काठमाडौं, नेपाल मिडिया सोसाइटीले पत्रकारहरूका लागि आर्थिक प्याकेज घोषणा गरिसकेपछि नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स्विरुद्ध आन्दोलन थाल्नु रहस्यपूर्ण भएको बताएको छ ।
सोसाइटीले बुधबार विज्ञप्ति जारी गर्दै त्यस प्रकारका गैरव्यावसायिक क्रियाकलापमा नउत्रिन महासंघको ध्यानाकर्षण गराएको छ । कान्तिपुरभित्रको समस्यालाई जबर्जस्ती विवादको विषय बनाएर महासंघले मिडिया उद्योगकै हुर्मत काढ्ने घटना गराएको भन्दै सोसाइटीले क्षोभ प्रकट गरेको छ ।
पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले व्यवस्थापनसँग सहमति गरी आर्थिक प्याकेजहरू घोषणा भइसकेको सन्दर्भमा महासंघको केन्द्रीय नेतृत्वले कान्तिपुरविरुद्ध आन्दोलन थालेपछि सोसाइटीले त्यसमा चासो प्रकट गरेको हो । ‘केही समयदेखि देशको एक महत्त्वपूर्ण अग्रणी मिडिया संस्था कान्तिपुर पब्लिकेशन्स्भित्रको समस्यालाई जबर्जस्ती विवादको विषय बनाएर मिडिया उद्योगकै हुर्मत काढ्ने घटनाको पटाक्षेप भएकोप्रति नेपाल मिडिया सोसाइटी गम्भीर क्षोभ प्रकट गर्दछ,’ सोसाइटीद्वारा जारी विज्ञप्तिमा छ, ‘त्यस प्रकारका गैरव्यावसायिक क्रियाकलापमा नउत्रिन नेपाल पत्रकार महासंघको जिम्मेवार नेतृत्वलाई हार्दिक अनुरोध गर्दछौं ।’
‘नेपाल पत्रकार मसहांघको केन्द्रको नाममा मिडिया हाउसलाई चेतावनी दिने तथा आफ्नो प्रतिष्ठान शाखाको निर्णय अवज्ञा गरेर जसरी पनि भिडन्तको अवस्था सिर्जना गर्ने क्रियाकलापले हामीलाई स्तब्ध पारेको छ,’ सोसाइटीले भनेको छ, ‘पछिल्लो समय भ्रष्टाचार, व्यथिति, संगठित तस्करीलगायतका राज्य तथा शक्ति संरक्षित बेइमानीविरुद्ध र सुशासन तथा पारदर्शिताको पक्षमा कान्तिपुरलगायत नेपाली सञ्चारगृहले गरेको पैरवीबाट धेरै थरी शक्ति केन्द्रहरू तिलमिलाउन पुगेका छन् ।’ सामाजिक सञ्जालको बलमा मूलप्रवाहको मिडिया ध्वस्त पार्ने प्रत्यक्ष/अप्रत्यक्ष चेतावनीसमेत दिँदै आएका बेलामा कान्तिपुरभित्रको विषयलाई अनावश्यक रूपमा उछालेर आन्दोलनको घोषणाले फरक ढंगले सोच्नुपर्ने अवस्था सिर्जना भएको सोसाइटीले उल्लेख गरेको छ । कान्तिपुर व्यवस्थापन र प्रतिष्ठान शाखाबीच वार्ता सुरु भएपछि यसलाई बिथोल्न विभिन्न स्वार्थ समूहहरू सुरुदेखि नै सक्रिय रहेका घटना सार्वजनिक भएको उल्लेख गर्दै सोसाइटीले कान्तिपुर व्यवस्थापन र प्रतिष्ठान शाखा दुवै पक्षको अधिकतम सुझबुझले असोज २८ मा ७ बुँदे लिखित सहमति भएको घटनालाई एक उन्नत र सकारात्मक पहल ठानेको छ । सहमतिअनुसार कान्तिपुरले १० वर्ष, २० वर्ष र २० वर्षभन्दा माथि सेवा गरेका पत्रकारहरूका लागि तीन समूह बनाएर आर्थिक प्याकेज घोषणा गर्दै स्वैच्छिक अवकाशमा जान आह्वान गरेको छ । ‘पछिल्लो विकसित संकटपूर्ण अवस्थामा सञ्चार उद्योगको निरन्तरताका लागि यसो गर्नुको कुनै पनि विकल्प छैन,’ विज्ञप्तिमा छ, ‘व्यवस्थापन र पत्रकार महासंघबीच सहमति भएको अर्को दिन नै नेपाल पत्रकार महासंघको केन्द्रको नाममा मिडिया हाउसलाई चेतावनी दिने तथा आफ्नो प्रतिष्ठान शाखाको निर्णय अवज्ञा गरेर जसरी पनि भिडन्तको अवस्था सिर्जना गर्ने क्रियाकलापले स्तब्ध पारेको छ ।’
कान्तिपुर व्यवस्थापनले लिएका कुनै पनि कदमका विषयमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार अभ्यास गर्ने अधिकार सुरक्षित नै रहेको स्मरण सोसाइटीले पनि गराएको छ । सोसाइटीका अनुसार मिडिया क्षेत्रको रुग्णताले लगानी, रोजगारी र समाचार तथा विचार स्वतन्त्रतालाई समेत एकै पटक गम्भीर प्रभाव पारेको छ । ‘मिडियाको लगानी असुरक्षित मात्र होइन, लोकतन्त्रको पहरेदार मानिने मिडिया संस्था नै रहने कि नरहने भन्ने गम्भीर चुनौतीको सामना गर्नुपरिरहेको छ,’ सोसाइटीले भनेको छ ।
शाखासँग माग्यो महासंघले स्पष्टीकरण
नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपमा भइरहेको आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ ।
‘महासंघले कान्तिपुरमा भएको श्रम आन्दोलनलाई थप सशक्त बनाउँदै वार्ता र संवादको विकल्पलाई समेत खुला राखेको प्रस्ट पार्न चाहन्छ,’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै महासंघ कान्तिपुर दैनिक प्रतिष्ठान शाखाको नाममा आएको प्रेस विज्ञप्ति र समाचारका विषयमा ध्यानाकर्षण भएको जनाइएको छ । कान्तिपुर प्रतिष्ठानमा पत्रकारमाथि भएको कारबाही तत्काल फिर्ता, कान्तिपुरमा कार्यरत पत्रकार तथा कर्मचारीलाई श्रमजीवी पत्रकार ऐनअनुसार न्यूनतम पारिश्रमिक तथा सेवासुविधा, रोकिएको पारिश्रमिक र दसैंभत्ता तत्काल भुक्तानी, वार्ता र संवादमार्फत सबै समस्याको समाधानमा चासो रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘व्यवस्थापनका प्रतिनिधिहरूसँग महासंघले यी विषयमा छलफल गरिरहँदा महासंघ शाखाको लेटरहेड प्रयोग गरी महासंघकै विरुद्ध वक्तव्य आएकाले यसलाई महासंघले श्रमजीवी पत्रकारहरूले उठाएका जायज मागहरूलाई विषयान्तर गर्ने गम्भीर षड्यन्त्रका रूपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको हितमा गरिरहेका संघर्षका कार्यक्रम र आन्दोलन कान्तिपुर मिडिया ग्रुपसहित नेपालका सम्पूर्ण सञ्चार प्रतिष्ठानहरू जोगाउने अभियान पनि हो । तर कानुन पालना गर्न गरिएको आग्रहलाई एउटा निश्चित मिडिया हाउसविरुद्ध ‘राजनीतिक प्रतिशोध र योजनाबद्ध प्रहार’ का रूपमा व्याख्या गरेर कान्तिपुरले श्रमजीवी पत्रकारहरूको संस्था पत्रकार महासंघलाई लाञ्छित गरेको छ ।’

