं छ ।
सशक्त र जीवन्त नेतृत्वले सुधार गर्न सक्छ, एक ‘भाइब्रेन्ट नेतृत्व’ ले सुधार गर्न सक्छ । इमान र निष्ठाले पनि सुधार हुन्छ । पवित्रताले ओतप्रोत कठोर प्रतिबद्धताले पनि सुधार गर्न सक्छ । जवाफदेहिता र पारदर्शिताले पनि सुधार हुन्छ । प्रणाली र पद्धतिले पनि सुधार हुन सक्छ । विलक्षण प्रतिभा भएका होनाहार टिम र त्यस्तै वातावरण मिलाई योजनाबद्ध तरिकाले प्रयत्न गर्दा पनि सुधार हुन सक्छ ।
यसरी आ–आफ्नो क्षेत्रमा सुधार गर्न सकियो भने मुलुकले समृद्धिको यात्रा तय गर्नेछ । त्यही समृद्धिको सुगन्धबाट सुशोभित र पल्लवित मुलुकको नागरिक हुनु हाम्रा लागि सौभाग्यको कुरा हुँदैन र ?
न्यायिक क्षेत्रको सुधार अपरिहार्य छ भनेर मैले भनें । राज्यको चौथो अंगको सुधार पनि जरुरी छ । तपाईंले कलमको स्वतन्त्रतालाई दुरुपयोग गर्नु भएको छ कि छैन ? यो विषय म तपाईंहरूलाई नै छाड्छु ।
अर्को महत्त्वपूर्ण विषय छ । संसारको कुनै कुरा बहुमूल्य र किमती छ भने त्यो समय हो । त्यसलाई या त हामीले चिन्न सकेनौं, या त हामीले त्यससँग खेलबाड गरिरहेका छौं । होइन भने देशमा कुनै पनि काम किन समयमा हुन सक्दैन ? समयमा किन सेवा प्रवाह हुन सकिरहेको छैन ? समय गतिशील र बलवान् छ । त्यस्तो समयलाई हामीले चिन्न सकेनौं भने देशले ठूलो मूल्य चुकाउनुपर्छ ।
एउटा प्रसंग यहाँ राखौं । जुनबेला इरानमा राजा पल्हवी थिए । उनलाई देशनिकाला गरियो । उनको मार्मिक भनाइ थियो– ‘जुन समयमा म इरानमा थिएँ, मैले इरानलाई बुझिनँ । आज मैले इरानलाई बुझेको छु तर म इरानमा छैन ।’ समयमै काम गरिएन भने इरानको राजाको जस्तै पश्चाताप मात्रै बाँकी रहन्छ । भोलिको सन्ततिको श्राप नलागोस् भनेर हामीले समयलाई चिन्नैपर्ने भएको छ । समयको वेगसँगै हामीलाई लैजानुपर्ने भएको छ । अहिले एआईको युग छ । केही समयअघि भएको प्रधानन्यायाधीशहरूको सम्मेलनमा चीनका प्रधानन्यायाधीश भन्दै हुनुहुन्थ्यो– प्रविधिका सामग्री एक देशमा निर्माण हुने, अर्कोमा एसेम्बल हुने, अझ अर्कैमा प्रयोग हुने हुन्छ । केही कारबाही गर्न परे कस्तो क्षेत्राधिकार हुने, कसले अनुसन्धान गर्ने भन्ने नै समस्या बनेको छ । यस सन्दर्भमा कानुनको शासन र प्रविधिमा केही दूरी रहन गएको देखिन्छ । हामीले कानुनबमोजिम नै न्याय गर्नुपर्ने कुरा प्रविधिको हकमा पनि लागू हुन्छ । तर प्रविधिले आफ्नो साम्राज्य यसरी खडा गरेको छ कि कुनै पनि कुरा टिक्दैन जस्तो भइसकेको छ ।
अब मलाई लोकतन्त्रका बारेमा पनि केही भन्न मन छ । लोकतन्त्रसँग धेरै कुरा जोडिएको हुन्छ । राजनीति र भूराजनीतिमा छलफल गर्न मेरो न्यायिक मर्यादाले मलाई छुट दिँदैन । तर लोकतन्त्र र न्यायपालिकासँग जोडिएका कुरा म यहाँ राख्न चाहन्छु ।
न्यायपालिका लोकतन्त्रको आधार स्तम्भ हो । मैले यसरी नै बुझेको छु । लोकतन्त्रको सुन्दरता भनेको नै यही हो कि यसले असहमतिलाई सहजताका साथ आत्मसात् र सम्प्रेषण गर्दछ । गम्भीर असहमति र मतभेदहरूलाई पनि यसले सम्हाल्छ, समेट्छ र सम्बोधन गर्दछ । असहमतिलाई सहमतिमा बदल्ने विलक्षण गुण पनि लोकतन्त्रमै छ । अन्य कुनै पनि राजनीतिक प्रणालीमा देखिँदैन । त्यसैले लोकतन्त्रको यो सुन्दरता अपरम्पार छ ।
म आफू पनि ‘लिबरल डेमोक्रेसी’ का मूल्यमा विश्वास गर्ने मान्छे हुँ । मेरो बुझाइमा लोकतन्त्र संस्कार, सभ्यता, सहिष्णुता, आदर्श र असल अभ्यासले सधैं सिञ्चित गर्नुपर्छ । के त्यो सामर्थ्य हामीले बनाएका छौं ? जानी नजानी लोकतन्त्रको मर्मलाई तेजोबध त गरेका छैनौं ? यसको मूल स्वरूपलाई नै बिगारेका त छैनौं ? कतै लोकतन्त्रमाथि नै अन्याय त गरेका छैनौं ? लोकतन्त्रलाई सुसंस्कृत ढंगले बुझ्न सकिएन भने नि:सन्देह यसले ‘रिटालिएट’ पनि गर्न सक्छ । त्यो निकै कष्टकर बाटोको सुरुवात हुनेछ ।
‘रुल अफ ल’ को पनि कुरा गर्नुपर्ने छ । मुलुक संविधान र कानुनले शासित हुनुपर्दछ । कानुनको शासन नभएको मुलुकले समृद्धि प्राप्त गर्न सक्दैन । यदि हामीले समृद्धिको शिखर चुम्नु छ भने कानुनको शासनलाई नै स्वीकार गर्नुपर्दछ । कानुनको शासन मान्नलाई पहिला त कानुनकै पालना हुनुपर्छ । सम्मान हुनुपर्छ । सबै क्षेत्र र तहबाट हामीले कानुनको सम्मान र पालना गरेका छौं ?
काम त सबैले आ–आफ्नो गर्नुपर्छ । साँच्चिकै काम गरेको भए देश नबन्ने कुरै थिएन । हाम्रो देश हामीले काम गरेर नबनेको कि नगरेर नबनेको ? प्रश्न यहाँनेर छ । हामीले आफू काम नगर्नासाथ अरूलाई ‘ब्लेम’ गर्नर् ेसंस्कृति नै बनायौं । यो ‘ब्लेमिङ कल्चर’ बाट हामी कहिले मुक्त हुने ? आफ्नो काम सबैले गर्नुपर्दछ । हाम्रो स्वभाव र चरित्र बदल्न खोजेनौं भने समाज बदल्न सक्दैनौं । जति सक्दो चाँडो यस्तो संस्कृतिलाई बिदाइ गर्नुपर्दछ ।
बौद्धिक छलफलहरू धेरै भयो, अहोरात्र छलफलहरू भयो । तर, परिणाम आएन । यसको जिम्मा कसले लिने ? तर न्यायपालिकाको जिम्माचाहिँ म प्रकाशमान सिंह राउतले लिन्छु । यो मेरो नैतिक जिम्मेवारीभित्र पर्छ । यसका निम्ति म बेचिन्नँ र मलाई कसैले किन्न सक्दैन । म यसैगरी न्यायिक मर्यादा कायम राख्दछु । मेरो जति समय छ, त्यसलाई मैले यिनै कालजयी मान्यताबाट नै न्यायालयको शिर नझुक्ने गरी व्यतित गर्नेछु । तर एउटा क्षेत्र मात्रै सुधार गर्न खोजेर नहोला । अन्तको बाछिटा पनि आउला । राज्यको चौथो अंगको जिम्मा कसले लिन्छ ? अरू क्षेत्रको जिम्मा कसले लिन्छ ? अरूले जिम्मा लिने नलिने कुरा मसँग धेरै सरोकार राख्दैन तर मेरो ठाउँको जिम्माचाहिँ म लिन्छु ।
मुलुकले के खोजेको हो ? खालि बौद्धिक छलफल खोजेको होइन । परिणाम खोजेको हो । परिणाम दिएपछि विश्वास जन्मिन्छ । त्यो विश्वास कसरी आउँछ ? हाम्रा सुकर्म र सत्प्रयासहरूबाट आउँछ । हामी परिणाममुखी हुनुपर्छ । होइन भने निराशा र वितृष्णामाथि विजय पाउन सक्दैनौं । अब हामीले परिणाममुखी र कार्यमुखी भएर काम गर्नुपर्छ ।
हामीले सहीलाई सही र गलतलाई गलत भन्न सकेका छौं कि छैनौं ? प्रचुर निष्ठा र नैतिकता भएन भने गलतलाई गलत र सहीलाई सही भन्ने सामर्थ्य कसैले राख्दैन । आज गलतलाई गलत भन्न सक्ने सामर्थ्य पनि मानिसले गुमाए जस्तो लाग्छ । त्यो सामर्थ्य गुम्यो भने दुर्भाग्यको शृंखला कहिल्यै रोकिँदैन । यसले जहिल्यै निरन्तरता पाइराख्दछ । र, आफ्नो समय र कालखण्डमा त्यो भन्न सक्नुपर्दछ । तसर्थ अब ढिलाइ नगरी सत्यको वकालत गर्ने समय आएको छ ।
(कान्तिपुर कन्क्लेभ– २०२४ मा प्रधानन्यायाधीश राउतले दिएको उद्घाटन मन्तव्यको सम्पादित अंश)

