राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छोटो समयमै राष्ट्रिय दल बन्न सफल भयो। यद्यपि दल गठन भएको एक वर्ष नपुग्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई अगाडि सारेको यो दल विभिन्न विवादमा पनि परेको छ।
१.२.रवि लामिछाने जोडिएको ठेक्का
रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा स्वीकृत गरिएको एउटा कार्यविधीले नेपाली नागरिकका संवेदनशील सूचनामा विदेशी कम्पनीको एजेन्ट रहेको एक निजी नेपाली कम्पनीको पहुँच हुनेगरी ठेक्का दिइएको समाचार प्रकाशित गरेको छ।
गत पुसमा एक महिना गृहमन्त्री भएका लामिछानेको कार्यकालमा राष्ट्रिय परिचयपत्रमा रहेका विवरण रुजु गर्ने अधिकार निजी कम्पनीलाई दिने निर्णय भएको समाचारमा उल्लेख छ। ठेक्काका लागि प्रचलित नियमविपरीत सात दिनको मात्रै समय दिइएको विषयमा समेत मन्त्रालयको निर्णयमा प्रश्न उठाइएको छ।
२.ढाकाकुमार श्रेष्ठ टेप प्रकरण
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको आवाज भनिएको अडिओमा आफू “स्वास्थ्य =मन्त्री बन्ने” र सहयोगको गुन तिर्न “काम गरिदिने” आश्वासन दिँदै एक मेडिकल व्यवसायीसँग पैसा मागेको घटना सार्वजनिक भएपछि श्रेष्ठलाई बुधवार पार्टीले निष्कासन गर्यो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग गरिएको उक्त वार्तालाप आफैँले रेकर्ड गरेको प्रसाईँले बताएका छन्। अडिओ सुन्दा गत माघ महिनामा पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा स्वास्थ्यमन्त्री बन्ने अभ्यासमा लागेका व्यक्तिले प्रसाईँसँग आर्थिक सहयोग खोजेको जस्तो सुनिन्छ।रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा आफ्नो दलले शून्य सहनशीलताको नीति अपनाउने अठोट लिँदै उनलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिए।
३.रवि लामिछानेको राहदानी विवाद
रास्वपाका सभापति रवि लामिछाने आफैँ भने नेपालको राहदानी दुरुपयोगको आरोप खेपिरहेका छन्।
लामो समय अमेरिका बसेका रवि लामिछानेले अमेरिकी नागरिकता र राहदानी पनि लिएका थिए।
नेपाल फर्किएको केही समयपछि अमेरिकी नागरिकता र राहदानी त्याग गरे तापनि उनले केही समय दोहोरो राहदानी लिएको र प्रयोग समेत गरेको आरोप लाग्दै आएको छ।
यसबारे परेको उजुरीमा मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ।
लामिछानेले भने एकै समयमा दोहोरो राहदानी प्रयोग नगरेको दाबी गर्दै आफ्नो नेपाली राहदानी पनि सरकारलाई फिर्ता दिएका छन्।
नेपालको कानुनले दोहोरो राहदानी प्रयोगमा रोक लगाएको छ।
४.रवि लामिछानेविरुद्ध लागेको नागरिकता मुद्दा
विदेशी नागरिकता लिएपछि नेपालको कानुनअनुसार स्वतः खारेज हुने नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको मुद्दामा रवि लामिछानेले गत माघमा गृहमन्त्री र सांसद पद नै गुमाए। अदालतबाट फैसला भएको केही दिनभित्रै प्रक्रिया पूरा गरेर उनले नेपाली नागरिकता लिएका थिए। सर्वोच्च अदालतमा पुगेको मुद्दामा लामिछानेले खारेज भइसकेको नागरिकता देखाएर निर्वाचन आयोगमा दल दर्ता गरेको भन्ने आरोप लगाइएको थियो।
गत मङ्सिर ४ मा भएको आम निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि लामिछानेविरुद्ध सुरुमा निर्वाचन आयोगमा उजुरी पर्यो। तर उजुरीबारे अनुसन्धान नसकिँदै निर्वाचन परिणाम आइसकेपछि आयोगले नागरिकता छानबिन आफ्नो क्षेत्राधिकार नरहेको बतायो।अदालतमा पुगेको नागरिकता मुद्दामा फैसला हुनुअघिनै लामिछाने गृहमन्त्री बने । तर अदालतले उनले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि उनले गृहमन्त्रीबाट पनि राजीनामा दिए। फेरि विधिवत् नेपाली नागरिकता प्राप्त गरेपछि लामिछाने वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ बाट पुनः उम्मेदवार बने।
५. मन्त्री छनोटको विवाद
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पहिलो पटक सहभागी भएको यो दलको मन्त्री छनोट पनि विवादित बनेको थियो।
श्रममन्त्रीमा नियुक्त गरिएका डोलप्रसाद अर्याल आफैँ वैदेशिक रोजगारसम्बन्धी म्यानपावरको व्यवस्थापनमा रहेको विवरण सार्वजनिक भएका थिए। तर अर्यालले आफूले उक्त कम्पनी छोडिसकेको स्पष्टीकरण दिएका थिए।
“साथीहरूले एउटा कम्पनीमा ‘सल्लाहकारमा राख्यौँ है’ भनेर ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले। तर त्यो वा कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेअर न स्यालरी,” आफ्नो नियुक्तिबारे प्रश्न उठेपछि स्पष्टीकरण दिँदै अर्यालले भनेका थिए।
६.राज्यमन्त्रीको असावधानी
राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोसिमा कार्की आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई भेट्न अस्पताल पुगेकी थिइन्।
तर आफैँ चिकित्सक समेत रहेकी कार्कीले उपचारमा रहेका बिरामीलाई भेट्दा सावधानीका मापदण्ड पूरा नगरेको र भिडिओ सामाजिक सञ्जालमा हालेर प्रचार गरेको भन्दै उनको आलोचना भएको थियो। कार्कीले त्यसबारेमा आफ्नो लामो स्पष्टीकरण दिएकी थिइन्। आफू भित्रको संवेदनशीलताका कारण सघन उपचार कक्षमा प्रवेश गरेर ढाडस दिएको भन्दै उनले फेसबुकमा लेखेकी थिइन्, “त्यहाँ भित्र को कसलाई छिर्न दिइयो, को को छिर्यो, को छिरेन, को बिरामीको अभिभावक, को मिडिया थियो – हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडिओ खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौँ।”
७.समानुपातिक सांसद छनोट विवाद
समानुपातिकतर्फ १४ सीटसहित प्रतिनिधिसभामा २० सीट जितेको रास्वपाको समानुपातिक सांसद छनोट भने विवादरहित रहेन।
पार्टी सदस्यको प्रत्यक्ष मतदानबाट सांसदका उम्मेदवार छनोट गर्ने अभ्यास गरेको यो दलले समानुपातिक तर्फको बन्द सूचीमा रहेकामध्येबाट समावेशी सांसद छनोटमा भने यो विधि अपनाएन।
सांसद छनोटमा विधि मिचिएको भन्दै समानुपातिक बन्दसूचीमा रहेका पार्टीका उम्मेदवार गणेश कार्कीले पार्टीमा “आफ्नालाई काखी च्यापिएको” आरोप लगाएका थिए। बुधवार रास्वपाले ढाकाकुमार श्रेष्ठको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेपछि बन्दसूचीमा जनजाति समूहमै पुरुषतर्फ दोस्रो नम्बरमा रहेका अर्का नेता मेघबहादुर आलेले असन्तुष्टि व्यक्त गरिसकेका छन्।

