केही समययता नेपालमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण भइरहेका छन् । यस्ता घटनालाई मानवशास्त्रीय रूपमा कसरी बुझ्न सकिन्छ ? के यिनलाई नियन्त्रण वा सम्बोधन गर्न सकिन्छ ? सक्ने भए कसरी ?
यस्ता समस्याको समाधान कानुनी, सुरक्षात्मक र प्रशासनिक उपायमा मात्रै सीमित छैन; यसलाई चिकित्सा शिक्षा, देशको कानुन परिपालनको अवस्था, बिरामीबाट स्वास्थ्य सेवाग्राहीका रूपमा बदलिँदै गरेको अवस्था लगायत समग्रतामा बुझ्नुपर्छ । कुनै एक पक्षलाई मात्रै दोषी ठहर्याउनेभन्दा पनि भविष्यमा बिरामी र स्वास्थ्यकर्मीबीचको सम्बन्ध र उपचारको प्रक्रियालाई कसरी सौहार्दपूर्ण बनाउन सकिन्छ भन्नेबारे यो लेख केन्द्रित रहनेछ ।
धेरैजसो आक्रमण बिरामीको मृत्यु वा उपचारका क्रममा अन्य अनपेक्षित परिणाम (साइड इफेक्ट) आएपछि भएको देखिन्छ । बिरामी पक्षले धेरैजसो उपचारको विधि या त्यसको परिणामलाई लिएर आरोप लगाउने गरेको छ । के बिर्सनु हुन्न भने, उपचार परिणामको मूल्यांकन तथा त्यसमाथिको प्रतिक्रिया दुवै उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।
सुरुमा उपचारको परिणामप्रतिको मूल्यांकनबारे कुरा गरौं । पश्चिमा जगत बाट विस्तार गरिएको चिकित्सा पद्धतिलाई अन्य उपचारका विधिभन्दा उत्कृष्ट भएको मान्यता अहिले प्रायः देशमा स्थापित छ । रोग पहिचान र उपचार विधिमा प्राप्त सफलता नै त्यस्तो दाबीको म्ख्यु आधार हो । रोग पहिचानको क्षमता र यथोचित उपचारको उपाय छिटै अवलम्बन गरिने भएकाले नै यो पद्धतिले अरूभन्दा व्यापक, सर्वस्वीकार्य र राज्यको तहमा पनि झन्डै एकलौटी रूपमा स्रोत र साधनको उपयोग गर्न पाएको देखिन्छ ।
अधिकांश आक्रमण यही आधुनिक चिकित्सा पद्धतिमा आधारित संस्था र चिकित्सकमाथि भएका छन् । यो ज्यादती किन बढ्दै छ भन्ने त छँदै छ, यसलाई अर्को कोणबाट हेर्दा फरक दृश्यसमेत देखिन्छ । बिरामी र सेवाग्राही जता बढी जान्छन्, असन्तुष्टि–सन्तुष्टिको मात्रा स्वाभाविक रूपमा त्यतै ज्यादा हुने भैहाल्यो । सेवाग्राहीहरूको सन्तुष्टि त व्यक्तिगत रूपमा मात्रै होला, तर असन्तुष्टि भौतिक आक्रमणका रूपमा सार्वजनिक भइरहेको छ ।
आधुनिक चिकित्सा पद्धति यसरी आक्रमणको तारो नै बन्नुको कारणचाहिँ बिरामी पक्षको अपेक्षा धेरै भएर पनि हो । वैज्ञानिक निदान र उपचार पद्धति, दक्ष चिकित्सक तथा सुविधासम्पन्न अस्पतालमध्ये सबै वा केही विशेषता भएको ठाउँमा उपचार गर्न जाने बिरामीको आशा निको भएर घर फर्कन सकिन्छ भन्ने नै हुन्छ । लामो लाइन लागेर र पालो कुरेर जँचाएको चिकित्सक, विभिन्न औषधि र उपचार प्रक्रियाका कारण निको हुने अपेक्षालाई स्वाभाविक रूपमा लिइएको हुन्छ, जसका लागि बिरामी पक्षले पैसा तिरेको हुन्छ । जब स्वाभाविक ठानिएका उपचारका अपेक्षा आंशिक वा पूर्ण रूपमा पूरा हुँदैनन्, त्यसपछि भौतिक आक्रमण भएको देखिन्छ ।
हार्वर्ड विश्वविद्यालयका चिकित्सा मानवशास्त्रका प्राध्यापक आर्थर क्लाइन्म्यनका अनुसार, आधुनिक चिकित्सा पद्धतिका दुई महत्त्वपूर्ण पक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामी पक्ष फरक–फरक दृष्टिकोणका आधारमा रोगको कारण, निदान र उपचारको उपाय हुन्छ भन्ने ज्ञान र विश्वास बोकेर बसेका हुन्छन् । यस्ता फरक विश्वदृष्टि बोक्ने व्यक्तिहरूको विचार त्यति बेला छरपस्ट हुन्छ जब उपचारको अपेक्षित नतिजा आउँदैन । त्यसो भए के यी दुई थरीको फरक बुझाइ र त्यसबाट उत्पन्न हुन सक्ने दुस्परिणामलाई स्वाभाविक रूपमा मात्रै लिने त ? के त्यसलाई सम्बोधन गर्न सकिँंदैन ?
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उपचार विधिको सीमा र सम्भावित जोखिमबारे बिरामी पक्षलाई स्पष्ट रूपमा बुझाउन सक्नुलाई आफ्नो महत्त्वपूर्ण सीप मान्नुपर्छ । तर, उपलब्ध निदानको रिपोर्ट र चिकित्सकको आआफ्नो समूहको ज्ञान तथा अनुभवका आधारमा छनोट गरिएको उपचार विधि अन्तिम र शाश्वत सत्य होइन भनेर आफूले पनि स्वीकार गर्ने तथा बिरामी पक्षलाई पनि बुझाउन सक्नुपर्ने देखिन्छ । यति भए मात्र बिरामीको अपेक्षालाई ‘साइज’ मा राख्न सकिन्छ । चिकित्सकहरूले मात्रै होइन, सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका कर्मचारीहरूले बिरामी पक्षसँग जानकारी लिँदा–दिँदा स्पष्टसँग र अनावश्यक अपेक्षा नबढ्ने गरी विचारको सम्प्रेषण हुनु जरुरी छ । धेरैजसो आक्रमण चिकित्सकमाथि भए पनि गहिरिएर अध्ययन गर्ने हो भने कारणचाहिँ स्वास्थ्य संस्थाका अन्य विभिन्न व्यक्ति, पक्ष र प्रक्रियासँग जोडिएको पनि हुन सक्छ ।
अपेक्षित परिणाम नआउँदा बिरामी पक्षले कहिलेकाहीँ डाक्टरको क्षमता र ज्ञानमाथि नै प्रश्न उठाएको पाइन्छ, जसका बारेमा सजिलै सत्यतथ्य पत्ता लगाउन सकिन्छ । तर, धेरै आरोपचाहिँ बिरामीको बेलैमा र उपयुक्त विधिबाट उपचार नगरिएको भन्ने खालकै हुन्छन् । कहिलेकाहीँ सरकारी अस्पतालहरूमा बिरामीको जरुरी अवस्थाप्रति संवेदनशील भएर ध्यान नदिइएको पाइन्छ । अर्कातिर, आफूले उपचार गर्न नसक्ने हो भनी पहिल्यै थाहा हुँदाहुँदै बिरामीको उपचार हुन सक्ने अमूल्य समय अनावश्यक रूपमा खपत गर्नु कानुनी, नैतिक र मानवीय कुनै पनि दृष्टिले उपयुक्त देखिँदैन । तर, सधैं चिकित्सकलाई आफूले नै उपचार गर्न सक्छु कि सक्दिनँ भन्ने थाहा नहुन पनि सक्छ । यस्तो अवस्थामा बिरामी पक्षको विश्वास जित्ने गरी उपचारको प्रयास गर्नु र गरेको हो भन्ने कुरा उनीहरूलाई राम्ररी जानकारी दिनुपर्छ ।
अहिलेको अवस्थामा बिरामी र चिकित्सकबीच आपसी विश्वास कम हुँदै गएको छ । एक थरी भौतिक आक्रमणमा उत्रने गरेका छन् भने अर्का थरी सुरक्षाको प्रत्याभूतिका लागि स्वास्थ्य सेवा नै बन्द गरेर सडकमा आएका छन् । यी दुईबीच विश्वासको पुनःस्थापना सबैभन्दा महत्त्वपूर्ण हो । विश्वासमा संकट ल्याउने एउटा प्रमुख कारण चिकित्सकहरूको पैसामुखी प्रवृत्ति हो भन्ने आरोप पनि बिरामी पक्षले लगाउने गरेको छ । स्वास्थ्य सेवा बजारबाट बढी निर्देशित हुँदै जाँदा चिकित्सकहरूले पनि बिरामीसँगको सम्बन्धमा त्यसको असर कत्तिको पर्ला भनी हेक्का राख्नुपर्छ । स्वास्थ्य सेवा बजारमा खरिद गरिने वस्तुझैं भएको छ र यो कुरा खरिदकर्ताले राम्ररी बुझेका छन् । उनीहरू त्यस अनुरूपकै सम्मान चाहन्छन् । अब चिकित्सकले उपचारको कुनै पनि कुरा बिरामीलाई पूर्ण रूपमा जानकारी नगराई सुख छैन । स्वास्थ्य सेवाको बजारमा अब बिरामी राजा हो, उसको यथोचित सम्मान हुनुपर्छ । आफ्नो रोग र उपचारबारे जान्न पाउने उसको अधिकार सुरक्षित र सम्मानित हुनुपर्दछ ।
बिरामी पक्षलाई उनीहरूको कुरा सुनिएको छ र उपचार प्रक्रिया पनि सही अवलम्बन गरिएको छ भन्ने अनुभूति गराउन अत्यावश्यक छ । धेरै ठाउँमा आक्रमणको कारण खोतल्दा यस्तो नभएको बुझाइ रहेको पाइएको छ । चिकित्सकहरूले रोगको निदानको प्रक्रियाको मात्रै होइन, आधुनिक चिकित्सा प्रणालीको सीमालाई पनि ध्यानमा राख्दै बिरामी पक्षको संवेदनालाई ख्याल गर्नुपर्दछ । चिकित्सा विज्ञानको सीमालाई जति आत्मसात् गर्न सक्यो, सेवाप्रदायकहरूमा विनयशीलताले त्यति नै बढी ठाउँ पाउँछ ।
चिकित्सकीय लापरबाही अनिच्छित रहे पनि कहिलेकाहीँ अनपेक्षित रूपमा हुन सक्छ । त्यस्तो अवस्थामा सेवाग्राहीलाई भएको क्षतिमध्ये जीवनकै नसके पनि आर्थिक, सामाजिक तथा न्यायिक रूपमा परिपूरण गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा शीघ्र, उचित, सही छानबिन भई दोषीमाथि यथेष्ट कारबाही हुन सक्छ भन्ने विश्वास अहिले बिरामी पक्ष र सेवाग्राहीमा डगमगाएको पाइएको छ, जसले गर्दा आफूलाई पीडित ठानेको पक्षले कानुन हातमा लिने अवस्था आएको देखिन्छ । पीडितको अवस्था जाँचबुझ र न्याय प्रदानमा संलग्न हुने सबै न्यायिक, अर्धन्यायिक तथा अन्य निकायले आफ्नो काम यथाशीघ्र निष्पक्ष रूपमा गरेमा यस्तो दुःखद् अवस्था पक्कै आउन पाउँदैन । त्यसैले दोषको भागीदार चिकित्सक, स्वास्थ्य संस्था र बिरामी पक्ष मात्र होइन भन्ने चेत सबैमा हुन जरुरी छ ।
के यी सम्बोधन र समाधानका उपायहरू स्वास्थ्य सेवा प्रदान गर्ने बेला मात्रै अवलम्बन गर्ने हो त ? त्यति मात्र भए पुग्छ ? अवश्य पुग्दैन । त्यसका लागि स्वास्थ्यका पाठ्यक्रममा मानवीय संवेदनाका पक्षलाई समेट्दै कसरी व्यवहार, सञ्चार र अन्तर्क्रिया गर्ने भन्ने विषयलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ । अहिलेको टड्कारो समस्यालाई समाधान गर्न त भौतिक आक्रमणको घटनालाई बिरामी वा मृतकको अवस्था र कारणसँग जोडेर हेर्नु, कानुनको पूर्ण रूपमा परिपालना गराउनु, दोषीलाई कारबाहीको भागीदार बनाउनु र कुनै पनि पक्षलाई राजनीतिक संरक्षण दिने प्रवृत्ति अन्त्य हुनु जरुरी छ ।
चिकित्सा मानवशास्त्री दाहाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन् ।

