काठमाडौँ,राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार प्रति वर्ष ४१ हजार ५०० बढी क्षयरोगी उपचारको दायरामा नआएको पाइएको छ ।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण, २०७४/७५ ले नेपालमा वार्षिक रुपमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोग बिरामी हुने र नयाँ क्षयरोगका बिरामीहरु वार्षिक रुपमा ६९ हजार थपिनुका साथै १६ हजार जनाको मृत्यु हुने अनुमान गरेको छ ।जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला बिरामी र करिब ७ प्रतिशत बालबालिकाहरु रहेका छन् ।
गत आ.व. २०७७/७८ को तथ्याङ्क हेर्दा नेपालमा २८ हजार ६७७ जना क्षयरोगका बिरामीहरु उपचारमा दर्ता भएका छन् । नेपालमा विभिन्न रोगबाट मृत्यु हुनेमा शिर्ष १० स्थानमा क्षयरोग पनि पर्दछ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा ती हजारौँ व्यक्तिको रोग पत्ता लगाइ उपचारको दायरामा ल्याउनु चुनौतीको रुपमा रहेको बताए ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९ लाख मानिसहरु क्षयरोगबाट पिडित भएका थिए जसमा ५५ लाख पुरुष ३३ लाख महिला र ११ लाख बच्चाहरु थिए । विश्वको आँकडा वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान गरिएको छ जबकि क्षयरोग नियमित उपचारले निको हुने रोग हो ।विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि औषधी प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूची सार्वजनिक गरेकोमा नेपाल पनि समावेश भएको छ । औषधी प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा दुई हजार दुईसय छ । जुन संख्या जनसंख्याको अनुपातमा हेर्दा अत्यन्त धेरै हो ।
क्षयरोग केन्द्रका अनुसार आ.व. २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधी प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४१८ जना उपचारमा दर्ता भएका थिए ।
सामाजिक लाञ्छनाको डर, भेदभाव, जनचेतनाको कमीले समुदायमा अझै पनि क्षयरोगको बारेमा पर्याप्त जानकारी नपुगेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. राजेश सामबाजीरावले करिब ५० प्रतिशत केशहरु अझै उपचारको दायारमा नआएको बताउदै क्षयरोग पहिचान गर्नको लागि लगानी गर्नुपर्ने, प्रभावित व्यक्तिहरुको सशक्तिकरण गर्नुपर्ने, क्षयरोग सेवाको पहुँच बढाउने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले समुदायमा लुकेर रहेका क्षयरोगीका केश पहिचान गर्न चुनौती रहेको बताए ।
क्षयरोग एक बेसिलस माइक्रोबैक्टेरियमबाट लाग्ने संक्रामक रोग हो। यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ साथै अन्य अंगहरुलाई पनि असर पार्न सक्छ । यो रोग टीबीका संक्रमितले स्वाँस फेर्दा हावाबाट फैलिन्छ जस्तै खकारको छिटाहरुबाट फैलिन सक्छ । क्षयरोग महिलामाभन्दा पुरुषमा बढी मात्रामा व्याप्त छ जसमा आर्थिक रुपमा क्रियाशील उमेरसमूहका वयस्क मानिस पर्दछन् ।
२ हप्ता वा सो भन्दा बढी समयसम्म खोकी लागीराख्नु, साँझपख ज्वरो आउनु, तौल घट्दै जानु, खकारमा कहिलेकाहीँ रगत देखा पर्नु र खाना खान मन नलाग्नु आदि क्षयरोगका लक्षण हुन सक्छन् ।

